बिहीबार, ०८ फागुन २०८१
ताजा लोकप्रिय
राजनीति

‘जनतासँग माओवादी अभियान’ : केन्द्रले समय तालिका नपठाउँदा अलमलमा प्रदेश नेताहरू

आइतबार, ०४ फागुन २०८१, १६ : ०९
आइतबार, ०४ फागुन २०८१

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को फागुन १२ गतेदेखि सुरु हुने हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी’ अभियान सञ्चालनका लागि केन्द्रले समय तालिका नपठाउँदा अलमल देखिएको छ । बैठकको निर्णयसहित माघ २७ गते माओवादीले मातहतको समितिलाई परिपत्र पठाएको थियो ।

तर अहिलेसम्म केन्द्रबाट समय तालिका सम्बन्धित प्रदेशमा नपठाउँदा अन्योल देखिएको हो । कोसी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्बाङले समय तालिका बनाउने विषयमा पार्टी नेतृत्वसँग छलफल भइरहेकोले बेलुकासम्म खाका आउन सक्ने जानकारी दिए । सभास्थल, कार्यविभाजन, र कामको प्रकृति सबै विषयमा निष्कर्षमा नपुगेको नेम्बाङले बताए ।

‘अभियान सञ्चालनको तयारी भइरहेको छ । समय तालिकाको विषयमा निष्कर्षमा पुगेका छैनौँ । नेतृत्वसँग छलफलमै छौँ । बेलुकासम्म खाका आउँछ सक्छ’, उनले भने ।

लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले केन्द्रबाट समय तालिका नआउँदा कार्यक्रमका खाका बनाउन नसकिएको जानकारी दिए । कहिले आइपुग्ने ? कति दिन बस्ने ? भन्ने विषयमा केन्द्रबाट जानकारी आए समय तालिका बनाउन सजिलो हुने भएकाले अध्यक्ष प्रचण्डसँग यसबारे छलफल भइरहेको बरालले बताए ।

‘लुम्बिनी प्रदेशमा करिब ४ किलोमिटर रुट पर्छ । रुट व्यवस्थापन, आमसभा स्थल छनोट, नेताहरूको व्यवस्थापन र बस्ने समयबारे केन्द्रबाट जानकारी आएको छैन । अध्यक्षसँग छलफल हुँदा ५/६ दिनको बनाउनोस् भन्नुभएको छ । केन्द्रबाट समय तालिका आएपछि सोही अनुसार हामी तयारी गर्छौँ’, उनले भने ।

केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनले अभियान सञ्चालनको समय तालिकासहितको खाका तयारका लागि कार्यालयको बैठक बसेर निर्णय गर्ने जानकारी दिए । त्यसका लागि एक/दुई दिनमा बैठक बस्ने पुनले बताए ।

‘समय तालिका बनिसकेको छैन । सम्बन्धित प्रदेश कार्यकालको परामर्शमा कुन प्रदेशमा कसलाई जिम्मेवारी दिने ? कुन प्रदेशमा कति दिन बिताउने ? कुन कुन ठाउँमा आमसभा गर्ने ? अभियानको क्रममा के–के गर्ने ? लगायत विषयमा निर्णय लिन एक/दुई दिनमा कार्यालय बैठक बसेर निर्णय गर्छ’, पुनले भने ।

पुस २३ गते सम्पन्न केन्द्रीय समिति बैठकले हुलाकी मार्ग एवं पूर्वपश्चिम लोकमार्गमा आधारित तराई मधेस जागरण अभियान झापाबाट सुरु गरी कञ्चनपुरसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो । माओवादीको माघ २१ मा बसेको पदाधिकारी बैठकले अभियानको ठोस कार्यक्रमिक स्वरुप सम्बन्धित प्रदेश कार्यालयहरूको परामर्शका आधारमा तय गरिने निर्णय गरेको थियो ।

माओवादीका केन्द्रीय सचिव देवेन्द्र पौडेलले पूर्वपश्चिम ठुला सभामा अध्यक्ष प्रचण्ड आफै सहभागी हुने र अन्य सभामा पदाधिकारीलाई जिम्मेवारी बाँडफाँट गर्ने पौडेलले बताए । यसअघि तीन महिने अभियानकै जस्तो गरी यो अभियान सञ्चालन हुने उनले जानकारी दिए ।

‘अभियानको समय तालिका अहिलेसम्म बनेको छैन । कसरी सञ्चालन गर्ने भन्ने विषयमा सम्बन्धित प्रदेश कार्यालयसँग परामर्श भइरहेको छ । अभियान पहिलाकै जस्तो जनताका गुनासा सुन्ने, सहिद परिवारसँग भेटघाट गर्ने, स्थानीय जनता तथा कार्यकर्ताका कामसँग जोडिने, सङ्गठन विस्तार र सुदृढीकरण गर्ने काममा व्यस्त हुनेछौँ । ठुला सभामा अध्यक्ष आफै जानुहुन्छ । अन्य स–साना सभामा पदाधिकारीमा जिम्मेवारी बाँडिन्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप