विकासले उज्यालिँदै गरेका गाउँ बसाइसराइले अँध्यारा बन्दै
![विकासले उज्यालिँदै गरेका गाउँ बसाइसराइले अँध्यारा बन्दै](https://npcdn.ratopati.com/media/news/ds-galeshower-jyamrukkot_YlQplgrKSF.jpg)
म्याग्दी । सडक, सञ्चार, शिक्षा र स्वास्थ्यको पहुँचसँगै विकासले उज्यालिँदै गरेका गाउँ बसाइसराइले अँध्यारा बन्दै गएका छन् । सङ्घीयता कार्यान्वयनमा आएसँगै स्थानीय तह सबल हुँदा विकासका कार्यक्रम गाउँ केन्द्रित भए पनि गाउँ रित्तिँदै गएको हो ।
वर्षौँदेखि ओझेलमा परेका गाउँबस्तीमा विकास पुगेको छ । घरआँगनमै गाडी गुड्ने सडक छन् । नजिकै विद्यालय छ । वडा कार्यालयसँगै स्वास्थ्यचौकी, घरघरमा झलमल्ल बिजुली, घाँस पराल बोकेर घरगोठमा पुग्ने ट्र्याक्टर, मोटरसाइकल सबैको सुविधा गाउँमा भए पनि गाउँ छोड्दै सहर झर्ने र मधेस पस्नेहरूको सङ्ख्या बर्सेनि बढ्दै गएको छ ।
‘गाउँ गाउँजस्तो छैन
सहर सहरजस्तो छैन
कसकसले केके गर्दिए कुन्नि
आफू जन्मिएको ठाउँ नै चिनिँदैन ।’
कवि हेम हमालको कवितामा भनिएझैँ तीव्र रूपमा भइरहेको बसाइसराइ र वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणका कारण ग्रामीण सौन्दर्य रित्तिँदै जाँदा गाउँ गाउँजस्ता रहेनन् भने सहर पनि वर्णशङ्कर हुँदै जान थालेको छ ।
चार/पाँच वर्षअघिसम्म दुर्गम मानिएका गाउँहरूमा पछिल्लो समय विकासको लहर चलेको छ । तर, विकास र सुविधा गाउँमा पुगेपछि मोटर चढेर गाउँ छोड्नेहरू पनि उत्तिकै बढेका रघुुगङ्गा गाउँपालिका–६ ठाडाखानीका टेकबहादुर छन्त्यालले बताए ।
हेर्दै रहरलाग्दो म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने रूम गाउँको यो सौन्दर्य अहिले बसाइसराइका कारण एक्लिँदै जान थालेको छ । ‘गाउँमा घरहरू त छन् तर, घरमा बस्ने मानिसहरू छैनन् । बस्ती पातलिँदै जान थालेको छ । भीरपहरा र खोलाहरू छिचोल्दै गाउँमै सडक पुगेको छ । सुविधा थपिएका छन् । विद्यालय, स्वास्थ्यचौकीदेखि लिएर खानेपानी र सिँचाइको राम्रो सुविधा भए पनि मानिसहरू थप सुविधाको खोजीमा सहर बजार र तराईतिर जानेक्रम भने झन् बढ्दै जान थालेका छन्,’ छन्त्यालले भने ।
ठाडाखानी मात्रै होइन आफ्नै रीतिथिति र जीवनशैलीमा रमाएको म्याग्दी जिल्लाका दर्जनौँ गाउँहरू पछिल्लो समय बसाइसराइका कारण उजाडिँदै जान थालेका छन् । जिल्लाका दुर्गम गाउँहरूबाट मात्रै होइन सदरमुकाम नजिक र सबै कुराको सुविधा पुगेका गाउँहरूबाट समेत बसाइसराइ बढ्दै गएको छ । बेनी नगरपालिकाको ज्यामरूककोट, पुलाचौर, सिंगा, भकिम्ली, घतानजस्ता गाउँहरू समेत बसाइसराइका कारण रित्तिँदै जान थालेका स्थानीय जनप्रतिनिधिले बताएका छन् ।
आठ/दश वर्षअघि ५५ घरधुरी भएको बेनी नगरपालिका–२ गौश्वारा गाउँमा अहिले २६ घरधुरीमा मात्रै मानिसको बसोबास रहेको छ । त्यसैगरी एक सय ७९ घरधुरी भएको बगरफाँट र खबरा क्षेत्रबाट ४८ परिवारले बसाइँ सरेको बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताए ।
गाउँमा विकासले गति लिँदै गरे पनि बसाइँ सर्नेको सङ्ख्यामा भने कमी आउन नसकेको उहाँको भनाइ छ । गाउँमा साह्रोगाह्रो र आपत् विपत् पर्दा सहयोग गर्ने छिमेकी घट्दै जान थालेका र विकास निर्माणको काम गर्न समस्या हुने गरेको मङ्गला गाउँपालिका–२ का केदार जैसीले बताए ।
म्याग्दीमा वैदेशिक रोजगारीमा जाने, सेवा सुविधाका लागि ठुला सहर र जिल्ला बाहिर बसाइसराइ गर्ने र कम बच्चा जन्माउने प्रवृत्तिका कारण १० वर्षअघिको तुलनामा जनसङ्ख्या घटेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार विसं २०६८ को तुलनामा शून्य दशमलव ५४ प्रतिशतले म्याग्दीको जनसङ्ख्या घटेको हो ।
विसं २०६८ को जनगणनाअनुसार एक लाख १३ हजार छ सय ४१ जना जनसङ्ख्या रहेको जिल्लामा २०७८ को प्रारम्भिक नतिजामा एक लाख सात हजार तीन सय ७२ जना भएको केन्द्रीय विभागको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले ब्रह्मलुट गर्नका लागि अध्यादेश ल्यायो : खनाल
-
मस्कको १३ औँ सन्तानको आमा भएको सोसल मिडिया इन्फ्लुएन्सरको दाबी
-
इजरायलले पनि प्यालेस्टिनी कैदीहरू रिहा गर्यो
-
क्यानले माग्यो मुख्य प्रशिक्षकका लागि आवेदन
-
अर्थमन्त्री पौडेल र मेयर आचार्यको सघन कक्षमा उपचार हुँदै
-
नि:शुल्क र गुणस्तरीय शिक्षाको प्रबन्ध राज्यले कार्यान्वयन गर्नुपर्छ : नैनसिंह महर