शनिबार, ०३ फागुन २०८१
ताजा लोकप्रिय
नयाँ शक्तिमा पुरानै नेतृत्व

वैकल्पिक शक्ति निर्माणमा के छ बाबुरामको योजना ?

शुक्रबार, ०२ फागुन २०८१, २० : ४८
शुक्रबार, ०२ फागुन २०८१

काठमाडौँ । कांग्रेस, एमाले, माओवादीजस्ता परम्परागत राजनीतिक दलको विकल्पमा गठन भएको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले पनि पुरानै प्रवृत्तिलाई अनुमोदन गरेको विश्लेषण हुन थालेको छ ।

नयाँ शक्तिले नयाँ कार्यसमिति छनोट गर्न माघ २७ देखि २९ गतेसम्म प्रज्ञा भवन कमलादीमा प्रथम महाधिवेशन आयोजना गर्‍यो । प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट पदाधिकारीसहित ९९ जना केन्द्रीय सदस्य निर्वाचित गर्‍यो तर अधिकांश पुरानै अनुहार दोहोरिएका छन् ।

अध्यक्षमा डा. बाबुराम भट्टराई आफैँ दोहोरिए । जबकि भट्टराईले पार्टीको नेतृत्वमा नयाँ पुस्तालाई अगाडि सार्ने बताउँदै आएका थिए । भट्टराईसँग प्रतिस्पर्धामा विद्यार्थी नेता नेत्रप्रसाद चापाईं उत्रिए पनि अन्ततः पराजित भए ।

फागुन १ गते निर्वाचन समितिले सुनाएको अन्तिम मतपरिणाम अनुसार भट्टराईले ७६१ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी चापाईंले जम्मा ७१ मत प्राप्त गरे । कतिपयले ‘फेस सेभिङ’का लागि चापाईंलाई भट्टराईले नै डमी उम्मेदवार बनाएको चर्चा गरेका छन् ।

युवामा ४० प्रतिशत र समावेशी क्लस्टरबाट आउनैपर्ने बाध्यताबाहेक प्रतिस्पर्धाबाट अधिकांश पुरानै अनुहार दोहोरिएका छन् । यद्यपि समावेशीताको आधारमा पदाधिकारी र केन्द्रीय समिति छनोट प्रक्रिया अन्य दलको तुलनामा नेसपा (नयाँ शक्ति) बढी लोकतान्त्रिक देखिएको छ । ‘राइट टु रिजेक्ट’ र ‘रि कल’ जस्ता व्यवस्था विधानमा हुनु नयाँ प्रयोगका रूपमा हेरिएको छ ।

नयाँ शक्तिले प्रवासीहरूलाई इलेक्ट्रोनिक भोटमार्फत उम्मेदवार छनोटमा मताधिकार दिएर सफल कार्यान्वयन गरेको छ, जुन निर्वाचन आयोगले समेत कार्यान्वयनमा ल्याउन सकेको छैन ।

तर पूर्वपार्टी माओवादी लगायत परम्परागत राजनीतिक दललाई चुनौती दिँदै वैकल्पिक शक्ति गठन गरेको ९ वर्ष पूरा हुन लाग्दा समेत नयाँ शक्ति पुरानो ह्याङ ओभरबाट मुक्त हुन नसकेको भन्दै आलोचना भइरहेको छ । २०७४ सालको निर्वाचनमा नयाँ शक्तिको शर्मनाक हार भएपछि संयोजक भट्टराईले संघीय समाजवादीसँग पार्टी विलय गराए । जनता समाजवादी हुँदै उनले नेपाल समाजवादी पार्टी(नेसपा) गठन गरे । कात्तिक (५–६) गते पोखरामा सम्पन्न प्रथम विधान अधिवेशनबाट पार्टीको नाम पछाडि ‘नयाँ शक्ति’ को फुर्को झुन्ड्याउने निर्णय उनले गराए ।

