आइतबार, ०४ फागुन २०८१
ताजा लोकप्रिय
फर्केर हेर्दा

फेरि देवराली रुन्छ ?

शनिबार, ०३ फागुन २०८१, १७ : ००
शनिबार, ०३ फागुन २०८१

अनि देवराली रुन्छ !

अक्टोबर ६, सन १९७२ ! प्रथम मञ्चनको दिन । 

अक्टोबर ७, सन् २००६ ! पुनर्मञ्चनको दिन ।

३४ वर्षको समयान्तरमा अनेकौँ दृश्य–अदृश्य घटना–दुर्घटना विश्व रङ्गमञ्चमा अवतरित भइसकेका छन् । स्थापनाकालदेखि नै नाट्यमञ्चनका क्षेत्रमा ऐतिहासिक भूमिका खेल्दै आएको गोर्खा दुःख निवारक सम्मेलन कौस्तुभ रत्नबाट विभूषित भएको छ । संस्थागत उल्लेखनीय वर्षलाई उत्सवमय र समारोहमय तुल्याउन उपर्युक्त नाट्यकृतिको चयन हुनु आफैँमा गौरवानुभूति हो । पुनर्मञ्चनको अवसर भनेको पुराना रङ्गकर्मीहरूमाझको पुनर्मिलन पनि हो, नयाँ पुस्ता र पुराना पुस्ताका रङ्गकर्मीहरूमाझको सेतुबन्ध पनि हो ।

यसै अवसरमा एक्काइसौँ शताब्दीको पहिलो दशकले पछि फर्केर बीसौँ शताब्दीको सातौँ दशकलाई अभिवादन गरेको छ । पछि फर्केर हेर्दा सन् १९७१ लाई सम्झन्छु, जब श्रद्धेय श्री काशीनाथ शर्मा गोदुनिस (गोरखा, दुःख निवारक सम्मेलन)को मूल मन्त्रीको गरिमामय पदमा निर्वाचित भएर सम्मानित हुनुभयो । सहायक मन्त्रीका रूपमा उहाँले सर्वश्री गुरुदास मुखर्जी, गोपाल सुन्दास र मलाई पनि आफ्नो टोलीमा समावेश गर्नुभयो । साहित्य र संस्कृति विभागको जिम्मेवारी पाएपछि नाट्यलेखन र मञ्चनमा पनि मैले क्रियाशील हुनुपर्‍यो ।

गत शताब्दीअन्तर्गत साठीको दशकका अन्तिम वर्षहरूमा पूर्णाङ्की नाटकहरू रङ्गमञ्चबाट प्रायः विस्थापितझैँ भइसकेका थिए । बिच्किसकेका दर्शकलाई रङ्गमञ्चतर्फ उन्मुख गराउनु चानचुने प्रयासले पुग्दैनथ्यो । गीत–नाचमूलक कार्यक्रममा एकाङ्की वा लघुनाटक घुसाउनुबाहेक अर्काे विकल्प थिएन । यसर्थ ‘अनुराग’ र ‘तर क्षितिज हाँस्दैन’ जस्ता एकाङ्कीहरूको मञ्चनबाट हामीले नाट्य यात्रा आरम्भ गरेका थियौँ । भनौँ, पछिल्लो एकाङ्कीको आधार शिविर टेकेपछि मात्र हामीले ‘अनि देवराली रुन्छु’को आरोहणको तयारी गरेका थियौँ ।

पूर्णाङ्की नाटकको मञ्चन आफैँमा एउटा जोखिमपूर्ण तथा चुनौतीपूर्ण सांस्कृतिक अभियान थियो । सीमित स्रोत र साधन । प्रचार–प्रसारका प्रभावकारी माध्यमको न्यूनता । महिला कलाकारको अभाव । व्यक्ति–व्यक्ति, घर–घर, कार्यालय र शैक्षिक संस्थाहरू ढुकेर दर्शक फकाउनुपर्ने बाध्यता ।

एक–दुई दिन रिहर्सल गरे तापनि रामलाल अधिकारी, पुकार गुरुङ र गौतम छेत्रीले खेल्न भ्याउनुभएन । मञ्चनको म्याद दश दिन मात्र बाँकी थियो । तैपनि तीनजना महिला कलाकार पाउन सकिएन । यस्तो निराशाजनक अवस्थामा तत्कालीन नेपाली कन्या माध्यमिक विद्यालयकी अध्यापिका सुश्री इन्दु देवानले राहत दिनुभयो । उहाँले आफ्ना छात्राहरू अल्का र मीना मात्र उपलब्ध गराउनुभएन तर आफैँले पनि एउटा भूमिका निर्वाह गरिदिनुभयो । यस्ता विविध प्रतिकूल स्थिति र दुरावस्थाहरूबाट गुज्रिए पनि जब प्रथम प्रदर्शनका निम्ति रङ्गमञ्चको पर्दा उठ्यो तब... !

प्रथम प्रदर्शनदेखि १९८१ मा काठमाडौँमा अन्तिम प्रदर्शनमाझको कालखण्डमा यस नाटकले पटक–पटक विविध कसीमा घोटिनुपर्‍यो, भौतिक र मानसिक तहमा अनेकौँ द्वन्द्व र अन्तद्र्वन्द्वहरू झेल्नुपर्‍यो । पर्दाअघि र पर्दापछिका केही रङ्गकर्मीहरू भित्रिने र बाहिरिने क्रम जारी रह्यो । दार्जिलिङ, कालेबुङ, मङ्पु, गान्तोक, सिलगढी, कलकत्ता, खड्गपुर, बाख्राकोट, काठमाडौँ, विराटनगर, धरान, वीरगन्ज, पोखरा, डुवर्सको एक स्थान गरी चौधवटा रङ्गमञ्च र त्यहाँका दर्शकहरूका गहिरो सद्भावनाभित्र यो नाटक आप्लावित भएको थियो । न्यानो अभिवादन तत्कालीन सम्पूर्ण दर्शकहरू, आयोजकहरू, सहयोगीहरू, शुभचिन्तकहरू अनि अग्रज र दाँतरी रङ्गकर्मीहरूप्रति ! हार्दिक श्रद्धाञ्जली डीएस गुरुङ काका, केबी मोक्तान पापा, भाइ देवदत्त ठटाल र बहिनी मीना प्रधानप्रति ।

त्यसो त, त्यसै पनि दार्जिलिङको मानसिकता आन्दोलित थियो, नेपाली भाषाको संवैधानिक मान्यताको सङ्घर्षले । यो नाटकले कुन तार छोइदिएछु कुन्नि ! तत्काल नै अचानक स्थानीय रागवेदनाहरू झङ्कृत भएछन् ।

साठीको दशकका अन्तिम वर्षहरूमा पूर्णाङ्की नाटकहरू रङ्गमञ्चबाट प्रायः विस्थापितझैँ भइसकेका थिए । बिच्किसकेका दर्शकलाई रङ्गमञ्चतर्फ उन्मुख गराउनु चानचुने प्रयासले पुग्दैनथ्यो । गीत नाचमूलक कार्यक्रममा एकाङ्की वा लघुनाटक घुसाउनुबाहेक अर्काे विकल्प थिएन ।

अनि आजको समकालीन परिवेश । अत्याधुनिक सूचना प्रविधिको सञ्जालमा जेलिएको विश्वग्राम ! भूमण्डलीकरणको बहानामा भइरहेको सांस्कृतिक उपनिवेशीकरण ।

टेलिभिजनको प्रभावकारी भूमिका ! विभिन्न च्यानलहरूबाट प्रेरित सामाजिक रहन–सहन ! कतिपय पारम्परिक मूल्य र मान्य विचलन !

उसो भए के ‘अनि देवराली रुन्छ’ मञ्चनका निम्ति स्थिति अनुकूल छैन ? छ, किन छैन । फुल्ने फूल त शिशिरमा पनि फुलिहाल्छ नि, वसन्त नै चाहिन्छ र ! एउटा नितान्त फरक यथार्थको कठघरामा उभिएर यस नाटकले आफ्नो कलात्मक सत्तालाई स्थापित गर्नुपरेको छ । हेरौँ, एउटा प्रयोग र परीक्षण नै सही । कस्ता–कस्ता प्रभाव र प्रतिक्रिया उत्पन्न होलान् ।

यहाँ अर्काे एउटा खल्लो सत्य पनि उपस्थित छ । पहिले बैँसालु पात्रको भूमिकालाई चरितार्थ पार्ने केही कलाकारहरू यसपटक स्वेच्छाले नै नेपथ्यमा बस्नेछन्, युवा कलाकारहरूका निम्ति आशिष, प्रेरणा र मार्गदर्शनका स्रोत बन्नेछन् । पहिल्यै बुढापाका बनेर अभिनय गर्ने कलाकारहरूले चाहिँ यसपालि सायद मेक–अप गर्नुनपर्ला, अभिनय पनि गर्नुनपर्ला । गोदाममा बेवास्ता गरेर थन्क्याइएका पुराना वस्तुहरू जस्तै नाट्यचरित्रहरूलाई फेरि रङ्गमञ्चको आलोकमा प्रकाशित गर्नुछ । तिनलाई नयाँ जीवन र गति दिएर पुनव्र्याख्या र पुनर्विश्लेषण गर्नुछ ।

हुन त वर्तमान समयमा यस नाट्यमञ्चनको सान्दर्भिकता र उपयोगिताबारे अङ्कुशे चिह्न लाग्न सक्ला । पारम्परिक विम्ब र शिल्पसाधनाको माध्यमबाट प्रस्तुत हुने यस नाटकले समकालीन जीवनलाई प्रतिनिधित्व गर्दैन भन्ने आरोप पनि लाग्न सक्ला । यस्ता स्थितिहरू देखापरे भने यो नाटक पुनर्मूल्याङ्कनका निम्ति खुल्ला रहनेछ, आत्मरक्षाका निम्ति तत्पर रहनेछ । वास्तवमा नाट्यमञ्चन भनेको विशुद्ध सामाजिक–सांस्कृतिक चेतनाको रङ्गमञ्चनीय अभिव्यक्ति हो, कल्पनाशीलता र सिर्र्जनशीलताको कलात्मक प्रस्तुति हो ।

उल्लेख्य कुरा के छ भने फेरि पनि ‘गोदुनिस’कै भव्य आयोजना ! वर्तमान कार्यकारी समितिको कुशल व्यवस्थापन र सुपरिवेक्षण ! सर्वमान्य कर्म योञ्जन दाजुको स्नेहपूर्ण अभिभावकत्व ! बहिनी मेनुका प्रधान अनि किरण ठकुरीको दक्ष निर्देशन ! पुराना र नयाँ कलाकारका प्रतिभा, परिश्रम र प्रतिबद्धता । यो टिम स्पिरिटले पक्कै पनि एउटा सुखद् परिणामलाई निम्त्याउनेछ ।

‘अनि देउराली रुन्छु’को परिवार व्यापक छ तर यसपालि मञ्चनले सबैलाई अँगालो हाल्न सकेन । तैपनि सबै पुराना साथीहरू ! कुनै न कुनै रूपमा हामी सहभागी बनौँ । पुराना सम्बन्ध र मैत्रीभावलाई नवीकरण गरौँ । तिनै स्पन्दन समवेदनालाई पुनर्जीवित गरौँ । हाम्रो अतीतलाई वर्तमानको ऐनामा हेरौँ । नोस्ट्याल्जिया नै सही ! चौँतीस वर्ष पुरानो सङ्ग्रहालयको उद्घाटन गरौँ । अनि एकपटक आफूले आफैँलाई फेरि आविष्कार गरौँ ।

सबै साथीहरू आओ ! हामी समवेत स्वरमा गाऔँ — 

हे फूल चुँडेर लाने हो

यहाँ माली रोएको देख्यौ के,

खुसी मिलन मनाउने हो

यहाँ विछोड भएको देख्यौ के ।

०००

(सन् २०२२ मा ‘दार्जिलिङ जिल्ला वार्षिक पुस्तक मेला’ले अनि देवराली रुन्छ अर्धशताब्दी विशेष ‘अक्षर हाट’ स्मारिका छापेको छ । त्यसैबाट साभार मनबहादुर मुखियाको आलेख ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनबहादुर मुखिया
मनबहादुर मुखिया
लेखकबाट थप