प्रजातन्त्र सेनानी सङ्घको मूल आयोजक समितिलगायत १५ उपसमिति गठन
![प्रजातन्त्र सेनानी सङ्घको मूल आयोजक समितिलगायत १५ उपसमिति गठन](https://npcdn.ratopati.com/media/news/bhupu_mcff5n9qex_Jqkw1A4XOq.webp)
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल प्रजातन्त्र सेनानी संघले दोस्रो महाधिवेशन गर्न मूल आयोजक समितिलगायत विभिन्न १५ उपसमिति गठन गरेको छ । संघले आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष बालकृष्ण दाहालको संयोजकत्वमा सम्पूर्ण केन्द्रीय सदस्यहरू तथा सात प्रदेशको प्रदेश अध्यक्षहरू सदस्य रहने गरी मूल समिति गठन गरेको जानकारी दिएको हो ।
सङ्घको गत माघ ३ र ४ गते बसेको केन्द्रीय समिति बैठकले यही फागुन ७ देखि १० गतेसम्म दोस्रो महाधिवेशन गर्ने निर्णय गरेको थियो । पत्रकार सम्मेलनमा उत्तरकुमार कटवालको संयोजकत्वमा सचिवालय व्यवस्थापन उपसमिति, गोपाल गिरीको संयोजकत्वमा राजनीतिक प्रतिवेदन लेखन उपसमिति, तेजप्रसाद सुवेदीको संयोजकत्वमा साङ्गठनिक प्रतिवेदन लेखन उपसमिति गठन गर्ने निर्णय भएको जानकारी दिइयो ।
अनार बस्नेतको संयोजकत्वमा आर्थिक प्रतिवेदन लेखन उपसमिति, बालकृष्ण दाहालको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएको जानकारी दिइयो । कांग्रेसले भ्रातृ संस्थाको रूपमा २०४९ सालमा स्थापना गरेको नेपाल प्रजातन्त्र सेनानी सङ्घको महाधिवेशन २०५३ सालमा भएको थियो ।
सङ्घको मुस्ताङ र रुकुम पूर्वमा प्राविधिक कारणले अधिवेशन गर्न बाँकी छ । महाधिवेशनका लागि ७५ जिल्लाबाट ४५७ महाधिवेशन प्रतिनिधिहरू चयन भएर आएका पत्रकार सम्मेलनमा जानकारी दिइयो ।