बुधबार, ०७ फागुन २०८१
ताजा लोकप्रिय
आईसीसी च्याम्पियन्स ट्रफीको इतिहास

कीर्तिमानहरूको ओइरो लागेको र अस्ट्रेलियाले पहिलोपटक उपाधि कुम्ल्याएको पाँचौँ संस्करण

शुक्रबार, ०२ फागुन २०८१, ०७ : ३०
शुक्रबार, ०२ फागुन २०८१

काठमाडौँ । इङ्ल्यान्डबाट फर्किए आईसीसी च्याम्पियन्स ट्रफीको पाँचौँ संस्करण पुनः दक्षिण एसियामै आइपुगेको थियो  । यो संस्करण सन् २००६ अक्टोबर ७ देखि नोभेम्बर ५ तारिखसम्म भारतमा आयोजना भएको थियो । यो संस्करणमा टोलीको सङ्ख्या घटाएर १२ बाट १० मा झारिएको थियो ।

प्रतियोगितामा आयोजक भारतका अतिरिक्त अस्ट्रेलिया, दक्षिण अफ्रिका, पाकिस्तान, न्युजिल्यान्ड, इङ्ल्यान्ड, श्रीलंका, वेस्ट इन्डिज, जिम्बाबे र बंगलादेशको सहभागिता रहेको थियो । यो संस्करणमा प्रतियोगिताको ढाँचामा समेत केही परिवर्तन गरिएको थियो ।

श्रीलंका, वेस्ट इन्डिज, बंगलादेश र जिम्बाबेलाई एउटै समूहमा राखेर पहिले छनोट चरण खेलाइएको थियो । छनोट चरणमा सहभागी चारवटै राष्ट्र एक–अर्कासँग एक–एक खेल खेलेका थिए । त्यसपछि तालिकाको माथि रहने दुई टोली मुख्य प्रतियोगिताको समूहगत चरणमा पुग्ने प्रावधान राखिएको थियो । 

छनोट चरणको खेलपछि तालिकामा श्रीलंका पहिलो र वेस्ट इन्डिज दोस्रो हुँदै मुख्य प्रतियोगिताको समूहगत चरणमा पुगेका थिए । आफूले खेलेको तीनवटै खेलमा जित हात पारेको श्रीलंकाले ६ अंक र तीनमध्ये दुई खेलमा जित हात पारेको वेस्ट इन्डिजले चार अंक जोडेका थिए ।

छनोट चरणको खेलमा बंगलादेशले तीनमध्ये एक खेलमात्र जित्न सक्यो भने जिम्बाबे तीनवटै खेलमा पराजित भएको थियो । त्यसपछि मुख्य प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो ।

67994

मुख्य प्रतियोगिताको समूह ‘ए’ मा अस्ट्रेलिया, वेस्ट इन्डिज, भारत र इङ्ल्यान्ड रहेका थिए । समूह ‘बी’ मा भने दक्षिण अफ्रिका, न्युजिल्यान्ड, श्रीलंका र पाकिस्तान परेका थिए । दुबै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्ने प्रावधान रहेको थियो ।

सोही प्रावधान अनुरूप समूह ‘ए’ बाट अस्ट्रेलिया पहिलो र वेस्ट इन्डिज दोस्रो हुँदै सेमिफाइनलमा प्रवेश गरेका थिए । तीनमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको अस्ट्रेलियाले चार अंक जोडेको थियो । 

तीनमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको वेस्ट इन्डिजले पनि चार अंक नै बटुलेको थियो । तीनमध्ये एक खेलमा विजयी र दुई खेलमा पराजित भएका भारत र इङ्ल्यान्ड क्रमशः तेस्रो र चौथो हुँदै उपाधि होडबाट बाहिरिएका थिए ।

68088

यसैगरी, समूह ‘बी’ बाट दक्षिण अफ्रिका पहिलो र न्युजिल्यान्ड दोस्रो हुँदै सेमिफाइनलमा पुगेका थिए । दक्षिण अफ्रिका र न्युजिल्यान्डले तीनमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकाल्दै चार–चार अंक जोडेका थिए । दुई–दुइं अंक हात पारेका श्रीलंका र पाकिस्तान क्रमशः तेस्रो र चौथो हुँदै उपाधि होडबाट बाहिरिएका थिए ।

पहिलो सेमिफाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई ३४ रनले र दोस्रो सेमिफाइनलमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई ६ विकेटले हराएका थिए । त्यसपछि फाइनल खेलमा वेस्ट इन्डिजलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा आठ विकेटले हराउँदै अस्ट्रेलियाले उपाधि चुमेको थियो । अस्ट्रेलियाले जितेको यो पहिलो च्याम्पियन्स ट्रफी उपाधि थियो ।

च्याम्पियन्स ट्रफीको पाँचौँ संस्करणमा वेस्ट इन्डिजका क्रिस गेल सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका थिए । उनले आठ खेलमा कुल चार सय ७४ रन बनाएका थिए । उनी यो संस्करणको एकै पालीमा सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । उनले दक्षिण अफ्रिकाविरुद्धको खेलमा अविजित एक सय ३३ रन बनाएका थिए । उनी प्रतियोगितामा कुल तीन शतक प्रहार गरेका थिए ।

68215

श्रीलंकाका उपुल थारंगाले ६ खेलमा कुल तीन सय २० रन बनाएका थिए । सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा अस्ट्रेलियाका डेमियन मार्टिन (२४१ रन) तेस्रो, वेस्ट इन्डिजका शिवनारिन चन्द्रपौल (२२२ रन) चौथो र श्रीलंकाका माहेला जयाबद्र्धने (१८८ रन) पाँचौँ स्थानमा रहेका थिए ।

यसैगरी, सर्वाधिक विकेट लिने बरको सूचिमा पनि वेस्ट इन्डिजकै जेरोम टेलर पहिलो स्थानमा रहेका थिए । उनले सात खेलमा कुल १३ विकेट लिएका थिए । यो सूचिमा श्रीलंकाका फरविज महरुफ दोस्रो स्थानमा रहे । उनले ६ खेलमा १२ विकेट लिए ।

सर्वाधिक विकेट लिने बलरको सूचिमा श्रीलंकाका लासिथ मालिंगा तेस्रो स्थानमा रहे । उनले ६ खेलमा ११ विकेट हात पारे । न्युजिल्यान्डका कायल मिल्स चौथो, अस्ट्रेलियाका ग्लेन म्याक्सवेल पाँचौँ र अस्ट्रेलियाका नाथन ब्राकेन छैटौँ स्थानमा रहे । उनीहरूले १०–१० विकेट लिएका थिए ।

396363

यो संस्करणमा जिम्बाबे आफूले खेलेको तीनवटै खेलमा पराजित भएको थियो । च्याम्पियन्स ट्रफीमा जिम्बाबेको यो लगातार नवौँ हार थियो । च्याम्पियन्स ट्रफीको इतिहासमा यसअघि कुनै पनि टोलीले लगातार नौ खेलमा हार व्यहारेको थिएन ।

यसैगरी, यही संस्करणपछि क्रिस गेल च्याम्पियन्स ट्रफीमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानका रूपमा दरिन पुगेका थिए । यो संस्करणपछि च्याम्पियन्स ट्रफीमा उनले बनाएको रन सङ्ख्या चार सय ७४ पुगेको थियो । 

यसैगरी, यो संस्करणमा बंगलादेशका साहरियर नाफिस च्याम्पियन्स ट्रफीको इतिहासमा शतक प्रहार गर्ने सबैभन्दा कम उमेरका ब्याट्सम्यान बनेका थिए । जिम्बाबेविरुद्धको खेलमा अविजित एक सय २३ रन बनाउँदा उनको उमेर २० वर्ष दुई सय ६१ दिन पुगेको थियो ।

यसैगरी, यो संस्करणमा जिम्बाबेविरुद्ध श्रीलंकाका उपुल थारंगा र कुमार सांगाकाराले तेस्रो विकेटका लागि एक सय ६५ रनको साझेदारी गरेका थिए । तेस्रो विकेटका लागि यो सबैभन्दा ठुलो साझेदारी थियो ।

यसैगरी, वेस्ट इन्डिजका ब्रायन लारा र रुनाको मोर्टनले अस्ट्रेलियाविरुद्ध पाँचौँ विकेटका लागि एक सय ३७ रनको साझेदारी गरेका थिए । कुनै पनि ब्याट्सम्यानले पाँचौँ विकेटका लागि गरेको यो सबैभन्दा ठुलो साझेदारी थियो ।

यसैगरी, यो संस्करणमा वेस्ट इन्डिजका बलर जेरोम टेलरले ह्याट्रिक विकेट लिएका थिए । उनले अस्ट्रेलियाविरुद्धको खेलमा ह्याट्रिक गरेका थिए । च्याम्पियन्स ट्रफीको इतिहासमा कुनै पनि बलरले लिएको यो पहिलो ह्याट्रिक विकेट थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप