शनिबार, ०३ फागुन २०८१
ताजा लोकप्रिय
खबरसँगालो

रातोपाटी ब्रिफिङ : नयाँ शक्ति राइट टु रिजेक्टको विकल्प कार्यान्वयनमा ल्याउने पहिलो पार्टीदेखि लात्ती र मुक्काले हानेर सुधार केन्द्रभित्रै हत्यासम्म

शनिबार, ०३ फागुन २०८१, ०० : ५१
शनिबार, ०३ फागुन २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१. देउवाको कार्यकाल थप्ने तयारी
शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई १४ औँ महाधिवेशनमा सघाएका नेताहरूसँग यसबारे राय मागेका हुन् । शुक्रबार बिहान देउवा निवास बुढानीलकण्ठमा भएको बैठकमा देउवाले आफ्नो समूहका नेताहरूसँग एक वर्ष कार्यसमितिको म्याद थपेर पार्टीलाई एकढिक्का बनाएर अघि बढाउने विषयमा छलफल गरेका छन् ।

२. बक्सिस माग्नेको ताँती
नेतृत्वका लागि क्षमतावान्, व्यवस्थापकीय कुशलतायुक्त र वचन दिएपछि कार्यान्वयन गर्ने नेतामा पर्छन् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । देउवाले आफूसम्म पुग्ने प्रतिस्पर्धी, नेता–कार्यकर्ता र जनताका कुरा सहजतापूर्वक सुन्छन् । अरु नेताको जस्तो इगो नराखी स्वभाव र व्यवहारगत गुण हेरेर उनले जिम्मेवारी पनि दिन्छन् । यद्यपि स्पष्ट रूपमा गुट-उपगुटमा विभक्त कांग्रेसमा इतर समूहले देउवालाई विधान र पद्धतिको वास्ता नगर्ने, गुटलाई प्रश्रय दिने, स्वार्थका लागि जोडिएकालाई काखी च्याप्ने र विचारले जोडिएकाहरूलाई बेवास्ता गर्ने गरेको आरोप लगाउने गरेका छन् । आगामी महाधिवेशनमा देउवाले कसलाई सभापतिमा अघि सार्छन् भन्ने चासो छ । यस्तैमा देउवाको बक्सिस पाएर सभापति बन्ने होडमा कांग्रेसका नेताहरु देखिएका छन् ।

३. राजनीतिक संयन्त्र ढुक्क
सत्तारुढ दलको उच्चस्तरीय संयन्त्रमा सरकारले ल्याएका अध्यादेशसहित सरकारका काम कारबाहीबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको संयन्त्र बैठकमा अध्यादेशबारे सरकारमै रहेको दल तथा समर्थन गर्ने दल लोसपा र जसपा नेपालले दिएको अभिव्यक्तिका सन्दर्भमा छलफल भएको बुझिएको छ । 

४. नयाँ शक्ति
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) निर्वाचनमा उम्मेदवारलाई अस्वीकार (रिजेक्ट) गर्ने विकल्प कार्यान्वयनमा ल्याउने पहिलो पार्टी भएको छ । कात्तिक (५–६) गते पोखरामा सम्पन्न प्रथम विधान अधिवेशनबाट सो पार्टीले अस्वीकार (राइट टु रिजेक्टर) को व्यवस्था विधानमै गरेको थियो । विधान अनुसार माघ (२७–२९) मा प्रज्ञा भवन कमलादीमा प्रथम राष्ट्रिय  महाधिवेशनपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्दा अस्वीकारको व्यवस्था मत पत्रमै राखेको हो ।

५. भौतिक मन्त्रालयको कमजोर कार्यप्रगति
चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिनाको अवधिमा (साउन–माघ) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्य प्रगति कमजोर देखिएको छ । तर, भौतिक मन्त्री देवेन्द्र दाहाल भने गर्वका साथ भनिरहेका छन्, ‘थुप्रै कामहरू अघि बढाएका छौँ ।’

६. बाल मन्दिर प्रकरण
नक्सालस्थित नेपाल बाल संगठनको स्वामित्वमा रहेको २८ रोपनी ५ आना जग्गा भाडामा दिँदा आर्थिक लाभ लिएको सम्बन्धी ‘विवाद’मा मुद्दा नचलाउने तयारी अन्तर्गत महान्याधिवक्ता समक्ष फाइल पुर्याइएको छ । दुई तहको सरकारी वकिल कार्यालयबाट मुद्दा नचल्ने भनेर भएको निर्णय सदर गराउनका लागि महान्यायाधिवक्ता समक्ष फाइल लगिएको हो ।

७. निजामति सेवा विधेयक
सरकारले ल्याएको निजामती सेवा विधेयकमा कर्मचारीको श्रेणीगत र तहगत प्रणाली दुबैलाई कायम राखिने भएको छ ।  प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा श्रेणीगत प्रणालीलाई हटाएर तहगत प्रणालीमा जाने मोटामोटी सहमति भएपनि त्यसको भोलिपल्ट अर्थात शुक्रबार फेरि ब्याक भएर दुबैलाई कायम राखिने गरी छलफल भएको हो ।

८. वित्त आयोगको रिपोर्ट
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सात वटै प्रदेशको कार्यसम्पादन मूल्यांक नतिजा सार्वजनिक गरेको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा प्रदेशहरूले गरेका कार्यसम्पादनलाई विभिन्न २० वटा सूचकका आधारमा मूल्याङ्कन गरी अङ्क प्रदान गरिएको आयोगले जनाएको छ । 

९. २०८२ सालको साइत
२०८२ सालको पात्रो सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आगामी वर्ष २०८२ सालको दसैँको टीका असोज १६ गते परेको छ । समितिका अनुसार असोज ६ गतेबाट दसैँ सुरु हुनेछ । ६ गते सोमबार घटस्थापना स्थापित गरिनेछ भने सोही दिनबाट नवरात्र आरम्भ हुनेछ ।

१०. साताको सेयर
गत साता ४२ अंकले बढेको सेयर बजार परिसूचक (नेप्से) यो साता २१.३४ अंकले गिरावट आयो । गत साता १.५८ प्रतिशत अर्थात् ४२.०४ अंक बढेर २६९९.८१ विन्दुमा पुगेको थियो । तर यो साताको अन्तिम कारोबारको दिन  बिहीबार गत साताको तुलनामा २१.३४ अंकले घटेर २६७८.४७ अंकको विन्दुमा झरेको हो ।

११. म्याद थप
ठमेलमा ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गर्ने अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशीलाई ८ दिनको म्याद थप भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले ८ दिन हिरासतमा राखेर जोशीमाथि अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

१२. सुधार केन्द्रभित्रै मण्डलको हत्या
बाराको एक सुधार केन्द्रमा कुटपिट गरी प्रदीपप्रसाद मण्डलको हत्या गरिएको पाइएको छ । उनको हत्या भएको सीसीटिभी फुटेज बाहिरिएको हो । कलैया उपमहानगरपालिका– १ बैँक रोडस्थित ‘नवजन्म सुधार केन्द्रका कर्मचारीहरूले मण्डललाई मिलेर कुटपिट गरी हत्या गरिएको सीसीटिभी फुटेजमा देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप