लात्ती र मुक्काले निर्घात कुटपिट गरी सुधार केन्द्रभित्रै मण्डलको हत्या
![लात्ती र मुक्काले निर्घात कुटपिट गरी सुधार केन्द्रभित्रै मण्डलको हत्या](https://npcdn.ratopati.com/media/news/bara_map_ppSUD5AMxJ.webp)
वीरगन्ज । बाराको एक सुधार केन्द्रमा कुटपिट गरी प्रदीपप्रसाद मण्डलको हत्या गरिएको पाइएको छ । उनको हत्या भएको सीसीटिभी फुटेज बाहिरिएको हो । कलैया उपमहानगरपालिका– १ बैँक रोडस्थित ‘नवजन्म सुधार केन्द्रका कर्मचारीहरूले मण्डललाई मिलेर कुटपिट गरी हत्या गरिएको सीसीटिभी फुटेजमा देखिन्छ ।
प्रहरीले फेला पारेको सीसीटिभी फुटेजमा सुधार केन्द्रमा कार्यरत कर्मचारीहरूले मिलेर लात्ती र मुक्काले कुटिरहेको दृश्य देखिएको छ । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा मृतक मण्डल अनुशासनमा नबस्दा केन्द्रका कर्मचारीहरूले निर्घात कुटपिट गरेको पाइएको छ ।
‘सुधार केन्द्रमा जङ्गी शासन हुँदो रहेछ, अनुशासनमा नबस्दा कर्मचारीहरूले यातना दिने गरेका छन् । यो घटनामा पनि त्यही भएको अनुसन्धानबाट खुलेको छ । मृतक मण्डल अलि कडा स्वभावका थिए, सुधार केन्द्रभित्र अनुशासनमा बस्नका लागि सुरुमा उनीसँग विवाद भएको देखिन्छ, बारा प्रहरी प्रमुख सन्तोष तामाङले भने, ‘तर उनी नमानेपछि कर्मचारीहरू मिलेर लात्ती, मुक्का र चप्पलले हिर्काएका छन् ।’
उनका अनुसार यसरी ५÷७ जना मिलेर निर्घात कुटपिट गरेपछि उनको मृत्यु भएको प्रहरी अनुसन्धानमा देखिएको छ । मण्डलको मृत्यु भइसकेपछि मात्र केन्द्रका कर्मचारीहरूले उपचारका लागि भन्दै अस्पताल लगेको अनुसन्धानबाट खुलेको छ ।
प्रादेशिक अस्पताल कलैयाले सुधार केन्द्रमा राखिएका लागु औषध दुर्व्यसनी मण्डलको मृत्युबारे प्रहरीलाई सूचना दिएको थियो । त्यसलगत्तै प्रहरीको टोलीले घटनास्थलको अनुसन्धान तथा सीसीटिभी फुटेजको अध्ययन गरेको थियो ।
सोही क्रममा सञ्चालक सदस्यहरूसहित ७ जनालाई पक्राउ गरिएको बारा प्रहरी प्रमुख तामाङको भनाइ छ । मृतक मण्डल कलैया–९ रामपुर टोल निवासी रहेको जनाइएको छ । उनी लागू औषधको दुर्व्यसनी भएकाले उनको परिवारले १५ दिन अगाडि मात्रै सुधार केन्द्रमा भर्ना गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समकालीन कथामा जनयुद्धको प्रतिविम्बनका कलात्मक आयाम
-
पार्टीको अधिवेशनको समय थपिन्छ : प्रवक्ता महत
-
सात महिनामा डेढ लाख सवारी लाइसेन्स छापियो
-
दक्षिण कोरिया बन्दरगाह शहर आगलागी : मृत्यु हुनेको संख्या ६ पुग्याे
-
रुससँगको शान्ति वार्तामा युक्रेनलाई पनि संलग्न गराउने ट्रम्पको प्रतिबद्धता
-
शनिबार बिहानको बूढानीलकण्ठ मन्दिर : भक्ति, शान्ति र परम्पराको जीवन्त चित्र