‘अनि देवराली रुन्छ’मा कान्छीको भूमिकादेखि निर्देशनसम्म
![‘अनि देवराली रुन्छ’मा कान्छीको भूमिकादेखि निर्देशनसम्म](https://npcdn.ratopati.com/media/news/menuka-pradhan_s5SCuz74eL.jpg)
दार्जिलिङमा नेपाली नाटक मञ्चनको इतिहासले ११३ वर्ष पार गरिसकेको छ । सन् १९०९ को प्रथम नेपाली नाटक पहलमानसिंह स्वाँरको नाटक ‘अटलबहादुर’ भन्दा पहिले दार्जिलिङमा बम्बई थिएटरको उर्दु, हिन्दी नाटक मञ्चन हुन्थे । नेपालीहरू पनि शिरी फरहाद तरबीरे रहमत गुलरू जरिना जस्ता नाटकहरू खेल्थे हेर्थे । तीमध्ये एक होनहार समाजसेवक, जातिप्रेमी, अरूको दुःखलाई पनि आफ्नै दुःखसरह सम्झने युवा थिए, धनवीर मुखिया ।
उनले जातिका निम्ति के गरेनन् । लावारिस लासको सम्मान साथ दाह–संस्कार गर्नु, गरिब दुःखीको सेवा गर्नु— यी सब उनको मुख्य लक्ष्य भए पनि हृदयको कुनामा कलाप्रति औधी चासो थियो विशेष नाटक विधामा । त्यसैले उनले साथीहरू बटुली ‘गोर्खा नेसनल थिएट्रिकल पार्टी’ नामक संस्था खोलेर दुई महिनामा पहलमान सिंह स्वाँरको नाटक तयार पारी मञ्चन गर्ने जमर्काे गरे । सन् १९०९ मा उक्त यसै नाटकलाई दार्जिलिङमा मञ्चन गरिएको प्रथम नेपाली नाटक मानिन्छ । नाटकमा सहयोगीहरू थिए— हस्तलाल गिरी अनि हरिसिंह थापा । प्रमुख कलाकारहरू थिए— ग्याल्पो लामा, मनबहादुर गिरी, रणजित सिंह आदि । त्यसपछि लगत्तै दोस्रो नाटक कञ्जुसको धन, तेस्रो नाटक अबु हुसेन, प्रदर्शन गरिएको थियो गोर्खा नेसनल थियट्रिकल पार्टीको ब्यानरमा ।
कालान्तरमा परिस्थितिवश गोर्खा नेसनल थियट्रिकल पार्टीले निरन्तरता दिन नसकेर उक्त संस्था विलीन भयो । त्यसपछि अर्काे संस्था ‘चिल्ड्रेन एम्युजमेन्ट एसोसिएसन’ गठन भयो । यस एसोसिएसनले आफ्नो १५ वर्षको समय कालमा २५ वटा राम्रा राम्रा नाटकहरू प्रस्तुत गर्यो । प्रायः सबै नाटकका ड्रामा मास्टर थिए, धनवीर मुखिया । त्यसताक निर्देशक डाइरेक्टर भन्ने चलन थिएन, सबैले ड्रामा मास्टर भनेर सम्बोधन गर्थे । यसरी नाटकहरूको मञ्चनले रफ्तार लिइरहेथ्यो विभिन्न संघ संस्थाको संयोजकत्वमा । सन् १९३२ मा ‘गोर्खा दुःख निवारक सम्मेलन’को स्थापना गर्दा भोग्नुपरेका पीडा धेरै छन् । सम्मेलन सामाजिक संस्था नभएर राजनीतिक संस्था हो भनेर पामप्लेट बाँडिए, त्यस ठाउँदेखि उच्छेद गर्ने प्रयास गरियो । तर पनि संस्थापक धनवीर मुखिया र उनका साथीहरू अडिग भई अटलबहादुर बनेर बसेको इतिहास छ । ती कर्मठ सामाजिक योद्धाहरूप्रति उनी हरेकमा प्रतिबद्धता, समर्पण, योगदान जाति प्रेमका निम्ति हामी सम्पूर्ण गोर्खा/नेपाली सन्ततिले कृतज्ञतापूर्वक हार्दिक नमन गर्नुपर्छ । यद्यपि उनीहरूको उक्त कार्यको ऋण आजन्म तिर्न सक्दैनौँ ।
