शनिबार, ०३ फागुन २०८१
ताजा लोकप्रिय
प्रथम नेपाली महिला श्रृङ्खला

मोतीलक्ष्मी : नेपाल भाषा साहित्यमा कथा तथा निबन्ध विधा प्रारम्भ गर्ने प्रथम नेपाली महिला

शनिबार, ०३ फागुन २०८१

रातोपाटी डटकमको साप्ताहिक प्रस्तुती ‘प्रथम नेपाली महिला’ शृङ्खलाको ११औँ एपिसोड मोतीलक्ष्मी तुलाधर ‘उपासिका’ को सम्बन्धमा छ । 

नेवारी अर्थात् नेपाल भाषा साहित्यमा कथा तथा निबन्ध विधा प्रारम्भ गर्ने प्रथम नेपाली महिलाका रूपमा उनको स्थान अकाट्य रहेको छ । मोतीलक्ष्मी तुलाधरलाई नेपाल भाषाकी प्रथम महिला लघुकथाकार पनि भनिएको पाइन्छ । उनको पहिलो कथा ‘रोदन’ र दोस्रो कथा ‘पुनर्विवाह’ हो । 

परिचय

  • नाम : मोतीलक्ष्मी तुलाधर ‘उपासिका’
  • जन्ममिति : वि.सं.१९६६ जेठ ११
  • जन्मस्थान : न्यत तुंछें टोल, काठमाडौँ 
  • निधन : वि.सं. २०५४ माघ १९
  • माता : ज्ञानलक्ष्मी तुलाधर
  • पिता : द्रव्यधर तुलाधर
  • कृति : मोती माः, सङ्घ, बाखँ पुच, चखुँचिया सर्वय्, धौबजी,  उत्पलवर्णा आदि

भाषासेवा र समाजसेवा क्षेत्रमा मोतीलक्ष्मी तुलाधरको योगदान अविस्मरणीय छ ।  नेपाली कथा साहित्यमा पनि मोतीलक्ष्मीको नाम सिरानतिरै लिने गरिन्छ । 

नेपाली भाषासाहित्यतर्फ हेर्दा मोतीलक्ष्मीले वि.सं.१९९० देखि लेख्न थालेकी हुन् । उनको प्रथम प्रकाशन वि.सं.१९९२ मा ‘शारदा’ पत्रिकाबाट भएको देखिन्छ । 

नेपाली र नेपाल भाषा दुवैमा कलम चलाएर मोतीलक्ष्मीले साहित्यप्रति रहेको आफ्नो अगाध भावना प्रकट गरेकी छिन् । 

राणाशासनको डरले मोतीलक्ष्मी ‘एम. लक्ष्मी’ नामबाट लेख्ने गर्थिन् । 

शारदामा छापिएका र अन्य केही रचनामा यही नाम रहेको जानकारी नेपाल भाषा परिषद्का अध्यक्ष फणीन्द्ररत्न वज्राचार्यले दिएका छन् । 

अध्यक्ष वज्राचार्य तथा समीक्षक इन्द्र मालीले नेपाल (नेवा) भाषामा कथा तथा निबन्ध विधातर्फ हात चलाउने महिलामा मोतीलक्ष्मी प्रथम भएको पुष्टि गरेका छन् ।

नेपाल भाषामा उनका अनेक कथा छन् । उनले सर्वप्रथम लेखेको कथा चाहिँ ‘लँ’ (बाटो) हो । 

यसबाहेक ब्यकुँ, कुर्लिम, निनि (फुपू), स्मृतिया मूर्ति, पौ (चिठी), समाप्ति, छ्याक कथा रहेका छन् ।

‘आँसु’ उनको पहिलो नेपाली निबन्ध हो । विभिन्न पत्रपत्रिकामा उनका ११ वटा निबन्ध प्रकाशित छन् । 

चखुं चिया सर्वय् (कविता सङ्ग्रह) र धौबजी (निबन्ध सङ्ग्रह) हो । उनको पहिलो निबन्ध सङ्ग्रह ‘संघ’ हो । 

‘उत्पलवर्णा’ चाहिँ जातक कथाहरूको विश्लेषणात्मक अनुवाद हो । भारत तथा नेपाल छापिने पत्रपत्रिकामा मोतीलक्ष्मीका रचना प्रकाशित हुनेगर्थे । 

भारतको सारनाथ, बनारसबाट प्रकाशित हुने ‘धर्मदूत’ र कालिम्पोङबाट प्रकाशित हुने ‘धर्मोदय’ मा उनका रचना देखिन्थे । 

‘धर्मदूत’ बौद्ध हिन्दी मासिक पत्रिका हो । यसको पछाडिपट्टि चारपृष्ठ नेपाल भाषालाई छुट्याइएको थियो । 

‘धर्मोदय’ चाहिँ नेपाल भाषामै प्रकाशित हुन्थ्यो । मोतीलक्ष्मी कथाकार र निबन्धकार मात्रै नभई कवयित्री पनि हुन् । 

उनी पद्य तथा गद्य दुवैमा कविता लेख्थिन् ।  उनको ‘चाया सल्लाह’ (रातिको सल्लाह) कविता निकै सराहिएको थियो ।

उनको गद्यकविता ‘यः दाइ,....आजिँ छुयाये’ (ए दाइ, अब म के गरूँ) पनि उत्कृष्ट कविता थियो । 

उनका हात लेखतर्फ पनि अघि सरेका थिए । उनको ‘समानताको विषयमा’ शीर्षकको लेख पाठ्यपुस्तकमा समेत राखिएको छ । 

उतिबेला एसएलसीमा नेपाल भाषा लिने विद्यार्थीका निम्ति यो लेख समावेश गरिएको थियो । 

मोतीलक्ष्मी नेपाल भाषाका महाकवि, ‘कविकेशरी’ चित्तधर ‘हृदय’ की बहिनी हुन् । भाषासेवी चित्तधरलाई मोतीलक्ष्मीले अन्तिमकालसम्म सहयोग र सेवा गरिन् । 

मोतीलक्ष्मीको छ, सात वर्षको उमेरमै विवाह भयो । तर, उनी धेरै काल आफ्ना पति काजीमान सिंह तुलाधरसँग बसिनन् । 

यसको कारणबारे उनकी भान्जी केशरीलक्ष्मी बताउँछिन्–‘त्यतिखेर सानैमा विवाह गर्ने चलन थियो । विवाह गरेर पठाएपछि घरमा उनीमाथि राम्रो व्यवहार भएन । आमाले गएर छुटाएर ल्याइन् ।

पारपाचुके नै भएको थियो । यसैले ठूली आमा सधैँ माइती बसिन् ।’ 

अर्को भनाइ अनुसार श्रीमान्ले सौता राखेका कारण सम्बन्धविच्छेद हुनपुगेको हो । मोतीलक्ष्मीका बावु द्रव्यधर ह्लासाका व्यापारी थिए । 

घर व्यापारीको भए तापनि छोरा चित्तधर चाहिँ ठूला विद्वान्, भाषासेवी र महाकवि हुनपुगे । 

उनै महाकविभन्दा मुनिकी मोतीलक्ष्मीपछि बेटीलक्ष्मी र न्हुच्छेलक्ष्मी जन्मिए । बेटीलक्ष्मीको २६ वर्षको उमेरमै निधन हुनपुग्यो ।

कान्छी न्हुच्छेलक्ष्मीको पनि देहावसान भइसकेको छ । उनले भिक्षुणी भएर जीवन बिताएकी थिइन् ।

द्रव्यधर र ज्ञानलक्ष्मीका पन्नाधर र चित्तधर छोरा तथा मोतीलक्ष्मी, बेटीलक्ष्मी, न्हुछेलक्ष्मी र मणिलक्ष्मी गरी ६ सन्तान भएको उल्लेख पनि पाइन्छ । 

मोतीलक्ष्मीको शिक्षादीक्षा घरमै भयो । घरमा दाजुलाई पढाउन आउने पण्डित पूर्णप्रसाद ब्राह्मणका पिता देवीदत्त दवाडीले उनलाई पनि संस्कृतका व्याकरण तथा साहित्यिक कृति पढाएका थिए । 

भिक्षु अमृतानन्दसँग उनले पालिभाषा सिकेकी हुन् । दाजु चित्तधरको चाहना बहिनीलाई भारतबाट मेट्रिकको परीक्षा दिन लगाउने थियो । 

उनले पाठ्यपुस्तकको व्यवस्था पनि गरेका थिए । तर मोतीकृष्णको तयारी राम्रो हुन नसकेकाले अधुरै रह्यो ।

आफ्नै अध्ययनले गर्दा उनमा नेपाली, नेवारी, संस्कृत, पालि, हिन्दी र अङ्गे्रजी भाषाको ज्ञान थियो ।

चित्तधरका सन्तान थिएनन् । त्यसैले पनि मोतीलक्ष्मी उनका निम्ति सधैँ सहायिका भएर रहिन् । दाजुको साहित्य आराधनामा उनले पुर्‍याएको योगदान अद्वितीय छ । उनको सहयोग नपुगेको भए चित्तधरको महाकवित्व उजागर हुन पक्कै सहज थिएन । राणाहरूले चित्तधरलाई कैद गरेपछि मोतीलक्ष्मीको देन विशेष रूपमा देखापरेको हो । 

चित्तधर हृदय कैद पर्नुको कारण भान्जी केशरीलक्ष्मीले  औँल्याउँदै भनेकी छिन्– 

‘मामाले ‘मा’ (आमा) शीर्षकको एउटा कविता लेखेका थिए । 

त्यस कविताको अन्त्यमा ‘मातृविहीन बालक’ उल्लेख थियो । 

यसअघि भारतबाट प्रकाशित कृति तथा यस कवितालाई राजनीतिक अर्थ लगाएर राणाशासकले अन्य साहित्यकारसँगै उनलाई पनि थुनेको हो । 

वि.सं.१९९७ सालमा उनलाई कैद गरिएको थियो ।

त्यतिखेर जेलमा सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, गणेशमान सिंह र धर्मरत्न यमीहरू थिए ।

चित्तधरले कैदमा छँदा चुरोटका बट्टामा लेखेका कुरालाई खाना दिन जाँदा लुकाएर ल्याउने मोतीलक्ष्मी, पछि त्यसलाई सरसरती सार्ने काम पनि गर्थिन् । 

यसरी टुक्रा–टुक्रा चुरोटका बट्टामा लेखिएका अंशहरू समेटिई ‘सुगत सौरभ’ महाकाव्य तयार हुनसकेको हो ।

यो कृति चित्तधरको सर्वोत्कृष्ट कृति बनेको छ । यसको अङ्ग्रेजी अनुवाद तीर्थराज तुलाधर र नेपाली अनुवाद चित्तरन्जन नेपालीले गरेका छन् ।

यत्ति मात्रै होइन, अन्य बेलामा पनि चित्तधर हृदय आफूले लेखिसकेपछि मोतीलक्ष्मीलाई सुनाउँथे ।

उनी पनि रचनाबारे विवेकपूर्ण ढङ्गबाट सल्लाह दिन्थिन् । अनि सोही अनुसार रचना निर्णायक तहमा पुग्ने गथ्र्याे ।

जीवनका अनेक सुख, दुःखमा दाजु, बहिनीको सहयोग अनुकरणीय रह्यो । 

भान्जी केशरीलक्ष्मीको भनाइ छ– ‘माइजुको निधन भएपछि मामा (चित्तधर) पक्षघातबाट पीडित हुनपुगे । 

ज्यादै कठिनाइँका घडीमा पनि मोतीलक्ष्मीले दाजुलाई छाडिनन् । अन्तिम बेलासम्म गुहुमूत सोहोरेर सेवा गरिरहिन् उनले । 

मामा बेलाबखत भन्थे– ‘यो मेरी बहिनी होइन, आमा हो । त्यसैले आमाले जस्तै सेवा गरिरहन्छे ।’

२००७ साल फागुन ०७ गते प्रजातन्त्र आएपछि त्यसै महिनाको २० गते ‘नेपाल भाषा परिषद्’को स्थापना भयो । 

यसका संस्थापक चित्तधर हृदय हुन् । मोतीलक्ष्मी यसको कार्यकारी सदस्य थिइन् । 

२०३९ साल, जेठ ९ गते कविकेशरी चित्तधर हृदयको निधन भयो ।

त्यसपछि, नेपाल भाषा परिषद्की कोषाध्यक्ष बनेकी मोतीलक्ष्मीले जीवनपर्यन्त सेवा पुर्‍याइन् । 

कोषाध्यक्षको जिम्मेवारीमा उनको दखल प्रशंसनीय रह्यो । यस परिषद्बाट प्रकाशित हुने ‘नेपाल’ पत्रिका निरन्तर प्रकाशनमा रह्यो । 

दाजु चित्तधर हृदयको निधनपछि उनले त्यो घर नेपाल भाषा परिषद्लाई प्रदान गरेको भनाइ पनि छ । 

‘नेपाल भाषा मिसा खलः’ की संस्थापक अध्यक्ष हुन् मोतीलक्ष्मी । 

उनले २००९ सालमा सर्वप्रथम आयोजित ‘बृहत् नेपाल भाषा साहित्य सम्मेलन’ मा सहभागी भई ‘पासा’ (साथी) निबन्ध पढेर सुनाएकी थिइन् । 

२०१२ सालमा नेपाल भाषा महिला साहित्य सम्मेलनको सभापतित्व ग्रहण गर्ने अवसर पनि पाइन् । 

उनी ‘नेपाल भाषा एकेडेमी’ की पार्षद समेत थिइन् । उहिले, श्री ३ चन्द्रशमशेरले ‘नर्स’ तालिमका निम्ति चार जना केटी पठाएका थिए । 

यसरी नर्स तालिमका लागि पहिलोचोटि नेपालबाट पठाइएको थियो । 

यसमा उनी समेत छानिएकी थिइन् । तर आमा बिरामी परेकीले नर्स हुने अवसर स्वतः गुम्न पुग्यो । 

उनी योगवीर सिंह कंसाकारको कपडा कारखानामा रेखदेख गर्ने काममा पनि संलग्न भएकी थिइन् । 

भनिन्छ, धर्मकर्मका निम्ति केही रकम आवश्यक पर्नेभएकोले स्वाभिमानी मोतीलक्ष्मीले आफ्नो बुनाइ सीपबाट केही आर्जन गर्थिन् । 

खासगरी उनी स्वीटर तथा गलबन्दी बुन्थिन् र पसल, पसलमा बिक्री गर्थिन् ।

सानीमा सिद्धिलक्ष्मीसित मिलेर उनले तुंछें गल्लीमा कपडा पसल पनि चलाएकी थिइन् । 

मोतीलक्ष्मी जीवनको पछिल्लो अवधिमा पूर्णतः धर्मतिर ढल्किइन् । 

बौद्धतीर्थको भ्रमणका लागि भारतका विभिन्न स्थानमा पुगिन् । 

यही मेसोमा उनी कोलकातामा व्यापार गरिरहेका काकासँग भेट्न दाजुसँग त्यहाँ पनि पुगेकी थिइन् ।

धर्ममा उनले परम्परालाई नपछ्याई आफ्नो विवेक अनुकूलको पद्धति अँगालिन् । 

महायानी बौद्ध परम्परा उनको पुख्र्यौली धर्म भए तापनि उनी चाहिँ थेरवादतर्फ प्रवृत्त भइन् । 

नेपालमा थेरवादको प्रचारमा उनले पुर्‍याएको योगदान विशेष मानिन्छ ।

उनले आफ्नो नाममा जोडेको उपनाम ‘उपासिका’ले पनि उनको धर्मप्रतिको अनुराग झल्कन्छ । 

बौद्ध दर्शनमा भिक्षु, भिक्षुणी, उपासक र उपासिकालाई धर्मरथका चारपाङ्ग्रा मानिन्छ । 

यी चार पाङ्ग्रा नभई धर्मरूपी रथ गुड्नै नसक्ने भएकाले यीप्रति समाजमा ठूलो श्रद्धाभाव रहेको छ । 

वि.सं.१९६६ जेठ ११ गते न्यत तुंछें टोल, काठमाडौँमा जन्मिएकी मोतीलक्ष्मीले २०५४ माघ १९ गते यो संसार छाडिन् । 

मोतीलक्ष्मीका सम्बन्धमा प्रा.डा. चुन्दा वज्राचार्यद्वारा लिखित ‘मोतीलक्ष्मी उपासिका जीवनी छपुलु’ कृति रहेको छ ।

यसको प्रकाशन २०४५ मा भएको हो । ‘मोतीलक्ष्मी उपासिका समारोह समिति’ ले उनी ८० वर्ष पुगेको उपलक्ष्यमा  विशेष सम्मान गरेको थियो ।

नेपाल नारी साहित्य सेवा केन्द्रले २०४९ मा मोतीलक्ष्मीलाई अभिनन्दन गर्‍यो ।

नेपाली तथा नेपाल भाषा साहित्यमा उनले पुर्‍याएको योगदान विशिष्ट रहेकामा दुइमत छैन । उनले नारीजागरण र शिक्षा विकासमा गरेको योगदान पनि उच्च मूल्याङ्कनको पक्ष बनेको छ । समग्रमा भन्नुपर्दा, नेपाल भाषा र नेपाली भाषामा कलम चलाएकी, समाजसेवी, धर्मपरायण मोतीलक्ष्मी तुलाधर ‘उपासिका’ नारी जागरणको इतिहासमा अविस्मरणीय नाम बनेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया