‘हुण्डी अनुसन्धान प्रहरीको क्षेत्राधिकार हो, हामी सहयोग मात्रै गर्छौँ’

काठमाडौँ । केही समयदेखि बढिरहेको रेमिट्यान्स अहिले फेरि घट्न थालेको छ । अघिल्लो आर्थिक वर्षको पुससम्म २४ प्रतिशत हाराहारीमा रहेको रेमिट्यान्स यो आर्थिक वर्षको यही अवधिमा ४ प्रतिशत मात्रैले बढ्यो ।
प्रत्येक वर्ष बढ्दै गएको नेपालीको विदेश जाने ग्राफबिच रेमिट्यान्स घट्नु फेरि हुण्डीजस्ता अनौपचारिक कारोबार त होइनन् ? शंका गर्ने ठाउँ देखिएको छ ।
यसैलाई सहयोग पुग्नेपरी पछिल्लो केही समय नेपाल प्रहरीले बौद्ध, ठमेललगायत केही स्थानमा छापा मारेर ठुलो रकम जफतसमेत गरेको छ ।
विदेशी विनिमय कारोबारको नियमन गर्दै आएको नेपालको केन्द्रीय बैंकका रूपमा नेपाल राष्ट्र बैंकले पछिल्लो समय रेमिट्यान्स वृद्धिदर घट्नु एवं घटनाहरू बाहिरिनुलाई कसरी हेरिरहेको छ ? यस सम्बन्धमा राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालसँग गरिएको कुराकानी ।
- अहिले रेमिट्यान्स बढ्ने क्रम रोकिएको जस्तो देखिन्छ, हुण्डीजस्ता कारोबार बढेको हो र ?
शंका गर्ने ठाउँ त छ । तर, यकिन रूपमा यही नै हो भन्न सकिने अवस्था छैन । हाम्रो क्षेत्राधिकार भनेको सूचना प्राप्त भयो भने अनुसन्धान र कारबाहीका लागि प्रहरी प्रशासनलाई लेखिपठाउने हो । क्षेत्राधिकार नभएकाले यस्तो तथ्यांक हामीसँग हुँदैन, प्रहरीसँग हुन्छ ।
- राष्ट्र बैंकले त स्वतन्त्र ढंगले अनुसन्धान पनि गर्छ, क्षेत्राधिकार नभए पनि हुण्डी कारोबार कति हुन्छ भन्ने अध्ययन भएको छ ?
हुण्डी नै भनेर त्यस्तो अध्ययन भएको अवस्था छैन । केही वर्ष अगाडि हामीले अर्थतन्त्रमा अनौपचारिक कारोबार कति हुन्छ भन्नेचाहिँ अध्ययन गरेका थियौँ । अर्थतन्त्रको करिब ४२ प्रतिशत कारोबार इन्फर्मल च्यानलबाट भएको भन्ने रिपोर्ट आएको थियो । तर, हुण्डीचाहिँ कति भन्ने यकिन छैन । हुण्डी अनौपचारिक कारोबारको एउटा मात्र पाटो हो ।
- औपचारिक च्यानलबाट रेमिट्यान्स भित्र्याउन नेपाल राष्ट्र बैंकले के–के पहल गरेको छ ?
यसका लागि औपचारिक च्यानलबाट बैंकमा जम्मा भएको निक्षेपमा राष्ट्र बैंकले बैंकहरूलाई एक प्रतिशत बढी ब्याज दिनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै, कुनै रेमिट्यान्स कम्पनीले ल्याएर कसैको खातामा पैसा जम्मा गरिदियो भने प्रतिडलर १५ पैसा राष्ट्र बैंकले थपिदिने व्यवस्था गरेको छ । विदेशी मुद्रा स्रोत बलियो होस् भन्ने यसको मनशाय हो ।
रेमिट्यान्स कम्पनीले पैसा कलेक्सन गरेर राष्ट्र बैंकलाई उपलब्ध गराउँछन् भने, उसको एजेन्सी खातामा जम्मा गरिदियो भने नियमित पैसाको अलावा प्रतिडलर अतिरिक्त १५ पैसा ट्रान्सफर कम्पनीहरूलाई उपलब्ध गराउँछौँ । सकेसम्म विदेशी मुद्रामै कारोबार होस् भनेर इन्सेन्टिभका रूपमा दिएका छौँ ।
- नेपालबाट बाहिर हुने कारोबारको हकमा यो व्यवस्था भयो । तर, नेपालबाट बाहिर जाँदा त्यस्तो कारोबार हुने सम्भावना कत्तिको हुन्छ ?
हाम्रो पार्टबाट त देखिँदैन । किनभने, हामीले फर्मल च्यानल बाहेकलाई एप्रुभल पनि दिँदैनौँ । यस विषयमा उजुरी परे प्रहरी प्रशासनलाई छानबिन तथा कारबाहीका लागि अनुरोध पनि गर्छौँ । तर, कतिपय ठाउँमा यस्तो काम भएको भन्ने अनौपचारिक जानकारी आउँछ । तर, निरीक्षणको क्रममा त्यस्तो खालको घटना भेटिँदैन ।
- तर, हुण्डी किन रोकिएन त ? अनौपचारिक च्यानबाट कारोबार हुनुको कारण के होला ?
यसमा यही नै कारण हो भनेर भन्ने अवस्था त नहोला । तर, घरमै पैसा पुर्याइदिने, बैंकिङ च्यानलभन्दा धेरै रेट दिने चलन हुन सक्छ । विदेशमा कमाएको पैसा उतै राख्न र नेपालमा भएको पैसा अर्को व्यक्तिलाई दिने काम बढी भएको पाइन्छ । डलरमै पैसा राखिराख्यो भने भोलिका दिनमा एक्सचेन्जबाट फाइदा लिन, विदेशमै लगानी गर्न खोज्नेहरू हुन सक्छन् ।
डलर लगायत अन्य पैसा त जहिले नि बढिरहेको हुन्छ । त्यही भएर उनीहरूले बढी फाइदा लिन खोजेका हुन्छन् । नेपाली मुद्रा कम हुन्छ । त्यो फाइदा पाउने चान्स पनि हुन्छ ।
अर्को कुरा, नेपालको ब्याजदर अहिले अलि कम छ । नेपालमा ल्याएर बचत गर्छु भन्ने कम हुन्छन् । रेमिट्यान्सको पैसा मुख्यतः खान लाउनमै सकिन्छ । बचत गर्छु भन्ने कमै हुन्छन् । तर, जति हुन्छन् उनीहरूलाई थोरै ब्याज पाउने भएकोले यहाँ जम्मा नगर्न सक्छन् ।
एकातिर ब्याजदर कम, अर्कोतिर मुद्रास्फीतिको कारण करेन्सी नेगेटिभ भएको जस्तो देखिन्छ । बचतमा ४ प्रतिशत ब्याज दिइन्छ, करेन्सी डिप्रिसिएन (मुद्रा अवमूल्यन) ५–६ प्रतिशतले हुन्छ, यसले त पैसाको मूल्य घटाउँछ । नेपालमा ल्याएर बैंकमा राख्नुभन्दा बाहिरै राख्न बढी रुचाएको हुन सक्छ ।
विदेशमा नेपालभन्दा बढी ब्याजदर छ । भारतकै कुरा गर्दा त्यहाँ निक्षेपमा साढे ६ प्रतिशत ब्याजदर ५ भने नेपालमा ४ प्रतिशत छ । नेपालमा ब्याजदर बढ्यो भने यसले उतै पैसा राख्ने चलन घट्न सक्छ, यसले पनि रेमिट्यान्स बढ्न सक्छ ।
- हुण्डीबाट ठगिएको भन्ने घटना राष्ट्र बैंकमा कति आएका छन् ?
हामीकहाँ त्यस्तो उजुरी लिएर आउने भन्ने त छैन । तर, प्रहरीकहाँ कहिलेकाहीँ आउने गरेको भन्ने सुनिन्छ । त्यस्तो गर्ने पनि धेरैजसो आफन्त र चिनेजानेकाहरू नै हुने गरेको पाइन्छ । प्रहरीको क्षेत्राधिकार भएकोले यो त्यहीँबाट हेर्ने विषय हो ।
राष्ट्र बैंकको काम नियमन हो । १० लाखभन्दा धेरै अस्वाभाविक रकम जम्मा भएको अवस्थामा शंकास्पद कारोबारको रूपमा रिपोर्टिङ हुन्छ । भन्सारमा कसैले एकैपटक पाँच हजार डलरभन्दा धेरै लिएर आयो भने स्रोत खोजिन्छ । यसमा राष्ट्र बैंकले हेर्ने मुख्य काम यही नै हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एमालेका वडा सदस्यद्वारा विद्युत् कर्मचारीमाथि दुर्व्यवहार
-
पत्रकार महासङ्घ युकेद्वारा राजदूत घिमिरेलाई दूतावासमा स्वागत
-
सामुदायिक र निजी विद्यालयको ‘मितेरी’ सम्बन्ध
-
आमाबाबुको झगडाले बच्चामा नराम्रो असर पार्छ, डिप्रेसनमा जान सक्छन्
-
टेक्नोलोजीका कारण तपाईंको मस्तिष्क र मानसिक स्वास्थ्य दुबै खतरामा छ !
-
महाशिवरात्रिका अवसरमा भालेश्वरमा महाआरती, केवलकार टिकटमा ५० प्रतिशत छुट