शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : रोकिएन हुण्डी

वैदेशिक रोजगारी बढ्यो, बढेन रेमिट्यान्स

पुँजी पलायनको डर
आइतबार, ०४ फागुन २०८१, १० : १२
आइतबार, ०४ फागुन २०८१

काठमाडौं । गत महिना सर्लाहीका रामशरण यादव (नाम परिवर्तित) ले साउदी अरबबाट ५० हजार रुपैयाँ घर पठाए । साउदीमै रहेका एक व्यक्तिमार्फत एक कलकै भरमा केही समयमै नेपालमा रहेकी श्रीमतीको खातामा उनको ५० हजार रुपैयाँ आयो । 

त्यो पैसा नेपालकै बैंकबाट ट्रान्सफर भएको थियो । घरमा श्रीमतीले पैसा आएको जानकारी गराएपछि रामशरणले साउदीमा रहेका ती चिनेका व्यक्तिलाई एक हजार ३ सय ५५ साउदी रियाल दिए । उनले प्रायः त्यसैगरी घरमा पैसा पठाउँदै गरेको बताउँछन् । कहिलेकाहीँ भने उनी साउदी रियालको भाउ घट्दा पर्खेर बस्छन् । 

‘हामीलाई त्यो रेमिट्यान्स, बैंकिङ च्यानलमार्फत पठाउन फुर्सदै हुँदैन । एक फोन गरेको भरमा एक घण्टामै घरमा पैसा पाउँछन् । रेमिट्यान्स कम्पनीसम्म जान छुट्टी नि’ मिल्दैन,’ रामशरणले भने । 

डडेल्धुराका प्रकाश अवस्थी (नाम परिवर्तन) पाँच वर्ष मलेसिया बसेर केही महिनाअघि नेपाल फर्किएका छन् । मलेसिया रहँदा उनले पनि कहिल्यै कम्पनीमार्फत रेमिट्यान्स पठाएनन् । चिनजानका दाइलाई फोन गरेकै भरमा उनले श्रीमतीको खातामा पैसा पठाउँथे । 

दाङ तुलसीपुरका विमल डाँगी (नाम परिवर्तन) पनि यसै गर्छन् । वैदेशिक रोजगारीका लागि तीन वर्षदेखि दुबईमा रहेका उनी त्यहाँ स्टोरकिपरका रूपमा छन् । उनले पनि हरेक महिना यसैगरी ५० हजार रुपैयाँ पठाउने गरेका छन् । आफू अहिलेसम्म कुनै पनि रेमिट्यान्स कम्पनी नपुगेको बताउने उनले दुबईमा रहेका एक व्यक्तिको भरमा पैसा पठाइरहेका छन् ।

साउदी अरब, मलेसिया र दुबई मात्र होइन, वैदेशिक रोजगारीमा जाने युरोपेली मुलुकका धेरैजसो श्रमिकले यही तरिकाले नेपालमा पैसा पठाइरहेका छन् । 

मलेसिया तथा खाडी मुलुकहरूमा काम गर्दै आएका धेरैजसो नेपालीको पैसा पठाउने माध्यम नै त्यहाँ रहेका चिनेजानेका नेपाली एजेन्ट नै हुन् । उनीहरूको खातामा त्यहाँको पैसा हालिदिएपछि उनीहरूले त्यही आधारमा नेपालमा नेपाली बैंकमार्फत पैसा हालिदिन्छन् । 

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार २०८०/०८१ मा सात लाख ४१ हजार २ सय ९७ जनाले श्रम स्वीकृति लिएका थिए । जसमध्ये तीन लाख ११ हजार १ सय ९५ जनाले पुनः श्रम स्वीकृति लिएका थिए । त्यस्तै चार लाख ३० हजार १ सय २ जना पहिलो पटक श्रम स्वीकृति लिएर रोजगारीका लागि गएका थिए । ०८०/८१ मा एक लाख १२ हजार ९६८ जनाले विदैशिक अध्ययनका लागि एनओसी लिएका थिए । सोही वर्ष १४ खर्ब ४५ अर्ब ३२ करोड विप्रेषण अर्थात् रेमिट्यान्स नेपाल भित्रिएको थियो । 

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले खाडी मुलुकबाट आउने धेरै पैसा औपचारिक च्यानलबाटै आउने तर, युरोप, जापान, कोरियाबाट आउने पैसा भने हुण्डीमार्फत आउने गरेको बताए । 

यो अघिल्लो वर्षको तुलनामा १६.५ प्रतिशतले बढी हो । हरेक वर्ष वैदेशिक रोजगारी र अध्ययनका लागि जानेको संख्या बढिरहेको छ, उनीहरूले पठाउने रेमिट्यान्स पनि बढ्दो छ । तर, त्यही गतिमा अवैध र हुण्डी कारोबार पनि बढिरहेको देखिन्छ । यसको यकिन तथ्यांक नभए पनि नेपाल राष्ट्र बैंकले नै गरेको अध्ययनले यस्तो देखाउँछ ।

