बुधबार, ०७ फागुन २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : नेपालमा प्रतिलिपि अधिकार

गीतसंगीतमा कपीराइट उल्लंघन भयावह

शुक्रबार, ०२ फागुन २०८१, ०७ : ५८
शुक्रबार, ०२ फागुन २०८१

काठमाडौँ । केही वर्षअघि गायक प्रकाश सपुतले ‘गलबन्दी’ बोलको गीत सार्वजनिक गरे । गीतलाई एक महिनामै युट्युबमा झन्डै एक करोड ७० लाख बढीले हेरे । गीतमा सपुत र शान्ति श्री परियार स्वर रहेको थियो भने संगीत उनै सपुतको थियो । तर, गायक तथा संगीतकार शम्भु राईले गीतको लयलाई लिएर आपत्ति जनाउँदै कपीराइट लगाए । विवाद चर्किने देखिएपछि सपुतले यसलाई छलफलबाटै मिलाए ।

केहीअघि गायक प्रमोद खरेल र विन्ध्यवासिनी म्युजिक प्रालीबिच ‘प्रणय’ एल्बमको विवाद भएको थियो । अदालतमा समेत पुगेको यो खरेलले २०६७ सालमा सार्वजनिक गरेको उक्त एल्बमको बिक्री वितरण तथा प्रकाशन अधिकारको विषयमा थियो । गायक खरेलले विन्ध्यवासिनी म्युजिकलाई पाँच वर्षका लागि एल्बम दिएका थिए । तर, कम्पनीसँग गरेको पाँच वर्षको सम्झौता सकिएपछि एल्बम फिर्ता माग्दा नदिएकोमा कपीराइटको विषय अदालतमा परेको थियो ।

२०७४ मा प्रदर्शित सुवास गिरी र भुवन केसी निर्मित फिल्म ‘कृ’मा ‘सम्झना’ फिल्मको ‘उकालीमा अघिअघि’ बोलको गीत राखिएको थियो । बिनाअनुमति व्यावसायिक प्रयोजनका लागि गीत समावेश गरिएको भन्दै ‘सम्झना’का निर्माता तथा निर्देशक शम्भु प्रधानले कपीराइटको आरोप लगाउँदै प्रहरीमा उजुरी दिए । उजुरीमा ‘कृ’ले राम्रो व्यापार गरेको भन्दै फिल्मको कमाइको आधा रकम दाबी भएको थियो । विवाद सहमतिमा मिल्यो । प्रधानले निर्माता गिरीसँग मोटो रकम असुलेको चर्चा छ ।

अभिनेता विराज भट्टको फिल्म ‘साङ्लो’को गीत ‘झ्याम्मै आँखा झ्याम्मै...’ को शब्द आफ्नोबाट चोरियो भनेर ‘रुद्रप्रिया’का निर्देशक सुदीप भुपालले आरोप लगाएका थिए ।

गायक राजेश पायल राईले एक सांगीतिक रियालिटी सोमा प्रस्तुत गरेको गीत ‘निष्ठुरीलाई माया गरी आफैँलाई रोगी बनाएँ’लाई कलाकार मुरलीधरले आफ्नो गीत अनुमतिबिना प्रयोग गरेको आरोप लगाएका थिए ।

त्यस्तै कालीप्रसाद बास्कोटाको संगीत संयोजन रहेको ‘समाचार’ गीत कपि गरिएको पाइएको थियो । यस गीतमा संगीत बिक्की महतको ‘बुझाइदेउन’सँग मिलेको थियो ।

New Nepali Movie Song 2022  Melina Rai  Kiran Gajmer  Salon Basnet - 1280x720

मेलिना राई र किरण गजमेरको स्वरमा ‘हे दैव’ बोलको गीत युट्युबमा सार्वजनिक भएलगत्तै हट्यो । रमेश एमके पौडेलको शब्द र सुवास भुसालको संगीत रहेको गीत चोरीको आरोपपछि हटाइएको थियो ।

फिल्म ‘छक्कापन्जा–२’मा समावेश ‘नाइलनको साडीमा...’ बोलको गीत संगीतकार अल्मोडा उप्रेतीले तयार गरेका थिए । यो गीतमाथि पनि चोरीको आरोप लागेको थियो ।

त्यस्तै २०७४ सालमा निर्मित फिल्म ‘शत्रु गते’को ‘रूपै मोहनी...’ बोलको गीतलाई पनि चोरीको आरोप लागेको थियो । उक्त गीत टंक बुढाथोकीले आफ्नोबाट चोरी गरेका लोकगायक कुमार बस्नेतले आरोप लगाएका थिए ।

Dubo Phulyo  KABADDI KABADDI KABADDI - Movie Song  Dayahang Rai, Upasana Singh, Karma, Wilson - 1280x720

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को गीत ‘दुबो फुल्यो’सँग संगीतकार आलोक श्रीको ‘फोटो सिरानी’ बोलको गीतको लय मिलेपछि विवाद निम्तिएको थियो । उक्त विवाद पनि आपसी समझदारीमा मिलेको थियो । 

गीत ‘सिमसिमे पानीमा’को प्रतिलिपि अधिकार प्रेमराजा महतमा भएको दाबी गरिए पनि गायिका रेखा शाहले गीतको मौलिक सर्जक आफू भएको भन्दै रेडियो नेपालमा निवेदन दिएकी थिइन् ।

माथि उल्लिखित यस्ता घटना कपीराइट अर्थात् प्रतिलिपि अधिकार¬का प्रतिनिधिमूलक विषय हुन् । जुन नेपाली गीत संगीतको क्षेत्रमा बेलाबेलामा देखा पहिरन्छन्। नेपाली सांगीतिक क्षेत्रमा यस्ता खाले विवाद निम्तिरहेका छन् देखिन्छन् । 

गीतकार लोकराज अधिकारी गीतसंगीतमा कपीराइटको अवस्था भयावह देखिएको बताउँछन् । ‘अहिले मात्र होइन, पहिला पनि अवस्था भयावह थियो’, अधिकारी भन्छन्, ‘यसमा पहिले चासो कम हुन्थ्यो, अहिले बढी हुने गरेको छ ।’ उनका अनुसार पछिल्ला दिनमा सर्जकले आफैले संस्था सच्चाउँदा कपीराइटको विषय बढी देखिएको हो । उनी भन्छन्, ‘आफैँले संस्था चलाउन थालेपछि बल्ल कपीराइट के हो भनेर उनीहरूले बुझ्न थालेका छन् ।’

प्रतिलिपि अधिकार रजिस्ट्रार कार्यालयका पूर्वरजिष्ट्रार बिसुकुमार केसी यस्तो अवस्था बाहिर धेरै देखिए पनि बुझाइ भने अझै कम रहेको बताउँछन् । सर्जकले यस विषलाई राम्रोसँग नबुझेको उनको भनाइ छ । ‘थाहा नुहँुदा त भयावह अवस्था छ भने थाहा भयो भने के होला ?’ उनी भन्छन्, ‘कति कपीराइटका विषय त जानकारी नभएर बाहिर आएकै छैनन् ।’ 

  • के हो कपीराइट ?

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारका अनुसार साहित्य, कला, ज्ञानविज्ञान, सूचनाप्रविधि तथा अन्य क्षेत्रमा मौलिक एवं बौद्धिक रूपले सिर्जना गरिएका रचना तथा ध्वनिअंकन, प्रस्तुति र प्रसारणजस्ता क्षेत्रमा स्रष्टालाई कानुनद्वारा प्रदान गरिने एकलौटी अधिकारलाई प्रतिलिपि अधिकार भनिन्छ । 

रचनाको उत्पादन, पुनरुत्पादन, सर्वसाधारणमा प्रसार, अनुकरण, संयोजन, अनुवाद, परिमार्जन तथा संशोधन गर्न पाउने स्रष्टाको समुच्च अधिकार नै प्रतिलिपि अधिकार हो । अर्थात् कपीराइट भनेको कसैको सिर्जना अरूले प्रयोग गर्ने अधिकार हो । धेरैजसो अवस्थामा कपीराइटको अधिकार त्यसको सर्जकसँग हुन्छ । त्यसलाई प्रयोग गर्न अनुमति आवश्यक पर्छ ।

red-points-blog-copyright-infringement

  • कसरी लाग्छ कपीराइट ?

१) प्रतिलिपि अधिकारधनीको मञ्जुरी वा सम्झौताविपरीत आफ्नो हक नपुग्ने रचना वा ध्वनिअंकनको उत्पादन गर्ने, बिक्री वितरण गर्ने, भाडामा दिने वा नक्कल गरी प्रचारप्रसार गर्ने कार्य गरिँदा ।

२) अर्काको रचनाको भाषा वा स्वरूप परिवर्तन गरी आर्थिक लाभ उठाउने वा त्यस्ता सामग्री आयात गर्ने कार्य गरिँदा ।

३) विज्ञापन वा अन्य कुनै माध्यमबाट पाठक, दर्शक वा स्रोतालाई अर्कै रचना हो भन्ने भान पार्ने कुनै कुरा निर्माण गरी फाइदा उठाउने कार्य गरिँदा ।

४) अनधिकृत पुनरुत्पादन गर्न सहयोग गर्ने कार्य गरिँदा ।

५) सांकतिक भाषाका गोप्य कार्यक्रम हेर्न मद्दत गर्ने उपकरण आयात तथा उत्पादन गरी बिक्रीवितरण गर्ने कार्य गरिँदा । 

  • गीतसंगीतमा कसरी लाग्छ कपीराइट ?

नेपालमा सबैभन्दा बढी कपीराइटका मुद्दा र घटना गीतसंगीतमा हुने गरेका देखिएका छन् । गीतको शब्द, संगीत, स्वरदेखि आर्थिक अधिकारसम्म कपीराइट लागेका छन् । तर, बाहिर आउने भनेको शब्द, संगीत (लय) र आर्थिक अधिकार बढी हुन् ।

  • के हो कपीराइट शब्द ?

कसैले सिर्जना गरेको गीतका शब्दलाई सर्जकको बौद्धिक सम्पत्ति भनिन्छ । ती शब्दहरू सर्जकले आर्थिक कारोबार गर्र्दै निर्मातालाई दिए पनि त्यसको आर्थिक अधिकार निर्मातामै रहन्छ । अर्थात् बौद्धिक अधिकार सर्जकमै रहन्छ । सर्जकको गीतका शब्दसँग हुबहु मिलाएर अर्काेले गीतमा लेखेर राख्यो भने त्यो अवस्थामा शब्दमा कपीराइट लाग्छ ।

हुन त शब्द कसैको पेवा होइन । तर गीतमा एक/दुई शब्दभन्दा पनि शब्द प्रयोग गरेर लयात्मक बनाइएको अवस्थामाचाहिँ कपीराइट लाग्छ ।

गीतकार लोकराज अधिकारी कसैको गीतको वाक्यसँग अर्को गीतको वाक्य मिल्न गयो भने कपीराइट हुने बताउँछन् । ‘जस्तै : प्रेम भन्ने शब्दमा कपीराइट लागेन । यो शब्द जसले पनि प्रयोग गर्न पायो । तर, प्रेमको माला पहिर्‍याइदिएँ भनेर कसैले शब्द बनायो भने त्यसमा कपीराइटको अवस्था सिर्जना हुन्छ’, नारायण गोपालले गाएको यस गीतको उदाहरण दिँदै अधिकारीले बुझाए । 

basanta-bityasi-thapa

गीतमा हरेक मानिसहरूको शब्दको संयोजन गर्ने आआफ्ना तरिका हुन्छन् । एउटा व्यक्तिले शब्दहरूको संयोजन गरेर बनाएको वाक्य अर्कोसँग मिल्दैन । यदि मिलाएर बनाउँछ भने त्यसमा बौद्धिक सम्पत्ति हननको कपीराइट लाग्ने गीतकार संघका अध्यक्ष वसन्त बित्यासी थापा बताउँछन् । ‘हामीले गीत लेख्दा जुन लयात्मक रूपमा लेख्छौँ । त्यो एक प्रकारको सिर्जना हो । त्यो बौद्धिक सम्पत्तिमा पर्छ’, थापा थप्छन्, ‘शब्द मिल्न सक्छ, हरफ मिल्नु भएन ।’

गीतमा हरफ–हरफ अर्काेसँग मिल्यो भने त्यसलाई चोरी भनिन्छ । त्यो अवस्थामा कपीराइट जागृत हुने थापा बुझाउँछन् ।

उदाहरणको रूपमा गायिका मेलिना राई र गायक किरण गजमेरको स्वर रहेको गीत ‘हे दैव’ र फिल्म ‘साङ्लो’को गीत ‘झ्याम्मै आँखा झ्याम्मै...’बोलको गीतको विवादलाई लिन सकिन्छ । यी दुवै गीत अन्यसँग शब्द मिलेको भन्दै कपीराइट विवाद भएको थियो ।

  • संगीत कपीराइट के हो ?

संगीत भनेको लय र ताल दुवै हो । संगीत सिर्जना पनि प्रत्येक सर्जकअनुसार फरक हुन्छ । कसैले कुनै लय सिर्जना गर्छ भने त्यो उसको बौद्धिक सम्पत्ति हो । कुनै गीतको संगीत अर्काले आफ्नो सिर्जनामा प्रयोग गर्छ भने त्यसलाई संगीत कपीराइट लाग्छ ।

केही वर्षअघि गायक प्रकाश सपुत र शम्भु राईको ‘गलबन्दी’ गीतको विवाद यसकै उदाहरण हो । त्यस्तै कालीप्रसाद बास्कोटाको संगीत संयोजन रहेको ‘समाचार’ गीतको संगीत बिक्की महतको ‘बुझाइदेउन’सँग मिलेको भन्नु पनि संगीत कपीराइटको विवाद थियो । 

चर्चित संगीतकार सुरेश अधिकारी पढ्न सक्ने कुरो शब्द र सुनेर महसुस गर्ने कुरो संगीत भएको बताउँछन् । ‘त्यो सुनेर महसुस गर्ने कुरो पनि एउटै भयो भने त्यसमा कपीराइट लाग्छ’, सुरेश भन्छन्, ‘लय, ताल कसैसँग मिल्छ भने त्यो चोरी नै हो ।’

संगीतमा कपीराइटको अवस्था धेरै भएको र यस विषयमा बेलाबेलामा ठुला विवाद आइरहेको सुरेश बताउँछन् । उनी थप्छन्, ‘संगीतमा कपीराइट कम गर्न हरेकले अर्काको नचोर्ने, बरु आफ्नो क्रिएटिभिटी बढाउनुपर्छ ।’

संगीतकार महेश खड्का कुनै पनि संगीतकारले सिर्जना गरेको लयमा सम्पूर्ण अधिकार उसैकै रहने बताउँछन् । कसैले त्योसँग हुबहु मिल्ने बनाउँछ भने त्यो चोरेको ठहरिने उनको भनाइ छ । ‘संगीतमा कपीराइटको अवस्था निकै छ’, खड्काले भने, ‘कपीराइटको हनन राज्य, व्यक्ति, संस्था हरेक पक्षबाट भइरहेको छ ।’

  • आर्थिक कपीराइट पनि !

एउटा गीत बन्न धेरै पक्षको योगदान रहन्छ । विशेष गरी शब्द, संगीत र स्वर । संगीतलाई पूर्णता दिने काम भने लगानी गर्ने अर्थात् प्रोड्युसरले हो । गीतको आर्थिक अधिकार भन्नाले त्यो गीतबाट आर्थिक आयआर्जन गर्ने अधिकार हो भनेर बुझ्नुपर्छ ।

गीतसंगीतमा सबैभन्दा धेरै कपीराइट आर्थिक अधिकारमा भएको देखिन्छ । प्रस्तोतादेखि संगीतकासम्मले प्रोड्युसरको आर्थिक अधिकार हनन गरेका भेटिएका छन् । उसको अनुमतिबिना प्रस्तोता तथा संगीतकारले आर्थिक आर्जनका लागि गीत प्रयोग गर्न पाउँदैनन् । सुवास गिरी र भुवन केसी निर्मित फिल्म ‘कृ’ मा ‘सम्झना’ फिल्मको ‘उकालीमा अघि अघि’ बोलको गीतको प्रयोगलाई उदाहरणका रूपमा हेर्न सकिन्छ । आफ्नो अनुमतिबिना फिल्ममा व्यावसायिक प्रयोजनका लागि उक्त राखिएको भन्दै सम्झनाका निर्माता शम्भु प्रधानले आर्थिक कपीराइट हननको उजुरी दिएका थिए । गायक प्रमोद खरेल र बिन्ध्यावासी म्युजिकको ‘प्रणय’ एल्बम विवाद पनि यस्तै हो ।

प्रोड्युसरको गीत प्रयोग गरेर कसैले पनि आर्थिक आम्दानी गर्न नमिल्ने गायक तथा सर्जक कस्तुप पन्त बताउँछन् । नेपालमा आर्थिक अधिकारको कुरो अत्यन्त गन्जागोल छ’, उनी भन्छन्, ‘एउटा सिर्जना तयार हुन निर्माता चाहिन्छ । निर्माताको लगानी भएको सिर्जना प्रयोग गरेर अर्काेले आम्दानी गरिरहेको छ ।’ 

प्रोड्युसरको लगानीमा तयार भएको त्यही गीत पनि प्रस्तोता (गायक गायिका) वा अन्य गायक गायिकाले प्रयोग गर्न अनुमति चाहिने उनी धारणा राख्छन् । 

म्युजिक कम्पनी हाइलाइट्स नेपालका जनक तामाङ पनि गीतसंगीतमा आर्थिक आम्दानी गर्ने पहिलो अधिकार निर्मातामा हुने बताउँछन् । ‘कुनै पनि निर्माताले आफूले उत्पादन गरेको गीतसंगीतको आर्थिक अधिकारसहित म्युजिक कम्पनीलाई दियो भने त्यो कहाँ कहाँ, कसरी प्रयोग गरेर आम्दानी गर्ने अधिकार म्युजिक कम्पनीको हुन्छ’, तामाङ भन्छन्, ‘त्यो गीत प्रस्तोताले प्रयोग गरेर आम्दानी गर्न पाउँदैन, गर्नुपरे कम्पनीसँग अनुमति लिनुपर्छ ।’ 

janak tamange

नेपाली गीतसंगीतमा अर्काको आर्थिक अधिकार भएको गीत अनुमति लिने संस्कार विकासको जरुरी भएको तामाङ बताउँछन् । ‘अहिले यस विषयमा व्यापक कुरा उठ्न थासिकेको छ । विस्तारै प्राक्टिक्समा आउँछ’, उनले थपे ।

  • प्रतिलिपि अधिकार कसरी जोगाउने ?

नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयले प्रतिलिपि अधिकार संरक्षणका लागि रचना दर्ता गर्ने व्यवस्था गरेको छ । जसका लागि कुनै प्रतिलिपि अधिकारयुक्त वस्तुको अधिकारधनीले आफ्नो अधिकारको संरक्षणका लागि रचनाको दर्ता गर्दा प्रतिलिपि अधिकार नियमावली, २०६१ को अनुसूची १ बमोजिम नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा रु. ५ को टिकट टाँसी निवेदन दिनुपर्ने व्यवस्था छ । 

पेस गरिएको रचना दर्ता गर्न योग्य पाइएमा आवश्यक कागजातसहित निवेदन प्राप्त भएको मितिले ३५ दिनभित्र दर्ता गरी सम्बन्धित अधिकारधनी व्यक्ति वा संस्थालाई प्रमाणपत्र प्रदान गरिन्छ ।

  • कपीराइटमा के छ सजाय ?

१) कसुरको मात्राअनुसार कम्तीमा १० हजारदेखि एक लाखसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै प्रतिलिपि अधिकार ऐन, २०५९ मा व्यवस्था गरिएको छ ।  सोही कसुर दोस्रो पटक गरे २० हजारदेखि दुई लाखसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने र प्रयोग गरिएका सामग्रीहरू जफत हुनेछन् भनी उल्लेख गरिएको छ ।

२) प्रतिलिपि अधिकारधनीलाई परेको हानि/नोक्सानीको क्षतिपूर्ति उल्लंघन गर्ने व्यक्तिबाट भराइदिनुपर्छ । प्रतिलिपि अधिकार उल्लंघनको घटना वा मुद्दामा नेपाल सरकार वादी हुन्छ । सोको अनुसन्धान एवं तहकिकात कम्तीमा प्रहरी निरीक्षकबाट हुनुपर्छ भने मुद्दाको कारबाही र किनारा गर्ने अधिकार सम्बन्धित जिल्ला अदालतलाई हुन्छ । 

  • अदालत नै जाँदैन कपीराइटका विषय

गीतसंगीतमा कपीराइट हनन विषयले बेला बेलामा सांगीतिक क्षेत्र तात्ने गर्छ । तीमध्ये धेरै छलफलबाट मिल्छन् । कतिपय कानुनी प्रक्रिया झन्झटिलो भन्दै केही त्यसै हराउँछन् । कमै मात्र कानुनी प्रक्रियामा जाने गरेका छन् । 

कपीराइटको विषयमा स्पष्ट कानुनी व्यवस्था भए पनि धेरै मानिस प्रक्रियामै जान नचाहने गरेका प्रतिलिपि अधिकार रजिस्ट्रार कार्यालयका पूर्वरजिस्ट्रार बिसुकुमार केसी बताउँछन् । ‘हाम्रा कपीराइटका अभियन्ताहरू यस विषयमा आफू चाहिँ लाग्दैनन्, राज्यले मुद्दा गरोस् भन्ने सोच राख्छन्’, केसीले भने, ‘कसैले उजुरी नदिएसम्म त राज्यले थाहा पाउँदैन नि ।’ 

साथै कतिपय स्रष्टाहरू उजुरी गर्न पन्छिने गरेका पनि उनले बताए। 

धेरैजस्ता यस्ता विवाद मिलापत्रबाट हुने गरेका अधिवक्ता दीपकराज जोशी बताउँछन् । ‘इस्युहरू धेरै आउँछन् । सबै एग्रेसिप भएर मुद्दामै गएका देखिँदैन’, जोशीले भने । मेलमिलाप हुनै नहुँदा मात्र अदालत जाने गरेको देखिएको जोशी खुलाउँछन् । भन्छन्, ‘अदालतमा पनि मिलापत्रमा जोड दिइएकाले यतिकै टुंग्याउने गरेको थुप्रै केसहरू छन् ।’  

  • कपीराइटका लागि ऐनमा के छ ?

प्रतिलिपि अधिकार उल्लंघन भएमा अधिकारधनीले आफूलाई परेको मर्का नेपाल प्रहरीमा जाहेरी दिएर सरकारी वकिलमार्फत जिल्ला अदालतमा मुद्दा दिन सकिने कानुनी व्यवस्था छ । 

प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यस्तो अधिकार उल्लंघन भएमा थाहा पाएको मितिले तीन महिनाभित्र उजुरी दिनुपर्छ । तर, यस्तो उजुरीमाथि सरोकारवालाहरूलाई बोलाएर प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयले समाधान गर्ने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप