मैले कसरी पाएँ रणधोज खड्काको भूमिका ?
![मैले कसरी पाएँ रणधोज खड्काको भूमिका ?](https://npcdn.ratopati.com/media/news/ani-deurali-runcha_W1f6siakX1.jpg)
सन् १९७२ सालमा गोर्खा दुःख निवारण सम्मेलनद्वारा निर्मित मनबहादुर मुखियाको नाटक ‘अनि देवराली रुन्छ’सित मेरा धेरै संस्मरण अल्झिएर बसेका छन् । यही समय म विद्यालय सकेर महाविद्यालय जाने तर्खरमा थिएँ ।
दशौँ श्रेणीको छात्र रहँदा नै स्वयंद्वारा रचित एकाङ्की नाटक जीवन सपनामा अभिनय र यसको निर्देशन पनि गरिसकेपछि रङ्गमञ्चीय नाटकको क्षेत्रमा आफ्नो जरा दह्रिलोसित बसाल्न सक्छु भन्ने आत्मविश्वास आफूभित्र सिर्जना गरिसकेको थिएँ । अभिनय गर्ने, निर्देशन गर्ने साथै नाटक रच्ने आफ्नो दक्षतालाई अझ परिपक्वता दिन म स–साना नाटकहरू तयार पारेर त्यसमा भाग लिन्थेँ । यसै सिलसिलामा मेरो भेट मेरो विद्यालयका शिक्षक श्री तिलक राईसित भइरहन्थ्यो ।
म विद्यालयको भूतपूर्व छात्र भए तापनि विद्यालयको वार्षिक कार्यक्रममा अंशग्रहण गर्न उहाँले बोलाउनुहुन्थ्यो । उहाँका धेरै एकाङ्की साथै एकल अभिनयहरूमा मैले मुख्य भूमिकामै अभिनय गरेको छु । सन् १९७२ को यस्तै समयमा, एक दिन तिलक राईसित उहाँकै नाटक ‘आस्थाको अभ्यास’ गरिरहेको समय उहाँले मलाई श्री मनबहादुर मुखिया विषयमा केही बताउनुभयो । साथै मुखियासित भेट्ने सुझाव पनि दिनुभयो । यसै सन्दर्भमा मेरो प्रतिभा परिचयमाथि एउटा सानो पत्र लेखेर मेरो हातमा थमाइदिनुभयो । त्यही बेलुकी म मनबहादुर मुखियाको नाटक अभ्यास कक्षातर्फ लागेँ ।
यो जीवनमा आफ्नो लक्ष्यमा पुग्ने साधन नै क्षमता हो । ती लक्ष्यहरू जे नै भए पनि । यो कुरोको ज्ञान भए तापनि लक्ष्य प्राप्त गर्ने मौकाहरू बढाउन के गर्नुपर्छ भन्ने प्रश्न अझै मभित्र थियो । जेहोस्, सफलताले मलाई पूर्णता र खुसीको अनुभूति गराउनेछ साथै मैले रुचाएको कला क्षेत्रद्वय नाटक र सिनेमा संसारमा निपुणता हासिल गर्दा ध्यान केन्द्रित गर्न आवश्यक छ भन्ने होस मभित्र आइसकेको थियो ।
मलाई पत्र थमाइदिएको बेलुकी नै नाटक ‘अनि देवराली रुन्छ’को अभ्यास कक्ष (गोदुनिस भवन)मा पुगेँ । अभ्यास चलिरहेको थियो । मनबहादुरले पत्र पढ्दै भाइ नेपालको हो भनेर सोधे । पछाडिबाट अर्जुनप्रसाद दाज्यू र जीवन गिरी दाज्यूले होइन, यी भाइ त यहीँ बजारकै हुन् । भाइको बाबा पनि त पहिलेको नाम चलेको अभिनेता हुन् भन्दै मेरो परिचय दिए । मुखियाले मलाई बस्ने आदेश दिए साथै कुनै भूमिकामा राख्ने आश्वासन पनि दिए तर दुई सप्ताहसम्म लगातार अभ्यास कक्षामा उपस्थिति दिँदा पनि कसैको ध्यान मतिर परेन । मेनुका प्रधानले कलाकारहरूमाझ बाँड्नुपर्ने एक कप चिया र दुइवटा बिस्कुट मलाई पनि दिन्थिन् । बिचमा गाइनेको भूमिकामा मलाई राख्ने कुरो चलेको थियो तर त्यो पनि मुखियाले आफ्नै साथी उदय छेत्रीको झोलामा पारे । फलस्वरूप मैले अभ्यास कक्षा जान छाडेँ । नाटक ‘अनि देवराली रुन्छ’ले दर्शकको मन सजिलै जित्न सक्यो । नाटक एघार दिनसम्म मञ्चन भएको सुन्न पाइयो । एघार दिनभित्रमा कुनै एक दिन म पनि यस नाटकको दर्शक बन्न पुगेँ ।
जीवन गिरी, अर्जुनप्रसाद र मनबहादुर मुखियामाझ गहिरो मित्रता छ भनेर त हामीले सुनेका थियौँ तर पहिले जीवन गिरीले, त्यसपछि अर्जुन प्रसादले एक–एक गर्दै नाटक छाड्नुमा हामीले तिनीहरूमाझ शीतयुद्ध रहेको शङ्का गर्न थाल्यौँ ।
सन १९७३ मा दार्जिलिङमा कुनै पूर्णाङ्की नाटक प्रस्तुत भएको थाहा छैन । म स्वयं पनि एकाङ्की र एकल अभिनय प्रस्तुत गर्नमा नै व्यस्त रहेँ । सन् १९७४ मा मनबहादुर मुखियाका दुईवटा नाटकहरू फेरि इतिहास दोहोरिन्छ र ‘असत्यम् अशिवम् असुन्दरम्’ गोदुनिसले मञ्चन गरायो । यी दुवै नाटकहरूमा म मुख्य भूमिकामै रहेकाले मनबहादुर मुखियासित मेरो सामीप्यता बढेको थियो । त्यही साल ‘गोदुनिस’ले नाटक अनि देवराली रुन्छ पुनः मञ्चन गरायो । यसपटक जीवन गिरी दाज्यूको सट्टामा नाटकको एउटा प्रभावशाली चरित्रमा अभिनय गर्ने मौका मैले पाएँ अनि त्यसमा म सफल पनि भएँ । त्यस समय दार्जिलिङमा नेपाली साहित्य सम्मेलनले स्वर्ण जयन्ती वर्षगाँठ मनाइरहेको थियो । यस अवसरमा नेपालबाट सूर्यविक्रम ज्ञवाली, धरणीधर शर्मा र दार्जिलिङबाट पारसमणि प्रधान (सुधपा) लगायत साथै नेपालका कैयौँ साहित्यकारहरू दार्जिलिङ आएका थिए । सुधपा यी विशिष्ट साहित्यिकहरूका निम्ति पनि यो नाटक प्रस्तुत गरिएको थियो । नाटक सात दिनसम्मका निम्ति मञ्चन भएको थियो ।
त्यही साल, केही महिना नबित्दै ठण्डा महिनामा यो नाटकलाई कालेबुङमा मञ्चन गरिने भयो । यो नाटकलाई कालेबुङमा भित्र्याउन कालेबुङका नागरिकले एउटा अस्थायी समिति बनाएका थिए । हामीले अभ्यास सुरु गरिसकेका थियौँ तर केही दिनभित्रै हामीले घाइँघुइँ सुन्यौँ, रणधोज खड्काको भूमिकामा अभिनय गर्ने कलाकार अर्जुन प्रसादले नाटकमा अंशग्रहण नगर्ने भए । अब अप्ठेरो पर्ने भयो ! अब यो भूमिकामा कसलाई उभ्याउने ! अभ्यास बन्द भएको थियो, मात्र भेटघाट हुन्थ्यो । जीवन गिरी, अर्जुनप्रसाद र मनबहादुर मुखियामाझ गहिरो मित्रता छ भनेर त हामीले सुनेका थियौँ तर पहिले जीवन गिरीले, त्यसपछि अर्जुन प्रसादले एक–एक गर्दै नाटक छाड्नुमा हामीले तिनीहरूमाझ शीतयुद्ध रहेको शङ्का गर्न थाल्यौँ । यस्तैमा एक दिन कलाकार कलाकार मोहन विष्टले सबैको अघि प्रश्न राखे— प्रसादले अब यो नाटकमा अंशग्रहण गर्दैनन् भने अब यो नाटकको भविष्य छैन ? हामीले पनि त मिहिनेत गरेका छौँ, हाम्रो मिहिनेतको कदर नगर्ने ? विष्टलाई सबैले सहमति दिए ।
मुखियाले प्रश्न गरे— अर्काे कलाकार को ल्याउनु ? यत्तिकैमा मोहन विष्ट नै फट्ट बोल्नुभयो— यहाँ किरण छ त, अभिनय राम्रो गर्छ, आवाज परिवर्तन गर्न सक्छ । सबैको दृष्टि मतिर पर्यो । म र नायिका नीना प्रधानलाई रङ्गमञ्चमा बोलाइयो । मैले नायिकाका बुबा रणधोजको मुख्य भूमिका निभाउनु थियो । मलाई संवाद दिइयो । केही क्षणमै मैले संवाद मुखस्त पारेर नीनासित अभिनय गरेर देखाइदिएँ । कक्षा भवनमा ताली गुञ्जियो । म आश्वस्त भएँ कि अब रणधोजको भूमिका मेरो भयो ।
नीनाका मामा अविनाशअघि फेरि मलाई अभिनय गर्न लगाए । अविनाशले मेरो प्रशंसा गरेपछि मात्र मुखियाको ममाथिको शङ्का उठ्यो अनि मलाई रणधोज भनेर घोषणा गरे । यसरी मोहन विष्टको प्रस्तावना, नीनाको स्वीकृति र अविनाशको पुष्टीकरणमा मात्र मेरो रणधोजको भूमिकामाथि मोहर लागेको हो ।
भोलिपल्ट म अभ्यास कक्षामा पुगेँ । म अवाक् बनेँ । मुखियाका साथी कलाकार भोज पराजुलीले पो रणधोजको अभिनय गर्दै थिए । मन अमिलो भएर आयो । अभ्यास सकियो । नीनाले भनिन्— मलाई उहाँसित अभिनय गर्न सजिलो भएन । म किरणसित नै अभिनय गर्छु । सबैले सहमति दिए । ममा फेरि आशा पलायो । मुखियाले मलाई पूर्ण शृङ्गार र वेशभूषामा हेर्ने विचार राखे । सायद मुखियाले मेरो अनुहारमा कलिलोपन देखेर होला । हुनु पनि हो, त्यस समय मेरो उमेर बीस वर्ष पनि पुगेको थिइनँ ।
फेरि अघिल्लो दिन म अभ्यास कक्षामा पुगेँ । मलाई दाउरा–सुरुवाल, नेपाली टोपी, साल आदि पहिर्याइयो । साहु चुडानाथको भूमिकामा अभिनय गर्नु हुने केबी मोक्तानले मेरो अनुहारमा शृङ्गार लिपपोती गरे अनि मलाई बुढो रणधोज बनाएर उभ्याए । त्यस दिन फेरि मैले नीना प्रधानसित अभिनय गर्नुपर्यो । आफूलाई मन परेको रणधोजको भूमिका हात पार्न यो त्यो मेरो निम्ति अन्तिम परीक्षाको घडी थियो । मैले आफ्नो मनलाई पूरा सन्तुलनमा राखेर अभिनय गरेँ । त्यस समय भवनभित्र साथीहरूको थपडीको गुञ्जन घरीघरी आइरह्यो । सबैबाट रणधोज खड्गाको भूमिकामा मञ्चमा ओर्लिने स्वीकृति मैले पाएँ । तर त्यतिले मात्र मुखियाको मन मानेन र तिनले मलाई मैले फेरेको लुगाको एउटा पोका बनाएर मेरै हातमा भिराए अनि गोदुनिस भवनबाहिर निकाले । त्यसपछि गोदुनिस मैदान, मारवाडी समिति, नेपाली साहित्य सम्मेलन हुँदै माथिल्लो चाँदमारीस्थित नीना प्रधानको घरमा पुर्याए । त्यहाँ नीनाका मामा अविनाशअघि फेरि मलाई अभिनय गर्न लगाए । अविनाशले मेरो प्रशंसा गरेपछि मात्र मुखियाको ममाथिको शङ्का उठ्यो अनि मलाई रणधोज भनेर घोषणा गरे । यसरी मोहन विष्टको प्रस्तावना, नीनाको स्वीकृति र अविनाशको पुष्टीकरणमा मात्र मेरो रणधोजको भूमिकामाथि मोहर लागेको हो ।
नाटक ‘अनि देवराली रुन्छ’मा रणधोजको चरित्र सबैभन्दा प्रभावशाली चरित्र हो । कालेबुङमा मैले प्रथमचोटि रणधोजको भूमिकामा अभिनय गरेपछि यो नाटक मलाई लिएर फेरि दार्जिलिङ, मङ्यु, गान्तोक, काठमाडौँ दुइचोटि (१९७६ र १९७७), सिलगढ़ी साथै दार्जिलिङमा पुनः (२००६) भव्यतासित मञ्चन गरियो । २००६ मा त यो नाटक मैले निर्देशन पनि गरेको हुँ, मेनुका प्रधान त्यस समय मसित संयुक्त रूपमा जोडिएकी थिइन् । यो नाटकको पुस्तक १९७२–७३ सालमा नै प्रकाशित भएकाले साधारण दर्शकहरू धेरै कुराहरूमा अभिज्ञ हुन सक्छन् । जे होस, यो नाटकसित जति म जोडिएको छु । अरू सायदै त्यति जोडिए होलान् ।
(सन् २०२२ मा ‘दार्जिलिङ जिल्ला वार्षिक पुस्तक मेला’ले अनि देवराली रुन्छ अर्धशताब्दी विशेष ‘अक्षर हाट’ स्मारिका छापेको छ । त्यसैबाट साभार किरण ठकुरीको आलेख ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीले देशका हरेक गतिविधि बुझन जरुरी छ : अध्यक्ष राउत
-
दोलखाको सैलुङमा पुरातात्त्विक महत्त्वको घण्टी चोरी, प्रहरी भन्छ– चोर खोज्दैछौँ
-
‘वर्षा हुने बलियो मौसम प्रणाली छैन’
-
गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात
-
पोखरा घटनापछि गृहमन्त्रीले भने– आगामी दिनमा सतर्कता अपनाउनुपर्छ
-
‘प्रारम्भिक बाल विकासलाई विद्यालय संरचनाभित्र ल्याउनुपर्छ’