राष्ट्र बैंकले हरेक वर्ष विप्रेषण र वैदेशिक रोजगारीमा जाने श्रमिक संख्या तुलना गर्ने प्रक्रिया नै गलत भएको बताउँछन् सोसल साइन्स बाहाका उपनिर्देशक तथा विप्रेषणका विषयमा अध्ययन गर्दै आएका जीवन बानियाँ । 

श्रमिक मात्र नभई पढ्न गएका विद्यार्थी र विदेशमा व्यापार गरिरहेका नेपालीले समेत रेमिट्यान्स पठाउने गरेका उनी बताउँछन् । तर, राष्ट्र बैंकले रेमिट्यान्सलाई वैदेशिक रोजगारीमा जाने श्रमिकसँग मात्रै तुलना गर्ने गरेको उनको भनाइ छ । 

श्रमविज्ञ तथा अनुसन्धानकर्ता रामेश्वर नेपालले विदेशमा बस्ने हरेक नेपालीले रेमिट्यान्समार्फत मात्र पैसा पठाउने हो भने निकै ठुलो भोलुम हुने बताए । हरेक वर्ष पहिलो पटक जानेभन्दा पुनः श्रम स्वीकृति लिएर जानेहरूले बढी आम्दानी गरिरहेका उनी बताउँछन् । 

  • हुण्डीको अड्डा खाडीबाहेक क्षेत्र 

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले खाडी मुलुकबाट आउने धेरै पैसा औपचारिक च्यानलबाटै आउने तर, युरोप, जापान, कोरियाबाट आउने पैसा भने हुण्डीमार्फत आउने गरेको बताए । 

मुलुकको आर्थिक अवस्था हेरेर पनि हुण्डी कारोबार, पुँजी पलायन, रेमिट्यान्सको पैसा मुलुकभित्र नआएर बाहिरै बस्ने गरेको उनको भनाइ छ । 

अहिले विदेशी मुद्रा नआएर समस्या नभए पनि पुँजी रोकिन थालेको, हुण्डी बढ्न थालेको र देशबाट पुँजी पलायन हुन थालेको विषय भने महत्त्वपूर्ण रहेको उनको भनाइ छ । साथै विदेशमा रहेका नेपालीले क्रिप्टोमा पनि लगानी गर्न थालेका उनी बताउँछन् । सुन तस्करी र घरजग्गा कारोबारमा समेत त्यही पैसा लगानी हुने गरेको उनको भनाइ छ । 

1

तथ्यांक स्रोत : नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन र वैदेशिक रोजगार विभागको वार्षिक प्रतिवेदन 

पछिल्लो एक दशकमा ६२ लाख ७६ हजार नेपाली श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएर वैदेशिक रोजगारीमा गएका छन् । त्यसमा श्रम स्वीकृति नलिई जानेको तथ्यांक भने छैन, यस्तो संख्या लाखौँ रहेको अनुमान गर्न सकिन्छ । उनीहरूले समेत अनौपचारिक च्यानलमार्फत नै पैसा पठाउने गरेको देखिन्छ । यसरी हेर्दा राष्ट्र बैंकले उपलब्ध गराउने रेमिट्यान्सको तथ्यांक निकै साँघुरो भएको यस क्षेत्रका जानकारहरूको बुझाइ छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत वैदेशिक अध्ययन अनुमति शाखाको तथ्यांकअनुसार पछिल्लो १० वर्ष (आर्थिक वर्ष ०७१/ ७२ देखि ०८०/८१ सम्म) मा ६ लाख ३९ हजार १४८ विद्यार्थीले एनओसी लिएका छन् । 

  • १० वर्षमा वैदेशिक अध्ययनका लागि एनओसी जारी भएको संख्या  

2

तथ्यांक स्रोत : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

नेपालबाट हरेक वर्ष एक लाख हाराहारीमा विद्यार्थी विदेश जाने गरेका तर, रेमिट्यान्स भने रोजगारीका लागि गएकाहरूले मात्र पठाउने गरेको देखिएको बानियाँ बताउँछन् । यसका लागि खण्डीकृत तथ्यांक राख्नुपर्ने र त्यही आधारमा विश्लेषण गर्न तथा अध्ययन गर्न मिल्ने उनको भनाइ छ । 

‘खासमा त्यो सही हो कि होइन भन्ने हो । खण्डीकृत रूपको आँकडा बैंकसँग हुँदैन । किनभने, पढ्न विदेश जानेले पठाएको पैसा पनि रेमिट्यान्स नै हो, तर तथ्यांकमा भने श्रम स्वीकृति लिएर गएको मात्रै छ,’ बानियाँले भने । नेपाली पैसाको भ्यालु कम भएकाले पनि रेमिट्यान्स बढेको देखिएको उनको बुझाइ छ । 

हुण्डी आफ्नो पैसा जोखिममा राखेर पठाउनुभन्दा औपचारिक च्यानलबाटै पठाउन खोज्ने जमात बढिरहेको उनले बताए । 

हुण्डी कारोबार गरेको आरोपमा पक्राउ परेकाहरूको तथ्यांक : 

3

 

तथ्यांक स्रोत : नेपाल प्रहरी 

हुण्डी कारोबार गरेको अभियोगमा ६ वर्षयता २ सय ७९ जना पक्राउ परेका नेपाल प्रहरीको तथ्यांकले देखाउँछ । उनीहरूको साथबाट ३५ करोड ६४ लाख ५५ हजार बराबर रकमसमेत बरामद भएको छ । 

पछिल्लो समय हुण्डीसँगै क्रिप्टोकरेन्सीको कारोबारसमेत बढ्न थालेको नेपाल प्रहरीका पूर्वडीआईजी विष्णुकुमार केसी बताउँछन् । 

२०७८ सालपछि क्रिप्टोकरेन्सीको कारोबार बढ्दै गएको र हुण्डीको कारोबार समेत क्रिप्टोमार्फत पनि हुन थालेको उनले बताए । रेमिट्यान्स डलरमा आउने तर, हुण्डीबाट भने नेपाली पैसा आउने हुँदा राज्यलाई घाटा परिरहेको उनले बताए । 

‘यहाँ न युवा बस्न चाहन्छन्, न त उद्योगी व्यवसायी नै । नेपालको पुँजी विदेशमा जान थाल्यो, यो समस्या हो । बैंकले दिनुको सट्टा विदेशमा बस्ने नेपालीले पैसा दिन थाले,’ थापाले भने ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालले रेमिट्यान्स घट्नु भनेको नेपाल आउने पैसा बाहिरै बस्नु र अनौपचारिक च्यानलबाट प्राप्त भएको हो कि भन्ने आशंका गर्ने ठाउँ रहेको बताए । 

हुण्डी कारोबारको यकिन अध्ययन नभए पनि केही वर्षअघि भएको अनौपचाकि अध्ययनले करिब ४२ प्रतिशत कारोबार ‘इनफर्मल’ च्यानलबाट भएको देखाएको उनले जानकारी दिए । तर, त्यसमा हुण्डी नै कति भन्नेचाहिँ स्पष्ट नभएको उनको भनाइ थियो । 

  • कसरी नियन्त्रण गर्न सकिन्छ ? 

पूर्वकार्यकारी निर्देशक थापाले हुण्डी कारोबार नियन्त्रण तथा नियमन गर्न सबैभन्दा पहिला भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने बताए । ‘देशमा गरिखाने वातावरण बनाउने हो । त्यो भएपछि दुवै समस्या समाधान हुन्छ । यहाँ भ्रष्टाचार व्याप्त छ, गरिखाने वातावरण हुँदैन । त्यसपछि उद्योगी व्यवसायीले त विदेशमा पुँजी लैजान्छन् नि,’ थापाले भने । अहिलेको समस्या हुण्डी नभई ‘करप्सन’ नै भएको उनको भनाइ थियो । 

‘यहाँ न युवा बस्न चाहन्छन्, न त उद्योगी व्यवसायी नै । नेपालको पुँजी विदेशमा जान थाल्यो, यो समस्या हो । बैंकले दिनुको सट्टा विदेशमा बस्ने नेपालीले पैसा दिन थाले,’ थापाले भने, ‘युरोप अमेरिकामा बैंकमार्फत पुँजी आउँछ । तर, नेपालमा बैंकमार्फत हुँदैन, त्यसपछि विदेशमा बसेका नेपालीमार्फत जाने हो ।’

बानियाँले रेमिट्यान्सको हकमा नेपाल दक्षिण एसियामा राम्रै स्थानमा भए पनि सुधार गर्नुपर्ने धेरै विषय भएको पनि बताए । यसका लागि रेमिट्यान्स पठाउँदा कम्पनीलाई हुने कष्ट सरकारले सम्बोधन गरिदिनुपर्ने उनको सुझाव छ । 

श्रमिकसँग रेमिट कम्पनीहरूको सहज पहुँच पनि बनाइदिनुपर्ने उनले बताए ।  दुईपक्षीय श्रम सम्झौतामा कामदारको तलब सीधै उसको खातामा जम्मा गरिदिने र नेपालमा सहज तरिकाले पैसा पठाउने व्यवस्था गरिदिए राम्रो हुने उनले सुझाव दिए । 

औपचारिक च्यानलबाट रेमिट्यान्स पठाउन सरोकारवाला निकायहरूले आ–आफ्नो क्षेत्रबाट काम गरिररहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुस्करले बताए । 

यसका लागि मन्त्रालयले पनि विदेशमा रहेका नेपालीलाई औपचारिक च्यानलबाट पैसा पठाउन, हुण्डीजस्ता अवैध कारोबार नगर्न सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप