शनिबार, ०३ फागुन २०८१
ताजा लोकप्रिय

सफल जनयुद्ध, असफल नेतृत्व

शुक्रबार, ०२ फागुन २०८१, १७ : ०३
शुक्रबार, ०२ फागुन २०८१

फागुन १ गते माओवादीले तत्कालीन राज्यसत्ताविरुद्ध हतियार उठाएको दिन । अर्थात् जनयुद्ध घोषणा गरेको ऐतिहासिक दिन । हरेक वर्षको फागुन १ गते माओवादी पृष्ठभूमिका विभिन्न घटकले ऐतिहासिक दिन वा दिवसका रूपमा मनाउँदै आइरहेका छन् । 

कुनै पनि द्वन्द्वमा क्षति पक्कै हुन्छ । हाम्रो देशमा चलेको १० वर्षे जनयुद्धमा राज्य र विद्रोही पक्षमाबाट १७ हजार मानिसले आहुति दिएका थिए । आज तिनै १७ हजारका नाममा अनेकन् टिप्पणी गरिएको सुनिन्छ । जो सुन्न लायक मात्र होइन, सोच्नसम्म लायक छैनन् । जनयुद्धका नाममा भइरहेका वर्तमान बहसहरू मिथ्या र अनावश्यक छन् । जनयुद्धलाई कसैले हिंसासँग जोडेर तल्लो स्तरका टिप्पणी गरिरहेको सुनिन्छ । यस्ता खालका घीनलाग्दा बहसले सहिद र बेपत्ता योद्धाहरूप्रतिको अपमानबाहेक अरू केही गर्दैन भन्ने सम्बन्धित पक्षले बुझ्नुपर्छ । 

जनयुद्धले निरंकुश राजतन्त्र अन्यका निम्ति महत्त्वपूर्ण भूमिका खेलेको थियो । संविधानसभाबाट संविधान निर्माण गर्ने पुष्पलालहरूको सपनालाई जनयुद्धले साकार पार्ने काम गरेको हो । मूलतः विद्यमान संविधान निर्माण गर्नमा जनयुद्धको महत्त्वपूर्ण हात छ । जनयुद्धको जगमा दोस्रो जनआन्दोलन भयो, मधेस विद्रोह भयो । दोस्रो जनआन्दोलनले राजतन्त्रलाई घुँडा टेक्न बाध्य बनायो । तत्कालीन अवस्थामा कांग्रेस र एमाले केही नेताहरू गणतन्त्र सम्भव छैन भनिरहेका थिए । तर माओवादी जनयुद्धले उठाएको आन्दोलनको झन्डा रोकिएन । मुलुकमा गणतन्त्र आयो । संविधानसभाको निर्वाचन भयो । समाजवादी संविधान बन्यो । संविधानमा तीन दर्जन मौलिक हक लिपिबद्ध भए । अर्थात् विश्वकै राम्रो संविधान बन्यो । त्यस्तै जनयुद्धले उत्पीडित वर्ग, समुदाय, क्षेत्र, लिङ्ग, जातजाति, भाषाभाषीका मानिसलाई अन्यायका विरुद्धमा लड्न सिकायो । आफूमाथि भइरहेको थिचोमिचो र अन्यायका विरुद्ध बोल्न सिकायो । अन्याय, अत्याचार, शोषण, दमन, उत्पीडनका विरुद्ध आवाज उठाउन सिकायो । एक शब्दमा भन्दा जनयुद्धले सुतेको चेतनालाई ब्युँझायो । लुकेको चैतन्य जागा गर्‍यो । दलितहरूले जातीय विभेदका विरुद्ध उभिनुपर्छ भन्ने चेतनाको विकास गरे । पिछडिएको वर्ग, क्षेत्रका मानिसहरूले राज्यको असमान वितरण प्रणालीका विरुद्ध उभिने अठोट गरे । चुल्हो चौकोमा सीमित महिलाहरूले दुधेबालक बोकेर युद्ध लड्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरे ।

छिन्नभिन्न अवस्थामा रहेका माओवादी शक्तिहरूले साइनबोर्ड एउटै, नारा एउटै तर पारा भने फरक–फरक देखाइरहेका छन् । जुन प्रवृत्तिले गर्दा आन्दोलन कमजोर बन्यो । उपलब्धिमाथि प्रहार हुने थाल्यो भन्ने निष्कर्ष निकालेर माओवादी घटक समूहहरू एकताबद्ध हुन धेरै ढिलो भइसक्यो ।

याद रहोस्, कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका (तत्कालीन माल्कोट गाविस) वडा नम्बर ६ स्थित बेथलडाँडामा स्थानीय महिलाहरूले प्रहरी दमनका विरुद्ध प्रतिकार गरेका थिए । २०५५ चैत २४ गतेको उक्त घटना विश्वकै ऐतिहासिक र नमुना घटना हो भन्ने दाबी गर्न सकिन्छ । राज्यको निर्मम दमनका विरुद्ध उत्रिएका महिलाले प्रहरीका हातहतियार (राइफल, बन्दुक) कब्जा गरेर माओवादीलाई बुझाएका थिए । उक्त घटनामा प्रहरीद्वारा काली विकको हत्या भएको थियो भने गोरिकला विक (प्रकाण्ड सीकी बहिनी) लगायत महिला घाइते भएका थिए ।  

खैर हामीले के कुरा भुल्न मिल्दैन भने समाज परिवर्तनको प्राकृतिक नियम हुन्छ । कुनै नेता, कुनै आन्दोलन वा युद्धका कारण समाजको आमूल परिवर्तन हुँदैन । परिवर्तनको गतिमा केही धक्का प्रहार चाहिँ अवश्य हुन्छ । समाज परिवर्तनको आफ्नै गति र नियम छ । लाखौँ वर्षको निरन्तर विकास नै वर्तमान समाज हो । हिजोको समाज र आजको समाज उस्तै र एउटै छैन । आजको समाज क्रान्तिकारी छ, अग्रगामी छ । अर्को कुरा समाज मात्रात्मक रूपमा परिवर्तन हुन्छ । त्यसपछि समाज गुणात्मक रूपमा परिवर्तन उन्मुख हुन थाल्छ, त्यसपछि मात्रै आमूल परिवर्तनको कुरा आउँछ । यसको सुरुवात पनि जनयुद्धले नै गरेको हो । 

आज व्यवस्था बदलिए पनि मुलुक र जनताको अवस्था परिवर्तन भएन, हुन सकेन, गर्न सकेनन् जस्ता नकारात्मक र सतही भाष्य निर्माण गर्न खोजेको देखिन्छ । यो परिवर्तन, प्रगतिशील पक्षधरहरूका निम्ति गम्भीर कुरा हो । यहाँ केही भएकै छैन, देश नेताहरूले लुटे, नेता चोर, यो देश बर्बाद भयो भन्ने खालका पश्चगामीले स्थापित गर्न खोजेको भ्रामक भाष्यलाई थप बल पुग्ने गरी भाषण गर्न आवश्यक छैन । देशमा धेरै भएको छ, भइरहेको छ र केही गर्न बाँकी छ भनेर जनतालाई स्पष्ट पार्न आवश्यक छ । अतः जनयुद्धले मानिसहरूको चेतनामा गुणात्मक परिवर्तन ल्याएको छ । मूलभूत क्षेत्र र जनताको अवस्थामा परिवर्तन गर्न बाँकी रहेको सत्यलाई नजरअन्दाज गर्न सकिने ठाउँ छैन । 

  • जनयुद्ध सफल, नेतृत्व असफल 

स्वतः स्फूर्त मान्छेहरू मुक्ति या मृत्युको नारा बोकेर जनयुद्ध लडेका थिए । टाउकोमा रातो कफन बाँधेर राज्यसत्ताको दमनकारी नीति, सफाय र किलोसेरा अप्रेसनका विरुद्ध जनताहरू उभिनु चानचुने कुरा थिएन । माथि चर्चा गरिए जस्तै मुलुकले संविधान पाउने, संघीयता, समावेशिता, समानुपातिकता, धर्मनिरपेक्षता, प्रेस स्वतन्त्रता, वाक् स्वतन्त्रता जस्ता संवैधानिक हक स्थापित गर्नमा जनयुद्धको ठुलो भूमिका छ । यसर्थ जनयुद्ध सही थियो र सफल थियो । 

तर जनयुद्धका कमान्डरहरू वैद्य, प्रचण्ड, बाबुराम, बादल, विप्लवहरू सीमित स्वार्थका नाममा विभाजित भए, त्यसपछि जनयुद्धले उठाएको आन्दोलनको झन्डा लत्रियो । आज माओवादी जनयुद्धले उठाएको आन्दोलनको झन्डाको अवस्था दयनीय छ । माओवादीका नेताहरूले ऐतिहासिक अवसरलाई चिन्न सकेनन् । स–साना मुद्दा र उल्झनमा फस्न पुगेका छन् । छिन्नभिन्न अवस्थामा रहेका माओवादी शक्तिहरूले साइनबोर्ड एउटै, नारा एउटै तर पारा भने फरक–फरक देखाइरहेका छन् । जुन प्रवृत्तिले गर्दा आन्दोलन कमजोर बन्यो । उपलब्धिमाथि प्रहार हुने थाल्यो भन्ने निष्कर्ष निकालेर माओवादी घटक समूहहरू एकताबद्ध हुन धेरै ढिलो भइसक्यो । 

माओवादी घटक समूहका नेताहरूले एकअर्काको अस्तित्व स्वीकार गर्न नसक्नु, एकताबद्ध भएर अघि बढ्न नसक्नु, नेतृत्व रूपान्तरण नहुनु, नेतृत्व हस्तान्तरण गर्न नसक्नु, अवसरवादमा फस्नु, व्यक्तिवादमा फस्नु आदि कुरालाई हेर्दा सफल जनयुद्धका असफल नेताका रूपमा प्रचण्ड, बाबुराम र विप्लवहरूलाई लिन सकिन्छ । उनीहरूले जनयुद्धपछि लिनुपर्ने वैचारिक, सैद्धान्तिक र सांगठनिक लय समात्न सकेनन् । फलस्वरूप टुटफुट भइरह्यो । माओवादी आन्दोलनले जगाएको आशावाद निराशामा परिणत हुँदै गयो । माओवादी राज्यको सस्थापन शक्तिबाट बिस्तारै प्रतिपक्ष र आजका दिनमा बिचराको स्थितिमा छ ।  

अन्त्यमा तुलनात्मक रूपमा कम क्षति भएको र बढी उपलब्धि हासिल गरेको जनयुद्ध इतिहास बनिसकेको छ । इतिहासलाई आधुनिक चस्माले हेर्नु मूर्खता हुन्छ । जनयुद्धलाई हिंसा हो भन्नेहरू पश्चगामी, यथास्थितिवादी हुन् र संघीय समाजवादी व्यवस्थाका विरोधी हुन् । जसको जति नै भत्र्सना गरे पनि कम हुन्छ । सहिद, बेपत्ता र घाइतेहरूको आत्मसम्मानमाथि ठेस लाग्ने गरी अभिव्यक्ति दिनेहरू गणतन्त्र विरोधी हुन् । यस्ता विरोधीलाई मात खाने गरी माओवादी घटकहरू एकजुट भएर मजबुत कम्युनिस्ट पार्टी निर्माणमा लागेको देख्न मन छ । साथै माथि उठाएका अनुत्तरित सवालहरूको जवाफ कसले दिने ? 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

धनराज वास्तविक
धनराज वास्तविक
लेखकबाट थप