भट्टराईले नयाँ वैकल्पिक शक्ति निर्माणमा पाँच ‘स’ स्वाधीनता, समावेशी लोकतन्त्र, सुशासन, समृद्धि र समुन्नत समाजवादको राजनीतिक कार्यदिशालाई अवलम्बन गर्ने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धता बमोजिम उनले २०७३ साल जेठ ३० राजधानीको दशरथ रंगशालामा नयाँ शक्ति नेपाल गठन गरेका थिए । त्यतिबेला उनले अगाडि सारेको भिजन अहिले अलपत्र परेको टिप्पणी भइरहेको छ । यद्यपि स्वयं बाबुरामले भने वैकल्पिक शक्ति अगाडि बढ्न नसक्नुमा परम्परागत राजनीतिक दलहरूको घेराबन्दी र ध्वंसात्मक नीति प्रमुख कारण रहेको निष्कर्ष निकालेका छन् ।

‘वैकल्पिक नयाँ शक्तिले प्रतिस्थापन गर्ने भयले तत्कालीन सत्तासीन दलहरूले नयाँ शक्तिलाई चुनाव चिह्न दिएनन् । आफ्नै चुनाव चिह्न नभएकाले अन्य पार्टीको चिह्न सापटी लिएर प्रतिस्पर्धा गर्नुपर्ने बाध्यताले नयाँ शक्तिको पहिचान गुम्यो’, भट्टराईले भनेका छन्, ‘त्यस्तो अवस्थामा विचार मिल्ने शक्तिहरूसँग एकीकरण र ध्रुवीकरण गर्ने प्रयास गरे पनि सफल भएन । नयाँ शक्तिमा जोडिएका केही साथीहरूको चरम सत्तास्वार्थ र यथास्थितिवादी सोचका कारण पार्टी सफल भएन ।’

२०७२ को नयाँ संविधान जारी भएपछिको दुई वटा आम निर्वाचनको परिणाम र वैकल्पिक शक्ति भनिएका नयाँ शक्ति, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), विवेकशील साझा, नागरिक उन्मुक्ति पार्टी(नाउपा), जनमत पार्टी लगायतका प्रवृत्ति र परम्परागत राजनीतिक दलहरूका प्रवृत्तिबिच खासै भिन्नता देखिएको छैन ।

सत्ता राजनीतिको भागदौडमा नयाँ दलहरू केन्द्रित हुँदा परम्परागत राजनीतिक दल र नयाँ वैकल्पिक राजनीतिक दलहरूबिच भेद छुट्ट्याउन अप्ठ्यारो रहेको विश्लेषण भइरहेको छ ।

विश्लेषकको तर्क

विश्लेषक डा. पिताम्बर भण्डारी नयाँ वैकल्पिक शक्तिमा पनि पुरानै प्रवृत्ति देखिनुलाई दुई वटा कोणबाट व्याख्या गर्छन् । पहिलो, आम रूपमा बढी अपेक्षा हुनु र दोस्रो, पुरानाको ठाउँमा आफूले लिएपछि नयाँ र वैकल्पिक हुन्छ भन्ने भाष्य बनाउनु ।

‘पहिलो बढी अपेक्षा गरेकोजस्तो लाग्छ । दलीय प्रणालीमा दलभित्रको चरित्र हेर्दा दल बन्ने, दलभित्र प्रभावशाली बन्ने, नेता बन्ने प्रक्रिया सम्बन्धित दलमा आस्था राख्ने व्यक्तिबाट निर्मित विधि र विधान अन्तर्गत नै पर्छ । त्यसमा जसले विचार र संगठन निर्माण गर्ने विचार गर्या स्वभाविक ढंगले प्रभूत्व त्यही समूहको हुन्छ,’ उनले भने ।

यस अतिरिक्त वैकल्पिक र नयाँ भन्ने भाष्य निर्माण गर्न खोजिएको उल्लेख गर्दै भण्डारी भन्छन्, ‘तिमीले छोडेपछि म आउँछु, नयाँ हुन्छ भन्ने परिभाषा नै गलत छ । समाज र परिवेश यही भएकाले आम मानिसका सोच र आवश्यकता यही हो । यसलाई सम्बोधन गर्ने विधिहरूमा कहीँ न कहीँ राजनीतिमा समानता हुन्छ ।’

नयाँ नयाँ शब्दावली प्रयोग गरेर कुनै न कुनै रूपमा जनतालाई नयाँ फ्लेवरसहित आकर्षित गर्न खोज्ने प्रवृत्ति देखिएको भण्डारीले बताए ।

समाजका भिड जता बहन्छ, त्यससँगै बहने कुरा सजिलो हुने भए पनि निर्देशित गर्ने कुरामा चाहिँ चुनौतीपूर्ण रहेको उनको विश्लेषण छ । कतिपय ठाउँमा आफूले नेतृत्व छोड्नुपर्ने पनि हुन सक्ने तर त्यो उदाहरण पेस गर्न नसक्ने प्रवृत्तिले नयाँ शक्ति वा अन्य वैकल्पिक धारमा खासै परिवर्तन नदेखिएको उनी बताउँछन् ।

यद्यपि रास्वपा, विवेकशील साझा, नाउपा लगायत दलहरू परम्परागत राजनीतिक दलहरूको निराशाबाट जन्मिएकोमा आंशिक सत्य रहेको भण्डारीले बताए ।

‘स्वाभाविक ढंगले निराशाबाट नयाँ दल जन्मिएका हुन् । उनीहरू आफैँ अरु गलत छन्, हामी सही छौँ भन्ने गर्छन् । अरुले गरेनन्, हामी गर्छौं भनेर कहीँ न कहीँ उनीहरू परम्परागत दलमा जोडिएका छन् । परम्परागत संगठनात्मक र सैद्धान्तिक आँटबाट अगाडि बढेका शक्ति छन् । त्यसकारण पूरै त होइन, बहुमत नैराश्यता नै हो । नैराश्यता छिटोछिटो परिवर्तन हुने मत हो’, उनले भने । 

नयाँ शक्तिमा पूर्वमाओवादीको ‘ह्याङ ओभर’

नयाँ शक्तिको प्रवक्ता कृष्ण शर्माले अन्य दलको तुलनामा आफ्नो पार्टीले लोकतन्त्रको उच्चतम् अभ्यास गरेको दाबी गरे । ‘राइट टु रिजेक्ट’, ‘रि कल’, समावेशी अनुहार छनोट, प्रवासीलाई इलोक्ट्रोनिक मताधिकारको अधिकार र प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट नेतृत्व छनोट आन्तरिक लोकतन्त्रको उच्चतम् अभ्यास भएको उनले प्रस्ट पारे ।

‘अहिले नेपालको लोकतन्त्र शिशु अवस्थामा छ । जसको हातमा सार्वभौम अधिकार छ, उसले चाहेको मान्छे उम्मेदवार बन्न पाउनुपर्छ’, शर्माले भने ।

तर नयाँ शक्तिबाहेक रास्वपा, नाउपा, विवेकशील साझाजस्ता नयाँ दलहरू परम्परागत दलसँग वाक्क–दिक्क भएर जन्मेको शर्मा बताउँछन् । नयाँ वैकल्पिक शक्ति निर्माणको भिजन आफ्नो पार्टीमा भए पनि जनताले नपत्याएको उनले जिकिर गरे । 

शर्माले भने, ‘नयाँ वैकल्पिक हुँ भन्नेले वैचारिक, सैद्धान्तिक र राजनीतिक परिभाषा दिन सक्दैन । नयाँ अग्रगामी धार के हो ? कसरी समृद्धिको दिशामा लैजाने ? सुशासन के हो ? कन्टेन्ट दिन सकेनन् । यो नयाँ शक्तिले सक्थ्यो । भिजन थियो तर जनताले नयाँ शक्तिलाई माओवादीकै भिन्न रूपमा ग्रहण गरे । जोसँग गुदी थिएन, बाहिरी बोक्रा मात्र थियो, उसलाई जनताले पत्यायो ।’

नयाँ शक्तिलाई रुपान्तरण गरी वैकल्पिक अरु नयाँ पार्टीहरूलाई पनि सँगै लिएर अगाडि बढाउने प्रयास जारी रहेको शर्माले बताए । आफ्नो पार्टीको महाधिवेशन नभएर नयाँ राजनीतिक प्रणालीको उठान गर्नका लागि प्रयोग गरिएको नयाँ अभ्यास भएको उनको तर्क छ ।

शर्माले नयाँ कार्यसमिति सदस्यहरूको शपथग्रहण कार्यक्रममा देखिएको लफडा पुरानै माओवादी प्रवृत्तिको पुनरावृत्ति भएको पनि प्रस्ट पारे । सुरुमा पदाधिकारीको मात्रै शपथग्रहण गराउन भट्टराईले निर्देशन दिएपछि सभाहलमा निकैबेर होहल्ला भएको थियो ।

‘काठमाडौँ उपत्यका बाहिरका व्यक्तिलाई शपथग्रण गर्न हतार थियो । यहाँकालाई पछि गरे पनि हुन्छ भन्ने थियो । पार्टी नयाँ गठन गरिए पनि केही व्यक्तिमा पुरानै माओवादीको मानसिकता हाबी भयो,’ शर्माले भने, ‘पार्टी नयाँ बनाएर हुँदो रहेनछ । समस्या सोचमा रहेछ । विचारमा रहेछ । यसमा परिवर्तन नभएसम्म विधि र पद्धतिको फर्म ढालेर वैकल्पिक शक्ति बन्दो रहेनछ ।’

अध्यक्ष भट्टराईले वैकल्पिक राजनीतिमा पनि वैचारिक संश्लेषण नभएकाले समस्या आएको स्वीकारेका छन् ।

‘वैकल्पिक राजनीतिको पनि वैचारिक संश्लेषणको प्रयोग पछाडि परेको छ । त्यसकारण अवसरवादी मान्छे घुस्ने, सत्तामा पुग्ने भर्‍याङ बनाउने, सांसद–मन्त्री पड्काउने भइराखेको छ, जुन ५० वर्षदेखि हामीले देख्यौँ । अवसरवादी प्रवृत्तिबाट म आफैँ हैरान भएको छु’, भट्टराईले भने, ‘अरु त छोड्नोस्, नियुक्ति खाएको मानिस पनि फर्केर आउँदैन । हाम्रो धरातल यस्तो छ, नयाँ बन्ने भनेको छ । उसको निजी स्वार्थ हाबी त्यहाँनेर छ ।’

पहिला विचारको संश्लेषण, त्यसको आधारमा नीति र कार्यक्रम बनाउने, त्यसको जगमा संगठन बनाएर अभियान चलाउनुपर्ने उनको भनाइ छ । त्यसपछि सत्तामा पुगेर जनताका लागि आवश्यक सुधारका काम गर्नुपर्नेमा जोड दिँदै उनले वैचारिक कार्यदिशा प्रस्ट नभएसम्म यो अभियान पूरा नहुने निष्कर्ष सुनाए ।

वैचारिक शक्ति निर्माणमा के छ योजना ?

भट्टराईले महाधिवेशनमा पेस गरेको दस्ताबेजमा संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपछि र २१औँ शताब्दीसँगै चौथो औद्योगिक क्रान्तिको नयाँ युग सुरु भएपछि नयाँ कार्यभार पूरा गर्न विभिन्न ढंगले नयाँ/वैकल्पिक पार्टी र शक्तिहरूको उदय हुँदै गइरहेको उल्लेख गरेका छन् ।

पुरानो विचार, दल, नेतृत्व, कार्यक्रम, शैलीको विकल्पमा उदाएका सबै शक्ति र व्यक्तित्वको सबै पाटो पक्ष अझै स्पष्ट हुन बाँकी रहेको चर्चा भट्टराईले दस्ताबेजमा गरेका छन् । तैपनि पुराना दल र नेतृत्वप्रति आम जनसमुदाय र विशेषतः युवाहरूको चरम निराशा र आक्रोश बढ्दै गइरहेको स्थितिमा नयाँ/वैकल्पिक शक्तिहरूको उदयलाई सकारात्मक रूपमा लिनुपर्ने उनको विश्लेषण छ ।

‘नयाँ समुन्नत विचार र त्यसका आधारमा नयाँ शक्तिको निर्माण आजको ऐतिहासिक आवश्यकता हो । पुँजीवादी क्रान्तिका प्राप्त उपलब्धिलाई संस्थागत गरेर आर्थिक र सामाजिक क्रान्ति गर्दै विकसित समाजवादतिर अगाडि बढ्न नयाँ शक्तिको निर्माण र त्यसको जन्म यतिखेरको आवश्यकता हो’, दस्ताबेजमा भट्टराईले लेखेका छन् ।

भट्टराईका अनुसार नयाँ शक्तिको उदय दुई वा तीन प्रक्रियाबाट हुनसक्छ । यिनै पार्टीहरूले आवश्यकता बोध गरेर आफूलाई रुपान्तरण गर्ने, नयाँ परिस्थिति सिर्जना भइरहेको छ भने पुरानो विचार, पुरानै पार्टी र पुरानै नेतृत्वबाट यो सम्भव नहुने उनले प्रस्ट पारेका छन् ।

अर्को बाटो, सबै पार्टीभित्रबाट यो विचारलाई आत्मसात गर्नेहरू मिलेर नयाँ ध्रुवीकरण पनि हुनसक्छ । अथवा, यो सबै प्रक्रियाभन्दा फरक ढंगले नयाँ नेतृत्व जन्मन पनि सक्ने उनको तर्क छ ।

दस्तावेजबाट...

नेपालमा वैकल्पिक राजनीतिका प्रमुख कार्यभार

राजनीति तत्कालीन समाजमा विद्यमान अन्तरविरोध अथवा समस्या समाधान गर्ने साधन हो, आफैँमा साध्य होइन । वैकल्पिक राजनीति भनेको राजनीतिको विकल्प वा कुनै पार्टीको विकल्प नभएर नयाँ युगको नयाँ अन्तरविरोध वा समस्यालाई अझै वस्तुसंगत, सर्वाङ्गीण र दिगो ढंगले समाधान गर्ने नयाँ साधन हो । समाजको कुनै कालखण्डमा एकै साथ एकभन्दा बढी अन्तरविरोध वा समस्या हुन्छन् र ती आपसमा अन्तरसम्बन्धित हुन्छन् । त्यसैले सही र वैकल्पिक राजनीतिले तिनको प्राथमिकीकरण गरेर प्रमुख अन्तरविरोध वा समस्यालाई पहिले हल गर्न ‘जोड’ दिने र अरू समस्याको हल गर्न ‘ध्यान’ दिने गर्नुपर्छ । पछि क्रमशः अन्तरविरोध वा समस्याको प्राथमिकतामा फरक आएसँगै प्रमुखलाई ‘जोड’ दिने र सहायकलाई ‘ध्यान’ दिने गर्दै जानुपर्छ । यो चक्र पटकपटक दोहो¥याएर अन्त्यमा सबै समस्या सापेक्ष ढंगले हल गर्नुपर्छ । समाज र राज्य रहुन्जेल निरपेक्ष ढंगले सबै समस्या पूर्ण रूपले हल त कहिल्यै पनि हुँदैन ।

त्यस हिसाबले हामीले नयाँ शक्ति अभियानको थालनीको बेलादेखि नै समकालीन नेपालका थुप्रै अन्तरविरोध/समस्यामध्ये ५ वटालाई मुख्य भनेर किटान गरेका छौँ । ती हुन्–

(क) पिछडिएको आर्थिक आधार र विकसित राजनीतिक उपरी संरचना बिचको अन्तरविरोध : अर्थात्, देशमा लामो संघर्षपछि बनेको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा सबै तह र तप्काका जनताको स्वतन्त्रता र अधिकारका थुप्रै कुरा लेखिएका छन्, भलै ती अझै अपूर्ण छन् । तिनलाई पूर्ण रुपले लागु गर्ने हाम्रो राज्य र समाजको आर्थिक क्षमता र हैसियत छैन । तीव्र आर्थिक विकास र समृद्धिविना यो तत्काल देशको सबभन्दा ठुलो समस्या हल हुन सक्दैन । यो सबभन्दा ठुलो अन्तरविरोध हो ।

(ख) परम्परागत औपचारिक लोकतन्त्र र वास्तविक लोकतन्त्रको आवश्यकता बिचको अन्तरविरोध : अर्थात्, हामीले संविधानमा उत्पीडित वर्ग, जाति, लिंग, वर्णलगायतको समान अधिकार र सहभागिताको कुरा गरेका छौँ । राज्यको तीन तहका संघीय संरचनाको कुरा गरेका छौँ । व्यवहारमा परम्परागत र नवोदित सम्पन्न, सभ्रान्त वर्ग, कथित उच्चजाति, पुरुषलगायतको एकाधिकार कायम छ । लोकतन्त्रको नाममा दलतन्त्र, गुटतन्त्र, नेतातन्त्र र व्यक्तितन्त्र बनेको छ । संघीयता भने पनि व्यवहारमा एकल केन्द्रीयतन्त्र कायम छ । यो अन्तरविरोध हल नभएसम्म देशमा दिगो र समतामूलक समृद्धि हासिल हुन सक्दैन ।

(ग) सुशासन तथा मूल्य आधारित राजनीतिको आवश्यकता र भ्रष्ट राज्ययन्त्र तथा दोहनकारी राजनीति बिचको अन्तरविरोध : अर्थात्, संविधान र कानुनमा विधिको शासन, पारदर्शीता, चुस्त सेवाप्रवाह आदिको कुरा गरिएको छ तर सबै तहमा कर्मचारीतन्त्र, सुरक्षा अंग, न्यायालयलगायत राज्यका अंग भ्रष्टाचार, ढिलासुस्ती, कुशासनबाट ग्रसित छन् । राजनीति जनताको सेवा सट्टा राज्यदोहनको साधन, विचौलियाहरूको र आसेपासेहरूको र चलखेलको हतियार बनेको छ । यो समस्याको समाधानविना देशको उन्नति र प्रगतिको कल्पनै गर्न सकिन्न ।

(घ) भूमण्डलीकरण र बढ्दो भूराजनीतिक तनाव र राष्ट्रिय हित र स्वाधीनताको रक्षा बिचको अन्तरविरोध : अर्थात्, औपचारिक रूपमा नेपाल सार्वभौमसत्ता सम्पन्न र स्वाधीन देश हो तर राजनीतिक र आर्थिक रूपमा देश गम्भीर रूपले परनिर्भर बन्दै गइरहेछ । आगामी दशकमा हिमाली क्षेत्रमा विश्वका तीन ठुला अर्थतन्त्र चीन, अमेरिका र भारतबिचमा भूराजनैतिक द्वन्द्व चर्केर जाने र नेपालको स्वाधीनतामा ठुलो दबाब पर्ने आकलन गरिँदैछ ।

(ङ) वैचारिक जडता वा विचारहीनता र युगानुकूल विकसित विचारको आवश्यकता बिचको अन्तरविरोध ः अर्थात्, तीव्र गतिले बद्लिदो विश्व परिस्थिति, नवीन ज्ञानविज्ञान र प्रविधिको आविष्कार, नयाँ पुस्ताको नयाँ आकांक्षा र समष्टीमा नयाँ युग परिवर्तनले पुराना विचार र दर्शनको परिमार्जन र विकासको माग गरिरहेको छ । तर विश्वमा र नेपालमा कि त उही पुरानो विचारमा टाँसिइरहने कि विचारविहीन पपुलिज्म, स्वस्फूर्ततावादमा बग्ने प्रवृत्ति हावी हुँदै गइरहेछ । यो वैचारिक समस्या हल नभएसम्म नेपाली समाजको आधारभूत अन्तरविरोधहरू हल गर्नै सकिन्न । 

यी एक आपसमा गुजुल्टिएका आधारभूत मुद्दालाई हामीले क्रमशः समतामूलक समृद्धि, संघीयतासहितको समानुपातिक समावेशी र सहभागितामूलक लोकतन्त्र, सुशासन तथा सदाचार, स्वाधीनता र समुन्नत समाजवादसहितको ‘५स’ मार्फत हल गर्नुपर्ने प्रमुख कार्यभार भनेर किटान गरेका छौँ र तिनको समाधानलाई पार्टीको मूल कार्यदिशा भनेका छौँ । यीमध्ये सुरुको चरणमा ‘समतामूलक समृद्धि’ लाई केन्द्रमा राखेर सबै मुद्दाहरूलाई एकीकृत ढंगले उठाउनुपर्छ भन्ने संश्लेषण गरेका छौँ । साथै परिस्थितिमा फेरबदल भए सँगसँगै नयाँ प्राथमिकीकरण गरेर जाने कुरामा ध्यान दिन आवश्यक हुने ठहर गरेका छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप