सप्तरी जिल्लाका प्रमुख ऐतिहासिक गढीहरू
![सप्तरी जिल्लाका प्रमुख ऐतिहासिक गढीहरू](https://npcdn.ratopati.com/media/news/gadhi_axavEFWoz6.jpg)
इतिहासविद् हरिकान्तलाल दास (१९९८–२०७६)ले राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा ३६ वर्ष इतिहास पढाए र इतिहास तथा संस्कृति विभाग प्रमुख समेत भए ।
२०५८ सालमा उनको पहिलो शोधकृति ‘सप्तरीको राजनीतिक इतिहास एवं प्रमुख धार्मिक स्थलहरू’ प्रकाशन भयो । यस्तै २०६० सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्रकाशनमा ‘सप्तरी जिल्लाका प्रमुख सांस्कृतिक स्थलहरू : एक अध्ययन’ र २०६७ सालमा साझा प्रकाशनबाट ‘सप्तरी जिल्लाका प्रमुख ऐतिहासिक गढीहरू’ नामक शोधमा आधारित पुस्तक प्रकाशित भए ।
यिनै योगदानको कदर गर्दै उनलाई त्रिभुवन विश्वविद्यालयले २०४८ सालमा, मैथिली साहित्य परिषद्ले २०६९ सालमा, श्री लूनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरले २०७४ सालमा सम्मान गरेको थियो ।
सप्तरी जिल्लाका प्रमुख ऐतिहासिक गढीहरू’ नामक उनको कृति सप्तरी जिल्लामा रहेका गढीहरूको जानकारीका लागि अत्यन्तै उपयोगी छ । यस पुस्तकमा सप्तरीका ऐतिहासिक गढीहरू, पूर्वकर्नाटकालीन तथा कर्नाटकालीन गढीहरू, राजा पुरादित्यको बनौलीगढ तथा सेनकालीन गढीहरू, मानराजागढी, पुरानो सदरमुकाम अम्बरपुरगढी तथा अन्य गढीहरूको प्रशस्त जानकारी उल्लेख छन् । उल्लिखित ऐतिहासिक सामग्रीको आधिकारिकताका लागि सन्दर्भ–ग्रन्थ सूची र शिलालेख एवं उत्खननबाट पाइएका मूर्ति तथा अन्य वस्तुहरूको परिशिष्ट समेत दिइएको पाइन्छ ।
सप्तरी जिल्लाको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक, धार्मिक लगायत विषयमा इतिहासविद् दासको गहिरो शोध र अध्ययन छ । उनले सप्तरी जिल्लाका सबै गढीहरूको समग्रतामा अध्ययन र अनुसन्धान गरेको कुराको साक्षी यो पुस्तक रहेको छ । उनको शोधमा स्वदेश र विदेशका इतिहासविद्हरूका विचारहरू पनि आएका छन् ।
नेपालकै ऐतिहासिक गढ–गढीको अवस्थितिको क्रममा दासले भनेका छन्, ‘उपत्यकाबाहिर पूर्वी तराई भेगमा धेरै किल्लाको निर्माण भएको प्रमाण नै छ । जस्तो ः सिम्रौनगढले मध्यकालीन किल्लाको प्रतिनिधित्व गर्छ । त्यस किल्लालाई तराई क्षेत्रको सबभन्दा ठुलो गढीको रूपमा लिइन्छ ।’
यसै गरी सप्तरी जिल्लाको सन्दर्भमा ‘पूर्वाञ्चल क्षेत्रको सप्तरी जिल्लामा विभिन्न समयमा निर्माण गरिएका गढीहरू ठाउँ–ठाउँमा देखिन्छन् । ती गढीहरू ऐतिहासिक र पुरातात्त्विक दृष्टिकोणले धेरै महत्त्वपूर्ण छन् ।
प्राचीन कालमा सप्तरी एक जनपदको रूपमा रहेको थियो । त्यतिबेला वर्तमान सिरहा जिल्लाका सम्पूर्ण र सुनसरी जिल्लाका केही भाग समेत जनपदकै हिस्सा थियो । उनको पुस्तकमा सप्तरीको प्राचीनकालदेखिकै गढ–गढीहरूको विवरण समावेश गरिएको देखिन्छ ।
मानराजागढीको उत्खनन हुन जरुरी छ । तर स्थानीय समुदाय नै उत्खननका लागि तयार छैनन्, कारण मानिसहरू यस गढीलाई धार्मिक दृष्टिकोणले हेर्ने गर्छन् । इतिहासविद् दास भन्छन्, ‘गढलाई खन्दा कुनै सङ्कट आइपर्ने भएकाले स्थानीयहरू खन्ने साहस गर्दैनन् ।’
सप्तरीका पूर्वकर्नाटकालीन गढीहरूमा महिसोथागढ, पकडियागढ, तरेनागढ, कञ्चनगढ, पतारपोखरी छन् । कर्नाटवंशीय राजाहरूको तिरहुत राज्यशासन सन् १०९७ मा नान्यदेवद्वारा प्रारम्भ गरिएको थियो । उपरोक्त गढीहरू तिरहुतमा कर्नाटवंशीय शासन प्रारम्भ हुनुभन्दा अघिका हुन् । तिरहुत राज्यमा उत्तरमा पर्सादेखि मोरङसम्म र दक्षिणमा भारतको दरभंगासम्मको भूभाग पथ्र्यो ।
यसरी नै सप्तरीका कर्नाटकालीन गढीहरूमा सखडागढी, गढीगाछी (सोन्धपुरगढी), लालापट्टी, सकरपुरा, रुपनगढ/कञ्चनगढलाई लिइन्छ ।
मुस्लिमहरुको आक्रमणपछि तिरहुत राज्यको विघटन भयो । तत्पश्चात् सप्तरी सेन शासन मातहतमा आएपछि निर्माण गरिएका गढ–गढीहरूमा बनौलीगढ, मरनाही पोखरी, राजदेवीगढी, गढिया, हरिनगरा, एकागढ (चन्द्रभागागढी र कनकपट्टी), कान्छा खोरिया गढीहरू रहेका छन् । यी गढीका अतिरिक्त केही अन्य गढीहरू पनि छन्, जसको ऐतिहासिक र पुरातात्तिवक महत्त्व छ । यस्ता गढीहरूमा मानराजागढी, अम्बरपुरगढी, ठेलिया–भेडियागढी, अकबरपुरगढी, राजगढ, कोइलाडीगढी लगायत छन् । यीमध्ये गढिया गाउँ इतिहासविद् दासको जन्मस्थल नै हो ।
गढिया गाउँको गढीको भौतिक अवशेष सतहमा नदेखिए पनि यहाँ गाउँलेहरूले खनजोत गर्दा इँटाका टुक्रा, जाँतो, माटाका गाग्राका टुक्राहरू भेटाइरहन्थे । इतिहासविद् दास भन्छन्, ‘गाउँलेहरू भन्छन्— गढी नष्ट भएपछि त्यहाँका मानिसले गढीभन्दा अलि पर गएर टोल बसाले, जो अहिले गढिया गाउँको नाउँले चिनिन्छ ।
‘गढ’ वा ‘गढी’का लागि संस्कृत भाषामा दुर्ग भन्ने शब्द छ, जसको अर्थ खाता, खावा, कोट, कोत, दुर्ग, खाडल, किल्ला आदि हुन्छ । दुर्गको अर्थ हुन्छ– किल्ला । यो एक प्रकारको रक्षात्मक संरचना हो, जो प्राचीन कालमा राजा र साम्राज्यहरूद्वारा आफ्नो सुरक्षाका लागि बनाइन्थ्यो । दुर्गहरूको निर्माण सामान्यतः उच्च स्थान, पहाड, नदी किनार वा अन्य रणनीतिक स्थानमा गरिन्थ्यो ताकि शत्रुको आक्रमणबाट रक्षाको व्यवस्था सुनिश्चित गर्न सकियोस् ।
मानराजा गढी
इतिहासविद् दासले सप्तरी जिल्लाका पुरानो समयका ढिस्काहरूमध्ये मानराजाको ढिस्कोलाई सबैभन्दा ठुलो बताएका छन् । उनका अनुसार गढीको यस्तो ढिस्को यस क्षेत्रमा त के सम्पूर्ण सप्तरी–सिराहा जिल्लामा यो एउटा मात्र हो । यो ढिस्को राजविराजबाट १० किलोमिटर पश्चिममा पर्छ ।
मानराजा गढीको नाउँले परिचित यो गढी क्षेत्र २२ कट्ठाभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । यस ढिस्कोको छेउछाउमा पुरानो भग्न मन्दिर, पोखरी र इनार रहेको देखिन्छ । इतिहासविद् दास भन्छन्, ‘ढिस्कोको कतै–कतै पक्की इँटले बनाएका ठुल्ठुला पर्खालहरूको अवशेष हेर्दा ढिस्को प्राचीन समयको गढ अथवा राजदरबारको भग्नावशेष जस्तो देखिन्छ ।’ यद्यपि मानराजागढीको ढिस्कोको उत्खनन आजसम्म हुन सकेको छैन ।
मानराजागढीको उत्खनन हुन जरुरी छ । तर स्थानीय समुदाय नै उत्खननका लागि तयार छैनन्, कारण मानिसहरू यस गढीलाई धार्मिक दृष्टिकोणले हेर्ने गर्छन् । इतिहासविद् दास भन्छन्, ‘गढलाई खन्दा कुनै सङ्कट आइपर्ने भएकाले स्थानीयहरू खन्ने साहस गर्दैनन् ।’
यस्ता कुरालाई एक खाले अन्धविश्वासको संज्ञा दिन सकिन्छ ।
गढीको आरम्भिक अवस्थादेखि नै जोडिएर आएको र अलपत्र परेको राजाजी मन्दिरप्रतिको दृष्टिकोण भने धार्मिक हुनैपर्छ तर ऐतिहासिक र पुरातात्त्विक संरचनाको विकासमा अवरोधक रहेको जुनसुकै सोचलाई समयको चेतनाले खारेज गर्नुपर्छ ।
राजाजी मन्दिर ढिस्कोदेखि केही पूर्व माध्यमिक विद्यालयको परिसरमा अवस्थित छ । यो मन्दिर अत्यन्तै पुरानो इमली (तित्री)को रूखमुनि जीर्ण र क्षतविक्षत अवस्थामा छ । पश्चिमतर्फबाट प्रवेशद्वार रहेको यस मन्दिरको दुवैतर्फ आयताकार पत्थरहरूले पाँच फिटजति अग्लो पर्खाल ठड्याइएको छ । वृक्षको फेदमा कालो पत्थरको टुटेफुटेका मूर्तिहरू राखी पूजाआजा गर्ने गरिएको छ । इतिहासविद् दासले राजाजीको नामले पुजित मूर्तिलाई लक्ष्मीनारायणको भनी किटान गरेका छन् । स्थानीयले यसलाई राजाजी थान भनेर पूजाआजा गर्दै आएका छन् । जिज्ञासु पर्यटकहरू पनि गढीको अवलोकन गर्न आइरहेका हुन्छन् ।
२०४५ सालमा नेपाल सरकारको पुरातत्त्व विभागको टोलीले यस क्षेत्रमा सर्वेक्षण गरेको थियो । यस मन्दिरको भित्री भागमा आयताकार इँटा प्रयोग गरिएकाले अर्को कुनै मन्दिरको भग्नावशेष हुन सक्ने टोलीको प्रतिवेदनमा उल्लेख छ । राजविराजस्थित राजदेवी मन्दिर र मानराजाको राजाजी मूर्तिबीच समानता रहेको छ ।
मधेश प्रदेशमा अवस्थित सप्तरी जिल्ला ऐतिहासिक, सांस्कृतिक र पुरातात्त्विक दृष्टिले महत्त्वपूर्ण क्षेत्र हो । सप्तरी जिल्लाका गढीहरू मुख्यतया मधेश क्षेत्रको राजनीतिक, सैन्य र सांस्कृतिक केन्द्रका रूपमा रहिआएका छन् । यहाँ अनेक प्राचीन गढहरू छन्, जसले यस क्षेत्रको राजवंशहरूको इतिहास र विभिन्न पुरातात्त्विक सम्पदालाई प्रतिविम्बित गर्छ । स्थानीय समुदायमा व्याप्त धारणा वा भ्रमहरूलाई चिरेर भए पनि यस्ता सम्पदाहरूको ऐतिहासिकताको संरक्षण गर्न आवश्यक छ ।
(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दक्खल राख्छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन
-
ला लिगामा रियाल र एटलेटिको मड्रिड दुबैलाई ठक्कर, बराबरीले घट्यो अंक दुरी
-
प्रिमियर लिग : आर्सनल जित्दा नटिङघमलाई झट्का
-
प्रिमियर लिगमा म्यान्सिटीको फराकिलो जित, उमरले गरे ह्याट्रिक
-
सात दिन, सातै प्रदेश, सात म्याराथन
-
रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किदा युवाको मृत्यु