पुराना हाम्रा अग्रज नाट्य कलाकारहरूले जति पनि नाटकहरू प्रस्तुत गरे ती प्रायः मनोरञ्जनात्मक हुन्थे । थरीथरीका आश्चर्यजनक तक्निकी खुबीहरूले चकित पार्ने सामथ्र्यहरू हुन्थे । लामा लामा संवादहरूसित तक्निकी समावेशले दर्शक वर्गको मन जितेर लान्थे । यसैले त्यसताकका नाटकहरू बेलुकी ६ बजेदेखि आरम्भ भएर दुई–दुईपटक मध्यान्तर गरी बिहानको ३ बजे समाप्त भएको साक्षी वरिष्ठ नाटककार, सङ्गीतकार, हास्यव्यंंग्य कवि स्व. मनबहादुर गुरुङ सुनाउँथे । कालान्तरमा ९ बजेदेखि १२ बजेसम्म हुन थाल्यो । वर्तमान समय व्यस्तताको छ, पछि आएर डेढ घण्टा, २ घण्टा समयका नाटकहरू मञ्चन हुन थाले । समयको साथसाथ नाटकको प्रारूप पनि बदलिँदै गयो । यसैमा सामाजिक, धार्मिक, प्रयोगात्मक नाटकहरू भटाभट प्रर्दशन हुन थाले ।
सन् १९७२ मा मनबहादुर मुखिया दाइले नाटक अनि देवराली रुन्छ गर्ने तर्खरमा थिएछन् र मलाई पनि ‘मैले एउटा ड्रामा गर्दै छु, तिमी खेल्छौ ?’ भनेर सोधे । कहिल्यै अभिनय नगरेकी म हुन्छ खेल्छु भनेर स्वीकृति दिएकी हुँला । त्यसताक आफू एकदमै नयाँ कलाकार भएर उभिन खोजेका बेला ममा कौतुहलता र उत्साह भरपूर थियो भनौँ ।
सन् १९७० को दशकमा आइपुग्दा नाटक क्षेत्रमा बृहत् हलचल मचाउने एउटा सामाजिक नाटक ‘गोर्खा दुःख निवारक सम्मेलन’को आयोजनामा प्रस्तुत गरियो, १९७२ सालको अक्टोबर महिनामा । नाटक मञ्चनको इतिहासमा तुफान ल्याउने नाटक थियो वरिष्ठ नाटककार, गीतकार, अभिनय कलाकार, निर्देशक दाइ मनबहादुर मुखियाको उत्कृष्ट सिर्जना अनि लोकप्रिय चर्चित नाटक अनि देवराली रुन्छ । गोर्खा दुःख निवारक सम्मेलनको आयोजनामा ६ देखि १२ अक्टोबर १९७२ अनि दर्शकहरूको अनुरोधमा दोस्रोचोटि १ नोभेम्बरदेखि ४ नोभेम्बर १९७२ सम्म पुनः प्रदर्शन गरिएको थियो । आज २०२२ सम्म आइपुगेर पछि फर्केर हेर्दा थाहै नपाई समयले फड्को मारेर ५० वर्ष पनि पुगिसकेछ । बितेको ५० वर्षभरिका तितामिठा संस्मरणहरू हजुरहरूसमक्ष साझा गर्न गइरहेछु ।
‘अनि देवराली रुन्छ’ नाटकभन्दा अघि पनि अनेकौँ नाटकहरू मञ्चन भइसकेको भए पनि थाम्न नसक्ने टाढा नजिकका दर्शकको भीड सायद अघि–अघिका नाटकहरूमा हुँदैनथ्यो । नाटक यति साह्रो चलेको थियो कि त्यसताक कलाकारहरूले समेत आफ्ना आफन्त साथीभाइहरूका निम्ति टिकट नपाएर धुरुधुरु रुनुपरेको थियो भने हलदेखि बाहिर कतिजनाको पेटपालो भइरहेको थियो ब्ल्याकमा टिकट बेचेर । यस नाटकले दार्जिलिङ अनि यसको वरिपरिका स्थानहरूको मञ्चमा मात्र नभएर सिलगढ़ी, मङ्पु, सलुवा, कलकत्ता, कालेबुङ, सिक्किम, नेपालका विभिन्न मञ्चहरूमा प्रदर्शन गरी उत्तिकै सफलता हासिल गरिसकेको हो । जहाँ जुनै स्थानहरूमा मञ्चन गरे पनि दर्शकहरूको उत्तिकै घुँइचो हुन्थ्यो । नाटकको इतिहासमै क्रान्ति ल्याउने लोकप्रिय नाटक अनि देवराली रुन्छ जतिचोटि मञ्चन गरे पनि अझ उत्तिकै भीड लाग्नेछन् दर्शक वर्गको, म विश्वस्त छु । यदि संयोग मिले अथवा समयले साथ दिएर परिबन्ध मिले ५० वर्षको स्वर्ण जयन्तीको अवसर पारेर मञ्चन गर्न सके नाटकको इतिहासमा छुट्टै अध्याय थपिनेछ ।
- ‘अनि देवराली रुन्छ’मा म
सन् १९७२ को उक्त मञ्चन अघि त्यसताक म हिमालयन कला मन्दिरमा गायिका थिएँ । साथसाथै गीति नाटक, नृत्य नाटिकाहरूमा पाश्र्वस्वर दिने गर्थें । त्यहीँ नै मनबहादुर मुखिया दाइ, अर्जुन प्रसाद (पी अर्जुन) दाइहरू पनि प्रायः दिनहुँ आउने गर्थे । त्यसै अवधि सन् १९७२ मा मनबहादुर मुखिया दाइले नाटक अनि देवराली रुन्छ गर्ने तर्खरमा थिएछन् र मलाई पनि ‘मैले एउटा ड्रामा गर्दै छु, तिमी खेल्छौ ?’ भनेर सोधे । कहिल्यै अभिनय नगरेकी म हुन्छ खेल्छु भनेर स्वीकृति दिएकी हुँला । त्यसताक आफू एकदमै नयाँ कलाकार भएर उभिन खोजेका बेला ममा कौतुहलता र उत्साह भरपूर थियो भनौँ अभिनय यात्रामा पाइला टेक्न अग्रसर भएकी थिएँ प्रथमचोटि । त्यसबेलासम्म मनबहादुर मुखिया दाइले अन्य पात्र–पात्राहरू पनि चयन गरिसकेका रहेछन् । तीमध्ये म पनि एक थपिएँ पूर्वाद्र्धको एक प्रमुख पात्रा कान्छी दिदीको भूमिकामा । यसै नाटकमा मैयाँको भूमिकामा मेरी बहिनी मीना प्रधान पनि एउटी पात्राको रूपमा आइन् । यसरी १९७२ को प्रथम मञ्चन नाटक ‘अनि देवराली रुन्छ’देखि हामी दुई दिदी–बहिनीको अभिनय यात्रा सुरु भयो । तर अभाग्यवश १९७२ को नाटक मञ्चनपछि मेरी बहिनी मीना प्रधानको असामयिक निधन भयो । उसको निधनपछि अन्य कलाकारले मैयाँको भूमिका निर्वाह गरे ।
सन् १९७२ मा प्रथमचोटि नाटक ‘अनि देवराली रुन्छ’ मञ्चन गरिँदा पर्दाअघि अनि पर्दापछिका जम्मा ३२ जना कलाकारहरूको एउटा विराट टोली थियो । जसमा सङ्गीत पक्षलाई सम्हालेका थिए नेपाली सङ्गीत जगतका विभूति श्रद्धेय कर्म योञ्जनले । उनको सङ्गीतले नाटकमा अझ सुनमा सुगन्ध थपिदिएको थियो । पाश्र्व गायक–गायिकाहरू थिए— कुमार सुब्बा, दावा ग्याल्पो, दुर्गा खरेल, कोरसमा शान्ति छेत्री र मेनुका प्रधान । नृत्य निर्देशक : देवदत्त ठटाल । लेखन, संवाद, निर्देशन : श्री मनबहादुर मुखिया । रङ्गमञ्च सज्जा : डीएस गुरुङ, बीआर गुरुङ साथै सहयोगीहरू । १९७२ मा रचिएका सङ्गीतबद्ध कालजयी गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन् । नाटकमा समावेश गरिएका गीतहरू हुन्—
हे फूल चुँडेर लाने हो, यहाँ माली रोएको देख्यौ कि
खुसी मिलन मनाउने हो
यहाँ विछोड भएको देख्यौ कि (कुमार सुब्बा) ।
सारङ्गीको तारले मेरो मनको गीत गाउँछ
लेकदेखि बेंसीसम्म गाइने मीत लाउँछ (दुर्गा खरेल) ।
देवरालीका ठिटी हो नक्कल पार्नु पर्दैन
हामीमा जस्तो तन्नेरी खोजेर फेरि पाउँदैन, (कुमार सुब्बा–दावा ग्याल्पो)
तितरीको मासु जति खायो उति चाम्रो (सङ्कलन गायन : बद्री दुर्गा खरेल)
यी गीतहरूको समावेशले दर्शक वर्गलाई नाटक नहेरेर चलचित्र हेरेझैँ भान हुन्थ्यो । नाटकको गीत सङ्गीत सँगसँगै कलाकारहरूको बेजोड अभिनय, संवाद, निर्देशन, रङ्गमञ्च सज्जाको ग्रामीण परिवेश विद्युत् लगायत गोदुनिसको उत्कृष्ट आयोजना रहेको ३२ जनाको टोलीले एउटा सुनौलो इतिहास रचेको छ नाट्य क्षेत्रमा । समय बित्दै गयो नाटकले सफलताको चरम शिखर चुम्न पुग्यो । यस नाटकको माग भने चारैतिर भइरहेथ्यो, काठमाडौँमा मात्र दुईचोटि राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा भव्य रूपमा मञ्चन गरियो— १९७४ अनि १९७५ मा ।
जसको साक्षी बने नेपाल नरेश महाराजधिराज वीरेन्द्रवीर विक्रम शाहदेव अनि बडा महारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाह । भिन्नाभिन्नै दिनमा दुवैले अवलोकन गरिबक्सेको थियो । महाराजधिराज केहीक्षणका निम्ति मात्र बस्नुहुने बताए पनि अन्तमा पूर्ण नाटक अवलोकन गरिबक्सी प्रशंसा गरिबक्सेको थियो । त्यसबेला नाट्य सम्राट बालकृष्ण सम, तुलसी दिवस, हरिभक्त कटुवाल, विजय मल्ल, लैनसिंह बाङदेल, सूर्यविक्रम ज्ञवाली, प्रचण्ड मल्ल जस्ता कलाकार साथै प्रख्यात साहित्यिक विभूतिहरू पनि ‘अनि देवराली रुन्छ’ नाटकको दर्शक बनी साक्षी बनेका थिए । भारतवर्ष अनि नेपालका विभिन्न स्थानहरूमा धेरैचोटि प्रदर्शन गरिएका नाटकले अन्तमा विश्राम लियो । सबैजना नाटकसित संलग्न कलाकार वर्ग, तक्निकी सहयोगीहरू आ–आफ्नै दैनिक जीवनमा व्यस्त बने ।
मनबहादुर दाइले म अनि किरण ठकुरीलाई निर्देशनको अभिभारा सुम्पेर पत्र पठाएका थिए । अभिभारा लिइसकेपछि यसलाई सफल बनाउन सर्वप्रथम कलाकारहरूको चयन गर्नुपर्यो । जुन कार्य अति नै कठिन थियो ।
तर सन् २००६ मा गोर्खा दुःख निवारक सम्मेलन दार्जिलिङले आफ्नो स्थापनाकालको ७५औँ वर्ष कौस्तुभ जयन्तीको उपलक्ष्य पारेर पुनः भव्य रूपमा अनि देवराली रुन्छ नाटक मञ्चन गर्ने तय गरेकाले फेरि एकचोटि हामी कलाकारहरूमा कौतुहलता जाग्यो । १९७२ मा प्रथम मञ्चन भएको ३४ वर्षपश्चात् फेरि दार्जिलिङका लगायत वरिपरिका दर्शकहरूले लोकप्रिय नाटकको रसास्वादन गर्ने अवसर पाउने भए भन्ने लाग्यो । गोदुनिसका कार्यकारिणी सदस्यहरूको सभा पटकपटक बसेर नाटक प्रदर्शन गर्ने नै तय भयो । यति बृहत् नाटक धेरै वर्षको अन्तरालपछि मञ्चन गर्नु सजिलो थिएन । सबैभन्दा मुख्य कुरो मनबहादुर मुखिया दाइ काठमाडौँदेखि आई दार्जिलिङमा बसेर निर्देशन गर्न सम्भव थिएन यसर्थ मनबहादुर दाइले म अनि किरण ठकुरीलाई निर्देशनको अभिभारा सुम्पेर पत्र पठाएका थिए । अभिभारा लिइसकेपछि यसलाई सफल बनाउन सर्वप्रथम कलाकारहरूको चयन गर्नुपर्यो । जुन कार्य अति नै कठिन थियो । कारण ७० को दशकमा अंशग्रहण गरी अभिनय गरिसकेको त्यसताकका कलाकारहरू २००६ मा आएर ५० वर्ष पार गरिसकेको हुनाले प्रमुख नायक–नायिका लगायत अन्य कतिजना कलाकारहरू कलिलो उमेरका चाहिएको हुनाले पुराना राम्रा–राम्रा कलाकारहरू बाध्यतावश छोड्न कर लाग्यो, कारण उमेरको पार्थक्यतामा सम्झौता गर्ने ठाउँ नै थिएन पात्र–पात्रामा । यसर्थ पुराना आठजनामध्ये अन्य सबै नयाँ अथवा उमेर अनुसार अर्काे भूमिकामा राख्नुपर्यो । नवोदित कलाकारहरूको खोजी, उनीहरूलाई अभ्यास गराएर परिमार्जित गरी पुराना कलाकारहरूको स्तरमा उभ्याउन एउटा चुनौतीपूर्ण कार्य थियो । तर पनि ती नवोदित कलाकारहरूको परिश्रम, समर्पणले गर्दा अभिनयमा परिपक्वता आएको थियो । यसैमा हामी दुई निर्देशक सन्तुष्ट भयौँ । अझ नाटककार, कलाकार श्रद्धेय मनबहादुर मुखिया दाइ स्वयंको उपथितिले नाटकको गरिमा अझ बढाएको थियो । उनले नाटकको प्राण खलनायक चतुरमानको भूमिका पहिलेझैँ निभाएर नाटकलाई उच्च स्थानमा पुर्याएका थिए ।
६ अक्टोबर २००६ को दिनदेखि गोर्खा दुःख निवारक सम्मेलनको आयोजना प्रायोजनामा प्रदर्शन गरिएको नाटक यसचोटि ‘गोदुनिस’ हल मर्मत भइरहेका कारण क्यापिटल थिएटर हलमा प्रदर्शन गरियो भव्य रूपमा । नाटक मञ्चन हुने चार–पाँच दिन अघिदेखि नै प्रत्येक दिन टिकट हाउसफूल हुन्थ्यो । टिकट नपाएर कति मानिसहरू क्षुब्ध बन्थे भने कति झगडा गर्न, निहुँ खोज्न आउँथे । त्यति ठुलो क्यापिटल थिएटरको हलमा प्रत्येक दिन दर्शकहरू खचाखच भरिएको हुन्थ्यो । बाहिर टिकट नपाउनेहरूको गनगन, गुनासो एकतर्फ थियो । यसचोटि पनि टिकट ब्ल्याकमा बिक्री भएका तथ्यहरू थाहा लाग्यो । यसरी दोस्रोचोटिको मञ्चनमा पनि इतिहास फेरि दोहोरियो १९७२ मा झैँ । ३४ वर्षपछिको प्रस्तुतिमा पनि त्यस्तै दर्शक वर्गको माया पाउनु सबै आयोजकवर्ग मञ्चअघि मञ्चपछिका कलाकार वर्ग सबै सबैको अहोभाग्य । अर्काे पक्ष यदि संलग्न प्राविधिक अनि अभिनय कलाकारहरूको परिश्रम लगनशीलता, समर्पितभाव नाट्य कलाप्रति नभएको भए नाटकले यति धेरै गरिमामय स्थान र सफलता हासिल गर्न सम्भव थिएन ।
जसो भए पनि १९७२ देखि २००६ सम्म दोस्रोचोटि नाटक ‘अनि देवराली रुन्छ’ मञ्चन हुँदा पनि नाटक सफलताको गरिमालाई कायम राख्न सकेकामा निर्देशिकाका रूपमा आफू सफल भएको सम्झँदा गर्व अनुभव गर्छु । यसका निम्ति हामी (म स्वयं र किरण ठकुरी)माथि विश्वास राख्नुभएकामा मेरा गुरु श्रद्धेय मनबहादुर मुखिया साथै गोर्खा दुःख निवारक सम्मेलन परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछु । ६ अक्टोबर १९७२ सालमा प्रथमचोटि मञ्चन गरिएको लोकप्रिय बहुचर्चित सामाजिक नाटक अनि देवराली रुन्छ एउटा सफल माइलखुट्टी थियो । समयको प्रवाहमा हामी अनवरत बगिरहेका छौँ । तर एकक्षण बसेर सोँच्दा अथवा पछि फर्केर हेर्दा यसै वर्ष २०२२ मा उक्त नाटक प्रथमचोटि मञ्चन गरिएको साथै मेरो अभिनय यात्रा सुरु भएको पनि केही महिनापश्चात् ५० वर्ष पुग्नै लागेछ भनौँ नाटक मञ्चनको अर्धशताब्दी पुग्नै लागेछ । सन् १९७२ देखि २०२२ सम्म त्यसपछि पनि कैयौँ नाटकहरू, चलचित्रहरूमा सँगसँगै पाइला चालेर अभिनय यात्रामा हिँडेका असंख्य सहयात्री कलाकारहरू यस संसारदेखि बिदा लिई कहिल्यै नफर्किने अर्कै संसारको यात्रातर्फ लागे ।
उनीहरूको साथ, अभिनय क्षमता, सुमधुर सम्झना र सम्बन्ध सदैव हृदयमा रहिरहनेछ । जब जब दार्जिलिङे नाटकको इतिहासको चर्चा हुन्छ तब तब ती अग्रज अनुज बितेका नाट्य कलाकारहरूको कुरा अवश्य हुनेछ । अन्तमा ती बिछोडिएका समकालीन, अग्रज अनुज नाट्य कलाकारहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको आत्माको चिरशान्तिको कामना गर्दछु ।
(सन् २०२२ मा ‘दार्जिलिङ जिल्ला वार्षिक पुस्तक मेला’ले अनि देवराली रुन्छ अर्धशताब्दी विशेष ‘अक्षर हाट’ स्मारिका छापेको छ । त्यसैबाट साभार मेनुका प्रधानको आलेख ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावककै बर्चस्व
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन
-
ला लिगामा रियाल र एटलेटिको मड्रिड दुबैलाई ठक्कर, बराबरीले घट्यो अंक दुरी
-
प्रिमियर लिग : आर्सनल जित्दा नटिङघमलाई झट्का
-
प्रिमियर लिगमा म्यान्सिटीको फराकिलो जित, उमरले गरे ह्याट्रिक
-
सात दिन, सातै प्रदेश, सात म्याराथन