शुक्रबार, ०२ फागुन २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : धरापमा शरतसिंहको मन्त्री पददेखि नयाँ शक्तिमा पुरानै नेतृत्वसम्म

बिहीबार, ०१ फागुन २०८१, २२ : ००
बिहीबार, ०१ फागुन २०८१

आज मिति २०८१ साल फागुन महिनाको १ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१. धरापमा मन्त्री पद

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको पद धरापमा परेको छ । भण्डारीको पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशप्रति विमति राखेसँगै मन्त्री भण्डारीको पद धरापमा परेको हो ।

‘आफै निर्णय गर्ने अनि त्यसको विपक्षमा उभिने भन्दै वक्तव्यबाजी गर्नु उचित होइन’, प्रधानमन्त्री केपी ओली निकट स्रोतले भन्यो, ‘बजार हल्लाका पछि लागेर निर्णय गर्दै जाने र सरकारमा पनि रहिरहन कुरा हुन सक्दैन ।’

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ बालुवाटारमा आफू निकटस्थहरूसँग लोसपाले निर्णयमा पुनर्विचार नगरे मन्त्री शरतसिंह भण्डारीलाई हटाउनुपर्ने अवस्था समेत आउन सक्ने संकेत गरेका छन् ।

 

२. नैतिक संकटमा सरकार

सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशलाई उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले सहयोग नगरेपछि वर्तमान सरकार नैतिक सङ्कटमा परेको छ ।

सरकारमै रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि भूमिसम्बन्धी अध्यादेशमा सहयोग नगर्ने निर्णय गरेपछि सरकारलाई झन् अप्ठ्यारो परेको छ । अस्तिसम्म एक जना सांसदमात्र भए पुग्ने भनी खोजी नीतिमा लागेको सत्ताधारी दल कांग्रेस–एमाले हिजोदेखि झन् अप्ठ्यारोमा परेका छन् ।

३. नयाँ शक्तिमा पुरानै नेतृत्व

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्षमा डा बाबुराम भट्टराई निर्वाचित भएका छन् । बिहीबार सम्पन्न मतपरिणामको अन्तिम नतिजा अनुसार भट्टराईले ७६१ मत पाएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेत्र चापाईंले जम्मा ७३ मत पाएका छन् । पार्टी नयाँ शक्ति भएपनि नेतृत्वमा भट्टराई पुरानै नेतृत्व आएका हुन् ।

 

४. जनयुद्ध दिवस मनाइयो

जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ। पार्टीले जनयुद्ध दिवसको अवसरमा बिहीबार केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

२०५२ फागुन १ गतेबाट सुरु भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए।

दिवसविशेष सामग्री

 

५. आयात अनुमति

भारतीय आयल निगम कर्पोरेसन (आईओसी)ले एक नेपाली कम्पनीलाई वार्षिक २४० मेट्रिक टन लिक्विफाइड प्राकृतिक ग्यास (एलएनजी) आयातको अनुमति दिएको छ ।

बुधबार आइओसीले नेपालको योग्य होल्डिङ कम्पनीसँग वार्षिक २४० मेट्रिक टन एलएनजी ग्यास आयातका लागि सम्झौता गरेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

६. कमल जोशी पक्राउ

ठमेलमा ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गर्ने अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशीलाई प्रहरीले पक्राउ गरेको छ । जोशीलाई नयाँ  बानेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।

७. पाइप मर्मत

नेपाल बिद्युत् प्राधिकरणले बिद्युत‍्का तारहरू अन्डर ग्राउन्ड गर्नका लागि होरिजोन्टल ड्रिलिङ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सम्पन्न भएको छ ।

८. कक्षा १२ को परीक्षा

कक्षा १२ को वार्षिक परीक्षा आगामी २०८२ वैशाख ११ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख ११ गतेदेखि परीक्षा गर्नेगरी तालिका सार्वजनिक गरेको हो ।

९. सेयर बजार

साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक घटेको छ । बुधवारको कारोबारमा सामान्य अंकले बढेको नेप्से परिसूचक आज पुनः घटेर बन्द भएको हो ।

 

१०. प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् ।

सो मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले मल आपूर्ति र वितरणलाई छिटोछरितो र पारदर्शी बनाउँदै किसानलाई सँधै समस्या हुने अवस्था अन्त्य गर्न निर्देशन दिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप