शुक्रबार, ०२ फागुन २०८१
ताजा लोकप्रिय

‘जनयुद्ध हिंसा हैन, क्रान्ति थियो’

बिहीबार, ०१ फागुन २०८१, २१ : ३५
बिहीबार, ०१ फागुन २०८१

विराटनगर । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले पहिलो संविधानसभाबाट संविधान बन्न नसक्दा माओवादी कमजोर बन्न पुगेको बताएका छन् । जनयुद्ध दिवसको अवसरमा बिहीबार प्रेस सेन्टर नेपाल कोशी प्रदेश समितिले विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उपमहासचिव गजुरेलले पहिलो संविधानसभाबाट संविधान बन्न नसक्दा शक्तिशाली माओवादी पार्टी विभाजित भई कमजोर हुन पुगेको बताए ।

पहिलो संविधानसभाबाट संविधान जारी हुन नसक्दा आमजनताले परिवर्तनको वास्तविक अनुभूति गर्न नपाउँदा दल र संविधानप्रति गुनासाहरू बढ्न थालेको पनि गजुरेलले उल्लेख गरे । माओवादी केन्द्र कोशी प्रदेशका इन्चार्जसमेत रहेका उनले पहिलो संविधानसभाले नयाँ संविधान बनाउन सकेको भए आमजनताले परिवर्तनको अनुभूति गर्ने र राजनीतिक दलहरूप्रति पनि अहिले जस्तो जनआक्रोश नदेखिने स्वीकार गरे । 

पहिलो संविधानसभाबाट संविधान बनाउन नसकेको माओवादी दोस्रो संविधानसभामा कमजोर बनेको कारण आफ्ना धेरै मुद्दा छाडेर नोट अफ डिसेन्ट लेख्दै संविधान जारी गराउनुपर्ने बाध्यतामा पुगेको गजुरेलको भनाइ छ । ‘पहिलो संविधानसभाबाट संविधान बनेको भए राम्रो संविधान जारी हुने थियो, जनताका गुनासाहरू पनि रहने थिएनन्’ उनले भने, ‘तर, नोट अफ डिसेन्ट लेखेर संविधान जारी गर्नुपर्यो । तर, पनि हामीले संविधान संशोधनलाई सधैँ खुला राखेका छौँ ।’

नेता गजुरेलले पछिल्लो समय माओवादी ३२ सिटमा खुम्चिएपछि सबैले हत्याराको आरोप लगाउने र जनयुद्धलाई जबरजस्ती हिंसा भनेर बदनाम गर्न थालेको बताए । उनले जनताको परिवर्तनका लागि त्याग र बलिदानसहित भएको जनयुद्धबारे प्रशंसा र गुनासो दुवै आउनु स्वाभाविक भएको बताए । उनले जनयुद्ध कुनै हिंसा नभएर हजारौँ नागरिक सहभागीको क्रान्ति भएको बताए ।

राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेलले दश वर्षसम्म चलेको सशस्त्र जनयुद्ध परिवर्तनका लागि भएको क्रान्ति भएकाले त्यसलाई हिंसा भन्नु उचित नहुने बताए । उनले २००७ सालको क्रान्तिलाई पनि परिवर्तन भन्ने कि क्रान्ति भन्ने भन्ने विषयमा विवाद रहेको स्मरण गराउँदै जनयुद्धलाई नमन पराउनेहरूले हिंसा भनेर चित्रण गर्ने गरेको बताए । अहिलेको राजनीतिक परिवर्तन माओवादी जनयुद्धकै उपलब्धि भएको भन्दै सबै कार्यकर्ता र नेताहरूले निर्धक्क जनयुद्ध भन्न उनले आग्रह गरे ।

जनमुक्ति सेनाका घाइते लडाकु राम कार्कीले हजारौँ नेपालीले लडेर प्राप्त गरेको परिवर्तनको सिको गरेर सबैभन्दा अग्रमोर्चामा रहेर भोग गर्ने अनि जनयुद्धलाई हिंसा भनेर बदनाम गर्नेहरू सफल नहुने बताए । उनले सबैले जनयुद्धलाई सम्मान गर्नुपर्नेमा जोड दिए । अझै पनि जनयुद्धका घाइतेहरूले पाउनुपर्ने उपचार र क्षतिपूर्ति नपाएको भन्दै, उनले भने, ‘सके सम्मान गर्नू, अपमान नगर्नू ।’

कानून व्यवसायी कला त्रितालले अहिले महिला, दलित, मधेसी, जनजाति र सीमान्तकृत समुदायले प्राप्त गरेको हक, अधिकार र अवसर जनयुद्धकै कारण सफल भएको उल्लेख गरिन् । उनले जनयुद्ध दिवस गर्वका साथ लुकेर होइन, खुलेर आम रूपमा मनाउनुपर्ने बताइन् ।

नागरिक अगुवा दिनेश श्रेष्ठले परिवर्तनकारी जनयुद्धलाई अवमूल्यन गर्ने काम राजनीतिक बेइमानी भएको भन्दै बाम आन्दोलनमा प्रेरणादायी भूमिका रहेको बताए । पत्रकार महासङ्घ कोशी प्रदेशका पूर्वअध्यक्ष लीलाबल्लभ घिमिरेले जनयुद्ध जनताको पक्षमा भएको सङ्घर्ष भएकाले त्यसको उपलब्धि तल्लो तहसम्म बुझाउनुपर्नेमा जोड दिए ।

नेकपा (एमाले) मोरङका उपसचिव सोमराज थापाले संविधानमै जनयुद्ध लेख्न छुटेको र त्यो माओवादीको कमजोरी भएको बताए । संविधान सम्झौताको दस्तावेज भएपनि त्यहाँ चुकेकाले अहिले जनयुद्धको विषयमा धेरै कुरा उठिरहेको उनको टिप्पणी थियो । माओवादी आन्दोालनलाई आफूले मानब अधिकारवादीको रूपमा नजिकबाट हेरेको भन्दै उनले परिवर्तनको योगदानलाई कुनै पनि राजनीतिक दलले स्वीकार गर्न कन्जुस्याइँ गर्नु नहुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप