शनिबार, ०३ फागुन २०८१
ताजा लोकप्रिय
प्रणय दिवस

६ सेलिब्रेटी, जसको प्रेम विवाह असफल भयो

शुक्रबार, ०२ फागुन २०८१, २२ : १९
शुक्रबार, ०२ फागुन २०८१

काठमाडौँ । आज १४ फेब्रुअरी अर्थात् ‘भ्यालेन्टाइन डे’ । नेपाली युवा–युवती यसलाई ‘प्रणय दिवस’का रूपमा मनाउने प्रचलन बढ्दै गएको छ ।

विशेषगरी प्रेमिल जोडीले यो दिन ‘सेलिब्रेसन’ गर्ने प्रचलन विश्वव्यापीजस्तै छ । पछिल्लो समय नेपालमा पनि यो दिन धुमधामसँग मनाउन थालिएको छ । विशेष गरी नेपालमा युवायुवतीले उत्साहका साथ यो दिन मनाउँछन् ।

आजकै दिन प्रेमी–प्रेमिकाले एका–अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने गर्दछन् । यस दिन युवा–युवतीले मन पराएको व्यक्तिलाई प्रेम प्रस्तावसमेत राख्ने गर्छन् । प्रणय दिवसको अवसरमा आज हामी ती ६ सेलिब्रेटीको चर्चा गर्दैछौँ, जसको प्रेम विवाह असफल भयो ।

१. एलिना र विष्णु

चर्चित गायिका एलिना चौहान र गायक विष्णु सापकोटाबिच केही दिन अगाडि औपचारिक रूपमै सम्बन्ध विच्छेद भयो । काठमाडौंँ जिल्ला अदालतमा एलिनाले दायर गरेको निवेदन बमोजिम अदालतले नै उनीहरूको सम्बन्ध विच्छेद गराइदिएको हो ।

विवाह गरेको करिब १० महिनामा यी दुईले दाम्पत्य सम्बन्धमा पूर्णविराम लगाए । गत वैशाखमा उनीहरूले विवाह गरेका थिए ।

केही वर्ष लामो प्रेमलाई विष्णु र एलिनाले विवाहमा परिणत गरेका थिए । विवाह अगाडि पनि प्रेम र ब्रेकअपका कारण यी दुवै बेलाबखत चर्चामा आइरहन्थे ।

ब्रेकअपको चर्चा मिडियामा गसिप बनिरहेको समय यी दुवैले विवाह गरेर सबैलाई आश्चर्यचकित तुल्याएका थिए । एलिना पछिल्लो समयकी चर्चित गायिका हुन् भने विष्णु अष्ट्रेलियामा बसेर गायन र व्यवसाय दुवैमा सक्रिय छन् ।

२. निशान र ऋचा

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबिच २०७७ सालमा विवाह भएको थियो । दुई वर्षको प्रेम सम्बन्धलाई यी दुईले वैवाहिक सम्बन्धमा परिणत गरेका थिए । यी दुईको प्रेम विवाह पनि लामो समय टिक्न सकेन ।

यी दुईले २०८० चैतमा काभ्रे जिल्ला अदालतमा सम्बन्ध विच्छेद गरेका हुन् । निशान नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप हुन् भने पछिल्लो समय उनी चल्तीका गायक हुन् । ऋचा भने मोडलिङमा सक्रिय छिन् ।

३. राजेशपायल र साङबुङ

गायक राजेशपायल राईले पत्नी साङबुङ राईसँग २०८० चैतमा कानुनी रूपमा सम्बन्ध विच्छेद गरे । काठमाडौँ जिल्ला अदालतमा उनीहरूले सम्बन्ध विच्छेद गरेका थिए ।

२०७८ असोजमा यी दुईबिच विवाह दर्ता भएको थियो । प्रेम विवाह गरे पनि लुकाउँदै आएका यी दुईको दाम्पत्य जीवन छोरा सायरेम जन्मिएपछि मात्र बाहिर प्रकट भएको थियो ।

छोरा दुई वर्षको हुँदा उनीहरूले सम्बन्ध विच्छेद गरेका हुन् । राजेशलाई अदालतले आमा र छोराको जीवन निर्वाहका लागि ५० लाख रुपैयाँ दिन, नक्सालको एक आना, एक पैसा, तीन दाम क्षेत्रफलमा रहेको घर पत्नीलाई दिन र छोराको उमेर १८ वर्ष नपुग्दासम्म मासिक १५ हजार रुपैयाँ मानाचामल भराउन आदेश दिएको थियो ।

४. शिल्पा र छवि

अभिनेत्री शिल्पा पोखरेल र फिल्म निर्माता छविराज ओझाबिच २०७९ फागुनमा औपचारिक रूपमै सम्बन्धविच्छेद भयो । काठमाडौँ जिल्ला अदालतले अंशबण्डासहित सम्बन्ध विच्छेद गर्ने फैसला सुनाएको थियो ।

रेखा थापासँग सम्बन्ध विच्छेद भएपछि छविले शिल्पासँग प्रेम गरेका थिए । यी दुईको विवाह २०७३ साल असार २९ गते भएको थियो । यद्यपि विवाह गरेको खबर उनीहरूले गुपचुप नै राखे । विवाहको तस्बिर तीन वर्षपछि मात्रै सार्वजनिक भएको थियो ।

२०७६ मा घरायसी झगडाका कारण यी दुईको सम्बन्ध विच्छेदको निर्णयमा पुगे । केही साता अगाडिमात्र शिल्पाले छविसँग सम्बन्ध विच्छेदबापत ४ करोडको घर लिएको समाचार मिडियामा छाएको थियो, जसको शिल्पाले खण्डन गरेकी थिइन् ।

५. श्याम र रञ्जना

निर्देशक श्याम भट्टराई र अभिनेत्री रञ्जना शर्माबिच टेलिचलचित्र ‘गहना’को सुटिङको क्रममा प्रेम झाङ्गियो । त्यो प्रेमलाई उनीहरूले विवाहमा परिणत गरे । कलाकार विनोद मानन्धर, चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष राजकुमार राई, कलाकार विनोद भट्टराई, रञ्जनाको बाबुआमा साक्षी राखेर श्यामले अनामनगरको शिव मन्दिरमा विधिपूर्वक विवाह गरेका थिए । त्यतिमात्रै हैन, सर्लाहीको साविक हरिवन गाविसमा उनीहरुको विवाह दर्ता भएको थियो ।

विवाह भएको केही वर्षपछि रञ्जना अमेरिका उडिन् । श्याम नेपालमै बसे । अमेरिकामै रञ्जनाले अर्काे विवाह गरिन् । श्यामले पनि अहिले दोस्रो विवाह गरिसकेका छन् ।

६. उषा र जीपी

पूर्वमिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जीपी तिमिल्सिनाको प्रेम विवाह पनि सम्बन्ध विच्छेदमा टुङ्गियो । दुवैको सम्बन्ध विच्छेदको जानकारी २०७६ मा उषाले सामाजिक सञ्जालमार्फत दिएकी थिइन् ।

दुई वर्षको प्रेमपछि विवाह गरेका उषा र जीपीले १७ वर्षको दाम्पत्य जीवन तोडेका हुन् ।

दुवैको पहिलो भेट एक टेलिभिजन कार्यक्रममा भएको थियो । त्यसपछि एकअर्कासँग प्रेममा रमाएका उनीहरूले आपसमा विवाह गरेका थिए । उषा सन् २००० मा मिस नेपाल बन्नु अघि नै यी दुईबिच प्रेम रहेको बताइन्छ । उनीहरूले अन्तर्जातीय विवाह गरेका थिए । उषा र जीपीको एक छोरा र एक छोरी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप