कांग्रेसमा अब देउवाको ‘बक्सिस’ कसलाई ?
काठमाडौँ । नेतृत्वका लागि क्षमतावान्, व्यवस्थापकीय कुशलतायुक्त र वचन दिएपछि कार्यान्वयन गर्ने नेतामा पर्छन् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । देउवाले आफूसम्म पुग्ने प्रतिस्पर्धी, नेता–कार्यकर्ता र जनताका कुरा सहजतापूर्वक सुन्छन् । अरु नेताको जस्तो इगो नराखी स्वभाव र व्यवहारगत गुण हेरेर उनले जिम्मेवारी पनि दिन्छन् ।
यद्यपि स्पष्ट रूपमा गुट–उपगुटमा विभक्त कांग्रेसमा इतर समूहले देउवालाई विधान र पद्धतिको वास्ता नगर्ने, गुटलाई प्रश्रय दिने, स्वार्थका लागि जोडिएकालाई काखी च्याप्ने र विचारले जोडिएकाहरूलाई बेवास्ता गर्ने गरेको आरोप लगाउने गरेका छन् ।
पार्टीभित्रको जोडघटाउलाई कुशल रूपमा व्यवस्थापन गर्ने देउवाले आफ्ना प्रतिस्पर्धीका साथै निरंकुश पञ्चायती शासन व्यवस्थादेखि अहिलेसम्म आइपुग्दा असहज परिस्थितिमा सहयोग गरेका नेताहरूको व्यवस्थापन गरेर ‘गुन’ तिरेका छन् । देउवाले गुन तिरेकामा आफ्नै प्रतिस्पर्धीमात्र नभएर बेलाबेलामा धोका दिएर गएका र पछि अप्ठ्यारो पर्दा सहयोग गरेकाहरू पनि छन् ।
आफ्ना प्रतिस्पर्धी र मुख्य अवस्थामा धोका दिएकालाई समेत देउवाले गुन तिर्छन् भन्ने ताजा उदाहरण हुन् राष्ट्रपति रामचन्द्र पौडेल । पौडेल कांग्रेसमा पदका लागि पटक–पटक देउवाका प्रतिस्पर्धी भए । एक पटक पौडेलले देउवालाई नराम्रोसँग धोका पनि दिए ।
२०५९ सालमा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले पार्टीको तर्फबाट संकटकाल नथप्न देउवा नेतृत्वको सरकारलाई दिएको निर्देशन देउवाले अस्वीकार गरे । त्यसपछि कोइरालाले केन्द्रीय समिति बैठकबाट देउवालाई कारबाही गरे । आफूलाई पार्टीले कारबाही गरेपछि देउवाले २०५९ असार ४ गते बानेश्वरमा आफू पक्षीय कार्यकर्ताको भेला गरेर नयाँ पार्टी ‘नेपाली कांग्रेस (प्रजातान्त्रिक)’ गठन गर्दा पौडेललाई सभापति बनाउने तयारी थियो ।
पौडेलले ‘म आउँछु’ भनेर असार ३ गते साँझ देउवालाई भनेपछि असार ४ मा कार्यकर्ता भेला राखिएको थियो । तर, धोका दिँदै पौडेल भेलामा नआएपछि अन्तिममा देउवा आफैँ नयाँ पार्टीको सभापति भएका थिए । २०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनपछि संसदीय दलको नेता निर्वाचनमा पौडेल र देउवा प्रतिस्पर्धी हुँदा देउवा पराजित भए । २०७२ फागुन २५ गते कांग्रेस सभापतिमा भएको प्रतिस्पर्धामा देउवाले पौडेललाई पराजित गरे ।
२०७८ मंसिर २४ देखि २७ गतेसम्म भएको कांग्रेसको १४ औँ महाधिवेशनमा भने पौडेल सभापतिको उम्मेदवारका आकांक्षी थिए तर अस्वस्थ प्रतिस्पर्धा भन्दै उनी महाधिवेशनको प्रक्रियाबाट बाहिरिए । यद्यपि पौडेलले आन्तरिक रूपमा देउवालाई सहयोग गरे । त्यसको गुन तिर्दै देउवाले पौडेललाई पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनाएर निर्वाचित गराए । त्यसबेला पार्टीबाट उम्मेदवार बन्न नेता कृष्णप्रसाद सिटौलाले पनि प्रयास गरेका थिए । देउवाले ‘अहिले पौडेललाई उम्मेदवार बनाऔँ, तपाईंलाई पछि हेरौँला’ भनेर सिटौलालाई मनाएका थिए ।
कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ त्यतिबेलाको प्रसङ्ग उल्लेख गर्दै भन्छिन्, ‘सभापतिज्यू र रामचन्द्र दाइ (रामचन्द्र पौडेल) प्रतिस्पर्धी हुनुहुन्थ्यो तर सभापतिज्यूले रामचन्द्र दाइका बारेमा पुरानो साथी हो, दुःख गरेको मान्छे हो, बनाउनुपर्छ भन्नुहुन्थ्यो, बनाउनुभयो ।’
सहमहामन्त्री उपाध्यायले पार्टीमा निरन्तर क्रियाशील रहेका र कांग्रेस भनेर जीवनभर लागेकालाई एक पटक जिम्मेवारी दिनुपर्छ भन्ने धारणा देउवामा रहेको बताइन् । ‘पार्टीमा निरन्तर लागेको र म पनि छु भनेर काम गरिरहेकालाई कहीँ न कहीँ मौका दिनुपर्छ भन्ने धारणा छ,’ उपाध्यायले रातोपाटीसँग भनिन्, ‘दिनुभएको पनि छ । दुःख गरेका मान्छेलाई बिर्सिनुहुन्न ।’
पौडेललाई मात्रै होइन, १४औँ महाधिवेशनमा पहिलो चरणमा सभापतिको उम्मेदवार भएर दोस्रो चरणमा आफूलाई सघाएका नेता प्रकाशमान सिंहलाई केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा पार्टीको नेतृत्व गर्दै उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री बनाएर देउवाले पठाएका छन् । सिंहले पनि पौडेलले जस्तै देउवालाई कुनैबेला धोका दिएका थिए । पार्टी फुटाउँदा साथ दिएका सिंह १२ औँ महाधिवेशन अघि गुट परिवर्तन गर्दै तत्कालीन संस्थापन प्यानल (सुशील कोइराला)तिर गएर महामन्त्री बनेका थिए ।
देउवाले आफूले दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नेलाई पनि आकर्षक जिम्मेवारी दिने गरेका छन् । त्यसको ज्वलन्त उदाहरण हुन् रमेश लेखक । तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा रहेको एमालेसहितको गठबन्धन सरकार हटाएर एमाले नेतृत्वको सरकार बनाउन पार्टीबाट महत्त्वपूर्ण भूमिका खेलेका लेखकलाई देउवाले वर्तमान सरकारमा गृहमन्त्री बनाएका छन् ।
२०७९ मंसिरको निर्वाचनपछि बनेको एमाले–माओवादीसहितको गठबन्धन भंग गर्न महत्त्वपूर्ण भूमिका खेलेका उपसभापति पूर्णबहादुर खड्कालाई कांग्रेस–माओवादी सरकारमा देउवाले उपप्रधानमन्त्रीसहित रक्षामन्त्री बनाएका थिए ।
२०७४ सालको निर्वाचनपछि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले निर्वाचित संसद् भंग गरेपछि संसद् पुनर्स्थापना गरी परिकल्पना नै नगरेको सत्ताको नेतृत्व गर्ने व्यवस्थापकीय भूमिका निभाएका बालकृष्ण खाणलाई देउवाले गृहमन्त्री बनाएका थिए ।
पार्टी फुटाउँदा देउवालाई साथ दिनेमा गोपालमान श्रेष्ठ, सिंह, विजयकुमार गच्छदार, विमलेन्द्र निधि, बालकृष्ण खाण, पूर्णबहादुर खड्कासहित मुख्य जिम्मेवारीमा थिए । १३ औँ महाधिवेशनमा आफू सभापति भएपछि देउवाले निधिलाई उपसभापति र खड्कालाई महामन्त्री बनाए । पार्टी फुटाएर तराई मधेस लोकतान्त्रिक पार्टी बनाएका गच्छदारलाई पार्टीमा भित्र्याएर उनले उपसभापति र संसदीय दलको उपनेता बनाए ।
१४ औँ महाधिवेशनमा देउवाले गच्छदारलाई आफ्नो प्यानलमा उपसभापतिको उम्मेदवार बनाएका थिए । यद्यपि गच्छदार पराजित भए । श्रेष्ठलाई १३ औँ महाधिवेशनपछि देउवाले पार्टीको संगठन विभाग प्रमुखको जिम्मेवारी दिए । खाणलाई २०७४ सालको निर्वाचनपछि आफू संसदीय दलको नेतामा निर्वाचित भएपश्चात उनले प्रतिनिधि सभाको प्रमुख सचेतक बनाएका थिए ।
यी पछिल्ला उदाहरणमात्रै हुन्, देउवाले सम्झेर गुन लगाएका धेरै घटना छन् । ‘लामो समय पार्टीमा काम गरे पनि आफू नै पार्टी र दाइ (देउवा)सँग टाढा भए परको कुरा भयो, अन्यथा एक पटक सबैलाई मौका दिनुहुन्छ नै,’ सहमहामन्त्री उपाध्यायले भनिन् ।
प्राध्यापक कृष्ण पोखरेल देउवामा सबैलाई मिलाएर लैजान सक्ने क्षमता रहेको बताउँछन् । ‘सबैलाई मिलाएर लैजान सक्ने क्षमता देउवामा छ । आफूलाई जीवनभर असहयोग गरेको भए पनि मौका मिलेमा सहयोग गरेर मिलाएर लैजान सक्छन्,’ प्रा. पोखरेलले रातोपाटीसँग भने, ‘आफ्नो हित नबिग्रिँदासम्म उनी मिल्नै खोज्छन् ।’
अब अहिलेसम्म आफूलाई सहयोग गरेकामध्येबाट महत्त्वपूर्ण गुन लगाउनु पर्ने अवस्थामा पुगेका छन् देउवा । नेपाली कांग्रेसको विधान अनुसार देउवा अब फेरि महाधिवेशनबाट पार्टी सभापति बन्न पाउँदैनन् । कांग्रेस विधानले सभापति दुई कार्यकालमात्रै बन्न पाउने व्यवस्था गरेको छ । देउवाको सभापतिमा यो दोस्रो कार्यकाल हो ।
विधानअनुरुप १५ औँ महाधिवेशन २०८२ मंसिरमा गर्नुपर्छ । त्यो बेलासम्ममा देउवाले पार्टीको बागडोर सम्हाल्ने उत्तराधिकारी चयन गर्नुपर्नेछ । अर्थात् बहालवाला सभापतिको हैसियतमा देउवाले भावी सभापतिका लागि आफ्नोतर्फबाट उम्मेदवार बन्न कुनै एक नेतालाई ‘बक्सिस’ दिनुपर्नेछ । त्यसबारे देउवाले मुख खोलेका छैनन् । तथापि धेरैले विभिन्न अडकलबाजी गरिरहेका छन् ।
आगामी महाधिवेशनबाट सभापति बन्न कांग्रेसमा अहिलेसम्म १४ औँ महाधिवेशनमा देउवासँग पराजित डा. शेखर कोइरालाले मुख खोलेका छन् । उनले महाधिवेशन केन्द्रित देश दौडाहा पनि सुरु गरिसकेका छन् । मुख नै नखोले पनि उपसभापति खड्का, निवर्तमान महामन्त्री डा.शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, सिंह र महामन्त्री गगन थापा सभापतिमा आकांक्षी रहेको उनीहरू निकट नेता बताउँछन् ।
यीमध्ये भावी सभापतिमा देउवाले आफ्नो उत्तराधिकारीमा कसलाई छान्छन् भन्ने सबैको चासो छ ।
निकटस्थहरूका अनुसार देउवाको मुख्य चासो कसरी आफ्नी जीवन संगिनी केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री आरजु राणालाई पदाधिकारी (उपसभापति पा महामन्त्रीमध्ये एक)मा ‘सेटल’ गर्ने भन्नेछ । धेरैले त ‘जसले आरजुलाई पदाधिकारीमा आफ्नो प्यानलमा राख्न र जिताउन प्रतिबद्धता जनाउँछ, त्यसैलाई देउवाले आफ्नो उत्तराधिकारी बनाएर बोक्छन्’ भन्ने प्रतिक्रिया दिइरहेका छन् ।
देउवाको बानी हेर्दा आफूलाई पर्दा सहयोग गरेको र आफूले सहयोग गर्छु भन्दाभन्दै पनि गर्न नसकेकोलाई गर्ने देखिन्छ । उम्मेदवार बन्न आकांक्षा देखाएकामध्ये देउवाले उपसभापति खड्का, निधि र सिंहलाई उनीहरूले सहयोग गरेबापत पटक–पटक जिम्मेवारी दिइसकेका छन् । उनले अहिलेसम्म पद नदिएकामा डा. शेखर, डा. शशांक, नेता सिटौला र महामन्त्री थापा देखिन्छन् । सहयोग गरिसकेकालाई फेरि पनि सभापतिको उम्मेदवार बनाउँदैनन् भन्न सक्ने अवस्था भने छैन ।
निकटस्थहरूका अनुसार डा. शेखर जतिबेला पनि विरोधका लागि मात्रै विरोध गर्ने र आफैँले उठाएका एजेण्डामा अडिग हुन नसक्ने भन्दै देउवा त्यति सन्तुष्ट छैनन् । शेखरले वर्तमान सरकार नबन्ने बेलासम्म कांग्रेस–एमालेको बलियो सरकार बन्नुपर्छ भन्दै आएका थिए । बनेपछि यही सरकारको आलोचना गर्दै हिँडिरहेकोमा देउवा रुष्ट रहेको नेताहरू बताउँछन् ।
अर्कोतर्फ १३ औँ महाधिवेशनमा देउवालाई सभापति जित्ने आधार बनाइदिने नेता सिटौला हुन् । सिटौला तत्कालीन संस्थापनबाट विद्रोह गर्दै प्यानलसहित सभापतिको उम्मेदवार बनेपछि देउवालाई सभापति बन्ने बाटो खुलेको देउवा निकटकै नेताहरू बताउँछन् । १३ औँ महाधिवेशनमा पहिलो चरणमा कुनै उम्मेदवारले पनि ५० प्रतिशतभन्दा बढी मत नल्याएपछि दोस्रो चरणमा सिटौलाले देउवालाई सहयोग गरेका थिए । त्यसपछि अहिलेसम्म सिटौला देउवासँगै छन् । तर, देउवाले चाहेर, बचन दिएर पनि महत्त्वपूर्ण जिम्मेवारी दिन नसकेको स्वयं बताउने गरेका छन् ।
२०७८ सालको निर्वाचनमा झापा–३ बाट पराजित भएका सिटौलालाई २०८० मा भएको राष्ट्रिय सभा निर्वाचनमा देउवाले राष्ट्रिय सभा अध्यक्ष बनाउँछु भन्दै उम्मेदवार बनाए । सिटौलाले राष्ट्रिय सभा निर्वाचन जिते तर, जब राष्ट्रिय सभा अध्यक्षको निर्वाचन बेला आयो, राजनीतिक घटनाक्रम फेरियो । एमाले–माओवादीबिच गठबन्धन भएपछि सिटौलाले अध्यक्ष जित्ने अवस्था बनेन र उनी उम्मेदवार नै बनेनन् । त्यसपछि तत्कालका लागि उनलाई देउवाले राष्ट्रिय सभा दलको नेताको जिम्मेवारी दिए । पछि २०८१ असार १७ गते कांग्रेस–एमालेबिच सहमति भएर सरकार निर्माणका बेला उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनाएर देउवाले सिटौलालाई सरकारमा पठाएर गुन तिर्न चाहेका थिए तर, सिटौलाले अस्वीकार गरे ।
पछिल्लो समय सभापति उम्मेदवार बन्ने भन्दै सिटौलाले राजनीतिक भेटघाट बाक्लो बनाएका छन् । देउवाले सभापतिमा सिटौलालाई जीवन संगिनी आरजुलाई ‘एडजस्ट’ गर्ने शर्तमा उम्मेदवार बनाउन सक्ने देउवा निकट नेताले बताए । ती नेता भन्छन्, ‘भाउजु (आरजु)लाई एडजस्ट गर्ने शर्तमा सिटौलालाई देउवाले सभापतिको उम्मेदवार बनाउन सक्नुहुन्छ । उहाँ (सिटौला)लाई बनाएपछि पूर्णबहादुर दाइ पनि एडजस्ट हुने बाटो रहन्छ । इतर समूहका नेताहरूलाई पनि तान्न सक्नुहुन्छ ।’
कांग्रेसको १२ औँ महाधिवेशनपछि सिटौला मनोनीत महामन्त्री हुँदा वर्तमान उपसभापति खड्का सह–महामन्त्री भएका थिए । अब पनि सिटौला सभापतिको उम्मेदवार भएमा खड्कालाई फेरि उपसभापतिमा मनाउन सहज हुने आकलन पनि केहीको छ । सिटौलालाई उम्मेदवार बनाएर वर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, बागमती प्रदेशका आर्थिक योजनामन्त्री कुन्दन काफ्लेलगायतका नेताहरूलाई संस्थापनमै जोड्न सकिने बुझाइ पनि केही नेताको देखिन्छ । तथापि सभापति भइसकेपछि आफूले दिएको सुझाव नमान्ने हो कि, अली हक्की स्वभावको छ भन्ने बुझाइ पनि देउवाको कोर टिममा रहेको नेताहरू बताउँछन् ।
अर्कोतर्फ निवर्तमान महामन्त्री डा. शशांकले पनि देउवाको पहिलो कार्यकालमा महामन्त्री हुँदा र अहिले केन्द्रीय सदस्य हुँदा सहयोग गर्दै आइरहेका छन् । दोस्रो, विश्वेश्वरप्रसाद कोइरालाका सुपुत्र हुन् डा. शशांक । उनलाई उम्मेदवार बनाएर कोइराला परिवारको योगदानको कदर गरेको छु भन्ने बाटो देउवाले खुला गर्न सक्ने पनि नेताहरू बताउँछन् ।
तर, डा. शशांक राजनीतिमा त्यति सक्रियता देखाउन नसकिरहेको, संसदीय गतिविधिमा सहभागी हुने र तर्क राख्ने भूमिकामा नदेखिएको भनेर आलोचना गर्नेहरू पनि संस्थापनभित्रै छन् । शशांकलाई आफ्नो उम्मेदवार बनाउन सकियो भने उनले इतर समूहका आफूसँग जोडिएका नेताहरूलाई तान्ने र जित्न सहज हुने बुझाइ पनि देउवा र उनको कोर टिमका नेताहरूको छ ।
प्रायः देउवाको चर्को आलोचना गर्ने महामन्त्री गगन थापा पछिल्लो समय देउवाको निकट छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका निवर्तमान गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा जोडिएको भन्दै संसदीय विशेष समिति बनाउन तत्कालीन सरकारलाई बाध्य पार्ने बेलादेखि थापा देउवासँग नजिक छन् । मंसिरमा त एक पटक कांग्रेस र एमालेबिच अर्थ र गृह मन्त्रालय साट्ने र महामन्त्री थापालाई गृहमन्त्री बनाउने भन्ने चर्चा पनि चलेको थियो । देउवाले नै त्यो पहल गरे पनि थापाले अर्काले बनाएको बजेटमा अर्थमन्त्री बनेर काम गर्न सकिन्न भनेकाले रोकिएको नेताहरू बताउँछन् ।
अब कतै आरजुलाई एडजस्ट गर्ने शर्तमा थापा नै देउवाको उत्तराधिकारी बन्ने त होइनन् भन्ने बुझाइ संस्थापनका केही नेताहरूको तर्क छ । यद्यपि थापालाई उम्मेदवार बनाउँदा पुराना धेरै नेताले गुट परित्याग गर्ने र जिताउन अप्ठ्यारो हुने हो कि भन्नेमा पनि देउवा सजग रहेको बताइन्छ । प्रा.पोखरेल भने देउवालाई आफ्नो उत्तराधिकारी यो हो भनेर जान अबको महाधिवेशनमा गाह्रो रहेको बताउँछन् ।
उनले भने, ‘आफ्नो उत्तराधिकारी छान्न देउवालाई गाह्रो छ । किनकि प्रतिस्पर्धी धेरै छन् । ठ्याक्कै यही उम्मेदवार मेरो हो भन्दा नजिते गाह्रो हुन्छ भन्दै खुला छोडिदिन सक्छन् । जसले जित्छ, त्यही मेरो मान्छे भनेर बोल्न सक्छन् ।’
सहमहामन्त्री उपाध्याय सभापतिले आफ्नो उम्मेदवार को हो भनेर भन्ने बेला नभएको बताउँछिन् । उनले भनिन्, ‘सभापतिको उम्मेदवार को हो भनेर सभापतिले भन्ने बेला भएको छैन । बेला आउँदा पक्कै पनि भन्नुहोला ।’
जोसँग मिले पनि आफूलाई ज्यादै नै गाह्रो नपर्ने बेलासम्म सहज ढंगले काम गर्न पनि दिन्छन् । जुन नेपाली राजनीतिमा अहिले रहेका नेताहरूमा नभेटिने गुण हो । पार्टीमा उनलाई हिजो धोका दिएका नेताहरूलाई पनि आफैँ प्रस्तावक भएर विभिन्न पद दिएका छन् । जसमा रामचन्द्र पौडेल, प्रकाशमान सिंहसहितका नेताहरू पर्छन् ।
अर्को, सबैलाई मिलाएर लैजान सक्ने क्षमता देउवामा छ । आफूलाई जीवनभर असहयोग गरेको भए पनि मौका मिलेमा सहयोग गरेर मिलाएर लैजान सक्छन् । आफ्नो हित नबिग्रिँदासम्म उनी मिल्नै खोज्छन् । पार्टीमा र अन्य पार्टीहरूसँग अहिलेसम्मका घटनाक्रम हेर्दा त्यो देखिन्छ ।
१५ औँ महाधिवेशनमा आफू पार्टी सभापति बन्न विधानले नदिने भएपछि उनलाई यसपटक भने आफ्नो उम्मेदवार छान्न गाह्रो छ । किनकि प्रतिस्पर्धी धेरै छन् । ठ्याक्कै यही उम्मेदवार मेरो हो भन्दा नजिते गाह्रो हुन्छ भन्दै खुला छोडिदिन सक्छन् । जसले जित्छ, त्यही मेरो मान्छे भनेर बोल्न सक्छन् ।
सकभर उनको चाहना श्रीमतीलाई उत्तराधिकारी बनाउने हुन्थ्यो । उनलाई उत्तराधिकारी बनाएर जिताउन सक्ने सम्भावना अहिलेको अवस्थामा देखिन्न । कसैलाई श्रीमतीलाई एडजस्ट गर्न भनेर सहयोग गर्दा पनि गाह्रो हुन सक्छ । त्यसैले आफ्नो उम्मेदवार नबनाएर जसले जित्छ, ऊ नै मेरो उत्तराधिकारी भन्न सक्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९९ वर्षमा आँखाको ज्योति फर्किएपछि...
-
ऋषभ पन्तको ज्यान बचाउने व्यक्ति अहिले जीवन र मृत्युको दोसाँधमा
-
ला लिगामा गेटाफेले गिरोनालाई हरायो
-
कार्यसम्पादनमा कालिगण्डकी गण्डकीकै सर्वोत्कृष्ट, हिमाली जिल्लामा नार्पाभूमि उत्कृष्ट
-
महिला प्रिमियर लिग : साबिक विजेता बेंगलुरुको कीर्तिमानी जित
-
महाकालीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल