शनिबार, ०३ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शिखर धवनसँगै सरफराज अहमद, शेन वाट्सन र टिम साउथी सद्‌भावनादूत नियुक्त

शुक्रबार, ०२ फागुन २०८१, १० : ४८
शुक्रबार, ०२ फागुन २०८१

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताका लागि चारजना सद्‌भावनादूतको घोषणा गरेको छ । च्याम्पियन्स ट्रफीको नवौँ संस्करण फेब्रुअरी १९ तारिखदेखि पाकिस्तान र यूएईमा आयोजना हुँदैछ ।

आईसीसीले प्रतियोगिताका लागि भारतका पूर्वखेलाडी शिखर धवनलाई पनि सद्‌भावनादूत नियुक्त गरेको छ । आफ्नो समयका प्रभावशाली खेलाडी शिखर धवन केही समयअघि नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौँ पनि आएका थिए । 

यसका अतिरिक्त, आईसीसीले आयोजक पाकिस्तान, अस्ट्रेलिया र न्युजिल्यान्डका एक–एक खेलाडीलाई पनि सद्‌भावनादूत नियुक्त गरेको छ । पाकिस्तानका सरफराज अहमद, अस्ट्रेलियाका शेन वाट्सन र न्युजिल्यान्डका टिम साउथी च्याम्पियन्स ट्रफीका लागि सद्‌भावनादूत नियुक्त भएका हुन् । 

सरफराज अहमतकै कप्तानीमा पाकिस्तानले सन् २०१७ मा च्याम्पियन्स ट्रफी जितेको थियो । च्याम्पियन्स ट्रफीको सद्‌भावनादूत नियुक्त भएपछि शिखर धवनले खुसी व्यक्त गरेका छन् ।  ‘च्याम्पियन्स ट्रफीसँग जोडिन पाउनु आफैमा गौरवको विषय हो । सद्‌भावनादूत नियुक्त हुनेहरुका लागि यो ठुलो सम्मान पनि हो । म आफ्नो जिम्मेवारीलाई सफलतापूर्वक निर्वाह गर्नेछु,’ उनले भनेका छन् ।

शिखर धवनले च्याम्पियन्स ट्रफीको दुईवटा संस्करण खेलेका थिए । उनले सन् २०१३ र सन् २०१७ मा च्याम्पियन्स ट्रफीमा सहभागिता जनाएका थिए । उनले च्याम्पियन्स ट्रफीमा १० खेल खेल्दै कुल सात सय एक रन बनाएका छन् । 

उनले च्याम्पियन्स ट्रफीमा तीन शतक र तीन अर्धशतक प्रहार गरेका छन् । उनले सन् २०१३ को संस्करणमा तीन सय ६३ रन बनाएका थिए । उक्त संस्करणमा उनी प्लेयर अफ दि टुर्नामेन्ट पनि घोषित भएका थिए । सन् २०१७ को संस्करणमा पनि उनले तीन सय ३८ रन बनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप