शनिबार, ०३ फागुन २०८१
ताजा लोकप्रिय

‘लेख्नैपर्ने भयो’ भन्दै कांग्रेसमाथि सूर्य थापाको आक्रोश : दिउँसै रात पार्ने प्रयास भयो

शनिबार, ०३ फागुन २०८१, १० : ३५
शनिबार, ०३ फागुन २०८१

काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले नेपाली कांग्रेस प्युठानका केही व्यक्तिहरूले आफूविरुद्ध कुप्रचार गरिरहेको दाबी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सांसद थापाले दिउँसै रात पार्ने प्रयास भइरहेको बताएका हुन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति प्युठानले जिल्लाका प्रतिनिधि सभा सदस्य रहेका थापाले अनपेक्षित जितको उन्मादमा फरक विचार राख्ने व्यक्ति र जनप्रतिनिधिलाई पदीय मर्यादा विपरीत अस्वाभाविक चरित्र देखाउने, बहुपार्टी सिद्धान्तलाई अनदेखा गरी निरन्तर असमावेशी स्वभाव देखाउने शृङ्खला जारी राखेको भन्दै विज्ञप्ति निकालेको थियो ।

उनले लेखेका छन्, ‘जहाँसम्म ‘जितको उन्माद’ भनिएको छ, यसले पाँचदलीय  गठबन्धन बनाएर हराउन खोज्दा नसकेर मैले जितेको त जीवित तथ्य नै हो, कुनै उन्माद होइन। यहाँले दुर्गा पौडेललाई जिताउन सके जति बल गर्नुभएकै हो त, सक्नुभएन। अनि किन कुण्ठाग्रस्त ?’

उनले चालू आर्थिक वर्षमा बाग्दुला- मच्छी सडकको लागि आफ्नो सिफारिसमा १ करोड बजेट छुट्टाएर दुईपटक ठेक्का लागिसकेको छ र बाग्दुला पुलको जिरो बिन्दुबाट निर्माण व्यवसायीले काम गरिरहेको अवस्था रहेको जानकारी दिएका छन् । ‘यस बजेट शीर्षकमा कम्तीमा छ करोड रकम चालू आ.ब.मै थप बजेटका लागि सिफारिस गरेर कोसिस गरिरहेको छु,’ उनले भनेका छन् ।

उनले लेखेका छन्, ‘यति स्पष्ट तथ्यमा पर्दा हालेर किन मोटर बाटोमा पैदलयात्रा(क्याटवाक) भएको रहेछ ? यति सरलरूपमा छर्लङ्ग दुराशय हामीले बुझेका छैनौँ र ? अनि सत्ता साझेदार दल, जिम्मेवार मन्त्री, जनप्रतिनिधि र काँग्रेसको नेतृत्व तहबाट गरिएको यस्तो कुप्रचार र योजनाबद्ध दुष्प्रचार किन ?’

उनले लेखेका छन् :

केही नलेख्ने भनेको 

तथ्य लेख्नैपर्ने भयो !

नेपाली काँग्रेस प्युठानका केही व्यक्ति यति हदसम्म कुप्रचार गरिरहेका छन्। भिडियोमा बोल्ने महिला काँग्रेसकै कार्यकर्तालाई यसरी बोल्न लगाएर 'क्याटवाक'का क्रममा दिउँसै रात पार्ने कोसिस भएको छ। प्रदेश खानेपानी मन्त्री, जसले सरकारमा  काँग्रेसको टिमको नेतृत्व गरिरहनुभएको छ, उहाँले फूल लिएर हात जोड्नुभएको देखिन्छ, दायाँतर्फ झिमरूक गाउँपालिकामा तत्कालीन गठबन्धनमा काँग्रेसबाट निर्वाचित उपाध्यक्ष प्रमोद पोखरेल र दायाँतर्फ प्युठान नगरपालिकामा तत्कालीन गठबन्धनमा काँग्रेसबाट निर्वाचित उपमेयर देवेन्द्र बर्मा उभिएको देखिन्छ। ल मानौँ, एकजना महिला बोल्नुभयो भनेर सामान्य रूपमा नै लिऊँ, यसलाई काँग्रेसका कार्यकर्ता विमल पोखरेलको आइडीबाट टिकटक बनाएर मेराविरूद्द भाइरल गरिएको छ। 

जबकि चालू आ.ब.मा बाग्दुला- मच्छी सडकको लागि मेरो सिफारिसमा १ करोड बजेट छुट्टाएर दुईपटक ठेक्का लागिसकेको छ र बाग्दुला पुलको जिरो बिन्दुबाट निर्माण व्यवसायीले काम गरिरहेको अवस्था छ। यस बजेट शीर्षकमा कम्तीमा छ करोड रकम चालू आ.ब.मै थप बजेटका लागि सिफारिस गरेर कोसिस गरिरहेको छु।

प्रदेशबाट छुट्ट्याइएको ७० लाखको अझै टेन्डर निकालिएकोसम्म छैन। 

 विगतमा ७५ प्रतिशत भारतीय निर्माण सामग्री प्रयोग अनिवार्य गरेर गरिएको ठेक्का सम्झौताअन्तर्गत १० वर्षदेखि कुरा भएर काम नभएको बाग्दुला-मच्छी-भिमगिठे सडकको पुनः ठेक्का लगाउन गतवर्ष माघमा भारतीय एक्जिम बैंकलाई पत्रचार गरिएकोमा अहिलेसम्म कुनै जवाफ दिइएको छैन। र, ठेकेदारले उच्च अदालतमा हालेको मुद्दामा कुनै निर्णय नभएकाले वैकल्पिक स्रोत खोजेर निर्माण अघि बढाउनसमेत अल्झन परेको छ।

यति स्पष्ट तथ्यमा पर्दा हालेर किन मोटर बाटोमा पैदलयात्रा(क्याटवाक) भएको रहेछ ? यति सरलरूपमा छर्लङ्ग दुराशय हामीले बुझेका छैनौँ र ?

अनि सत्ता साझेदार दल, जिम्मेवार मन्त्री, जनप्रतिनिधि र काँग्रेसको नेतृत्व तहबाट गरिएको यस्तो कुप्रचार र योजनाबद्ध दुष्प्रचार किन ?

काँग्रेस सभापति विष्णुकुमार गिरीले जारी गर्नुभएको वक्तव्य झूटो, तथ्यहीन र भ्रमको खेती गर्ने नियोजित षड्यन्त्रको गोटी बनेर आएको छ। यसका बारेमा नेकपा(एमाले), प्युठानले संस्थागत रूपमा स्पष्ट गर्ने नै छ।

जहाँसम्म "जितको उन्माद" भनिएको छ, यसले पाँचदलीय  गठबन्धन बनाएर हराउन खोज्दा नसकेर मैले जितेको त जीवित तथ्य नै हो, कुनै उन्माद होइन। यहाँले दुर्गा पौडेललाई जिताउन सके जति बल गर्नुभएकै हो त, सक्नुभएन। अनि किन कुण्ठाग्रस्त ?

  • यस्तो थियो कांग्रेसको विज्ञप्ति

480430326_9243391339086621_412021337804602625_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप