शनिबार, ०३ फागुन २०८१
ताजा लोकप्रिय
रातोपाटी साताको कविता

प्रकाश सायमीका तीन कविता

शनिबार, ०३ फागुन २०८१, १४ : ३०
शनिबार, ०३ फागुन २०८१

१) कुनै एउटा यस्तो दिन 

घामसँग बोलेर हामी कविता पढ्दै छौँ
घामसँग खेलेर हामी कविता लेख्दै छौँ
घामसँग हिँड्दै हामी कविता बाँच्दै छौँ
घामसँग
हाम्रो साइनो छ,
कविताको ।

घाम पर्खालमाथि चढ्छ,
हाम्रो कविता सस्वर हुन्छ
घाम डाँडामाथि हिँड्छ
हाम्रो आवाज अझै प्रखर हुन्छ
पानीसँग पनि हामी लेख्छौँ, पढ्छौँ
र बोल्छौँ
हामी कविता लेख्छौँ घामपानीको,
एक दिन हाम्रो कविता घाम बन्ला
सबैलाई न्यानो देला
वा पानी बन्ला,
सबैलाई जीवन देला
फेरि पनि हामी कविता लेखिरहौँला
तर कविता त हामीसितै रहन्छ ।

कुनै एउटा यस्तो दिन
घाम रहला
पानी रहला
हाम्रो कविता नरहला
तर हामी घामपानीमा कविता भएर जानेछौँ ।

२) सपनाको तस्बिर

झोलामा बोकेर आएका थिए
उनीहरूले आफ्नो आँखाको तस्बिर ।
दरबार पस्नुअगि नै झोला खोसियो द्वारमै ।
के के थिए झोलामा
के के हराए झोलाबाट
उनीहरू आफैँ अलमलिए ।

झोला खोज्दाखोज्दै बितेको रात
एउटा सपना बित्यो
रामविलासको जीवनमा ।
झोला पोको पार्नुअघि रामविलासले
धेरै सपना पोको पारेका थिए
बाटो बाटोमै लुटियो उनको सपना । 

उनी धेरैपटक यो सहरमा
देवदर्शन गर्न आए ।
उनी धेरैपटक सिंहदरबारमा
कैँयौ सरकार पुर्‍याउन आए
आज उनको सपना लुटिँदा
आज उनको झोला खोसिँदा
न उनीसँग रुने कुनै सरकार छ
न कसैको सरोकार छ ।
साला सेठले उनलाई लिलाम गरिदियो सहरमा ।
करोडौँ अनुहारका बिच एउटा अमिल्दो
अनुहार लिएर रुँदै गर्दा
उसलाई सम्झाउने अर्काे रामविलास
अब यो सहरमा छैन ।
रामविलास भन्छ,
नरो, नरो ।

यो सरकारले आँसु पुछ्न आयो भने
त्यसमा पनि कर लगाउँछ,
यो साला सेठले  हाम्रो आँसु खोस्योे भने
त्यो पनि हिराको भाउमा बेच्छ
आँसुको धेरै किनबेच  हुन्छ
यो सहरमा ।

रामविलासलाई हेर्दै
रामविलास आज भन्दै छ,
तिमी रोयौ
तिमी किसान हौ
तिम्रो आँसुमा नुन छ
ऊ रोएन
ऊ मसान हो
उसको आँखामा खुन छ
करोडौँ अनुहारमा आफ्नो   
अनुहार खोज्दै  रामविलास  
झोला बोकेर आएको थियो
यो सहरमा
झोलामा थियो
उसको सपनाको  तस्बिर
झोलामै थियो ।

३) गालिबको चिहान  

घर वा सपिङ मल बन्ला
हाउजिङ वा अकासे बजार बन्ला
केही पनि बन्न सक्छ यो भूमिमा ।

धेरै वर्षपछि
यहाँ गगन महल बन्ला
वा मल्टिकम्प्लेक्सको प्रसिद्ध भवन ।

व्यस्त भरिभराउ
वा हेर्नै नसकिने
अभेद्य मान्छेको भीड होला
तर हुनेछ एउटा गजल रेस्राँ
तर हुनेछ यहाँ एउटा पुस्तक पसल
त्यो भवनको टाकुरामा रहेको गजल रेस्त्राँमा
कुनै गायिकाले
गालिबकै गजल गाएर
गाहकी बढाउली ।

वा हुन सक्छ
त्यो गगनचुम्बी भवनको
पुस्तकालयमा कुनै सेल्सम्यानले
गालिबकै बोली बोलेर
उनका दिवान ए गालिब
वा उनको गजलको सिडी बेचिरहेका हुनेछन्
हुनेछ कुनै सभाभवनमा
गालिबको शतवार्षिकी
त्यहाँ कुनै मन्त्री भनिरहेका हुनेछन्
‘गालिब गत शताब्दीका महान् चित्रकार ।’

अनि बोल्दाबोल्दै उनका झरेका
आँसुलाई क्यामरामा कैद गर्न
टीभी च्यानलका लेन्सहरू
तेस्रो विश्वयुद्ध गरिरहेका हुनेछन्
तर कसैलाई थाह हुनेछैन
जहाँ त्यो गजल गाइँदै छ,
जहाँ त्यो दिवान ए गालिब बेचिँदै छ,
जहाँ त्यो स्मृतिसभा हुँदै छ,
त्यही भवनको जगमा
गालिबको चिहान छ भनेर । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश सायमी
प्रकाश सायमी
लेखकबाट थप