इङ्ल्यान्डको घरेलु मैदानमा धोनीले इतिहास रचेको सातौँ संस्करण

आईसीसी च्याम्पियन्स ट्रफीको सातौँ संस्करण इङ्ल्यान्ड र वेल्समा संयुक्त रूपमा आयोजना भएको थियो । च्याम्पियन्स ट्रफी कुनै पनि दुई राष्ट्रले संयुक्त रूपमा आयोजना गरेको यो पहिलो पटक थियो । इङ्ल्यान्डले भने दोस्रो पटक च्याम्पियन्स ट्रफी आयोजना गरेको थियो ।
त्यसअघि सन् २००४ मा पनि इङ्ल्यान्डले च्याम्पियन्स ट्रफीको सफल आयोजना गरिसकेको थियो । प्रतियोगिताको सातौँ संस्करण सन् २०१३ को जुन ६ देखि २३ तारिखसम्म आयोजना गरिएको थियो । च्याम्पियन्स ट्रफीको इतिहासमा जुनमा प्रतियोगिता आयोजना भएको यो पहिलो पटक थियो ।
सुरुमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सातौँ संस्करण नै च्याम्पियन्स ट्रफीको अन्तिम संस्करण भएको बताएको थियो । आईसीसीले सन् २०१७ देखि च्याम्पियन्स ट्रफीको सट्टामा आईसीसी वल्र्ड टेस्ट च्याम्पियनसिप आयोजना गर्ने जनाएको थियो ।
तर, राष्ट्रिय क्रिकेट बोर्डहरूसँगको छलफलपछि च्याम्पियन्स ट्रफीलाई पुनः निरन्तरता दिने निर्णय आईसीसीले लिएको थियो । आईसीसीले सन् २०१४ को जनवरीमा च्याम्पियन्स ट्रफीलाई निरन्तरता दिने निर्णय लिएको थियो ।
अघिल्लो संस्करणजस्तै सातौँ संस्करणमा पनि आठ टोलीले नै सहभागिता जनाएका थिए । च्याम्पियन्स ट्रफीको सातौँ संस्करणमा विजेता टोलीले पाउने पुरस्कार राशि पनि बढाएर २० लाख अमेरिकी डलर पुर्याइएको थियो ।
प्रतियोगितामा आयोजक इङ्ल्यान्डका अतिरिक्त अस्ट्रेलिया, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज र न्युजिल्यान्डको सहभागिता रहेको थियो ।
प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । दुवै समूहबाट दुई–दुई टोली सेमिफाइनलमा पुग्ने प्रावधान राखिएको थियो ।
प्रतियोगिताको समूह ‘ए’ मा इङ्ल्यान्ड, श्रीलंका, न्युजिल्यान्ड र अस्ट्रेलिया रहेका थिए । प्रत्येक टोलीले तीन–तीन खेल खेलेपछि उक्त समूहबाट चार अंकसहित इङ्ल्यान्ड पहिलो र समान अंकसहित श्रीलंका दोस्रो हुँदै सेमिफाइनलमा पुगेका थिए ।
तीन अंक बटुलेको न्युजिल्यान्ड तेस्रो र एक खेल पनि जित्न नसकेको अस्ट्रेलिया एक अंकसहित चौथो हुँदै उपाधि होडबाट बाहिरिएका थिए । अघिल्लो दुई संस्करणको विजेता अस्ट्रेलियाले सातौँ संस्करणमा भने अत्यन्तै निराशाजनक प्रदर्शन गरेको थियो ।
भारतीय टोलीका कप्तान महेन्द्रसिंह धोनी पनि आईसीसी टी–२० विश्वकप (सन् २००७), आईसीसी एकदिवसीय विश्वकप (सन् २०११) र आईसीसी च्याम्पियन्स ट्रफी (सन् २०१३) जित्ने पहिलो कप्तान बन्न पुगेका थिए ।
यसैगरी, प्रतियोगिताको समूह ‘बी’ मा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र पाकिस्तान रहेका थिए । उक्त समूहबाट ६ अंकसहित भारत पहिलो र तीन अंकसहित दक्षिण अफ्रिका दोस्रो हुँदै सेमिफाइनलमा प्रवेश गरेका थिए ।
तालिकाको तेस्रो स्थानमा रहेको वेस्ट इन्डिजले समेत तीन अंक नै बटुले पनि नेट रन रेटमा दक्षिण अफ्रिकासँग पछि परेको थियो । चौथो स्थानमा रहँदै उपाधि होडबाट बाहिरिएको पाकिस्तान भने तीनवटै खेलमा पराजित भएको थियो ।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजक इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई सात विकेटले हराएको थियो । दोस्रो सेमिफाइनल खेलमा श्रीलंकालाई आठ विकेटले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा पुगेको थियो ।
प्रतियोगिताको फाइनलमा आयोजक इङ्ल्यान्डमाथि पाँच रनको रोमाञ्चक जित हासिल गर्दै भारतले उपाधि चुमेको थियो । वर्षाका कारण फाइनल खेल २०–२० ओभरमा झारिएको थियो । भारत दुईपटक च्याम्पियन्स ट्रफीको उपाधि जित्ने दोस्रो राष्ट्र बनेको थियो ।
इङ्ल्यान्डलाई भने यसपटक पनि घरेलु मैदान फापेन । यसअघि, सन् २००४ मा च्याम्पियन्स ट्रफीको आयोजना गर्दा पनि इङ्ल्यान्डको टोली फाइनलमा पुगेर वेस्ट इन्डिजसँग दुई विकेटले पराजित भएको थियो ।
यसैगरी, भारतीय टोलीका कप्तान महेन्द्रसिंह धोनी पनि आईसीसी टी–२० विश्वकप (सन् २००७), आईसीसी एकदिवसीय विश्वकप (सन् २०११) र आईसीसी च्याम्पियन्स ट्रफी (सन् २०१३) जित्ने पहिलो कप्तान बन्न पुगेका थिए ।
च्याम्पियन्स ट्रफीको यही संस्करणमार्फत न्युजिल्यान्डका प्रभावशाली खेलाडी कोरी एन्डर्सन र दक्षिण अफ्रिकाका क्रिस मोरिसले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेका थिए ।
च्याम्पियन्स ट्रफीको सातौँ संस्करणमा भारतका शिखर धवन सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा पहिलो स्थानमा रहेका थिए । उनले पाँच खेलमा कुल तीन सय ६३ रन बनाएका थिए । यो सूचीमा इङ्ल्यान्डका जोनाथन ट्रट दुई सय २९ रनसहित दोस्रो स्थानमा थिए ।
सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा श्रीलंकाका कुमार सांगाकारा (२२२ रन) तेस्रो, भारतका रोहित शर्मा (१७७ रन) चौथो र भारतकै विराट कोहली (१७६ रन) पाँचौँ स्थानमा रहेका थिए ।
यसैगरी, सर्वाधिक विकेट लिने बलरको सूचीमा भारतका रविन्द्र जडेजा पहिलो स्थानमा थिए । उनले पाँच खेलमा १२ विकेट लिएका थिए । न्युजिल्यान्डका मिचेल म्याकक्लिनघन तीन खेलमा ११ विकेट लिँदै दोस्रो स्थानमा रहेका थिए ।
सर्वाधिक विकेट लिने बलरको सूचीमा इङ्ल्यान्डका जेम्स एन्डर्सन तेस्रो स्थानमा रहे । उनले पाँच खेलमा ११ विकेट लिए । भारतका इशान्त शर्मा चौथो र दक्षिण अफ्रिकाका रायन म्याकलरेन पाँचौँ स्थानमा रहे । इशान्तले पाँच खेलमा १० र म्याकलरेनले चार खेलमा आठ विकेट लिएका थिए ।
विवादको पर्याय बनेको सातौँ संस्करण
च्याम्पियन्स ट्रफीको यो संस्करणमा अस्ट्रेलियाका प्रभावशाली खेलाडी डेभिड वार्नरले प्रतिबन्धसमेत भोग्नुपरेको थियो । अस्ट्रेलियन टोली इङ्ल्यान्डसँग पराजित भएपछि वार्नरले इङ्ल्यान्डका ब्याट्सम्यान जो रुटसँग झगडा गरेका थिए । सोही कारणले क्रिकेट अस्ट्रेलियाले वार्नरलाई एसेस टेस्ट शृंखलाको पहिलो खेल खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको थियो ।
यसैगरी, इङ्ल्यान्डका पूर्वकप्तान बब विलिसले श्रीलंकाविरुद्ध खेल्ने क्रममा इङ्ल्यान्डका एक खेलाडीले बल टेम्परिङ (बल बिगारेको) गरेको आरोप पनि लगाएका थिए । खेलको मध्यतिर अम्पायर अलिम दारले बल परिवर्तन पनि गरेका थिए । तर, खेल सकिएपछि इङ्ल्यान्डका प्रशिक्षक एस्ले गिल्सले पुरानो भएकाले अम्पायर अलिम दारले बल परिवर्तन गरेको दाबी गरेका थिए ।
खेल सकिएपछि पनि बेलायतमा रहेका तमिल समूदायका व्यक्तिले श्रीलंकाली खेलाडीहरूप्रति विरोध प्रदर्शन गरेका थिए । उनीहरूले श्रीलंकाली खेलाडीहरू चढेको बसको छेउछाउ उभिइर पनि विरोध प्रदर्शन गरेका थिए ।
सैगरी, प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा भारत र श्रीलंका भिडेका थिए । उक्त समिफाइनल खेल कार्डिफस्थित सोफिया गार्डेन्समा खेलिएको थियो । त्यो सेमिफाइनल खेल चलिरहँदा तमिल इलमको झण्डा बोकेर एक युवा अचानक खेल मैदानभित्र छिरेका थिए ।
पछि सुरक्षाकर्मीले ती युवालाई नियन्त्रणमा लिएको थियो । त्यसको केही समयपछि मैदानको विभिन्न भागबाट थप ६ जना युवा तमिल इलमको झण्डा बोकेर मैदानभित्र प्रवेश गरेका थिए । उक्त घटनापछि खेलमा सुरक्षा प्रबन्धनको विषयलाई लिएर इङ्ल्यान्डको आलोचना पनि भएको थियो ।
खेल सकिएपछि पनि बेलायतमा रहेका तमिल समूदायका व्यक्तिले श्रीलंकाली खेलाडीहरूप्रति विरोध प्रदर्शन गरेका थिए । उनीहरूले श्रीलंकाली खेलाडीहरू चढेको बसको छेउछाउ उभिइर पनि विरोध प्रदर्शन गरेका थिए ।
‘टिम अफ दि टुर्नामेन्ट’
सातौँ संस्करणको समाप्तिपछि आईसीसीले टिम अफ दि टुर्नामेन्ट पनि घोषणा गरेको थियो । टिम अफ दि टुर्नामेन्ट चयनका लागि पाँच सदस्यीय कमिटी गठन गरिएको थियो । उक्त कमिटीमा जियोफ अलार्डिस, जवागल श्रीनाथ, अलिम दार, स्काइल्ड बेरी र सन्डे टेलिग्राफका एक प्रतिनिधि रहेका थिए ।
उक्त कमिटीले चयन गरेको टिम अफ दि टुर्नामेन्टमा भारतका शिखर धवन, इङ्ल्यान्डका जोनाथन ट्रट, श्रीलंकाका कुमार सांगाकारा, भारतका विराट कोहली, पाकिस्तानका मिसबाह–उल–हक, भारतका महेन्द्रसिंह धोनी (कप्तान), भारतकै रविन्द्र जडेजा, दक्षिण अफ्रिकाका रायन म्याकलरेन, भारतका भुवनेश्वर कुमार, इङ्ल्यान्डका जेम्स एन्डर्सन, न्युजिल्यान्डका मिचेल म्याकक्लिनघन र इङ्ल्यान्डका जो रुट रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसरी बन्दैछ ४०० केभीको लप्सीफेदी सबस्टेसन (तस्बिरहरु)
-
नेकपा एमालेका वडा सदस्यद्वारा विद्युत् कर्मचारीमाथि दुर्व्यवहार
-
पत्रकार महासङ्घ युकेद्वारा राजदूत घिमिरेलाई दूतावासमा स्वागत
-
सामुदायिक र निजी विद्यालयको ‘मितेरी’ सम्बन्ध
-
आमाबाबुको झगडाले बच्चामा नराम्रो असर पार्छ, डिप्रेसनमा जान सक्छन्
-
टेक्नोलोजीका कारण तपाईंको मस्तिष्क र मानसिक स्वास्थ्य दुबै खतरामा छ !