सिरीजङ्घामा हुने हाफ म्याराथन र चौरी प्रदर्शनको पुरस्कार घोषणा
काठमाडौँ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले आगामी वैशाखमा आयोजना गर्न लागेको कञ्चनजङ्घा साहसिक हाफ म्याराथन प्रतियोगिता–२०८२ र सिरीजङ्घा पाथीभरा चौरी प्रदर्शन कार्यक्रमका लागि पुरस्कारको घोषणा गरेको छ ।
आगामी वैशाख १५ गते आयोजना गरिने हाफ म्याराथन प्रतियोगिताको विजेतालाई २ लाख ८ हजार ५ सय छयासी रुपैयाँ, उपविजेतालाई १ लाख ८ हजार ५ सय छयासी रुपैयाँ र तेस्रो हुनेलाई ८ हजार ५ सय छयासी रुपैयाँ नगद पुरस्कार दिने पालिकाले घोषणा गरेको छ । यसैगरी चौरी प्रदर्शनमा सर्वोत्कृष्ट हुनेलाई २ लाख ८ हजार ५ सय छयासी रुपैयाँ र एक जनालाई सान्त्वना पुरस्कारस्वरुप ८ हजार ५ सय छयासी रुपैयाँ प्रदान गरिनेछ । यसै पालिकाभित्र पर्ने विश्वको तेस्रो तथा नेपालको दोस्रो सर्वोच्च शिखर कञ्चनजङ्घाको उचाइ ८,५८६ मिटरलाई प्रतिविम्ब गर्ने गरी पुरस्कार राशिहरू निर्धारण गरिएको पालिकाका उपाध्यक्ष तथा सिरीजङ्घा पर्यटन महोत्सव सचिवालय समितिका संयोजक डा. चित्र मावोले बताए ।
समुन्द्र सतहबाट झण्डै ४५०० मिटरको उचाइमा आयोजना हुने कञ्चनजंघा साहसिक हाफ म्याराथन प्रतियोगिताको लागि कञ्चनजङ्घा साहसिक पदमार्गमा पर्ने नयाँ झोरेनी, कस्तुरे डाँडाँ, झण्डे डाँडा, सिन्दुरे ढुङ्गा, तुप्लुङ हुँदै मछेवासम्मको दुरी कायम गरिएको छ । संघीय सरकारसँगको लागत साझेदारीमा सिरीजङ्घा गाउँपालिकाले निर्माण गरेको कञ्चनजङ्घा साहसिक पदमार्गबाट मकालुदेखि कञ्चनजङ्घासम्मको लामो हिमश्रृंखला अवलोकन गर्दै पदयात्रा गर्न सकिन्छ । यो पदमार्ग पछिल्लो समय निकै लोकप्रिय बन्दै गइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धार्मिक आस्थाको केन्द्र त्रिपुरासुन्दरी, तस्बिरहरू
-
दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि बजेटको स्रोत सुनिश्चित
-
पाकिस्तानलाई हराउँदै न्युजिल्याण्डलाई शृङ्खला
-
९९ वर्षमा आँखाको ज्योति फर्किएपछि...
-
ऋषभ पन्तको ज्यान बचाउने व्यक्ति अहिले जीवन र मृत्युको दोसाँधमा
-
ला लिगामा गेटाफेले गिरोनालाई हरायो