कतारले देखाएको विकासको बाटो
![कतारले देखाएको विकासको बाटो](https://npcdn.ratopati.com/media/news/suresh-asrin_RvA5bz7B4S.jpg)
विश्वको एउटा शक्तिशाली देश कतारका बारेमा धेरै मानिस अनभिज्ञ छन् । कतार अर्थात् खाडी मुलुक भनेपछि अझैसम्म धेरै मानिसको अनुहार उज्यालो हुँदैन । यसका कारणहरू पछि लेखौँला ।
कतारमा अहिले झन्डै चार लाखभन्दा बढी नेपाली दाजुभाइ तथा दिदीबहिनीले श्रम गरेर नेपाललाई रेमिटेन्स पठाइरहेका छन् । बालुवै–बालुवाको थुप्रोमा उन्नतिका आँकुरा उमारेर विश्वलाई नै चकित पार्ने गगनचुम्बी महल खडा गर्न नेपाली पाखुराको पनि पसिना परेको छ ।
देश हाँक्ने शासकले देश हाम्रै पालामा बनाउनैपर्छ भन्ने अठोट लियो, उसले गतिशील समय अनुसारको दिमाग चलायो र पाखुरा बजार्नेहरूले श्रम–पसिना बगाए भने के पो हुँदो रहेनछ भन्ने उदाहरण हो कतार ।
आजको कतार हिजोको जस्तो अविकसित कतार रहेन । आजको कतार देखेकाहरूले हिजोको कतार नदेख्न पनि सक्छन् तर आजको कतार हामीले दिमागमा सोचेको साँच्चिकैको अरब मुलुकजस्तो कतार छैन । आजको कतारले बालुवामाथि खडा गरेको वैभव लोभलाग्दो छ ।
सन् १९७१ मा बेलायतबाट स्वतन्त्र हुँदासम्म कतारमा खासै विकास भएको पाइँदैन । समुद्रको छेउमा सामान्य मुगा माला र खजुरको गुजारामुखी व्यापार–व्यवसाय गरेर बसेका कतारीको अन्य आयस्रोत केही थिएन । एउटै लामा–लामा सेता कपडाले शरीर ढाक्ने पुरुषहरूले लगाउने (तोप) र त्यस्तै महिलाले लगाउने एउटै कालो लामो कपडाको बुर्का पहिरन पनि कतार स्वतन्त्रता पछिको पहिचान मानिन्छ ।
राजनीतिक स्थिरता र स्रोत–साधनको व्यापक परिचालन कति महत्त्वपूर्ण छ भन्ने कतारले विश्वलाई देखाइरहेको छ । जसका कारण कतार आजको विश्वमा सबभन्दा बढी प्रतिव्यक्ति आय भएको मुलुक हो ।
कतारले लिएको नवउदारवादी, राजतन्त्रात्मक, एकल सुन्नी जातीय र मुस्लिमवादी नीतिले गर्दा विश्वको औद्योगीकरणसँगै आफ्नो खनिज खोज र व्यापारमा वृद्धि गरे । आज कतार विश्वको एक महत्त्वपूर्ण अर्थतन्त्रका रूपमा विकसित भइरहेको छ ।
राजनीतिक स्थिरता र स्रोत–साधनको व्यापक परिचालन कति महत्त्वपूर्ण छ भन्ने कतारले विश्वलाई देखाइरहेको छ । जसका कारण कतार आजको विश्वमा सबभन्दा बढी प्रतिव्यक्ति आय भएको मुलुक हो ।
राजतन्त्रात्मक देशमा राजाका छोराछोरी मात्रै पढ्न पाउँछन् भन्ने कथित भनाइ यहाँ ठ्याक्कै उल्टो छ । आजका कतारी नागरिकहरू विश्वका प्रतिष्ठित विश्वविद्यालयमा अध्ययनरत छन्, आजका कतारी युवायुवतीहरू सत् प्रतिशत शिक्षित छन् भन्दा फरक पर्दैन । कतारले पूर्वाधार निर्माणमा मात्रै होइन शिक्षाको क्षेत्रमा पनि निकै फड्को मारिसकेको छ । आफ्नै लगानीमा ‘कतार युनिभर्सिटी’ सञ्चालनमा ल्याएको छ । विश्वका दीक्षित प्रोफेसरहरूले अध्यापन गराउँछन् भने विश्वका धनी–गरिब सबै राष्ट्रका विद्यार्थी यहाँ पढ्न आउँछन्, कतिपय नेपाली यतै श्रम गरेर यतै पूर्ण छात्रवृत्तिमा पढेका पनि छन् ।
महिला र पुरुषलाई समान अवसर प्रदान गर्ने कतार सरकारको नीतिअनुरूप यहाँका सरकारी अफिसमा चारमध्ये दुई महिला कर्मचारी हुनेछन्, यसको अर्थ समान समावेशी सहभागितालाई अंगीकार गरेको भन्ने बुझिन्छ । जसले महिला पुरुष समान हुन बराबरको अंशियार हुन भन्ने सन्देश दिइरहेको छ ।
कतार तेल र प्राकृतिक ग्यासका लागि यो मुलुक विश्वकै समृद्ध भण्डार पनि हो । आईएमएफले निकालेको तथ्यांक अनुसार कतारको सन् २०२४ को कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ३९६ बिलियन अमेरिकी डलर छ ।
कतारको आजको यो अर्थतन्त्रले विश्वको धनी देशको सूचीमा कतारलाई सूचीकरण गरेको छ, जहाँ हरेक नेपालीले श्रमिकले अथवा आप्रवासी कामदारले आफ्नो क्षमता योग्यता अनुसारको रोजगार प्राप्त गरेका छन् ।
थोरै जनसंख्या र सानो भूगोल भएर पनि यो देश पश्चिम एसियाली देशहरूमा शक्तिशाली छ । यहाँको शैन्यशक्ति, युग सापेक्ष प्रविधि, चुस्त–दुरुस्त कार्यसम्पादन र आफ्नो धर्मप्रति पूर्ण विश्वासका कारण पनि कतारले आफ्नो शक्ति साम्राज्य फैलाउँदै गरेको पाइन्छ ।
सन् २००५ मा कतार सरकारले इन्भेस्टमेन्ट अथोरिटी संस्था खडा गरी विश्वका ८० देशमा लगानी गरिसकेको छ । अमेरिका, बेलायतजस्ता ठुला देशमा अर्बाैं डलर खर्चेर एग्रिकल्चर, हाउजिङ, निर्माण कम्पनीहरू खोलिसकेको छ । आफ्नै देशमा सम्पन्नशाली हमाद अन्तर्राष्ट्रिय विमानस्थल र कतार एयरवेजको भरपर्दाे नियमित उडानले गर्दा यहाँको एअरपोर्ट विश्वको ट्रान्जिट–हब बनाइरहेको छ । इतिहासमा आफैँलाई शासन गरेको शक्तिराष्ट्र बेलायतसँग मिलेर संयुक्त लगानीमा बेलायतमा हिथ्रो विमानस्थलको लगानी कर्ता बनेको छ ।
नेपालले पनि माग्ने बानी छाडेर पूर्वाधार विकास, औद्योगिक, पर्यावरण र पर्यटनको क्षेत्रमा कतार सरकारसँग संयुक्त लगानीको वातावरण बनाउन सक्नुपर्छ । यस्ता अवसर बारम्बार आइरहँदैनन् । अहिले नेपालमा लगानीकर्ताका लागि र नेपालमा लगानी भित्र्याउने सुवर्ण अवसर हो । किनभने आजको दिनमा नेपालले कतारलाई श्रम बेचिरहेको छ । जुन समयसम्म श्रमको माग रहिरहन्छ, त्यो अवस्थासम्म राज्यले लगानी र बिनासम्झौतामा अनुदानको लाभ लिइराख्नु देशका लागि श्रेयष्कर हुन्छ । अध्यादेश मर्मत आवश्यक कानुनी तथा नीतिगत सहजता, लगानी सुरक्षाका बाटाहरू खोल्नेपर्ने यस्तो कामका लागि हो ।
कुनै पनि देशको अर्थतन्त्र होस् या राजनीति यसको पृष्ठभूमिमा समाज हुन्छ, अर्थात् सबल अर्थतन्त्र तथा परिष्कृत राजनीति दुवैका लागि त्यही प्रकारको समाज चाहिन्छ ।
कतारका लागि अर्थतन्त्रको बलियो माध्यम यहाँको तेल र ग्यास भए पनि मुख्य रूपमा नेतृत्वले लिने सही नीति नै हो । यहाँको कतारी नागरिकले आफ्नो देश प्रति अगाध प्रेम गर्छन्, यहाँका कुनै पनि सरकारी सम्पत्तिको दोहन या नराम्रो गर्दैनन्, सरकारी सम्पत्ति समाज अर्थात् हाम्रो हो भनेर स्याहार–सम्भार गर्ने गर्छन्, जसले राज्यको भूमिकालाई झनै बलियो बनाउँदै लैजान्छ ।
राजनीतिक र आर्थिक रूपमा नेपाल र हामी नेपाली आज हामी जहाँ छौँ, त्यसको श्रेय अवश्य पनि हामीले लिनुपर्छ । राज्यले अपनाएको श्रमिक बेचेर रेमिटेन्सले देश धान्ने शोषणमुखी अर्थतन्त्रमा आधारित सामन्ती प्रकारको राजनीतिबाट निस्केर आफ्नै प्राकृतिक स्रोत र श्रमको बुतामा कतारजस्तै नेपालले पनि विश्वसामु वैभव खडा गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीले देशका हरेक गतिविधि बुझन जरुरी छ : अध्यक्ष राउत
-
दोलखाको सैलुङमा पुरातात्त्विक महत्त्वको घण्टी चोरी, प्रहरी भन्छ– चोर खोज्दैछौँ
-
‘वर्षा हुने बलियो मौसम प्रणाली छैन’
-
गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात
-
पोखरा घटनापछि गृहमन्त्रीले भने– आगामी दिनमा सतर्कता अपनाउनुपर्छ
-
‘प्रारम्भिक बाल विकासलाई विद्यालय संरचनाभित्र ल्याउनुपर्छ’