बुधबार, ०७ फागुन २०८१
ताजा लोकप्रिय

लेबनानमा आक्रमणमा परेका ढकालले भने– म ठीक छु, आजै नेपाल फर्किँदैछु

शनिबार, ०३ फागुन २०८१, २१ : ५८
शनिबार, ०३ फागुन २०८१

काठमाडौँ। लेबनानमा आक्रमणमा परेका नेपाली सेनाका उपरथी चोक बहादुर ढकालले आफ्नो अवस्था सामान्य रहेको बताएका छन् । रातोपाटीलाई प्रतिक्रिया दिँदै उनले आजै राति आफू नेपाल फर्किन लागेको बताएका छन् । 
‘म ठीक छु र कुनै चिन्ता लिनुपर्ने अवस्था छैन। आजै राति नेपाल फर्कदैछु’, उनले भने ।  सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार लेवनानको राजधानी बेरुत नजिक मिसनको डेपुटी फोर्स कमाण्डर उनी सवार गाडीलाई उत्तेजित प्रदर्शनकारीले गएराति रोकी तोडफोड गर्दा  घाइते भएका हुन् । 

घटना पश्चात उनलाई तत्कालै उद्धार गरी बेरुत स्थित अस्पताल लगिएको थियो ।  उनी खतरामुक्त रहेको पनि सेनाले जनाएको थियो । ढकाल आफ्नो कार्यकाल पुरा गरेर स्वदेश फर्कने क्रममा रहेकै बेला आक्रमणमा परेका हुन् । 

सेनाले उनीमात्रै आक्रमणमा परेको उल्लेख गर्दा लेबनानी अधिकारीहरुले अर्का नेपाली शान्ति सैनिक पनि घाइते भएको उल्लेख गरेका छन् ।  युनिफिलका उपप्रवक्ता कान्डिस अर्डिएलले दोस्रो नेपाली शान्ति सैनिक पनि घाइते भएको र अस्पतालमा भर्ना गरिएको बताएको एएफपीलाई बताएका हुन् । 

यसैबीच आक्रमणमा संलग्न २५ भन्दा बढी व्यक्तिलाई गिरफ्तार गरिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।  संयुक्त राष्ट्र र लेबनानी अधिकारीहरूले आक्रमणको निन्दा समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप