बुधबार, ०७ फागुन २०८१
ताजा लोकप्रिय
गोलार्द्ध

ट्रम्प र पुटिनको ‘युक्रेन शान्ति योजना’ले युरोप स्तब्ध

शुक्रबार, ०२ फागुन २०८१, ०७ : ००
शुक्रबार, ०२ फागुन २०८१

वासिङ्टन डीसी । महिनौँदेखि युरोपेली र युक्रेनीहरूले शान्तिको कामना गरिरहेका बेला अन्ततः युक्रेनमा शान्ति पुनर्बहाली हुने छाँट देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका लागि शान्तिको योजना ल्याएका छन् । तर, उनले अचानक घोषणा गरेको यो योजनाका कारण युक्रेनका मित्रराष्ट्रहरू भने ‘अक्क न बक्क’ भएका छन् । 

सत्ता सम्हाल्नुअघि नै रुस र युक्रेनको युद्ध समाप्त गर्छु भनेर ट्रम्पले बारम्बार भन्दै आएका थिए । सत्तामा आएको एक महिना पनि नपुग्दै उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भ्लोलोदिमिर जेलेन्स्कीसँग टेलिफोनमा कुरा गरेका  छन् । 

उता, अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले बेल्जियमको ब्रसेल्सस्थित नेटोको मुख्यालयमा भएको बैठकमा अमेरिकाको धारणा स्पष्ट पारेका थिए । यस क्रममा क्रिमिया र देशको पूर्वी भेगबाट रुसी सेनालाई धपाउने सम्भावना जेलेन्स्कीको नभएको र युक्रेनलाई सन् २०१४ अघिको स्थितिमा फर्काउन नसक्ने हेग्सेथले बताएका थिए । यो ‘मायावी लक्ष्य’लाई पछ्याएर दौडिरहँदा युद्ध लम्बिँदै मात्र जाने र यसले अझ धेरै पीडा निम्त्याउने उनको भनाइ थियो । 

यति मात्रै होइन, दोस्रो विश्वयुद्ध सकिएयता ऐतिहासिक रूपमा युरोपको सुरक्षाका लागि अमेरिकाले खेल्दै आएको भूमिका त्याग्ने र युरोपका सरकारहरू आफू र युक्रेनको सुरक्षाका लागि आफैं जिम्मेवार हुने चेतावनी पनि उनले दिएका थिए । 

GettyImages-872780694-scaled

हेग्सेथको अभिव्यक्तिलगत्तै ट्रम्पले यो नयाँ वास्तविकताबाट उम्कने कुनै पनि आशा नभएको बताए । ‘मैले भर्खरै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग लामो र अति नै सकारात्मक फोन वार्ता गरेँ,’ सामाजिक सञ्जालमा ट्रम्पले लेखेका थिए । तत्कालै आफ्नो टोलीले वार्ता सुरु गर्नेमा सहमति गरेको ट्रम्पले बताए । पुटिनसँग भएको वार्ताबारे आफूले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई पनि जानकारी गराएको उनले भने । 

युक्रेन युद्धमा लाखौँ मानिस मरिसकेको भन्दै ट्रम्पले आफू राष्ट्रपति भएको भए यस्तो नहुने बताए । उनले थपे, ‘यो युद्धमा लाखौँ मरिसकेँ, तर अब यसको अन्त्य हुनुपर्छ । थप ज्यान गुमाउनु हुँदैन !’ 

  • ‘जसरी पनि पार लगाऊ’

जेलेन्स्कीले एक्स (ट्विटर) मा एक पोस्टमा ट्रम्पसँगको कुराकानीलाई सार्थक भने । पुटिनसँग गरिएको छलफल ट्रम्पले आफूलाई सुनाएको बताए । ‘युक्रेनले भन्दा धेरै शान्तिको कामना यतिबेला कसैले पनि गरिरहेको छैन, अमेरिकासँग मिलेर हामीले रुसको आक्रमण रोक्ने र दिगो तथा भरपर्दो शान्तिका लागि कदम चाल्न थालेका छौँ । राष्ट्रपति ट्रम्पले भनेझैँ यसलाई जसरी पनि पार लगाऔँ,’ पोस्टमा उनले लेखेका छन् । 

हेग्सेथले युक्रेन वार्ताबारे दिएको विवरण र ट्रम्पको घोषणाबारे बताइरहँदा यसमा कसरी प्रतिक्रिया जनाउने भनेर युरोपेली कूटनीतिज्ञहरू अलमलमा परेका देखिन्थे । तीतो सत्य के हो भने अमेरिकाको नयाँ प्रशासनसँग ईयूको तहमा सम्बन्ध खराब बनेको छ । 

GettyImages-2198433849-1

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन देर लेयनले पनि तत्कालै यसमा कुनै टिप्पणी गरेकी छैनन् । ईयूको मुख्य कूटनीतिज्ञ काजा कालासले भने एक्समा एउटा पोस्ट गर्दै कुनै पनि वार्तामा युरोपको केन्द्रीय भूमिका हुने बताएका थिए । युक्रेनको स्वतन्त्र र भौगोलिक सार्वभौम सत्ता निःशर्त भएको र आफूहरूको मूल प्राथमिकता युक्रेनलाई बलियो बनाउने अनि उसलाई छिट्टै सुरक्षा प्रत्याभूति सुनिश्चित गर्नु भएको कालासले पोस्टमा लेखेका थिए । 

युरोपमा युक्रेनका अरू मित्रराष्ट्रले ट्रम्पको यो रवैया ठाडै अस्वीकार गर्नेछन् । युक्रेनमा शान्ति बहाली गर्ने योजना सीधै पुटिनसँग मिलेर बनाएको अनि युक्रेनका नेतालाई यो योजनामा पछि मात्रै समावेश गरेको देख्दा उनीहरूलाई चित्त नबुझ्ने निश्चितप्रायः छ । 

आफूहरूले सधैँ युक्रेनको संलग्नताबिना युक्रेनबारे कुनै पनि निर्णय गरिन्नँ भन्दै आएको जर्मनीका विदेशमन्त्री एन्नालिना बेयरबकले पत्रकारहरूलाई भनेकी थिइन् । सबै जना मिलेर मात्रै शान्ति हासिल गर्न सकिने अनि यसको अर्थ यो युक्रेन र युरोपको साथमा मात्रै सम्भव भएको उनको भनाइ थियो । कुनै पनि शान्ति वार्तामा युक्रेनी एजेन्सी अति नै अहम् भएको पोलिटिकोसँग बोल्ने क्रममा लात्भियाका विदेशमन्त्री बाइबा ब्रेजले भनिन् । 

  • नो नेटो 

पुटिनसँग वार्ता चाल्नुअघि युक्रेनलाई अरू सैन्य सहयोग चाहिएको पोल्यान्डका विदेशमन्त्री रादोस्ल सिकोस्र्कीले बताए । पोल्यान्डले युक्रेनका लागि दृढतापूर्वक सशक्त सैन्य साथ खोज्ने उनको भनाइ थियो । रुससँग सम्भावित वार्ताअघि युक्रेनको क्षमता बलियो बनाउनु आफ्नो महादेशका लागि जरुरी भएकोमा उनले जोड दिएका थिए । 

GettyImages-2185551512

अमेरिकाको पछिल्लो अडानलाई फ्रान्सले पनि रुचाएको छैन । नेटोमा युक्रेन आबद्ध हुने बाटोमा रहनुपर्नेमा फ्रान्सले जोड दिएको थियो । यसअघि हेग्सेथले शान्ति मिसनमा अमेरिकी सेना सहभागिता अस्वीकार गर्दै संगठनका रूपमा यसमा नेटोको संलग्नता हुनु नहुने बताएका थिए । 

‘युक्रेनलाई नेटोको सदस्य बनाउने मार्गमा हामी निकै मिल्यौँ । यदि शान्ति हुन्छ भने यसलाई निष्पक्ष र दिगो बनाउन हामीलाई सुरक्षा प्रत्याभूति चाहिन्छ,’ फ्रान्सेली विदेशमन्त्री जाँ नोएल ब्यार्रोटले भने । युक्रेनी युद्धका कारण युरोपको सुरक्षा धरापमा परेको र यसले विश्व व्यवस्थालाई उलटपुलट बनाएकोले विश्वलाई आक्रमण पूर्वको स्थितमा फर्काउन नसकिने पनि उनले बताए । 

एउटा टोलीले पुटिनका प्रतिनिधिहरूसँग सीधै वार्ता थाल्ने आफ्नो घोषणामा ट्रम्पले भनेका थिए । सीआईएका निर्देशक जोन र्‍याटक्लिफ र राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जसँग वार्ता टोलीमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो पनि सहभागी हुने बताइएको छ । यो प्रयासले छिट्टै राम्रो निष्कर्ष निकाल्ने आशा गरिएको ट्रम्पको भनाइ थियो ।

हेग्सेथको अभिव्यक्ति बेतुकको भएको युक्रेनी संसद्मा विदेश सम्बन्ध समितिका प्रमुख अलेक्सान्दर मेरेझ्कोले भने । नयाँ रक्षामन्त्रीले युक्रेन आएर युक्रेनी सशस्त्र बलसँग परिचित भएर वार्ता थाल्नुपर्ने उनको भनाइ थियो । युक्रेनले आफ्नो सबै भूभाग फिर्ता लिन सक्ने र यो बिल्कुल सत्य भएको उनले बताए । तर, यस्तो हुन अमेरिकाबाट अरू सैन्य–प्राविधिक सहायता चाहिएको र रुसमाथि थप बलियो प्रतिबन्ध लगाउनुपर्नेमा उनले जोड दिएका थिए । 

युरोपले अझ धेरै गर्नुपर्नेमा बेलायती अधिकारीहरू पनि सहमत थिए । ‘तिमीले बोलेको हामीले सुन्यौँ,’ बेलायती रक्षामन्त्री जोन हेलीले हेग्सेथको टिप्पणीमा प्रतिक्रिया दिँदै भनेका थिए । आफूहरू सबैले युक्रेनका लागि सहायता दिइरहेको र भविष्यमा पनि दिने भन्दै युरोपको सुरक्षाको विषयमा पनि उनले यस्तै अभिव्यक्ति दोहोर्‍याएका थिए ।

पोलिटिको

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप