शुक्रबार, ०२ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय नगरपालिका देशभरमै दोस्रो

शुक्रबार, ०२ फागुन २०८१, ०१ : १८
शुक्रबार, ०२ फागुन २०८१

इलाम । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा इलामको सूर्योदय नगरपालिका देशभरका पालिका मै दोस्रो भएको छ ।  गएको वर्ष जिल्लाको उत्कृष्ट भएको सूर्योदय यो वर्ष पनि ८० दशमलव दुई अङ्क प्राप्त गरी जिल्लामा उत्कृष्ट हुँदै सात सय ५३ स्थानीय तहमध्ये देशभरमा दोस्रो भएको हो । देशभरमा ८१ दशमलव सात अङ्क प्राप्त गरी डडेल्धुराको अमरगढी नगरपालिका उत्कृष्ट एवं पहिलो भएको छ । 

जिल्लाका १० पालिकामध्ये देउमाई र माई नगरपालिकाले समान ६८ दशमलव एक अङ्क हासिल गरी दोस्रो तथा ६५ दशमलव तीन अङ्क प्राप्त गरी इलाम नगरपालिका तेस्रो भएको छ । चुलाचुली गाउँपालिका जिल्लाको गाउँपालिकामध्ये पहिलो भएको छ । आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार चुलाचुलीले ५८, सन्दकपुरले ५७ दशमलव नौ, फाकफोकथुमले ५६ दशमलव तीन, रोङले ५४ दशमलव नौ, माङसेबुङले ५४ र माईजोगमाईले ४६ दशमलव दुई अङ्क प्राप्त गरेका छन् ।

सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले जनप्रतिनिधि र कमर्चारीको सहकार्य, समन्वय एवं तालमेल र सरोकारवालाको सहयोगका कारण आयोगको कार्यसम्पादन मूल्याङ्कनमा आफ्नो पालिका देशभरमा दोस्रो स्थान हासिल गर्न सफल भएको बताए । 

प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्याङ्कन प्रतिवेदनअनुसार वित्त आयोगको विभिन्न १७ सूचकलाई मध्ययनजर कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ । यसमा लेखापरीक्षण, बेरुजु फछ्र्यौट, तोकिएको समयमा बजेट विनियोजन, लक्षित राजस्व सङ्कलनलगायत विषयलाई सूचकका रूपमा राखिएको छ । 

‘प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०७८’ का आधारमा मूल्याङ्कन गरेर प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहलाई यस्तो अङ्क प्रदान गर्ने गर्छ । कार्यसम्पादनबाट प्राप्त अङ्कका आधारमा स्थानीय तहले सङ्घ सरकारबाट पाउने वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने कानुनी प्रावधान छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप