आइतबार, ०४ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
व्यक्तिवृत्त

नाटक ‘अनि देवराली रुन्छ’को कथा : यसलाई कसैले फिल्म नबनाओस्...

शनिबार, ०३ फागुन २०८१, १७ : ३०
शनिबार, ०३ फागुन २०८१

‘त्यहाँनेर एउटा ऐना (मिरर) रेस्टुरेन्ट छ, त्यहाँदेखि अगाडि बढेर आउनुस्, म सडकतिरै उभिएको हुन्छु,’ तीन साताअघिको फोन संवादमा वरिष्ठ नाटककार मनबहादुर मुखियाले काठमाडौँ गौरीघाटस्थित आफ्नो घरको ठेगाना दिएका थिए । 

मूल सडकदेखि करिब ५० मिटरभित्र एउटा असाध्यै सफा ‘गुँड’ छ, जहाँ एक जोडी ‘पन्छी’ बस्दोरहेछ, जसले रङ्गमञ्चबाट प्रेमको उडान भरेको थियो ।

‘जुत्ता खोल्नुपर्छ कि !’ हातैले छुँदा पनि दाग लाग्लाजस्तो भुइँतलामै मैले सोधेको थिएँ । 

‘यति सफा घरमा कि कम मान्छे बस्छन् कि त कसैले तनमनका साथ सफा गर्छ,’ यस्तै सोच्दै म माथिल्लो तलामा पुग्छु । बैठक कक्षमा पस्नुअघिको सिँढी वरिपरिको भित्तो सम्मानपत्र र पुरस्कारले भरिएको छ ।

man bdr mukhiya (5)

काठको सुन्दर फ्रेममा रहेको ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार– २०७८ बोल्छ :

‘श्री मनबहादुर मुखियाज्यू,

वरिष्ठ नाटककार । 

२००४ चैत २ गते दोलखामा जन्मुभएका यहाँले विभिन्न कालजयी नाटकहरूको सिर्जना गर्नुका साथै कतिपय महत्त्वपूर्ण साहित्यिक सङ्कलनहरूको सम्पादन गरेर विशेषतः नेपाली नाट्य साहित्यको महिमामण्डन एवं उन्नयनमा उल्लेख्य योगदान पुर्‍याउनुभएको छ । 

नेपाली नाटकको एउटा सिङ्गो युगका प्रतिनिधि सर्जकहरू मध्येका एक विशिष्ट स्रष्टा यहाँलाई नगद एक लाख एक रुपैयाँ र ताम्रपत्रसहित यो पुरस्कार समर्पण गर्दै सुस्वास्थ्य दीर्घजीवन तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ ।’ 

करिब डेढ घन्टाको संवादमा उनले आफ्नो रङ्गमञ्च यात्रा, दार्जिलिङको बसाइ र ‘अनि देवराली रुन्छ’लाई सम्झिए । 

साँच्ची, देवराली किन र कसरी रुन्छ ?

‘हाम्रा बाहरू भन्नुहुन्थ्यो— मानिसहरू परदेश लाग्दा गाउँको देवरालीमा प्रार्थना वा कामना गर्थे; फूल, हरिया पात चढाउँथे । देवी–देवराली दाहिने बाहु, राम्रा–राम्रा केटीहरू बिहे गर्न पाउँ— यस्तो कामना गरेर ठिटाहरू केटी खोज्न जान्थे रे,’ मुखिया भन्छन्, ‘यसरी विभिन्न निहुँ गरेर मानिसले गाउँ छाडे भने गाउँ रित्तिन्छ र देवराली रुन्छ । गाउँमा त बुढापाका, केटाकेटी वा अशक्त मात्रै रहन्छन् । अनि देवराली रुन्छ ।’

man bahadur mukhiya (2)

उनलाई सानै उमेरमा बुवाले दोलखाको बाबरेबाट दार्जिलिङ लिएर गएका थिए, आफू पहिलोपटक दार्जिलिङ लाग्दा गाउँको देवरालीमा के चढाएँ र के मागेँ भन्ने उनलाई सम्झना छैन । तर दार्जिलिङमा उनले दुई साथी भेटे— नाटक र निना प्रधान । नाटक उनलाई जीवन जिउन सिकाउने ‘साथी’ हो भने निना जीवनसाथी । 

‘एउटा एकाङ्गी नाटक गर्दा मलाई महिला कलाकार चाहिएको थियो । मैले गौतम क्षेत्री भाइलाई भनेको थिएँ, उसले निनालाई ल्यायो,’ मुखिया निनालाई भेटेको सन्दर्भ सम्झन्छन् । 

काठमाडौँ ज्ञानेश्वरकी निनाले दार्जिलिङस्थित मावलीमा हुर्किन् र पढिन् । मनबहादुरले दार्जिलिङमा मञ्चन गरेका प्रायः नाटकमा निना खेलेकी छन् । त्यतिबेला दार्जिलिङमा महिलालाई नाटक खेलाउन घर–परिवारबाट अनुमति लिनुपथ्र्यो । दार्जिलिङमा महिलाले नाटक खेल्न थालेको सन् १९४१ देखि हो, अर्थात् ‘अनि देवराली रुन्छ’को मञ्चनभन्दा ठिक ३१ वर्षअघि ।

