जथाभाबी रुख काट्नेलाई कारबाही गर्न पोखराका संरक्षणकर्मीहरूको माग

पोखरा । पोखराका संरक्षणकर्मीहरूले जथाभाबी रुख काट्नेमाथि कारबाहीको माग गरेका छन् । बिहीबार विशेष भेला बसेर पोखरामा सयौँ वर्ष पुराना रुख काटिएकोमा त्यसको छानबिन र दोषीमाथि कारबाहीको माग गरिएको हो ।
‘ऐतिहासिक वृक्षहरू जथाभाबी शृंखलाबद्ध ढंगले भएको कटानको कडा विरोध गर्दछौँ,’ उनीहरुले भने, ‘वटवृक्षहरु नष्ट गर्नेहरूलाई यथाशीघ्र कानुनी दायरामा ल्याएर कारबाही गर्न जोडदार माग गर्दर्छौं ।’ पोखरामा वरपीपल, समी लगायत धार्मिक र ऐतिहासिक रूखहरूको तीव्र विनाश गम्भीर समस्याका रूपमा देखा परेको उनीहरूको निष्कर्ष छ । पुराना वटवृक्षहरू वन कार्यालयको स्वीकृति बेगर बेपर्वाह र अनाधिकार ढंगबाट काटिएका संरक्षणकर्मीहरूको गुनासो छ ।
‘कहिले सडक विस्तारको लागि, कहिले चराहरूले फोहोर गर्यो भनेर काटिँदै आएका छन् । हालसालै मात्र पोखराका विभिन्न वडाहरूमा अधिकांश वरपीपल रूखहरू कानुनी प्रक्रियाहरू पालना नगरी ठुन्क्याइएका छन्, हटाइएका छन्,’ नागरिक अगुवा रामबहादुर पौडेलले भने, ‘तीव्र दरमा भएको विनासप्रति मौनता साँधेर बस्ने हो भने हाम्रा भविष्यका सन्ततिहरूले वरपीपल वृक्ष खोज्न चिनाउन निकै लामो यात्रा गर्नुपर्ने स्थिति आउन सक्छ । प्राकृतिक र सांस्कृतिक सम्पदाप्रति सचेत रहँदै सम्पूर्णसँग हामी आह्वान गर्दछौँ ।’
बिहीबार विशेष भेलापछि नागरिक समाज कास्की, वातावरण संरक्षणका लागि महाअभियान, सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल, पोखरा गाइड एसोसिएसन, निवृत्त वन कर्मचारी संघ, पोखरा पक्षी समाज र पर्यावरण मैत्री संरक्षण पर्यटन व्यवसायी एवम् पर्यावरण संरक्षणकर्मीहरू गण्डकी प्रदेशले ५ बुँदे संयुक्त अपिल गरेका छन् । पोखरा ६, १३ र १४ नम्बर वडासँगै त्यसबाहिरका ऐतिहासिक रुख काट्नेलाई रोक्दै बर पिपल लगायत अन्य वनस्पतिको अनुसन्धान तथा अभिलेखीकरण गर्न माग गरिएको छ । यस्तै, धार्मिक वटवृक्षहरुको संरक्षणका उपायहरूलाई सुदृढ पार्न कानुनको कार्यान्वयन र संशोधन गर्न आग्रह गरिएको छ ।
रूखहरू नष्ट गर्नेहरूलाई जबाफदेहिता र न्यायालयको कठघरामा उभ्याउन तथा थप विनाशको प्रतिरोध गर्न सामूहिक प्रयासको अपिल गरिएको छ ।
नेपाल वातावरण संरक्षण संघले गरेको सर्वेक्षण अनुसार पोखरामा हाल १११ वटा एकल चौतारा, १२९ वटा वरपीपलको जोडी, २२ वटा समी वृक्षहरूसहित एक शताब्दी भन्दा पुराना वृक्षहरू रहेको तथ्याङ्क निकालिएको छ । तर यी वृक्षहरू विभिन्न नाममा काट्ने र मास्ने काम जारी रहेको भन्दै संरक्षणकर्मीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् । पोखरामा कोटीहोमका लागि भन्दै विभिन्न ठाउँमा सयौँ वर्ष पुराना रुख र चौताराहरू कटान गरिएको थियो । यसबारे अख्तियारले अनुसन्धान सुरु गरेको छ । पूरा विवरण पठाउन पोखरा महानगर र डिभिजन वन कार्यालयलाई परिपत्र गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?