आइतबार, ०४ फागुन २०८१
ताजा लोकप्रिय
बहस

दरबारमार्गको सडकमा नयाँ प्रयोग : यस्तो छ चर्चामा रहेको ग्रेनाइटको कहानी

शनिबार, ०३ फागुन २०८१, १९ : ३०
शनिबार, ०३ फागुन २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँको दरबारमार्गस्थित फुटपाथमा ग्रेनाइट बिछ्याउन थालेपछि अहिले यसको सर्वत्र चर्चा छ । ढुंगा छापिएको सडक पेटी भत्काएर ग्रेनाइट बिछ्याउन थालेपछि महानगरपालिकाको यो कदमको आलोचना र प्रशंसा दुवै भइरहेको छ । 

खासगरी काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का समर्थकहरूले यो कदमको प्रशंसा गरिरहेका छन् । आलोचकहरूले भने ग्रेनाइट महँगो हुने र पानी पोखिँदा चिप्लो भएर लड्ने भन्दै आलोचना गरिरहेका छन् । 

काठमाडौँ महानगरपालिकाले पाइलट प्रोजेक्टका रूपमा दरबारमार्ग क्षेत्रमा ग्रेनाइट बिछ्याउन लागेको हो । महेन्द्र सालिकदेखि प्रहरी वृत्तसम्म र पारिपट्टिको सडक पेटीमा अहिले ग्रेनाइट बिछ्याउने गरी तयारी गरिएको छ । यसका लागि तल्लो लेयरमा ढलान गरिएको छ भने त्यसमाथि ग्रेनाइटका बिछ्याउने तयारी गरिएको छ । याक एण्ड यति जाने बाटोको छेउको केही स्थानमा भने ग्रेनाइट बिछ्याइ सकिएको छ । 

तर, के बजारमा चर्चा भएजस्तै ग्रेनाइटमा चिप्लेर लड्ने सम्भावना छ त ? काठमाडौँ महानगरपालिका सहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्य यस्तो भन्नेलाई एकपटक दरबारमार्गमा बिछ्याइएको ग्रेनाइटमा गएर आफैँ अनुभव गर्न सुझाव दिन्छन् । 

‘जसले यसबारे कमेन्ट गर्नुहुन्छ, उहाँले त्यहीँ गएर हेर्नुपर्‍यो, आफैँले अनुभव गर्नुपर्‍यो,’ शाक्य भन्छन्, ‘हामीले त्यहाँ दुई किसिमको ग्रेनाइट राखिदिएका छौँ । भुईँमा बिछ्याएको ग्रेनाइट कस्तो छ हेर्नुहोस्, उभ्याएको ग्रेनाइट कस्तो छ हेर्नुपर्‍यो । गएर घिसारेर हेर्नुस्, पानी छरेर हेर्नुस् ।  अनि चिप्लिन्छ कि चिप्लिँदैन यसको जवाफ आफैँ थाहा हुन्छ ।’

अहिले ग्रेनाइट भन्ने बित्तिकै भान्सामा राख्ने ग्रेनाइटलाई सम्झिने गरेकोले समस्या भएको उनको बुझाइ छ । तर, यसमा धेरै फरक रहेको उनी बताउँछन् । ‘भान्सामा राख्ने ग्रेनाइटमा ग्लास पोलिस हुन्छ । यसमा हुँदैन । यसमा जति पानी पर्छ उति खस्रो हुँदै जाने भएकोले यसमा चिप्लिने सम्भावना नभएको उनको भनाइ छ ।  

  • कति छ लागत ? 

अहिले दरबारमार्गमा दुवै साइडमा ग्रेनाइट बिछ्याउन र ढल सुधार गर्न एकमुष्ट रूपमा ठेक्का लगाइएको छ । त्यसैले ग्रेनाइट बिछ्याउने खर्च मात्रै कति हो भनेर थाहा नहुने शाक्य बताउँछन् । दुवै कामको लागि ५ करोड १४ लाखमा ठेक्का दिइएको उनको भनाइ छ ।

‘हामीले फुटपाथमुनिको ढल सुधार र ग्रेनाइट बिच्छ्याउने गरी ५ करोड ७९ लाख लागत अनुमान गरेका थियौँ । प्रतिस्पर्धाबाट ठेकेदारले ५ करोड १४ लाखमा ठेक्का पाएको हो,’ शाक्य भन्छन्, ‘तेस्रो पटकको प्रयासमा ठेक्का लगाउन सक्यौँ । पहिलोपटक कोही आएका थिएनन् । दोस्रो पटक रद्द भयो । तेस्रोपटक प्रतिस्पर्धाका आधारमा ठेक्का दिएका हौँ ।’

यकिन लागत अनुमान नभए पनि यसको लागत प्रति वर्गफिट ७०० रुपैयाँ जति हुन जाने उनको भनाइ छ । यो सामान्य ढुंगा बिछ्याउँदा भन्दा डेढ सय रुपैयाँ जति महँगो पर्न आउँछ । ढुंगा बिछ्याउँदा ५/६ सय रुपैयाँ खर्च लाग्ने गरेको उनको अनुभव छ ।

  • ग्रेनाइट नै बिछ्याउनुको कारण

काठमाडौँ महानगरपालिकाले नयाँ प्रयोगको रूपमा ग्रेनाइट बिछ्याउन लागेको जनाएको छ । विदेशका सडकमा समेत ग्रेनाइट बिछ्याउने गरिएकोले नेपालमा प्रयोगको रूपमा दरबारमार्गमा बिछ्याउन लागिएको हो । 

ग्रेनाइटको घनत्व (डेन्सिटी) सामान्य ढुंगाको भन्दा धेरै हुने भएकोले यो टिकाउ हुन्छ । त्यस्तै, ग्रेनाइट धेरै तातो र धेरै चिसो तापक्रमले असर नगर्ने (वेदरप्रुफ) हुने भएकोले  एकपटक बिछ्याइ सकेपछि बिसौँ, तिसौँ वर्षसम्म पनि केही नहुने भएकोले विकसित देशका व्यस्त फुटपाथमा यस्तो बिछ्याउने गरिएको उनको भनाइ छ । अमेरिकामा टाइम स्क्वायरदेखि, कोरियाको सोल, जापानको टोकियोमा अधिकांश सडकपेटीमा ग्रेनाइट बिछ्याउने गरिएको शाक्य बताउँछन् । 

त्यसो त, सामान्य ढुंगा पनि एकपटक बिछ्याएपछि वर्षौंसम्म केही हुँदैन । तर, ढल, खानेपानी, टेलिकम, विद्युत् लगायतका लागि अन्डरग्राउण्ड गर्दा भत्काउने गरिएकोले समस्या हुने गरेको छ । त्यस्तै, फुटपाथमा सवारीसाधन चलाएको अवस्थामा भने यसले ग्रेनाइटलाई असर गर्न सक्छ । सडक जाम हुँदा सवारी विशेष गरी दुई पाङ्ग्रे सवारीसाधनले ओभरटेक गर्न फुटपाथ प्रयोग गर्ने तथा चारपाङ्ग्रे सवारी साधनले पनि पार्किङ गर्न फुटपाथमै उकाल्ने प्रवृत्ति छ । यस्तो अवस्थामा भने यसको आयु घट्न सक्ने विभागका प्रमुख शाक्य बताउँछन् । 

‘फुटपाथ गाडी गुडाउन भनेर बनाइएको होइन, गाडी गुड्छ भनेर नराख्ने भन्ने पनि भएन । त्यो चिज त रोक्न सकिँदैन । त्यसमा कन्ट्रोल नै गर्नुपर्ने होला । पिच गरेको सडक सवारी साधनको लागि हो, फुटपाथ त पैदलयात्रुकै लागि होला नि !’ 

अहिले नेपालमा आउने धेरैजसो ग्रेनाइट भारतबाट आउने गरेको छ । फुटपाथमा छापिएका अन्य ढुंगा भने अधिकांश नेपालमै बन्ने गरेको छ । दरबारमार्गमा बिछ्याउन लागिएको ग्रेनाइट पनि उतैबाट आएको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप