शनिबार, ०३ फागुन २०८१
ताजा लोकप्रिय
धार्मिक आस्थाको केन्द्र त्रिपुरासुन्दरी, तस्बिरहरू
फोटो कथा

धार्मिक आस्थाको केन्द्र त्रिपुरासुन्दरी, तस्बिरहरू

शनिबार, ०३ फागुन २०८१

डोल्पा । क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठुलो जिल्ला हो, डोल्पा । ६ हजार ८८९ वर्ग किलोमिटर क्षेत्रमा यो फैलिएको छ । 

Tripurasundari, Dolpa.-24

तीन हजार ५५५ वर्ग किलोमिटरमा विस्तारित से फोक्सुन्डो राष्ट्रिय निकुञ्ज यही जिल्लामा पर्दछ । ११ औँ शताब्दीमा निर्माण भएका गुम्बा यहाँको गौरव हो । त्यस्तै झन्डै पाँच वर्ग किलोमिटर क्षेत्र ओगटेको से फोक्सुन्डो ताल, यहाँका डाँडाकाँडा, वनजङ्गल, बस्ती, अप्परडोल्पाको ढो उपत्यका र मष्ट देवतालगायत यस्ता अनगन्ती परिचय छन् । 

Tripurasundari, Dolpa.-37

विभिन्न जातजाति, धार्मिक र सांस्कृतिक मान्यता, प्रचलन, व्यवहार, स्थान विशेषका कृषि उत्पादन, जडीबुटी, प्राकृतिक छटा, टलक्क टल्किरहने हिमाल, हरियो जङ्गल र अटुट रूपमा कलकल बगिरहने खोलानाला यहाँका अनुपम गहना हुन् । 

Tripurasundari, Dolpa.-39

धार्मिक मान्यता, सांस्कृतिक धरोहर र परम्पराले गर्दा डोल्पाले नेपालको गौरव मात्रै बढाएको छैन, अनगन्ती प्राकृतिक दृश्य र मौलिक परम्पराले गर्दा पर्यटक वृद्धि भई आर्थिक समृद्धि हासिल गर्न सघाउ पुग्नेमा दुई मत छैन । 

Tripurasundari, Dolpa.-40

 हाम्रो धार्मिक ग्रन्थ श्रीस्वस्थानीमा वर्णन भए अनुसार त्यहाँ त्रिपुरा नामको राक्षसलाई मारिएको हुँदा त्यस ठाउँको नाम त्रिपुराकोट रहन गएको भन्ने किंवदन्ती छ । अर्को, सोही ग्रन्थमा उल्लेख भए अनुसार सतीदेवीको अङ्ग ढाड पतन भएको हुँदा भगवान् मुकुटेश्वर महादेव पीठको उत्पत्ति भएको भनिएको छ ।

Tripurasundari, Dolpa.-41

त्रिपुराकोट गढीमा सातौँ शताब्दीका राजा विक्रम शाहीको दरबार थियो । शाहीले यसै कोटगढीका विष्टलाई आफ्ना काजीका रूपमा राखेका थिए । त्यतिखेर मन्त्रीलाई काजी भन्ने चलन थियो । अहिले मन्दिर भएको ठाउँमा त्यो बेला राजाको दरबार थियो । 

Tripurasundari, Dolpa.-42

त्यहीँ क्षेत्रभित्र धान कुट्ने ढुङ्गाको ओखल पनि थियो । धान कुट्दै जाँदा त्यो ओखलमा अनेक चमत्कार भयो । कहिले चार माना धान कुट्दा आठ माना चामल हुने, कहिले आठ माना धान कुट्दा दुई माना चामल बस्ने । धान कुटेर फ्याँकेको ढुटोबाट कसरी चामल भयो ?  

Tripurasundari, Dolpa.-43

ओखलको अनौठो पक्षबारे कजिनीहरूले आफ्ना काजीहरूलाई बताए । त्यो सूचना काजी विष्टहरूले राजा विक्रम शाहीसमक्ष जाहेर गरे । जब राजाले यस्तो अचम्मको सूचना पाए, तत्काल प्रजाहरू भेला गरेर ओखल उत्खनन गर्न लगाए भन्ने किंवदन्ती छ । त्यो ओखलको ढुङ्गोलाई उल्टाउन निकै हम्मे भयो । किंवदन्ती अनुसार ओखल तलपट्टि तामाको ओदान, ओदानमाथि घिउको कराही, कराहीमाथि तामाको थाली, त्यो थालीमाथि षट्कोणयन्त्र, त्यसमाथि कुँडे र त्यो कुँडेभित्र नवदुर्गा भवानीका नौ वाहनका स्वरूप पुतली देखिए ।

Tripurasundari, Dolpa.-44

ओखल उत्खननका अगुवा काजी बेहोस भए र देवी शक्तिबाट बोल्न थाले । ‘हामी नौ बहिनी भगवती हौँ । पुतलीरूपी देवीहरू उडेर विभिन्न ठाउँ गइबसेका छन् । बाँकेकी बागेश्वरी, जुम्लाकी कनिका सुन्दरी, सल्यानकी खैरबाङ देवी, बैतडीकी गणसैनी त्रिपुरेश्वरी र बाजुराकी बडीमालिका । बाँकी चार बहिनी देवी, बाला, त्रिपुरा, सुन्दरी डोल्पाको त्रिपुरा सुन्दरीमा विराजमान छौँ । यहाँ विराजमान चार देवी महाकाली, महालक्ष्मी र महासरस्वतीका नामले प्रसिद्ध सबैको चोखोनितो गरी पूजाआजा गर्नू । न्यौपाने थरका पुजारीलाई नृत्य पूजापाठको जिम्मा सुम्पिनू र यस स्थानलाई विशेष किसिमले सुरक्षा गर्नू ।’ 

Tripurasundari, Dolpa.-45

सन् १११४ मा त्रिपुरासुन्दरी मन्दिरको स्थापना भएको हो । प्राचीन संरचनाको चारैतिर ठड्याएका विशाल चार ध्वजावाहक काठका लिङ्ग बडो आकर्षक पाराका छन् । मन्दिरको उत्तर भागमा मुकुटेश्वर हिमाल र दक्षिणमा भैरवी गङ्गालगायत प्रसिद्ध तीर्थस्थल रहेका छन् । 

Tripurasundari, Dolpa.-46

धार्मिक विशेषता नै विशेषता भएको त्रिपुरा सुन्दरीमा पूर्वराजारानीदेखि राष्ट्र प्रमुखहरू पुग्नु परापूर्वकालदेखि नै माता भगवतीले इच्छा पूरा गर्ने जनविश्वास छ । यहाँ विजयादशमी, चैते दसैँ, श्रीपञ्चमी तथा महाशिवरात्रिमा हरेक वर्ष ठुलो मेला लाग्दछ । त्यसबाहेकका दिनमा पनि दर्शनार्थीको घुइँचो हुन्छ । 

Tripurasundari, Dolpa.-47Tripurasundari, Dolpa.-48Tripurasundari, Dolpa.-49Tripurasundari, Dolpa.-50Tripurasundari, Dolpa.-51Tripurasundari, Dolpa.-52

तस्बिर : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया