आइतबार, ०४ फागुन २०८१
ताजा लोकप्रिय
निबन्ध

ग्रहणले लुकाएको सूर्य र सियोको डोब

शनिबार, ०३ फागुन २०८१, १८ : ३०
शनिबार, ०३ फागुन २०८१

किताब के हो, त्यहाँ के हुन्छ ? उसलाई केही थाहा छैन । कहिलेकाहीँ थोत्रा जुत्तालाई मालिकले छोपेर ल्याउँदा फुर्सदमा ऊ चित्रसम्म हेर्छ । ऊ चित्रलाई चित्रको रूपमा बुझ्छ, त्यसमा विम्ब के छ, अलंकार के हो ? अभिधा वा लक्षणा कसरी प्रयोग गरिएको छ, उसलाई कुनै मतलब छैन । उसलाई थाहा छ, कुन सोल सकिन लागेको छ । गम र पोलिस कति छन् ? ब्रस खिइयो कि बाँकी छ ! 

ऊ गम सकिएकामा चिन्ता गर्छ, ब्रस खिइएकामा अफसोस मान्छ । सियोको टुप्पो जस्तै खिइँदै गएको आफ्नो जिन्दगी र शरीरबाहिर निस्कँदै गएका नसालाई सियोको डोबमा रमाएका उसका आँखाले देख्दैनन् । ती सबै उसका लागि गौण छन्, जसरी छोपिन्छन् जुत्ताको सोलमा धागोका डोबहरू ।

धागोजस्तै जेलिन्छन् मनका रहरहरू, यता छुट्ट्यायो उता गाँठो पर्छ । कतिलाई त छुट्ट्याउन नसक्दा बिचैमा काट्नुपर्छ, कति सग्ला आउँछन् । अन्त्यमा गुजिल्टएर निकाल्न नसकिने धागोलाई फाल्नुपर्छ फोहोरमा, सोकेसमा सजाएका सपनालाई जस्तै गरेर । मसिना धागोका डोरालाई जतन गरेर सदुपयोग गर्छ धानुले । उसलाई थाहा छ, जीवनको यात्रा र धागोको गुजुल्टाइ बराबर छ । यो अल्झियो भने निकाल्न कठिन पर्छ । सार्वजनिक शौचालयको प्रवेशद्वारमा बेल्जियम कार्पेटले मोरेको एउटा काठको बाकस छ । सफा, चिटिक्क र सुन्दर बाकसमा सेतो इनामेलले घुमाउरो अक्षरमा लेखिएको छ, ‘यहाँ जुत्ता मर्मत गरिन्छ’ शंकर धानु । 

धानुको हातले सिलाएको जुत्ता बलियो हुन्छ । ऊ जुत्तालाई खिपेर सिउने गर्छ, यही विश्वास छ उसका ग्राहकमा । ऊ बिहानको सूर्योदयसँगै आइपुग्छ यहाँ र सन्ध्या कालको दीप मन्दिरमा जलेपछि फर्कन्छ, आफ्नो वासस्थान । वासस्थानका नाममा कुखुराको खोरजस्तै सानो झुप्रो छ । झ्याल नहुँदा उज्यालो छिर्दैन । बजारिया सामान राख्ने विभिन्न खोललाई उसले ओछ्यान बनाएको छ । 

धानु हाँस्छ र भन्छ, ‘युवाहरू युवती आकर्षण गर्नका लागि जुत्ता टल्काउन आउँछन् । बुढाहरूमा पनि युवतीले हेर्लान् भन्ने आशा मरेको छैन ।’ उसले हाँस्दा मुजा पर्छ गालामा, उपत्यकाको उर्वर जमिन घरहरूले ओझेलमा पारेर छपक्क छोपेझैँ । 

चिटिक्क फूलसरी सजिएका युवती टाल्न आउँछन्, पक्लक्क उक्किएका जुत्ता । र कम्पनीलाई सराप्छन्, ‘राम्रो भनेर बेच्यो एक दिन लाउन पाएको छैन उक्किएर हैरान । पैसाको काल ।’ ऊ फिसिक्क हाँस्छ र भन्छ— म छँदै छु हजुर । किन चिन्ता लिनुहुन्छ ? म नयाँभन्दा राम्रो बनाइदिन्छु । पूरै फाटेर जान्छ, तर उक्किँदैन । 

जुत्ताको रङ र सिलाई सकेर पैसा लिने बेला धानुले सधैँ देखाउने गर्छ, परागले कालो पारेर मकिया लागेका दाँत । मोलमोलाइ हुन्छ, काम सकिएपछि । टिलिक्क परेको जुत्ता बनाउँदा आफूले अनुहार अँध्यारो पार्नुपर्छ भन्ने धानुले बुझेको छ तर पनि धानु भन्छ, ‘धागोको मोल दिनुपर्छ तपाईंले ।’ सिलाइको ज्याला त म आफैँ बेहोरौँला हजुर । ‘हजुर त मेरो पुरानो ग्राहक हो ।’ चाहे त्यो ग्राहक उसको मर्मत सेन्टरमा पहिलोपटक किन नआएको होस् । ऊ पुरानो ग्राहकको रटान छाड्दैन ।

युवतीहरू आफ्नो तुनामा लागेको दागले जुत्ताको स्वरूप बिगारेको सम्झिन्छन् । नयाँ तुनाको मोलमोलाइ गर्छन् । आफूलाई मन परेको रङ छानेर जुत्तामा लगाउन अह्राउँछन् । धानुलाई थाहा छ, मोलमोलाइ हुन्छ भन्ने । उसले हरेक सामानमा छुट दिने मूल्य निर्धारण पहिले नै तयार गरेर बोल्छ । उसलाई थाहा छ एक सय मूल्य पाउने हो भने एक सय पचास त भन्नैपर्छ । श्रमको पूरा मूल्य पाउनका लागि ।

बुढाहरूभन्दा युवतीहरू अलि कम कन्जुस गर्छन् । कहिलेकाहीँ हाँस्दाहाँस्दै फिर्ता लिन बिर्सन्छन् । धानुले बोलाएर पैसा फिर्ता दिने कोसिस गरे पनि उनीहरू हाँस्दै आफ्नो बाटो लाग्छन् । फेरि फर्केर आउँछन् कि भनेर ऊ आँखा गाढेर बस्छ । तर, उसको पर्खाइ पुराना ग्राहकको सूचीमा पर्दैन । यो ऋतुको चक्रजस्तै निरन्तर चलिरहेको हुन्छ । 

एउटा छाताले पूरा पसल ढाकेको हुन्छ । आफू बोराले मोरेको परालको चकटीमा बसेर ग्राहकलाई आफ्नो सजावटको बाकस सुम्पिन्छ, बस्नका लागि । भदौको गर्मी होस् वा असारको वर्षा, सबै छल्ने त्यही एउटा छाता हो । यो सहारा मात्र होइन पसलको शोभा पनि हो । त्यही छाताले त उसको शिरलाई माथि उचाल्न सकेको हो । 

सियोको टुप्पो जस्तै खिइँदै गएको आफ्नो जिन्दगी र शरीरबाहिर निस्कँदै गएका नसालाई सियोको डोबमा रमाएका उसका आँखाले देख्दैनन् । ती सबै उसका लागि गौण छन्, जसरी छोपिन्छन् जुत्ताको सोलमा धागोका डोबहरू ।

च्यातिँदैन भनेको होइन ? दुई दिनमै उक्कियो त । फेरि बनाइदिनुस् पैसा आउँदैन है । एउटी युवतीको चर्को गर्जन उसको आँखाभन्दा पहिला कानमा पर्छ । आँखामा तस्बिर आइपुग्दा हाँसेर भन्छ, यत्रो वर्षा भइरहेको छ, भिजेपछि गम कमजोर हुन्छ । चिन्ता नगर्नु मेरो ज्याला पर्दैन, गमको पैसा दिनुस् न । युवती धानुको कुरामा सहमत हुन्छे र हाँसेर भन्छे— अब बलियो तरिकाले बनाइदिनुस् है फेरि आउन नपरोस् । यो आत्मीयता हो कि धम्की, धानु बुझ्दैन तर हाँसेर भन्छ अब त केही गरे पनि यो उक्किँदैन । यति नबोल्ने हो भने त उसको व्यापार कसरी चल्छ र ?

धानु कोहीसँग रिसाउँदैन । उसलाई थाहा छ रिसाएर त व्यवहार चल्दै चल्नैन । बरु यी मखिया लागेका दाँत देखाएर हाँस्दा नै जितिन्छ । यो बुझेको उसले वर्षौं भयो । र त स्कुलले हाजिर गराइरहेको छ बच्चालाई । भरिँदै छ श्रीमतीको पेट । छोपिँदै छ परिवारको शरीर । यी सबैका लागि उसले हाँस्नुपर्छ ।

कोही थर्काउँछन् कोही चिढ्याउँछन्, कोही अपजस लगाउँछन् कोही गुनासो गर्छन्—  जे भए पनि उसको एउटै उत्तर छ, हस् हजुर । आफ्नो सीप र व्यवसाय बलियो बनाउन ऊ कहिलेकाहीँ भन्छ, ‘आजकाल धागो कमजोर आउन थाल्यो । गम पनि राम्रो टाँसिदैन । मैले त सकेसम्म बलियो बनाउने गर्छु नि हजुर, तपाईं त मेरो मान्छे हो नि । 

कहिले नगरपालिकाको गाडी आउँछ, साइरन बजाउँदै । शौचालयको ओसिलो भुइँमा राख्छ आफ्नो सामान । सरकारी संयन्त्रभन्दा छिटो सञ्चार हुन्छ, सडकमा व्यापार गर्नेको । एक सन्देशमा चलायमान हुन्छन् सबै । मानौँ यिनीहरू स्वचालित मेसिन हुन् । जहाँबाट स्विच दबाएपछि बल्छ, बत्ती पर पोलमा राखिएको ।

जुत्ताका सोल र तुनाहरूको रङजस्ता सपना सजाएर धानु सधैँ उज्यालो अनुहार बनाएर बस्छ । बिहान उसले के खान्छ थाहा हुँदैन तर साँझमा भने उसले ठुलो एक गिलास लोकल पिउँछ । ऊ भन्छ, मैले एक गिलास पिउन पाइन भने मलाई रातमा गमको मात लाग्छ । थोत्रा जुत्ताले मुक्तिको सास रोकेको भनेर सराप्छन् । कति बाँच्नु हो, टेकिएर जीवन । अरुलाई माथि पुर्‍याउँदा आफैँ च्यापिएर खिइनुको पीडा म कसलाई भनौँ । 

कहिलेकाहीँ बाटोमा फालेका जुत्तालाई देखेर धानुलाई लाग्छ, यो जुत्ता मैले सिलाएको हो कि ? ऊ अरुको जुत्ता सिलाउँदा सिलाउँदै आफ्नो चप्पल सिलाउन नभ्याएर फाटेको चप्पल ओल्टाएर हेर्छ । बलियो सोल हुँदाहुँदै किन फाल्यो यो जुत्ता ? ऊ आफैँलाई प्रश्न गर्छ । आफ्नो जिन्दगीजस्तै बेवारिसे भएको त्यो जुत्ताको मालिक हराएको छ । जुत्ताको दृश्यले मन अमिलो भएको हो कि आँखाले थाहा पाउँदैन । कोमल भावले भरिएका आँसुले एकाएक घाँटी अवरुद्ध गर्दा हिक्का छोड्छ । सहारा जस्तै खै त पिउनका लागि पानी !

हजारौँ जुत्ताको अमिलो गन्ध सहेको नाकले थाम्न सकेन मनको आँधी । तरक्क चुहाइरहेको छ, पातलो सिँगान । सोल प्वाँक्क उक्किँदा ऊ मजाले टाल्न सक्थ्यो । कति धागो लाग्छ, कति गम उसलाई थाहा छ । यति धेरै कला र सीप भएको व्यक्तिले किन सकेन, जाबो मनलाई नियन्त्रणमा राख्न ।

हिसाब गरेन उसले क–कसका कति जुत्ता सिलायो, कतिको इज्जत जोगायो । कतिलाई चटक्क र टिलिक्क पार्‍यो । अरुलाई टिलिक्क र चिटिक्क बनाउँदा ती जुत्तामा लागेको फोहोर, पसिना र झुत्रो भाग सबै आफ्नो भागमा लियो । आफूलाई चम्काउनेहरूले उसको दुःख देखेनन् । सीपको कदर गरेनन्, श्रमको मोल बुझेनन् । यी सबै विषयलाई थाती राखेर एक दिन ग्रहणमा सूर्यजस्तै अलप भयो धानु । 

धनु शारीरिक रूपमा कमजोर बन्यो । अचेल ऊ बसेको स्थानमा जुत्ताहरू उसै गरेर झोलामा आउँछन् । सफा र चिटिक्क बन्न नसकेका जुत्ताहरू भारी मन लिएर फर्किन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बोधराज पौडेल
बोधराज पौडेल
लेखकबाट थप