शनिबार, ०३ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रणय दिवस

तीन प्रकारका प्रेम : उत्तम, मध्यम र नीचतम

शुक्रबार, ०२ फागुन २०८१, १२ : २६
शुक्रबार, ०२ फागुन २०८१

प्रणय दिवस वा प्रेम दिवस (भ्यालेन्टाइन डे) १४ फेब्रुअरीमा विश्वभर मनाउने गरिएको छ । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ ।

तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले सैनिक सेवा प्रभावित हुने ठानेर सिपाहीहरुलाई प्रेम र विवाह गर्न दिएनन् । भ्यालेन्टाइनले भने सम्राट्को यस्तो निर्णयलाई धर्मविरुद्ध भन्थे । उनको बुझाइ थियो— अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । 

भ्यालेन्टाइनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन्, युवायुवतीका जोडी तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई.पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा ‘भ्यालेन्टाइन डे’ मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवका रूपमा मनाउने गरिन्छ ।

प्रेम शब्द आफैँमा अर्थपूर्ण, अनमोल अनि निकै गहन छ, फेरि पनि कसले कसरी बुझ्ने, कस्तोलाई माया भनेको कस्तो हुन्छ गहनतम् अध्ययन जरुरी पक्कै पनि छ । विशेष प्रेम शब्द सुन्नेबित्तिकै माया, मोह अनि जिन्दगी सम्झनेहरूको जमात मात्रै होइन, प्रेम शब्द सुन्नै नचाहनेहरू पनि कम छैनन् यहाँ ।

प्रणयको अर्थ प्रेम भावको निवेदन हो । एकले अर्कालाई म तिमीलाई प्रेम गर्दछु, तिमीले पनि मलाई प्रेम गर भन्ने निवेदन नै प्रणय हो । यस्तो प्रकारको निवेदन अर्को पक्षबाट स्वीकृत हुन्छ नै भन्ने अनिवार्य हुँदैन । किनभने होइन, यसमा मेरो चासो छैन वा म अरूसँगको प्रेममा परिसकेको छु भन्ने प्रत्युत्तर पनि प्राप्त हुने सम्भावना हुन सक्छ । यस प्रकारको प्रेमको प्रारम्भ पनि प्रेम नै हो तर सच्चा प्रेमले भने निवेदन वा दिवसको औपचारिक तालको प्रतिक्षा गर्दैन । किनभने– प्यार किया नहीं जाता, हो जाता है ।

मानिसको इच्छा हुन्छ कि आफूलाई मन परेको कुनै व्यक्ति सधैँ आफ्नो नजिक रहोस् । एक–अर्कालाई मन पराउनेहरुले एक–अर्कालाई खुसी राख्न प्रयत्न पनि गर्छन् । मानिसमा उत्पन्न हुने यस प्रकारको भावलाई प्रेमको संज्ञा दिन सकिन्छ ।

साहित्यको सर्वश्रेष्ठ विषय रहेको छ प्रेम । प्रेमलाई अनेक नाम दिइएको छ तर प्रेमलाई सही ढंगले परिभाषित गर्न कुनै पनि नाम भने पर्याप्त साबित हुन सकेको छैन ।

प्रेम नै जीवनको सार हो । प्रेमबिना जीवन निरस हुन्छ । प्रेम संसारकै मूल सम्बन्ध हो । प्रकृति र उत्पत्तिबिचको सम्बन्ध हो । प्राणी–प्राणीबिचको सम्बन्ध हो । संसारमा प्रेमभन्दा ठुलो शक्ति (योग) अरू केही छैन । सिंगो संसार नै, यसको लागि प्रयत्न र संघर्ष गरिरहन्छन् । यस्तो देखिन्छ कि यदि संसारमा कुनै आधारभूत रचनात्मक शक्ति छ भने, त्यो केवल प्रेम हुनेछ र जसले प्रेम गर्न सिक्दैन, उसले कहिल्यै अरूको, अर्थात् जसलाई ऊ प्रेम गर्दछ, उसको प्रेमको अनुभूति गर्न सक्दैन । 

जुन प्रेम केवल स्वार्थी मनसायले गरिएको हुन्छ, त्यसलाई नीचतम प्रेम भनिएको छ । पुरुष र महिला प्राणीहरू बिचको पारस्परिक स्नेह, जुन प्रायः तिनीहरूको सुन्दरता, गुणहरू, प्रकृति, निकटता वा यौनेच्छाको कारणले हुन्छ, नीचतम् प्रेमका उदाहरण हुन् ।

प्रकृतिका सबै गुणहरू प्रेममा निहित छन्, त्यसैले प्रेम नै ईश्वर (शाश्वत) को वास्तविक अभिव्यक्ति पनि हुन पुग्छ । भनिन्छ, मानिसले ईश्वरलाई प्राप्त गर्न सक्ने एक मात्र माध्यम प्रेम हो । 

‘प्रेम’ शब्द संस्कृत भाषाबाट उत्पन्न भएको हो । ‘प्रेम’ शब्दको अर्थ गहिरो स्नेह, अनुराग, वा गाढा माया भन्ने हुन्छ । संस्कृतबाटै ‘प्रेम’ शब्द हिन्दी, नेपाली, बंगाली, मराठीजस्ता भाषामा प्रचलित भयो । यस शब्दलाई विभिन्न धार्मिक, दार्शनिक र साहित्यिक ग्रन्थमा प्रयोग गरिएको पाइन्छ, जसले यसको गहिरो भावनात्मक र आध्यात्मिक अर्थलाई झल्काउँछ ।

अचेल नेपाली समाजमा पनि प्रेमको नाममा देखिन थालेको विशेष दिवसको चहलपहलको मूल भावसम्म पुग्न खोज्ने हो भने आवरणमा प्रेम भनिए पनि अन्तस्थलमा गृहस्थीको ध्येय रहेको पाइन्छ ।

गृहस्थी नै संसारको मूल चरित्र हो । संसारको प्रत्येक समाजमा आदि कालदेखि नै घरजम गर्ने चलन छ । घर–गृहस्थी पनि प्रेम र दाम्पत्यको जगमा उभिएको हुन्छ । परिवार प्रेमको एक आयाम हो । दाम्पत्यको प्रारम्भ पनि प्रेमबाटै हुन्छ । तर यस्तो प्रेम दाम्पत्यको अर्को पाइलामा गएर एउटा अंशमा सीमित हुन पुग्छ । त्यसैले दाम्पत्य जीवनको आकांक्षा लिएर गरिने प्रकटीकरणमा प्रेमलाई सीमित गर्न सकिँदैन । यस्तो प्रेम गर्ने प्रत्येकलाई परम प्रेममा मग्न हुने अवसर रहेकै हुन्छ र त्यसमध्ये कतिपय त्यस प्रेमको सागरमा डुब्न पनि पुग्छन् । 

परम शुद्ध र विस्तृत अर्थमा प्रेम ईश्वरकै एक रूप मानिन्छ । त्यसैले अधिकांश धर्मका अनुसार प्रेम नै ईश्वर अथवा परम धर्म भनिएको छ । हाम्रा शास्त्रमा प्रेमलाई शाश्वत र अनिवर्चनीय भनिएको छ र त्यसलाई समर्पणको रूपमा मोक्षप्राप्तिको साधन मानिएको छ । योगी, संन्यासी, भिक्षु आदि मुमुक्षुहरूका लागि शुद्ध प्रेमभावकै विधान छ । गृहप्रेम त्यागेर एक भिक्षु प्रकृति प्रेममा विरत हुन पुग्छ ।

  • तीन प्रकारका प्रेम

शास्त्रहरूमा र विशेष गरी वैष्णव साहित्यमा प्रेमका धेरै प्रकार वर्णन गरिएको छ । साहित्यमा तीन प्रकारका प्रेम वा स्नेहलाई मान्यता दिइएको छ ।

१) उत्तम प्रेम : सधैँभरि उस्तै रहने प्रेमलाई ‘उत्तम प्रेम’ मानिएको छ । भगवान्प्रति भक्तको प्रेम, यसको उदाहरण हो । 

२) मध्यम प्रेम : कारणबिनाको प्रेम मध्यम प्रेम हो । साथीहरूको प्रेम, यस्तो प्रेमको उदाहरण हो ।

३) नीचतम प्रेम : जुन प्रेम केवल स्वार्थी मनसायले गरिएको हुन्छ, त्यसलाई नीचतम प्रेम भनिएको छ । पुरुष र महिला प्राणीहरू बिचको पारस्परिक स्नेह, जुन प्रायः तिनीहरूको सुन्दरता, गुणहरू, प्रकृति, निकटता वा यौनेच्छाको कारणले हुन्छ, नीचतम् प्रेमका उदाहरण हुन् । माया पनि एक प्रकारको प्रेम हो । यसका प्राकृतिक र अप्राकृतिक अनेक उदाहरण छन् । 

प्रेमलाई सांसारिक र अलौकिक दृष्टिले पनि विभाजित गरिन्छ । दुवै प्रकृतिको प्रेमको महत्त्व छ र मानिसको जीवनसँग अभिन्न रूपमा जोडिएर रहन्छ । फरक यति मात्र हो कि सांसारिक प्रेम क्षणिक र मनोरञ्जनका साधन हुन् भने अलौकिक प्रेम शाश्वत र परमार्थ प्राप्तिका साधन हुन् । 

हाम्रा आफ्नै प्राचीन/अर्वाचीन लोककालका युग–युगादि आख्यान, संस्कृति, प्रथा, परम्परा, रीति–तिथि, लोकगीत, गाथा, नाटक र साहित्यका अनेक विधामा सांसारिक र अलौकिक प्रेम अर्थात् प्रेम–कथाका अनेकानेक वर्णन विद्यमान छन् । प्रेम–कथाका पौराणिक तथा लौकिक नायक र नायिकाहरूको एकसे एक रोमाञ्चक, साहसिक र मार्मिक भूमिकाले प्रेमका अनेक आयाम प्रस्तुत गरेका छन् ।

भगवान शिवको सती र पार्वतीसितको प्रेम र विरह विशाल पुराणको रूपमा विख्यात छ । शिव र पार्वतीको प्रेममा सांसारिक र अलौकिक दुवै प्रकृतिको प्रेमको अनुभूति छ । शिव–पार्वती प्रेमको उत्कर्षमै शिवरात्रि महापर्वको परम्परा स्थापित भएको छ । शिवरात्रिको प्रेम सागरमा डुबुल्की लगाउने हो भने अन्य कुनै पनि प्रकारको प्रेम दिवस अर्थहीन हुन पुग्छ ।

सौर्य अनलाइनमा प्रा.डा. बद्री विशाल पोखरेल लेख्नुहुन्छ, ‘पूर्वीय सभ्यता, धर्म र संस्कृति संसारमा सर्वप्राचीन रहेको छ । यही संस्कृतिमा उदात्त तथा उन्नत प्रणय चेत, चिन्तन र व्यवहार पाइन्छ । शिव र पार्वतीका बिचको सर्वप्राचीन प्रेम वा प्रणय चेतको बहुआयामिक अर्थ आशय र सार पूर्ण सन्देश सन्निहित छ । यहाँ महिलाको स्वत्व समेत सुरक्षित रहेको छ । हामी भने कतिपय हाम्रै मूल्यवान् तथा महिमाशाली पक्षलाई उचित महत्त्व दिइरहेका छैनौँ । पश्चिमा संस्कृतिका पछि लहैलहैमा लागेर आफ्नो भौलिक पक्षलाई भावी पुस्तालाई हस्तान्तरण गर्ने कलाका दृष्टिले अत्यन्त कमजोर छौँ ।’

त्यस्तै राम–सीता र राधा–कृष्णदेखि दमयन्ती–नलसम्मका अनेकौँ प्रेमकथा जगप्रसिद्ध छन्, युग–युगान्तरसम्म संसारका लागि प्रेरणादायी रहनेछन् । राधा–कृष्ण प्रेम पाँच हजार वर्षदेखि यो संसारले प्रेमको सर्वोच्च गाथाको रूपमा भज्दै आएको छ । घटना र विचारमा बबिता बस्नेतले लेख्नुभएको छ– भगवान् श्रीकृष्णलाई कसरी चिन्ने ? कसरी सम्झने ? कृष्ण धर्म र स्वधर्मका व्याख्याता, गाउँले गोठालादेखि दरबारका राजासम्मको मनमा बस्न सक्ने सरल र सहज व्यक्तित्व, बौद्धिकताले भरिपूर्ण, तार्किक, रणनीतिक, गीत गाउने, मुरली बजाउने, गीत–संगीतका सोखिन, हजारौँ महिलाका मिल्ने साथी, राधाका प्रेमी । कृष्ण धेरैका लागि एउटा आशा, राधाका लागि मेरो प्रेमी सधैँ मसँगै छ भन्ने एउटा आभास, कृष्ण एउटा लीला, नाच्ने, गाउने, हाँस्ने, हसाउने, गम्भीरतादेखि रमाइलोसम्म एउटा पूर्ण मान्छे, कृष्ण निरन्तर चलिरहने समय । राधा–कृष्णको प्रेम मात्र एक पूर्ण उदाहरण हो, जसमा प्रेमको उपस्थिति मात्र छ, त्यसको अतिरिक्त अर्को कुनै भाव छैन ।

(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दक्खल राख्छन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अजयकुमार झा
अजयकुमार झा
लेखकबाट थप