आइतबार, ०४ फागुन २०८१
ताजा लोकप्रिय

बागमतीमा फुटबलको रौनक

शनिबार, ०३ फागुन २०८१, १९ : ५७
शनिबार, ०३ फागुन २०८१

हेटौँडा । शनिवारबाट बागमती गाउँपालिकाको झुरझुरेमा सुरु भएको फुटबल प्रतियोगितामा दर्शक तथा समर्थकको बाक्लो उपस्थिति थियो । बागमती गाउँपालिकाको आयोजनामा सुरु भएको सातौँ संस्करणको बागमती गोल्डकप हेर्न सानादेखि वृद्धवृद्धा समेत आउन भ्याएका थिए ।

ग्रामीण भेगमा हुने महत्त्वपूर्ण खेलकुद प्रतियोगिताको रूपमा बागमती गाउँपालिकाले हरेक वर्ष फुटबलको उत्सव मनाउने गर्दछ । शनिवारको दृश्य भने केही फरक थियो । दोस्रो कार्यकालका लागि निर्वाचित भएका गाउँपालिका अध्यक्ष सर्केश घलानले गोल्डकप आफ्नै रङ्गशालामा सञ्चालन गरेका थिए भने उद्घाटनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ल्याएका थिए ।

prachanda

एक त माओवादी जनयुद्ध ताकाको आधार इलाका, अर्को तर्फ प्रचण्डको उपस्थिति । स्थानीय सहित आसपासका स्थानीय तह र जिल्लाका दर्शकहरूको उपस्थिति बाक्लो थियो । माओवादी केन्द्रको लागि बागमतीको झुरझुरे यसै पनि महत्त्वपूर्ण स्थानको रूपमा रहेको छ ।

माओवादी भूमिगत रहेका बखत झुरझुरे आक्रमणले माओवादी केन्द्रलाई झस्काई रहन्छ । आधार इलाकासँगै प्रचण्डको उपस्थिति त्यसमाथि पनि फुटबल प्रतियोगिता दर्शकको भिड् लाग्नु अस्वाभाविक थिएन ।

गाउँपालिकाको आफ्नै लगानीमा निर्माण भएको एउटा प्याराफिट (७०/८० जना अट्ने) भरिभराउ हुनु स्वाभाविक थियो । तर, आयोजकले दर्शकको उपस्थिति अनुमान गरेर पक्की प्याराफिटको सामुन्नेमा अस्थायी रूपमा बाँसका प्याराफिट निर्माण गरेको थियो । उक्त प्याराफिटहरु भरिएर केही उभिएर नै खेल हेर्न बाध्य थिए ।

3

दिउँसो १ बजेसम्मको समयका लागि बिहान १० बजे नै हेलिकप्टर चढेर बागमती आएका प्रचण्डले करिब ३ घण्टा बिताए । गाउँपालिकाको व्यवस्थापनमा बिहान १० बजेदेखि कार्यकर्ता भेट र त्यसलगत्तै गाउँपालिका केन्द्रमा नै खाना खाए । खाना खाएर फुटबल प्रतियोगिता उद्घाटनस्थल ‘सहिद स्मृति रङ्गशाला’ झुरझुरे प्रवेश गरेका उनले भाषणमा धेरै समय खर्च गरेनन् ।

कार्यक्रम सुरु भएसँगै केही बेरमा नै उनले समय लिएर करिब ७ मिनेट जति भाषण गरेर आफ्ना अभिव्यक्ति टुङ्ग्याए । देशका महत्त्वपूर्ण विषयहरूमा उनको धारणा सुन्न आएका शुभचिन्तकका लागि खासै उनको प्रस्तुति प्रभावकारी देखिएन । तर, उनले छोटो समयमा सुशासनको सवाल भने महत्वका साथ उठाए । सोही अवधिमा उनले आफ्ना अभियान र कार्यकर्तालाई केही निर्देशन दिन भ्याए ।

10

अध्यक्ष प्रचण्डले भ्रष्टाचारको अन्त्य नगरेसम्म देश नबन्ने बताए । सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको उनले बताए । देशबाट भ्रष्टाचारको अन्त्य भए मात्र सामाजिक न्याय स्थापित गर्न सकिने उनको भनाई छ ।

सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेन्डालाई बलियो बनाउँदै आवश्यकता अनुसार सडक, सदन र सरकारका सबै मोर्चाबाट राष्ट्रिय एकताका लागि अगुवाइ गर्न माओवादी तयार रहेको उनले बताए ।

4

अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएको बेलामा खेल पूर्वाधार निर्माण र खेलाडीको प्रोत्साहनका लागि धेरै कार्यक्रम अगाडि सारेको समेत बताए ।

उनले स्थानीय तहहरूले पूर्वाधारको दृष्टिकोणले विकास निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । सडक पूर्वाधार तथा भौतिक पूर्वाधार क्षेत्रको विकासमा नागरिकले अनुभूति गर्ने गरी काम भएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप