लाप्राकमा मकैको विवाह सम्पन्न

गोरखा । माघ शुक्ल द्वितीया तिथि पारेर आज यहाँको धार्चे गाउँपालिका–४ लाप्राकमा मकैको विवाह गरिएको छ । मकैको विहे गरेपछि मात्र बारीमा रोप्न सुरु गर्ने परम्पराअनुसार गाउँलेले सामूहिक रुपमा मकैको विहे गरेका हुन् ।
गाउँको एक घरको ठूलो आँगनमा गाउँले भेला भई आआफ्नो घरको मकैको बीउसँगै स्थानीय घाँटुकन्या र कुमारलाई डोलीमा बोकी गाउँ परिक्रमा गरी मकैको विहे गरिएको हो । मकै, कन्या र कुमार बोकेका जन्तीले वाद्यवादनसहित गीत गाउँदै, नाच्दै गाउँको परिक्रमा गरेका थिए । ‘यहाँ मकैको विहे गरेपछि मात्र बारीमा रोप्ने चलन छ’ स्थानीय मार्सिङ गुरुङले भने, ‘यसपालि पानी पर्न ढिलो भयो । हिजो अलिअलि पानी पनि पर्यो । अब मकै रोप्न हुन्छ भनेर मकैको विहे गरेका हौँ ।’
बिहेको अघिल्लो दिन बिहिबार डाँडापूजा गरिएको थियो । खेत नभएकाले धार्चे गाउँपालिकाको मुख्य खेती मकै हो । स्थानीयका अनुसार मकैको बिहे गरेको दोस्रो सातादेखि सबै किसानहरुले बारीमा मकै रोप्न थाल्छन् । लाप्राक एक वडा, एक बस्ती भएको गाउँ हो । यहाँ एकै गाउँमा पाँच सयभन्दा धेरै घरधुरी छन् । वर्षौँदेखि मकैको विवाह गर्ने परम्परा कायम छ । गाउँले सबै मिलेर मकैको जन्ती गएको, मकैको भोज खाएको र नाचगान गरेको स्थानीय मणिकामदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक धनबहादुर गुरुङले जानकारी दिए ।
प्रकृति पूजा गर्ने बोन सम्प्रदायले मकैको बिहे गरेपछि मात्र मुख्य बालीको रुपमा रहेको मकैखेती लगाउन सुरु गर्छन् । मकैको उब्जनी राम्रो होस्, असिना पानीले नास नगरोस्, रोग नफैलियोस् भनेर यहाँ मकैको विहे गर्ने गरेको प्रअ गुरुङ बताउँछन् ।
बिहेका लागि गाउँका जैसीले निकालेको साइतअनुसार विवाहको अघिल्लो दिन हरेक घरका सदस्यले मकैका घोगा जमिनमा गाड्ने चलन छ । ‘अघिल्लो दिन गाडेको मकै पूजाको दिन बिहान झिकेर गाउँ परिक्रमा गरिन्छ’, गुरुङले भने, ‘बिहान सबै जना ठूलो आँगनमा जम्मा भइन्छ र महिलाहरुले घाँटु कुमारीलाई सिङ्गारेर अलि पर जङ्गलमा लुकाएर राख्छन् । अनि गाउँबाट एक जना बालकलाई दुलाहा जस्तो सिँगारेर डोलीमा चढाएर ढ्याङ्ग्रो, मादल र झ्याली बजाउँदै जन्ती लैजाने चलन छ ।’
उनका अनुसार जङ्गलमा पुगेपछि कन्या र कुमारलाई दुईटा डोलीमा बोक्दै गाउँको परिक्रमा गर्ने गरिन्छ । गाउँ फर्केपछि मकैलाई सुनपानी, गोबर र तीतेपातीले चोख्याउने चलन छ । यही मकैलाई अरु बिउमा मिसाएर गाउँका सबै किसानले बारीमा रोप्ने प्रचलन लाप्राकमा कायम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुम्बईमा लगेर चेलीबेटी बेच्ने आरोपी ३० वर्षपछि पक्राउ
-
कार बम विस्फोटमा वरिष्ठ रुसी सैन्य अधिकारीको मृत्यु
-
शिक्षकहरु आन्दोलन स्थगित गर्नुस्, विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार प्राप्तिमा सघाउनुस् : डा. महत
-
बाँकेमा करिब सात सय भूमिहीनलाई लालपुर्जा वितरण गरिँदै
-
आन्दोलनरत शिक्षकहरूलाई पालिकाले भन्यो, ‘१४ गतेदेखि पढाउन आउनु, नत्र राजीनामा दिएर जानु’
-
अब १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ : प्रधानमन्त्री