दार्जिलिङमा ‘भाइ सङ्गीत सम्मेलन’ले सन् १९४१ अप्रिल ६ मा रणसिंह गजमेरले लेखेको नेपाली नाटक ‘कृष्ण–सुदामा’ मञ्चन गरेको थियो, जसमा प्रथमपल्ट पुरुषहरूसँगै नेपाली महिलाले अभिनय गरेका थिए । त्यतिबेला ‘स्त्री जाति भएर नाटकमा नखेल्नु’ भन्न धेरै मानिस हलसम्म पुगेका । त्यस दिन मञ्चमा ढुङ्गा हान्छन् भन्ने हल्ला थियो । अभिनेत्रीहरूले पनि अलि नचिनिने नाम राखेका थिए— एस कुमारी अर्थात् सुकु तामाङ (सत्यभामा), के कुमारी अर्थात् डोमा तामाङ (रुक्मिणी), पुष्प कुमारी अर्थात् पेम्बा तामाङ (सखी), गौरी देवी अर्थात् गङ्गी मुखिया (माया) आदि’ (सन् १९८४ मा प्रकाशित इन्द्रबहादुर राईको पुस्तक ‘दार्जिलिङमा नेपाली नाटकको अर्धशताब्दी’) । 

अनि रुन्छ देवरालीमा निनाले नायिका (जुना)को भूमिका निभाएकी थिइन्, मनबहादुरले भने खलनायक चरित्र (चतुरमान)को ।

‘त्यसपछि तपाईंहरूको प्रेम चल्यो केही समय ?’

‘त्यसै भन्नुपर्ला, नत्र त्यो कसरी सम्भव हुन्थ्यो र ? उनी नेपालको फरक जातको,’ हाँस्दै यति भनेर मुखिया टक्क अडिन्छन् । 

उनलाई सानै उमेरमा बुवाले दार्जिलिङ लिएर गएका थिए, आफू पहिलोपटक दार्जिलिङ लाग्दा गाउँको देवरालीमा के चढाएँ र के मागेँ भन्ने उनलाई सम्झना छैन । तर दार्जिलिङमा उनले दुई साथी भेटे— नाटक र निना प्रधान । नाटक उनलाई जीवन जिउन सिकाउने ‘साथी’ हो भने निना जीवनसाथी ।

दार्जिलिङबाट बीए, बीएड गरेर काठमाडौँ फर्केकी निनाले टीयुबाट अङ्ग्रेजीमा एमए गरिन् र पढाउन थालिन् । यतिखेर उनले प्राध्यापन पेसाबाट अवकाश पाइसकेकी छन् । 

मुखियालाई हामीले विशेषतः नाटक ‘अनि देवराली रुन्छ’का बारेमा संवाद गर्न भेटेका थियौँ । कुरा हुँदै जाँदा उनीहरूको प्रेम र बिहेको कुरा पो रोचक होला भन्ने लाग्यो । 

‘केही कुराकानी भाउजुसँग पनि गर्नुपर्ला दाइ !’

‘उनलाई यस्ता कुरा (मिडियासँग बोल्ने विषय ?)मा खासै रुचि छैन,’ मुखियाले मन अलि भारी बनाए । तैपनि हामीले उनलाई कर गर्‍यौँ, निनालाई बैठक कक्षमा बोलाउन ।  

हाम्रो कुराकानी अगाडि बढेको केहीबेरमै निना बैठक कोठामा चिया र बिस्कुट लिएर आएकी थिइन् । ‘म माथि छु है’ भनेर गएकी उनले बैठक कक्षमा आउने रुचि देखाइनन्, अलि बिसन्चो छ भनेर । 

यी दुईको प्रेमकथा लेखिनैपर्छ, कसैले लेख्दै वा लेखिसकेको पो छ कि ! 

नेपाल प्रज्ञा–प्रतिष्ठानबाट २०५८ सालमा प्रकाशित पद्मा अर्यालको पुस्तक ‘मनबहादुर मुखियाको नाट्यशिल्प’मा यी दुईबारे दुई–चार हरफ मात्र उल्लेख छन्— रङ्गमञ्चमा सँगसँगै कार्यरत रहँदा एक–अर्काप्रति प्रभावित र आकर्षित भई उनीहरू २०४१ असोज १२ मा वैवाहिक सूत्रमा आबद्ध हुन पुगे । दुवैजना पद्मकन्या क्याम्पस तथा विभिन्न स्कुलहरूमा अध्यापनमा व्यस्त रहे ।

  • निर्देशन गर्ने रहर 

‘अनि देवराली रुन्छलाई एकपटक आफ्नै निर्देशनमा मञ्चन गर्ने मन छ ?’ कुराकानीको अन्त्यतिर सोधिएको यस प्रश्नले मुखियालाई स्मृतिको त्यो आँगनमा फर्कायो, जहाँ उनले नाटक लेख्थे र खेल्थे–खेलाउँथे । 

man bahadur mukhiya (3)

‘यो नाटकलाई मैलेबाहेक अरुले पनि आ–आफ्नै प्रकारले निर्देशन गरेर मञ्चन गरेका छन्, तर अहिले परिस्थिति धेरै बदलिसकेको छ । मेरो निर्देशनमा अहिलेका कलाकारले काम नगर्न पनि सक्छन्,’ आफ्नो नाटकमा खेल्ने कलाकार नै नपाइएला जस्तो चिन्ता व्यक्त गरे मुखियाले, ‘म आफू अहिले कुनै स्कुलमा पढाउँदो हुँ त, त्यो स्कुलका विद्यार्थीले मैले दिएको निर्देशन अनुसार नै नाटक गर्थे, तर अहिले नाटक गर्ने कलाकार सबै स्थापित छन् ।’ 

‘कतिलाई यहाँको नाटक खेल्ने रहर होला नि !’ 

‘होला, तर अहिलेको समयमा यो नाटक त्यति अनुकूल छैन । एकचोटि आफ्नै निर्देशनमा मञ्चन गर्ने मन त छ, मन भएर मात्रै हुँदैन, धेरै कुरा मिल्नुपर्छ ।’ 

उनले समय बदलिएको ठानेका छन् तर २०२९ सालमा लेखिएको र मञ्चन भएको यस नाटकभन्दा नेपाली समाज खासै अघि छैन, बरु कतिपय सन्दर्भमा केही पछाडि छ । 

यस नाटकमा चर्को ब्याज (मिटरब्याज)को शोषण, प्रेम र विवाहमाथि हुने षड्यन्त्र, जातीय विभेद आदि समस्या देखाइएको छ, यी समस्या नेपाली समाजमा आज पनि ज्युँका त्युँ छन् । 

यस नाटकमा जुन प्रकारको स्पन्दन, धड्कन र जीवन छ फिल्ममा गएपछि त्यो प्राविधिक भएर जान्छ । अहिलेको जमानामा कलामाथि प्रविधि हाबी भएर गएको छ,’ मुखियाको चिन्ता छ, ‘प्रविधिले कलालाई अझ राम्रो, सुन्दर र आकर्षक बनाउन एउटा सहायकको काम गर्नुपर्ने हो, तर ऊ सहायक नभई मालिक भएर आएको छ । यस कारण मैले अनुमति दिएको छैन ।’

यो नाटक पहिलोपटक मञ्चन भएको पनि ५२ वर्ष बितिसकेको छ । यो अर्ध–शताब्दी अन्तरालमा विश्वमा ज्ञान–विज्ञानका क्षेत्रमा र हामीकहाँ संविधान र कानुनमा धेरै परिवर्तन भएका छन्, यद्यपि हामीले व्यवस्था त बदलियो अवस्था बदलिएन भन्नुपरिरहेको छ । 

एउटा नाटक वा साहित्य यति लामो अवधिसम्म समकालीन भइरहनुले समाज र राज्यको कमजोर चेतनालाई दर्शाउँछ । 

यसलाई फिल्म बनाउँछु भनेर कोही आएन ? ‘फिल्म बनाउँछु भनेर धेरै आए तर मैले स्वीकृति दिइनँ । किनभने यो नाटककै रूपमा जीवित रहोस्, पछिबाट (आफ्नो शेषपछि ?) बेग्लै कुरा हो । यस नाटकमा जुन प्रकारको स्पन्दन, धड्कन र जीवन छ फिल्ममा गएपछि त्यो प्राविधिक भएर जान्छ । अहिलेको जमानामा कलामाथि प्रविधि हाबी भएर गएको छ,’ मुखियाको चिन्ता छ, ‘प्रविधिले कलालाई अझ राम्रो, सुन्दर र आकर्षक बनाउन एउटा सहायकको काम गर्नुपर्ने हो, तर ऊ सहायक नभई मालिक भएर आएको छ । यस कारण मैले अनुमति दिएको छैन ।’

नाटकै रहोस् भन्ने यत्रो मोह किन ? 

‘जति बेला मैले यो नाटक लेखेँ, त्यतिबेला नेपाली फिल्ममा पनि यथार्थवादी धारा आइसकेको थिएन । खालि हिन्दी फिल्मको प्रभावमा फिल्महरू बनिरहेका थिए,’ मुखिया अलि घुमाउरो जवाफ दिन्छन्, ‘अहिले नेपाली फिल्ममा पनि यथार्थवादी कथावस्तु आएका छन् । चाहे त्यो हँसाउने वा रुवाउने फिल्म होस्, त्यसमा समाजको समस्यालाई लिइएको छ ।’ 

अर्थात् मुखिया केही स्पष्ट र केही सशंकित छन्— समाजका समस्यालाई जस्ताको तस्तै टिपेर आफूले ऊ बेला लेखेको यथार्थवादी नाटक सधैँ नाटकै रहोस्, आज आएर यो नाटक यथार्थवादी फिल्ममा रुपान्तरित हुँदा कतै प्रविधिले थिचिने त होइन !  

४० वर्षअघि इन्द्रबहादुर राईले लेखेका थिए, ‘नाटक सिनेमासँग कैलै हार्दैन, नाटक नाटकै रहे ।’ राईको यो भनाइ नाटकको ऐतिहासिक अध्ययनबाट आएको हो । राईको यो भनाइ आउँदा मुखियाले आफूलाई नाटककार र रङ्गकर्मीका रुपमा स्थापित गरिसकेका थिए । 

  • माहोल वा पृष्ठाधार

इन्द्रबहादुर राईको उपरोक्त पुस्तकले दार्जिलिङमा नेपाली नाटक मञ्चनको इतिहासलाई उधिन्नेको छ । पुस्तक अनुसार, सन् १९०९ मा धनवीर मुखियाले दार्जिलिङमा ‘गोर्खा नेसनल थियट्रिकल पार्टी’ खोलेर पहिलोपटक नेपाली नाटक ‘अटलबहादुर’ मञ्चन गरेका थिए, हिन्दु पब्लिक हलमा । 

दार्जिलिङमा नेपाली कला–साहित्य फस्टाउने वातावरण भने विशेषतः सन् १९३२ मा स्थापित ‘गोर्खा दुःख निवारक सम्मेलन’ (गोदुनिस)ले दियो, त्यहाँ कला–साहित्यका गतिविधि निकै हुन्थे, जुन अद्यापि छँदै छ । यो एक सामाजिक संस्था हो, यसको नाम ‘दुःख निवारक’ रहनुको पछाडि पनि नेपालीले भोग्नुपरेको एउटा दुःखद कहानी छ । 

सन् १९३१ मा दार्जिलिङमा टायफाइड फैलिएको थियो । महामारीका त्रासका कारण गाडी–रिक्साले बिरामी बोक्दैनथे । लासहरू बेवारिसे हुन थाले । ‘एक जातको मृतकलाई अर्को जातले छुन नहुने, नछुने,’ इन्द्रबहादुर राईले उपरोक्त पुस्तकमा लेखेका छन्, ‘माथि पहाडदेखि आएका र अस्पतालमा मर्ने नेपालीका बेवारिसे लासलाई डुम र मेहतरहरूले मरेका कुकुरहरूलाई झैँ लैजान्थे र गाड्थे ।’

यही दुःखको निवारण गर्न धनवीर मुखियाले ‘गोदुनिस’ स्थापना गरेका थिए । ‘पचास पुगापुग युवकहरूको दल बाँधी धनवीरले भिक्टोरिया अस्पतालका डाक्टरहरूलाई चिठी दिन्छन्— अब उसो गोर्खालीका बेवारिस लासहरू डुम र मेहतरलाई दिइनेछैनन्, गोर्खा दुःख निवारक सम्मेलनलाई दिइनेछन्,’ इन्द्रबहादुर राईले लेखेका छन्, ‘जात न नाताको टुङ्गो भएका बेवारिस लासहरू बोक्ने ती युवकहरूलाई घरमा बाबुहरूले चुट्थे, खेदिदिन्थे घरदेखि ।’

उसो त दार्जिलिङमा नेपाली नाटक ‘अटलबहादुर’ मञ्चन गरेर र नेपाली कला–साहित्य हुर्कने बगैँचा अर्थात् ‘गोदुनिस’ स्थापना गरेर इतिहास रच्ने धनवीर मुखिया पनि जात काढिएका व्यक्ति थिए । गुरुङहरूले आर्य समाजको छुत लाएर जात काढिदिएपछि साथीहरूले धनवीरलाई मुखिया माने, अनि उनको थरै ‘मुखिया’ रहन गयो । 

यसरी खुलेको ‘गोदुनिस’मा क्रमशः नेपाली कला–साहित्यले फल्ने र फक्रने मौका पायो । ‘सन् १९३२ पछिको दार्जिलिङी नाटकलाई गोदुनिस काल भनेका छौँ । नाटकहरू गोदुनिसले मात्र देखायो भनेका होइनौँ, प्रमुख र स्थायी नाट्य संस्था गोदुनिस रहेको थियो,’ राईले लेखेका छन् । 

man bahadur mukhiya (4)

मनबहादुर मुखियाको घरछेउमै ‘हिन्दु पब्लिक हल’ थियो । चार सय जति मान्छे हटाउने त्यस हलमा वर्षभरि सांस्कृतिक कार्यक्रम हुन्थे, विशेषतः त्यहाँ बङ्गाली नाटक चल्थे । मनबहादुरले भाषा नबुझे पनि केटाकेटीमा खुबै बङ्गाली नाटक हेरे । उनको घरदेखि १० मिनेटको पैदल दूरीमा थियो, ‘गोर्खा दुःख निवारक सम्मेलन’, त्यहाँ उनले नेपाली नाटक हेर्दै आए । यी दुई संस्था मनबहादुर मुखियाका लागि नाटकको स्कुल र युनिभर्सिटी भइदिए । जहाँ उनले विभिन्न नेपाली नाटकदेखि उत्पल दत्त, रविन्द्रनाथ ठाकुर, बादल सरकार लगायतका नाटक हेरेका थिए ।

सानैदेखि नाटकको माहोल पाएका मुखियाले कक्षा ९ मा पढ्दादेखि एकाङ्गी नाटक लेख्न थाले । उनको पहिलो हास्य एकाङ्गी हो, ‘जिरिखिम्टेको दुर्दशा’ । त्यतिबेला दार्जिलिङमा एकाङ्गी नाटक प्रदर्शनको माहोल थियो । त्यसैले नाटक देखाउनकै लागि मुखिया लगायत तीनजना साथीको एउटा समूह बन्यो— ‘गिरीप्रसाद मुखिया’ । यो समूह तीन साथीको नामबाट एउटा–एउटा शब्द लिएर बनेको हो— ‘जीवन गिरी’को गिरी, ‘अर्जुनप्रसाद’को प्रसाद र ‘मनबहादुर मुखिया’को मुखियाबाट । यो समूहले वरपरका बस्तीमा भएका सांस्कृतिक कार्यक्रममा गएर एकाङ्गी नाटक देखाउँथ्यो । यो समूह कलेज पढ्दासम्मै सक्रिय रह्यो । 

सन् १९६४ मा उनी एसएलसी फेल भए, गणित र संस्कृत विषय लागेको थियो । फेल भएपछि उनी एक वर्ष ‘गोदुनिस’तिर लागे । सुरुमा उनले त्यहाँ नाटकमा पर्दा तान्ने, मञ्च मिलाउने आदि गर्थे । नाटकप्रतिको उनको लगाव देखेर रङ्गकर्मी मोहन थापाले उनलाई नाटकमा सानातिना भूमिका दिन थाले । सधैँ आएर बरालिएको देखेर ‘गोदुनिस’ले उनलाई जागिर पनि दियो, सदस्यहरूको घरमा गएर चन्दा उठाउने । यसबापत उनले मासिक तीन सय रुपैयाँ पाउँथे । 

साँझपख त्यहाँ नाटक चल्थ्यो, उनले मञ्चमा हुने काममा सघाउँथे । कहिलेकाहीँ सानातिना भूमिका निभाउँथे । नाटकमा खेल्ने पात्रका लागि एक प्रति हस्तलिखित नाटक उपलब्ध गराउनुपथ्र्यो । ‘त्यतिबेला फोटोकपी वा प्रिन्ट गर्ने भन्ने थिएन, हातैले विभिन्नप्रति तयार गर्नुपथ्र्यो,’ मुखिया भन्छन्, ‘मैले यो काम बडो रुचिले गर्थें । त्यतिबेला मूल नाटक चल्दाचल्दै बिचबिचमा हास्य एकाङ्गी नाटक पनि देखाइन्थ्यो । एकपटक मलाई यस्तो हास्य नाटकको एक भाग लेख्न मोहन थापाले अवसर दिनुभयो ।’

यी सबै अभ्यासले मुखियालाई पूर्णाङ्की नाटक ‘अनि रुन्छ देवराली लेख्ने आधार र आँट अझ भनौँ प्रज्ञा र पृष्ठाधार दियो । 

  • रचना गर्भ

आफ्नो जीवनको रजत जयन्तीतिर (२०२९ सालतिर) आइपुग्दा मनबहादुर मुखियाले नेपाली रङ्गमञ्च इतिहासमा एउटा हस्ताक्षर कोरेका हुन्, अनि देवराली रुन्छ पूर्णाङ्की नाटकमार्फत । 

त्यतिबेला मानिसहरूले रोग, रिन र अनेक कारण गाउँ छाड्थे । पूर्वी पहाडतिरबाट दार्जिलिङ पुगेका कतिपय नेपालीले अखबार बेच्ने, भारी बोक्ने लगायत काम गर्थे । मनबहादुरका बुवा कृष्णबहादुर पनि रोजगारी र अवसरकै खोजीमा दोलखादेखि दार्जिलिङ बसाइँ सरेका थिए । दोस्रो विश्वयुद्ध चलिरहेका बेला दार्जिलिङ पुगेका कृष्णबहादुरले सेकेन्ड हेन्ड कोट बस्तीबस्तीमा लगेर बेच्नेदेखि खसी–बोका ल्याएर मासु बेच्ने लगायत व्यापार गरे ।

अहिले परिस्थिति धेरै बदलिसकेको छ । मेरो निर्देशनमा अहिलेका कलाकारले काम नगर्न पनि सक्छन्,’ आफ्नो नाटकमा खेल्ने कलाकार नै नपाइएला जस्तो चिन्ता व्यक्त गरे मुखियाले, ‘म आफू अहिले कुनै स्कुलमा पढाउँदो हुँ त, त्यो स्कुलका विद्यार्थीले मैले दिएको निर्देशन अनुसार नै नाटक गर्थे, तर अहिले नाटक गर्ने कलाकार सबै स्थापित छन् ।’

नेपालीहरूले कसरी गाउँघर छाड्छन् भन्ने कथा मनबहादुरले दार्जिलिङमै सुन्दै आएका थिए । २४ वर्षको उमेरमा जब उनी बुवासँग आफ्नो जन्मभूमि दोलखाको बाबरे पुगे, साँच्चिकै त्यहाँका देवरालीहरू ‘रोएको’ अनुभूत उनलाई भयो । ‘जब म दोलखा पुगेँ, त्यहाँ पहिले नै देखेका पात्रलाई गाउँले पृष्ठभूमिमा देखेँ । अनि म नाटक लेख्न प्रेरित भएँ,’ मुखिया ती पुराना दिन सम्झन्छन्, ‘यो नाटकको कथावस्तु मात्रै तयार गर्न मलाई धेरै समय लागेन तर मञ्चमा यो कथा कसरी प्रस्तुत गर्ने भनी सोच्न दुई महिनाजति लाग्यो ।’

यस नाटकमा चूडानाथको संवाद छ, ‘ल के निधो गरिस् अए रणधोज खड्का ? सैकडा ३५ ब्याजको भाउले लिन्छस् त ऋण ? कि कसो भन्छस् ? लिने भए लिइहाल, नत्र पछि चूडानाथ पाँडेले गुहार गरेन भन्न पाउँदैनस् नि ।’

छोरीको बिहे गर्न रणधोजले ६०० रुपैयाँ ऋण लिन्छ— ऋण तिर्न नसके घरबारी र गाईवस्तु चूडानाथकै हुने गरी तमसुक गरेर । त्यसमाथि चूडानाथकै पसलबाट बिहेका सामान किन्ने कबुल पनि गर्छ । यो खालको शोषण तत्कालीन समाजमा सामान्य थियो । 

यो नाटक गीत–सङ्गीत र संस्कृतिको झाँकीसहित प्रस्तुत छ । नाटकको कथाभित्रै गीत लेखिएको छ— ‘सारङ्गीको तारले मेरो मनको गीत गाउँछ’, ‘देवरालीका ठिटी हो’, ‘हे फूल चुँडेर लाने हो’, मारुनी गीत ‘तितरीको मासु हाय’ । 

यस्तै, नाटकमा बिहेको प्रसङ्गमा नौमती बाजा आएको छ । नेपाली संस्कृति, संवेदना र उच्च वर्गको शोषणको कथा आएकाले यस नाटकलाई दार्जिलिङमा खुबै मन पराइयो । 

man bahadur mukhiya (5)

इन्द्रबहादुर राईको उपरोक्त पुस्तक अनुसार, नेपाली नाटकमा गीतको प्रवेश सन् १९१६ मा धनवीर मुखियाले लेखेको ‘राजा हरिश्चन्द्र’देखि सुरु भएको हो । यो नाटक त्यतिबेला दार्जिलिङमा असाध्यै चर्चित भएको थियो । ‘गोर्खालीहरूलाई हरिश्चन्द्रको कथा र नाटकले कति साह्रो समातेको ! घुमपहाड, झेपी बस्ती, सिंहमारी, तुङसुङ, तिर्बेनी मेला जहाँ पनि गोर्खालीले नाटक हरिश्चन्द्रकै कुरा गरेका छन्,’ राई लेख्छन्, ‘नेपाली नाटकमा नाटकको अङ्ग बनेर नेपाली गीत हरिश्चन्द्रमा आयो । नेपाली रङ्गमञ्चको तत्कालीन आवश्यकताले मात्र सहज क्षमताले धनवीर मुखियाले गीतको रचना गरे— काशी ज्यानको बिन्दुली टिका मुख धुँदा गइगयो, खोइ राजारानी राजकुमारी सब वनबास भइगयो ।’

मनबहादुर मुखियाले ‘अनि देवराली रुन्छ’मा गीतमार्फत पनि तत्कालीन नेपाली समाजको संवेदनालाई सुनेका र छोएका छन्— 

पन्छी सबै उडेपछि

गुँड रित्तै हुन्छ

यो माटोलाई छाडिगए

देउराली रुन्छ । 

आज नेपाली समाजले यही नियति बेहोरिरहेको छ । ‘मेरो नाटकमा विस्थापनको मात्रै मुद्दा उठाएको कुरा बुझियो तर अन्य मुद्दा छायामा परे । त्यसमा नेपाली समाजलाई गाँजिराखेको जातिभेदको मुद्दा पनि छ । पितृसत्तात्मक जुन हाम्रो समाज छ, पुरुषहरूको अन्याय र अत्याचार पनि यसमा देखाउन खोजिएको छ,’ आफ्नो नाटकबारे मुखिया धाराप्रवाह बोल्छन् । विशेषतः उनी राणाकालको समाज, २०२० मा नयाँ मुलुकी ऐन आउनुअघिको नेपाली समाजको चर्चा गर्छन्, ‘आफ्नो सपना पूरा गर्न धन कमाउन जाने जुन प्रवृत्ति चलेको थियो, चाहे त्यो लाहुरे भएर होस् वा कुनै न कुनै पेसा गर्न होस्, विदेश जाने प्रवृत्ति थियो, यो मुद्दा पनि उठाइएको छ । त्यहाँ एउटा पात्रलाई साङ्केतिक रूपमा ल्याएको छ, लाहुरे पात्र । अर्को कुरा अर्काकी छोरी भगाएर, बात लागेर पनि मानिसले गाउँ छाड्थे र भारततिर छिर्थे, कानुनले समाउन सक्दैन भनेर । खासगरी अन्तर्जातीय विवाह गरेकाहरूले गाउँ छाड्थे । गरिब र धनीबिच हुने विवाहमा पनि कतिपयले गाउँ छाड्नुपथ्र्यो । कतिपयले जार काटेर पनि गाउँघर छाडेका थिए (राणाकालमा) । जार काटेर होस्, रिन लागेर होस् वा बात लागेर होस्— मानिस विभिन्न कारणले देश छाड्थे । मानिस बिदेसिनुपरेको अवस्था यसमा देखाउन खोजिएको हो ।’ 

मुखियाले यस नाटकमा जातीय छुवाछुतलाई पनि देखाएका छन् । जुनाको संवाद छ, ‘लौ यता आऊ त्यता गाइनेले छुन्छ ।’ उता गाइनले भर्खरै गीत गाएको हुन्छ, ‘सारङ्गीमा गाउँदै हिँड्दा मलाई माग्ने भन्छन्, नेपालीले नेपालीलाई नचिनेझैँ गर्छन् ।’ 

नाटकको पृष्ठभूमि अर्थात् कोष्ठकभित्र लेखिएको छ, ‘जुनाले कम्मरबाट गाग्री ढल्काएर पानी खन्याउँछे, सन्तेले अञ्जुली थापेर तिर्खा मेट्छ । सन्तेले पानी पिएको दृश्य गाइनेले थुक निल्दै हेरिबस्छ । किनभने समाजले उसको हातखुट्टामा यस्तो जन्जिर कसिदिएको छ, मानो उसले छुनेबित्तिकै त्यो गाग्रीको पानी विषमा परिणत हुन्छ ।’

आज खगेन्द्र सुनारले जात व्यवस्थाको विरोधको भयानक प्रतीकका रुपमा आफूलाई फलामको साङ्लोले बाँधेर सिंहदरबार र संविधानलाई गिज्याइरहेका छन् । नाटककार तथा रङ्गकर्मी मनबहादुर मुखियाज्यू ! तपाईंको नाटक आज कसरी असामयिक भयो ? 

दार्जिलिङमा सुरुदेखि नै नेपाली नाटकले जातीय विभेदको मुद्दालाई उठाउने गरेको थियो । इन्द्रबहादुर राईको उपरोक्त पुस्तक अनुसार, सन् १९२८ मा मञ्चन भएको नाटक उषाहरणमा समेत जातपातको भेद मेटाउने गीत राखिएको थियो— 

जातपातको भेद मेटाऊ ।

विग्रह आपसमा नफिँजाऊ ।

राख प्यार एकअर्कासँग ।

गर सत्कार एक अर्कासँग । 

‘जातपातको भेदभाव मास्नमा गोदुनिस कार्यशील थियो । १९३३ मा गोदुनिसले दार्जिलिङ बर्चहिलमा समानता बनभोजको प्रचारित आयोजन गर्छ । ‘साना’ जातकाहरूले पकाउँछन्,’ राईले लेखेका छन्, ‘विराट् त्यस वनभोजको ठुलो फोटो गोदुनिस पुस्तकालयको शोभा छ— ऐतिहासिक महत्त्वसँगको ।’

man bahadur mukhiya (6)

  • काठमाडौँमा ‘अनि देवराली रुन्छ’ 

यस नाटकको प्रथम मञ्चन ६ अक्टोबर १९७२ मा भएको थियो, दार्जिलिङस्थित गोर्खा दुःख निवारक सम्मेलनको हलमा । सुरुमा एक साता अर्थात् १२ अक्टोबरसम्म चल्यो । दर्शकहरूको अनुरोधमा दोस्रोपटक १–४ नोभेम्बर १९७२ सम्म पुनः प्रदर्शन गरिएको थियो ।

‘नाटक यति साह्रो चलेको थियो कि त्यसताक कलाकारहरूले समेत आफ्ना आफन्त साथीभाइहरूका निम्ति टिकट नपाएर धुरुधुरु रुनुपरेको थियो । हलदेखि बाहिर कतिजनाको पेटपालो भइरहेको थियो ब्ल्याकमा टिकट बेचेर,’ यस नाटकमा कान्छीको भूमिका निभाउने मेनुका प्र्रधानले लेखेकी छन्, ‘यस नाटकले दार्जिलिङ अनि यसको वरिपरिका स्थानहरूको मञ्चमा मात्र नभएर सिलगढी, मङ्पु, सलुवा, कलकत्ता, कालेबुङ, सिक्किम, नेपालका विभिन्न मञ्चहरूमा प्रदर्शन गरी उत्तिकै सफलता हासिल गरिसकेको हो ।’

पछि सन् १९७४ मा नाटक ‘अनि देवराली रुन्छ’ पुनः मञ्चन भयो । त्यतिबेला त्यतिबेला ‘मनको बाँध’ फिल्म दार्जिलिङमा चलेको थियो । त्यस फिल्मका कलाकारसँगै प्रज्ञाका उपकुलपति लैनसिंह बाङदेल, हरिप्रसाद रिमाल लगायत दार्जिलिङ गएका थिए । उनीहरूले पनि यो नाटक हेरे । उनीहरूसँग मुखियाले अनुरोध गरे— अनि देवराली रुन्छलाई नेपालमा मञ्चन गर्ने रहर छ । 

‘त्यस फिल्मकी नायिका मिना सिंहका बुवा हरकुमार सिंह पनि जानुभएको थियो । उहाँ त्यतिबेला भूपू रापस (राष्ट्रिय पञ्चायत सदस्य) हुनुहुन्थ्यो । भूपू भए पनि देशमा उहाँको मान–सम्मान ठुलो थियो । उहाँले भन्नुभयो— मैले प्रज्ञा प्रतिष्ठान लगायतलाई अनुरोध गर्छु । कसैले मान्नुभएन भने म आफ्नो व्यक्तिगत खर्चमा यो नाटकलाई काठमाडौँ लैजान्छु,’ मुखिया भन्छन्, ‘त्यसपछि हामीलाई प्रज्ञा प्रतिष्ठानले नै बोलायो र २०३३ सालमा नाटक काठमाडौँ ल्याइयो ।’ 

man bahadur mukhiya (1)

त्यतिबेला राजा वीरेन्द्रले मुखियालाई व्यक्तिगत रूपमा १२ हजार रूपैयाँ दिएका थिए । त्यस्तै संस्थालाई एक लाख रूपैयाँ सरकारले दिएको थियो । 

यो नाटक काठमाडौँमा यति रुचाइएको थियो कि मानिसहरू यसको टिकट किन्न राति नै काउन्टरमा पुग्थे । वरिष्ठ कलाकार शैलेन्द्र सिम्खडा यो नाटक हेर्नका लागि सुरुमा दिनको ३ बजेतिर कमलादीस्थित प्रज्ञा–प्रतिष्ठान पुगेका थिए । त्यहाँ भनियो, ‘टिकट बिहानै किन्नुपर्छ ।’ 

नाटकको टोली बसेको सुन्धारास्थित होटल, प्रदर्शनीमार्ग लगायत स्थानबाट टिकट बिक्री गरिएको थियो । सिम्खडा भोलिपल्ट बिहान ९ बजेतिर टिकट किन्न प्रदर्शनी मार्ग पुगे, तर त्यस दिनको टिकट सकिएको थियो । ‘अनि त भोलिपल्ट राति ३ बजे नै उठेर हामी केही साथी टिकट किन्ने लाइनमा बस्न पुग्यौँ । हामी ४ बजेतिर पुग्दा त्यहाँ टिकट किन्न पुगेका एक–दुईजना आगो बालेर बसिसकेका थिए,’ शैलेन्द्र भन्छन्, ‘त्यो नाटकमा भर्खर युवा किरण ठकुरीले बुढोको भूमिका निभाएको देखेर म प्रभावित भएँ । उनले बोलेका संवादलाई आफैँ बोलेर अभ्यास समेत गरेको थिएँ ।’ 

०००

सुरुवाती चरणमा दार्जिलिङमै स्कुल पढाउँदै मनबहादुर मुखियाले केही नाटक लेखे— असत्यं, अशिवं, असुन्दरं (२०३२), क्रसमा टाँगिएको जिन्दगी (२०३४), एकाङ्गी सङ्ग्रह ‘अँध्यारोमा बाँच्नेहरू’ (२०२९) आदि । 

कथाकार, गीतकार, निबन्धकार, नाटककार, रंगकर्मी— साहित्य क्षेत्रमा बहुआयामिक परिचय बनाएका मुखियाले ‘नयाँ बिहानको क्षितिजतर्फ’ भन्ने कथाका लागि ‘रत्नश्री’ पदक प्राप्त गरेका छन् ।  

२०३६ सालमा पीएचडी गर्ने सोचसहित काठमाडौँ आएका उनलाई समयले प्राध्यापक बनायो । २०३६ सालमै उनले ‘हराएको क्षितिज’ नामक नाटक लेखेर राष्ट्रिय सभागृहमा मञ्चन गरेका थिए । त्यसपछि आफूले पठाउने स्कुल–कलेजमा फाट्टफुट्ट नाटक गरे । यतिखेर प्राध्यापन पेसाबाट अवकाश पाएका मुखियाले आफ्ना पुराना कामहरुको लेखाजोखा गर्दै छन् । 

 उनलाई हाम्रो अन्तिम प्रश्न थियो— नाटक भनेको के रहेछ ?

‘नाटक भनेको जीवनको एउटा अवस्था विशेषको कलात्मक अनुकरण हो, जसमा सुन्दरता हुनुपर्छ, जसले दर्शकलाई अपिल गर्न र प्रभाव पार्न सक्नुपर्छ,’ उनी नाटकको परिभाषा गर्छन्, ‘कतिले नाटक वा साहित्यलाई समाजको दर्पण भन्छन्, तर मैले साहित्यलाई म्याग्निफाइङ ग्लास भन्छु, जसले समाजको सानो कुरालाई ठुलो रुपमा देखाउँछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप