समकालीन कथामा जनयुद्धको प्रतिविम्बनका कलात्मक आयाम
![समकालीन कथामा जनयुद्धको प्रतिविम्बनका कलात्मक आयाम](https://npcdn.ratopati.com/media/news/gopindra-poudel_rTx5j5CNb6.jpg)
नेपालमा तत्कालीन नेकपा (माओवादी)द्वारा सञ्चालित दशवर्षे जनयुद्ध (२०५२–२०६२) का कारण सामाजिक–सांस्कृतिक सम्बन्धका उपरी–संरचनामा भएको परिवर्तनलाई नकार्न सकिन्न । तर, दशवर्षे जनयुद्ध जेजस्तो रूपमा उथलपुथलकारी रह्यो त्यसअनुरूपका उपलब्धि भने प्राप्त हुन सकेनन् र प्राप्त उपलब्धिहरू पनि गुम्दै जाने खतरा बढ्दो छ । जनयुद्धले उठान गरेका जनसरोकारका विषयले नेपाली समाज र सामाजिक जीवनका समग्र क्षेत्रमा नयाँ मूल्यको स्थापनाको जमर्काे गरे पनि शान्ति सम्झौतापश्चात्को आन्दोलन भने विखण्डन, विसर्जन र स्खलनको चपेटामा पर्न थाल्यो । जनयुद्धको आरम्भ गर्दा जनतासमक्ष जुन सङ्कल्प गरिएको थियो परिणति भने निराशा, पलायन र विसर्जन उन्मुख हुँदो छ ।
वर्तमानको नकारात्मक पाटो यस्तो भए पनि समाजमा वर्ग तथा वर्गीय सत्ता कायम रहेसम्म वर्गसङ्घर्ष अवश्यम्भावी छ भन्ने माक्र्सवादसम्मत मान्यताका आधारमा उज्यालो भविष्य पछ्याउनुको विकल्प छैन । द्वन्द्ववादको सार र विधिअनुरूप सबै प्रकारका विभ्रम समग्र आन्दोलनभरि विद्यमान रहने हुँदा विशुद्धताको अपेक्षा निरर्थक हुन्छ । त्यसैले सकारात्मक सोच र आशावादी चिन्तनका साथ अगि बढ्नु आजको आवश्यकता हो ।
समाजको गतिशील प्रक्रियाअनुरूप साहित्यलेखन र मूल्याङ्कन पद्धतिमा पनि परिवर्तन हुन्छ । सबै प्रकारका उत्पीडन र विभेदबाट उन्मुक्ति प्राप्त गर्ने उद्देश्यअनुरूप आरम्भ भएको जनयुद्धको विकाससँगै साहित्यका सबैजसो विधामा त्यसको प्रभाव पर्नु र जनयुद्धका परिघटनाको प्रतिविम्बिन हुनु स्वाभाविक थियो । वस्तुतः कविता र संस्मरणपछि कथा विधाले जनयुद्धको प्रभावस्वरूप सिर्जनात्मक आयामलाई फराकिलो बनाएको छ । सिर्जनामा वैचारिक आयाम त सर्वाधिक महत्त्वपूर्ण मानिन्छ नै यसका कलात्मक आयामलाई पनि नजरन्दाज गर्न सकिन्न । यदि कथामा वस्तुसौन्दर्यको खोजी गर्ने हो भने त्यसको पहिलो सर्त भनेको वस्तुसौन्दर्यलाई आफूभित्र समाहित गर्न सक्ने रूपसौन्दर्यको विन्यास हो । हामी विचार वा अन्तर्वस्तुको कुरा गर्छौँ भने कथाकला वा विधागत अनुशासन पनि अभिन्न रूपमा रहेकै हुन्छ ।
अर्थात्, कथा बन्नका लागि त्यसको विधागत अनुशासन र मर्यादाको पालना हुनु आवश्यक छ । वस्तुतः कथाकलाका साथमा प्रतिविम्बित हुने विचारले मात्र सिर्जन सार्थकता प्राप्त गर्न सक्छ । यसअघि पनि जनयुद्ध प्रभावित कथाका बारेमा अध्ययन–अनुशीलन गर्दा यस पङ्क्तिकारले विषयगत तथा वैचारिक अध्ययन गरेको हो । त्यस क्रममा प्रशङ्गवश जनयुद्ध प्रभावित कथाका बारेमा कलात्मक पक्षको चर्चा भए पनि कथाकलामै केन्द्रित अध्ययन भएको थिएन । तसर्थ यस आलेखमा कथाकलामा केन्द्रित भएर जनयुद्धको प्रतिविम्बन भएका समकालीन कथाको सामान्य सर्वेक्षण तथा साक्ष्य विश्लेषण गरिएको छ ।
विषयको सीमाङ्कन/स्पष्टीकरण
समकालीन कथामा जनयुद्धको प्रतिविम्बनका कलात्मक आयाम शीर्षकको यस आलेखमा विषयगत एवं समयगत सीमा सम्भावनासम्बन्धी स्पष्टीकरण आवश्यक देखिएको छ । त्यसपछि मात्र अध्येय विषयको सर्वेक्षण तथा साक्ष्य विश्लेषण सहज हुनेछ । यस उपशीर्षकअन्तर्गत प्रमुखतः विषयगत सीमा र गौणतः समयसीमाका बारेमा स्पष्टीकरण आवश्यक देखिएको छ ।
प्रस्तुत आलेखको शीर्षकमा उल्लेख्य ‘समकालीन’ पदावली समयसीमासँग सम्बन्धित रहेको छ । ‘समकालीन’ पदावलीलाई बुझ्ने, अथ्र्याउने र व्याख्या गर्ने सन्दर्भमा एकरूपता पाइन्न । समकालीनताको सीमालाई अधिक तन्क्याउनु र खुम्च्याउनुभन्दा पनि गृहीत विषयको मुख्य सारमा असर नपर्ने गरी निर्धारण गरिएको समयसीमाले यसको तात्पर्य खुल्न सक्छ । समकालीनतालाई चिनाउने सन्दर्भमा २०४६, २०५२ र २०६३ सालयता भनेर समयसीमा निर्धारण गरिएको पाइन्छ ।
कथामा कथावाचकको भूमिका निकै महत्त्वपूर्ण मानिन्छ । कथामा कथावाचक सक्रिय हुँदा समाख्यानात्मक तथा पात्रको भूमिका सक्रिय हुँदा नाटकीय विधिको अवलम्बनका माध्यमबाट पाठकसम्म पुग्ने कलात्मक विधिको निर्माण हुन्छ । कथामा विशिष्ट प्रकारको रूपविन्यास हुने गर्छ, त्यसले नै साहित्यका अन्य गद्य विधाका तुलनामा कथालाई प्रभावकारी बनाउन मद्दत गर्छ ।
समकालीनता भनेको वर्तमानको तात्तातो समय प्रवाह हो भन्नेमा खासै विमति नभए पनि समयसीमा तोक्ने सन्दर्भमा केही पृथक् सोच पाइन्छन्, त्यसलाई अन्यथा मान्न नसकिएला । जहाँसम्म यस आलेखमा उल्लेख्य समकालीनताको सबाल छ यसको केन्द्रीय विषय प्रसङ्गलाई दृष्टिगत गर्दा जनयुद्धको आरम्भ भएको २०५२ सालयताको समयलाई समकालीनताभित्र समेट्नुपर्ने हुन्छ । यस आलेखमा उल्लेख्य विषयले २०५२ सालयताको समयसीमाको माग गर्ने सन्दर्भमा पनि त्यसयताको समयावधिलाई समकालीनताभित्र समेट्नु सर्वथा उपयुक्त देखिन्छ । त्यसैले २०५२ सालयता जनयुद्धको प्रतिविम्बन भएका कथाको कलात्मक आयामसम्बन्धी अनुशीलन यहाँ गरिएको छ ।
प्रस्तुत आलेखमा जनयुद्धको प्रतिविम्बन भएका सबैजसो कथाको विश्लेषण सम्भव देखिन्न । तसर्थ जनयुद्धको घनीभूत प्रक्रिया र परिणतिलाई केन्द्रीय विषयवस्तु बनाएर त्यसको उदात्तीकरण गरिएका कथालाई विश्लेषणको प्राथमिकता क्रममा राखिएको छ । सरकार र माओवादी जनयुद्धलाई समदूरीमा राखेर लेखिएका तथा माओवादी जनयुद्धप्रति वितृष्णा जगाउने उद्देश्यअनुरूप लेखिएका वा जनयुद्धको विद्रूपीकरण गरी लेखिएका कथालाई यहाँ समावेश गरिएको छैन । जनयुद्धको प्रतिविम्बनको तात्पर्य समग्र परिघटनाको उदात्तीकरण गर्नु हो, राज्यद्वारा चलाइएको जनहत्या र श्वेतआतङ्कको विरोध गर्नु हो र न्यायपूर्ण युद्धप्रति सकारात्मक अभिमत प्रकट गर्दै पलायन, विखण्डन तथा स्खलनप्रति विमतिसमेत प्रस्तुत गर्नु हुनाले यसै आधारमा विषयको सीमाङ्कन गरिएको छ ।
- जनयुद्धको सन्दर्भ : औचित्य र उद्देश्य
जनयुद्धप्रति आम शोषित–उत्पीडित जनसमुदायको असीम आस्था र ऐक्यबद्धता थियो । त्यसै कारण जनयुद्धले त्यो उचाइ प्राप्त गर्न सकेको हो । विरोधी खेमाका फन्टुसहरूले अनेक बान्कीका लाञ्छना, आरोप र विमति प्रकट गर्दै जनयुद्धलाई कुरूप देखे पनि (भट्टराई, २०६३, पृ. १६) यसबाट प्राप्त सौन्दर्यलाई उपेक्षा गर्न मिल्दैन । वस्तुतः जनयुद्धको प्रक्रियाबाट जेजति र जेजस्ता उपलब्धि हासिल भए तिनको रक्षा गर्ने सबाल नै अहिलेको गम्भीर चुनौती बनेको छ ।
२०५२ सालदेखि थालिएको जनयुद्ध भन्नु आम जनसमुदायको उन्मुक्ति, राष्ट्रिय स्वाधीनता तथा नेपाली समाजको रूपान्तरणका खातिर परिलक्षित थियो, ऐतिहासिक आवश्यकता थियो भने त्यही ऐतिहासिक आवश्यकताले यसको औचित्य समेत पुष्टि हुन्छ । एकातिर लामो समयदेखिको केन्द्रीकृत सामन्ती शासन तथा नोकरशाही तन्त्रको उत्पीडन अनि अर्काेतिर प्रत्यक्षतः विस्तारवादी र परोक्ष रूपमा साम्राज्यवादी उत्पीडनले आक्रान्त बनेको नेपाली मानसिकता उन्मुक्तिका खातिर सगबगाइरहेको थियो । त्यस अवस्थामा सबै प्रकारका उत्पीडनबाट उन्मुक्तिको प्रण गर्दै थालिएको जनयुद्ध नेपाली जनमानसको आशा र भरोसाको केन्द्र हुनु स्वाभाविक थियो । अर्थात् दमनका विरुद्ध प्रतिरोध हुनु र विद्रोहको आँधीबेहरी उठ्नु स्वाभाविक प्रक्रिया हुनाले पनि जनयुद्धको औचित्यमाथि प्रश्न उठाउनुको कुनै तुक देखिन्न । जनयुद्धको आरम्भ र विकासको मुख्य उद्देश्य नै नेपाली समाजमा लामो समयदेखि कायम रहिआएका विभिन्न प्रकारका अन्तर्विरोधहरूको समाधान गर्दै नेपालमा नयाँ जनवादी गणतन्त्र स्थापना गर्नु हो (किरण, २०६५, पृ. ११२) । त्यस्तै जनयुद्धको उठान र विकासका सन्दर्भमा प्रचण्डको कथन छ :
सबैजसो सिर्जनामा ‘के’, ‘कसरी’ र ‘किन’को उत्तर खोज्ने गरिन्छ । ‘के’ भन्नु विचार, भाव, अन्तर्वस्तु, विषयवस्तु, सन्देश, तात्पर्य, कथ्य, अर्थ, सारवस्तु आदि उत्तर अपेक्षित प्रश्नसूचक सङ्केत हो । त्यस्तै ‘कसरी’ भन्नु कलात्मकता, रूपविन्यास, भाषा, शैली, प्रस्तुति, हाउभाउ, बिम्ब, अलङ्कार, संरचना, मिथक, प्राक्सन्दर्भ आदि उत्तर अपेक्षित प्रश्नसूचक सङ्केत हो । यसै सन्दर्भमा ‘किन’ भन्ने प्रश्न पनि आउने गर्छ, त्यो उद्देश्यसित सम्बन्धित छ ।
जनयुद्ध विकासका नाममा जनतालाई अभाव र गरिबीको दुश्चक्रमा पारी अर्बपति बन्न पुगेका सामन्त, नोकरशाह र दलाल पुँजीपतिहरूका विरुद्ध विद्रोह हो । यही सारलाई बोकेर यो निरन्तर अघि बढ्नेछ । जनयुद्ध नेपाली कम्युनिस्ट आन्दोलनमा हावी रहेको सुधारवाद, संशोधनवाद जसले कम्युनिस्टको नाममा प्रतिक्रियावादको सेवा गर्दै आएको छ त्यसका विरुद्ध क्रान्तिकारीहरूको विद्रोह हो र यही सारलाई बोकेर यो निरन्तर अगि बढ्ने छ (प्रचण्ड, २०६३, पृ. २४–२५) ।
जनयुद्धका सारथि द्वय प्रचण्ड र किरणका यी अभिव्यक्ति सैद्धान्तिक व्याख्या र राजनीतिक कार्यदिशाका सन्दर्भमा सर्वथा उपयुक्त छन् । यसो भए तापनि आज हामीले भोगेको यथार्थपरक जीवनभोगाइका बिचबाट नेता द्वयका यी कथनउपर विचारमन्थन गरियो भने नेपाली राष्ट्रिय राजनीति र नेपाली समाजका अन्तरविरोध झन्डै यथावत् छन् । राजतन्त्रको अन्त्य भई लोकतान्त्रिक गणतन्त्र आएको छ तर नयाँ जनवादी गणतन्त्र सपनामै सीमित छ । गणतन्त्रका साथै धर्मनिरपेक्षता, सङ्घीयता, समावेशिता तथा समानुपातिक निर्वाचन प्रणाली आदि महत्त्वपूर्ण उपलब्धि भए पनि आज यिनै उपलब्धिलाई धुस्नो पार्ने प्रयत्न हुँदै छ । जनयुद्धबाट प्राप्त विरासतलाई टिकाउने गरी जनजीविकाका सवालमा सुधारात्मक कार्य गरेको भए, सहिद, बेपत्ताजन र घाइते योद्धाहरूको सम्मान गर्न सकेको भए, जनयुद्ध हाँक्ने क्रान्तिकारी पार्टीमा चिरा नपरेको भए, सर्वहारा वर्गीय आचरणलाई शोरोधार्य गर्दै भ्रष्टाचारमा निर्लिप्त नभइदिएको भए अनि देशी–विदेशी शक्तिकेन्द्रलाई आफूभित्र छिर्ने छिद्र नपारिदिएको भए वर्गवैरीहरूले ठाउको उठाउने थिएनन् । हामी जोजहाँसुकै भए पनि स्खलनको अभियानमा लामबद्ध भयौँ । भन्न सकस हुँदाहुँदै पनि यथार्थका सामु बुझपचाउन सकिएन ।
जनयुद्धको उद्देश्य र औचित्य प्रस्ट हुँदाहुँदै पनि अहिले आएर यसको बदनाम गर्ने तथा यसका उपलब्धिलाई समाप्त पार्ने प्रपञ्च भइरहेका छन् । जनयुद्धको अस्तित्वलाई समाप्त पार्न देशी–विदेशी शक्तिहरू फणा फिँजाइरहेका छन् । यस अवस्थामा जनयुद्धका पक्षधर शक्तिहरू तथा परिवर्तनका पक्षधर शक्तिहरू एक ठाउँमा उभिएर जनयुद्धका उपलब्धिको रक्षा गर्दै अगि बढ्नुपर्ने टड्कारो आवश्यकता छ । यसतर्फ परिवर्तनधर्मी लेखकलाकारहरूको पनि बिनापूर्वाग्रह सचेत प्रयत्न हुनु र सिर्जनामा त्यसको प्रतिविम्बन हुनु पनि आवश्यक छ ।
- जनयुद्ध : सौन्दर्यबोधका सन्दर्भमा
प्रत्येक मान्छे र मानवसमाज स्वभावैले सुन्दरको उपासक हुने भए पनि सौन्दर्यबोधी चेतना भने फरकफरक हुन सक्छ । मानवसमाजमा अस्तित्वमा रहेका वस्तु, घटना तथा रूपान्तरणका प्रक्रिया सबैलाई समान रूपमा सुन्दर लाग्दैनन् । त्यस्तो नलाग्नुको मूल कारण भनेको व्यक्तिले अवलम्बन गर्ने चिन्तनप्रक्रिया अनि दृष्टिभेद हो । सुन्दर वस्तु, घटना तथा परिणति खोज्न टाढा जानु पर्दैन, ती हाम्रै सामु विद्यमान छन् । यसको तात्पर्य सुन्दर एवं सौन्दर्यचिन्तनको स्रोत पनि यही वस्तु जगत् नै हो ।
व्यक्तिमा अन्तर्रनिहित दृष्टिभेदका कारण विगतको जनयुद्धलाई बुझ्ने र पर्गेल्ने सन्दर्भमा पनि समान धारणा पाइन्न । सौन्दर्यबोधी चेतना वर्गसापेक्ष, वस्तुसापेक्ष र समयसापेक्ष हुन्छ, निरपेक्ष रूपमा सुन्दर वा कुरूप भन्न मिल्दैन । विगतको जनयुद्ध उदात्त विचारले परितोषित हुँदै सञ्चालन गरिएको उद्दाम विद्रोह थियो, यो ध्वंशमात्र नभएर निर्माणको प्रक्रिया पनि थियो । ध्वंशको नकारात्मकतामा निर्माणको सकारात्मकता अन्तरनिहित रहेको हुन्छ र यही वास्तविकतामा ध्वंशको सौन्दमात्मक पक्ष अन्तरनिहित रहेको हुन्छ (प्रचण्ड, २०६३, पृ. १०५) भन्ने यथार्थबोध सबैमा हुँदैन । जनयुद्धलाई कुरूप मात्र देख्ने अनि यसभित्रको सौन्दर्यात्मक पक्षलाई सम्पूर्णतः उपेक्षा गर्ने प्रवृत्तिले सत्यको अन्वेषण गर्न सक्दैन । स्रष्टाको सौन्दर्यदृष्टिका साथै सिर्जनप्रक्रियाका सन्दर्भमा आलम्बन र उद्दीपनमा पनि परिवर्तन भएका छन् । यसको तात्पर्य हो सौन्दर्यचिन्तनका क्षेत्रमा नयाँ नयाँ सम्भावना देखिए । जनयुद्धको प्रक्रियाबाट निर्माण भएको नवीन सौन्दर्यमूल्यका बारेमा सौन्दर्यचिन्तक चैतन्यको कथन छ :
महान् जनयुद्धका बिचबाट जुन सौन्दर्यशास्त्र विकसित हुँदै आएको छ त्यो वर्गसङ्घर्ष, जनआन्दोलन, वर्गयुद्ध र क्रान्तिको सौन्दर्यशास्त्र हो । यो नेपाली सौन्दर्यचिन्तनका क्षेत्रमा विद्यमान सामन्ती आभिजात्यवाद, बुर्जुवा आधुनिकतावाद, उत्तरआधुनिकतावाद तथा संशोधनवादका विरुद्ध परिलक्षित छ । यसले सौन्दर्य चिन्तनका क्षेत्रमा नवीनता, मौलिकता, सिर्जनशीलता, विद्रोह र क्रान्तिकारी रूपान्तरणको पक्षपोषण गर्दछ (चैतन्य, २०६४, पृ.१) ।
जनयुद्ध रूपान्तरणको प्रक्रिया हुनाले राजनीतिक, सामाजिक क्षेत्रसँगै कला–साहित्य र सौन्दर्य– चिन्तनका क्षेत्रमा समेत नयाँ नयाँ सम्भावना देखापरेका छन् भन्ने चैतन्यको उक्त कथनको अभीष्ट देखिन्छ ।
जनयुद्धको परिणामस्वरूप सामाजिक जीवनमा नवीन सौन्दर्य–मूल्य स्थापित भए । जनयुद्धको ऐतिहासिक प्रक्रियाबाट नयाँ यथार्थको जन्मसँगै सौन्दर्यचिन्तनको प्रक्रिया पनि व्यावहारिक ज्ञानप्राप्तिको दिशातर्फ अभिमुख हुनुले (पौडेल २०७९, पृ. ५२) सिर्जन मूल्यका सापेक्षतामा जनयुद्ध सिर्जित यथार्थलाई नयाँ यथार्थ भन्न थालियो । कुरूपताको ध्वंश र सुन्दताको निर्माणका लागि निरन्तर क्रान्ति, क्रान्तिका लागि त्याग र बलिदानको आदर्श स्थापना र मृत्युलाई पराजित गर्न मृत्यु वरण गर्ने नवीन र उदात्त जीवनमूल्यको स्थापनाका बिचबाट नयाँ यथार्थको जन्म भएको हो (पाण्डेय, २०६६, पृ.३०) ।
विगतमा नयाँ यथार्थका बारेमा पनि प्रशस्त बहस भएकै हुन् । त्यसो त जनयुद्धकै परिणतिस्वरूप सिर्जन–प्रक्रियाका क्रममा बलिदान, उत्सर्ग तथा सामूहिक चेतको प्रभाव सिर्जनामा परेको छ । बिम्ब, प्रतीक, अलङ्कार, मिथक आदिमा पनि परिवर्तन आयो । जनयुद्धको घनीभूत प्रक्रिया र परिणतिका कारण सुन्दर र कुरूप, सुखान्त र दुखान्त अनि आनन्द र आतङ्कलाई बुझ्ने र व्याख्या गर्ने सन्दर्भमा पनि हिजोका दिनमा प्रशस्त बहस भएका हुन् । यस सन्दर्भमा ऋषिराज बरालको कथन छ :
घटना प्रक्रियाको गति र निष्कर्षतर्फ आतङ्क र आनन्दको गति प्रवाहित हुने गर्दछ । यथार्थतः हरेक नयाँ महान् र सुन्दर वस्तुको निर्माण आतङ्क र आनन्दको अथाह र अविरल शृंखलाका बिचबाट समुद्रमा उठ्ने अथाह ज्वार र तरङ्ग झैँ विविध प्रक्रियाबाट सम्पन्न हुन्छ (बराल, २०६६, पृ. १८९) ।
आनन्द र आतङ्कसम्बन्धी बरालको यो कथन माक्र्सवादसम्मत छ । त्यसैले जनयुद्धको सौन्दर्य भन्नु माक्र्सवादी सौन्दर्यभन्दा पृथक् वस्तु नभएर विशिष्ट परिस्थितिमा उपस्थापन भएको सौन्दर्यचेत तथा सौन्दर्भ मूल्य हो । अतः जनयुद्धको प्रक्रियाद्वारा निर्मित सौन्दर्यपरक आदर्श भन्नु समाजवादी आदर्श नै हो । वस्तुतः जनयुद्धसिर्जित यही सौन्दर्यपरक आदर्शमा टेकेर जनयुद्धको प्रतिविम्बन भएका कथाको कलाविधानसम्बन्धी अनुशीलन यहाँ गरिएको छ ।
कलात्मक आयामका आधार
सबैजसो सिर्जनामा ‘के’, ‘कसरी’ र ‘किन’को उत्तर खोज्ने गरिन्छ । ‘के’ भन्नु विचार, भाव, अन्तर्वस्तु, विषयवस्तु, सन्देश, तात्पर्य, कथ्य, अर्थ, सारवस्तु आदि उत्तर अपेक्षित प्रश्नसूचक सङ्केत हो । त्यस्तै ‘कसरी’ भन्नु कलात्मकता, रूपविन्यास, भाषा, शैली, प्रस्तुति, हाउभाउ, बिम्ब, अलङ्कार, संरचना, मिथक, प्राक्सन्दर्भ आदि उत्तर अपेक्षित प्रश्नसूचक सङ्केत हो । यसै सन्दर्भमा ‘किन’ भन्ने प्रश्न पनि आउने गर्छ, त्यो उद्देश्यसित सम्बन्धित छ । कलासाहित्यमा सुन्दरको प्रतिविम्बनका निम्ति सुन्दर संयोजन (वस्तु तथा रूपको) अपरिहार्य मानिन्छ । वस्तुमात्र सुन्दर भएर पुग्दैन वस्तुलाई सुन्दर बनाउन र सुन्दर बान्की प्रदान गर्न सुन्दर भाषा, सुन्दर शिल्प–संरचना तथा भङ्गीपूर्ण प्रस्तुति आवश्यक पर्छ । माक्र्सवादी साहित्यका सन्दर्भमा यसलाई अन्तर्वस्तु र रूप भनेर बुझ्ने र व्याख्या गर्ने गरिन्छ ।
कथाका कलात्मक निधि भन्नु कथालाई सुन्दर एवं आस्वाद्य बनाउने उपकरण हुन् । कथामा मानवजीवनको प्रतिविम्बन हुन्छ । कथा मानवको, कथाको कथयिता मानव र कथाको स्रोता/पाठक पनि मानव नै हुन्छ । कथाकारले कथ्य वस्तुलाई सुन्दर एवं सम्प्रेषणीय बनाउन केही महत्त्वपूर्ण उपकरणको सहारा लिन्छ । ‘कथा’ नामकरण गरेरमात्र पुग्दैन त्यसमा निश्चित विधागत मूल्य अनि अनुशासन हुन्छ जसले कथालाई प्रभावकारी बनाउँछ । कथालाई कलात्मक बान्की प्रदान गर्ने र पाठकीय रूचि बढाउने आधार तत्त्त भनेको कथानक हो जसअन्तर्गत घटना, द्वन्द्व, क्रियाव्यापार, गति, आख्यानीकरणलगायतका तŒवहरूको समावेश हुन्छ । पात्रको चयन, चारित्रीकरण र प्रारूपीकरण पनि कथालाई कलात्मक बान्की दिने महत्त्वपूर्ण माध्यम हो । त्यसरी नै दृष्टिविन्दु पनि कथाकलाको निर्माणमा प्रभावकारी अवयव मानिन्छ । परिवेशको उपयुक्त चयनले कथालाई आस्वाद्य बनाउँछ । परिवेश कुनै पनि घटनाको कारण तथा परिणतिको विशिष्ट प्रतिविम्बात्मक सूचकका रूपमा कथामा विन्यस्त हुन सक्छ । कथाको भाषा रागात्मक, कलात्मक, आलङ्कारिक त हुन्छ नै कथामा विशिष्ट एवं भङ्गीपूर्ण कथन वैशिष्ट्यसमेत हुन्छ जसले कथालाई अन्य विधाबाट बेगल्याउने सामथ्य पनि राख्छ । यी सबै उपकरण र तिनको व्यवस्थित विन्यास तथा तर्कसङ्गत अर्थापनका लागि कथामा प्रारूपीकरणको महत्त्वपूर्ण भूमिका हुन्छ ।
कथाकलाका साथै विचारको उदात्तीकरणका लागि उपयुक्त प्रकृतिको प्रारूपीकरण योजनाले कथालाई उद्देश्य प्राप्तितर्फ डोर्याउँछ । द्वन्द्वजन्य घटना तथा पात्रमा अन्तर्निहित द्वन्द्वजन्य मानसिकताले पनि कथाकलाको निर्माणमा सघाउ पुर्याउँछ । घटनाको नाटकीय विकास, पात्रका बिचको भङ्गीपूर्ण संवाद तथा पात्रको सक्रियताले कथामा गति प्रदान गर्छ । कथामा कथावाचकको भूमिका निकै महत्त्वपूर्ण मानिन्छ । कथामा कथावाचक सक्रिय हुँदा समाख्यानात्मक तथा पात्रको भूमिका सक्रिय हुँदा नाटकीय विधिको अवलम्बनका माध्यमबाट पाठकसम्म पुग्ने कलात्मक विधिको निर्माण हुन्छ । कथामा विशिष्ट प्रकारको रूपविन्यास हुने गर्छ, त्यसले नै साहित्यका अन्य गद्य विधाका तुलनामा कथालाई प्रभावकारी बनाउन मद्दत गर्छ ।
कथारूपी घरलाई सजध्वजका माध्यमबाट सुन्दर एवं चित्ताकर्षक बनाउने तत्त्त हो रूपविन्यास । कथामा रूपविन्यासको प्रत्यङ्कन अनुच्छेदोखि वाक्य, वाक्यांश, पदावली, पद, शब्द तथा चिन्हसङ्केतसम्म हुन सक्छ । यसको उपयुक्त एवं चातुर्यपूर्ण विन्यासले कथालाई बढीभन्दा बढी चित्ताकर्षक बनाउँछ । रूपविन्यासका क्रममा उखानटुक्का, प्राक्सन्दर्भ, दृष्टान्त, लोकोक्ति, विम्ब, प्रतीक, अलङ्कार आदिको प्रयोगका साथै प्रस्तुतिलाई भङ्गीपूर्ण बनाउने र कथ्य वस्तुलाई सहज सम्प्रेष्य बनाउने काम रूपविन्यासले गर्दछ । रूपविन्यास भन्नु कथामा विचार सम्प्रेषणको सहयोगी तत्त्त हो, रूपवादको पक्षपोषण र विचारको निषेध भने पटक्कै होइन । अतः कथा कलासम्बन्धी यिनै आधारमा टेकेर जनयुद्धको प्रतिविम्बन भएका कथाको विश्लेषण यहाँ गरिएको छ ।
क्रमशः...
०००
सन्दर्भ सामग्री
किरण (२०६५) । नेपाली समाज र संस्कृति : एक सङ्क्षिप्त अध्ययन. काठमाडौँ : सृजनशीन प्रकाशन प्रालि ।
चैतन्य (२०६४) । क्रान्ति र सौन्दर्य. काठमाडौं : प्रगतिशील अध्ययन केन्द्र ।
पाण्डेय, ताराकान्त (२०६६) । ‘सौन्दर्यचिन्तन तथा समालोचनामा जनयुद्धको प्रभाव’ ।
पौडेल, गोपीन्द्र (२०७९) । कथा परिशीलन. काठमाडौँ : भुँडीपुुराण प्रकाशन ।
प्रचण्ड (२०६३) । संस्कृति कला र सौन्दर्यचिन्तन. काठमाडौं : अखिल नेपाल जनसांस्कृतिक सङ्घ ।
बराल, ऋषिराज (२०६६) । सत्ता र संस्कृति. काठमाडौंः अक्सफोर्ड इन्टरनेशनल प्रा.लि ।
भट्टराई, गोविन्दराज र विष्णुविभु घिमिरे (२०६३). द्वन्द्व र युद्धका कथा. काठमाडौं : डा. गोविन्दराज भट्टराई ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट राजश्व सङ्कलनमा सुधार
-
सप्तरी जिल्लाका प्रमुख ऐतिहासिक गढीहरू
-
नयाँ मूल्यसँगै कहाँ कति पर्छ पेट्रोलियम पदार्थको मूल्य ?
-
पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो
-
‘दुखी आत्मा’ को सेन्सर : यूएइमा फेल, कतारमा पास
-
पूर्वप्रधानमन्त्रीको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ को आवरण सार्वजनिक