बिहीबार, ०१ फागुन २०८१
ताजा लोकप्रिय
अर्थ

प्राकृतिक ग्यास आयात गर्न नेपाली कम्पनीलाई भारतले दियो अनुमति

वार्षिक २४० टन आउने
बिहीबार, ०१ फागुन २०८१, १९ : ००
बिहीबार, ०१ फागुन २०८१

काठमाडौँ । भारतीय आयल निगम कर्पोरेसन (आईओसी)ले एक नेपाली कम्पनीलाई वार्षिक २४० मेट्रिक टन लिक्विफाइड प्राकृतिक ग्यास (एलएनजी) आयातको अनुमति दिएको छ । 

बुधबार आइओसीले नेपालको योग्य होल्डिङ कम्पनीसँग वार्षिक २४० मेट्रिक टन एलएनजी ग्यास आयातका लागि सम्झौता गरेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । 

नेपाल एलपीजी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार उक्त ग्यास आयात गर्न योग्य होल्डिङ्सले चार वर्षदेखि पहल गरिरहेको थियो । तर, नेपाल आयल निगमले तत्काल आयात गर्न अनुमति दिएको थिएन । आईओसीले भने २०८१ वैशाखमै अनुमति दिइसकेको थियो । 

‘नेपालबाट अनुमति पाउन ढिला भयो, भारतीय आयल निगम कर्पोरेसनबाट २०८१ वैशाखमा अनुमति पाइसकेको हो,’ घिमिरेले भने, ‘भारतीय आयल निगम कर्पोरेसनले आयातमा प्राविधिक सहयोग गर्ने सम्झौता गरेको छ ।’

यसपछि मंसिर ७ गते उद्योग विभागले योग्य होल्डिङ्स प्रालिलाई ग्यास आयात गर्ने अनुमति दिएको थियो । 

नेपाल आयल निगमले आयात गर्ने अनुमतिसहित कम्पनी दर्ता गर्न आग्रह गरेपछि निजी उद्योग दर्ता गरेको थियो । यस्तो ग्यास आयातका लागि नेपालमा पहिलोपटक निजी क्षेत्रले अनुमति पाएको घिमिरेको दाबी छ । 

बारामा ग्यास उद्योग 

शुवम् घिमिरे र सौरभ भण्डारीले संयुक्त रूपमा सञ्चालन गर्न लागेको ‘योग्य होल्डिङ्स’ उद्योगमा करिब एक अर्ब लगानी छ । सो उद्योग बाराको जितपुरसिमरा उपमहानगरपालिका–११ मा निर्माण थालिएको छ । हाल उद्योग निर्माणमा आवश्यक मेसिनरी खरिद प्रक्रिया थालिसकिएको अध्यक्ष शुवमु घिमिरेले बताएका छन् । 

उद्योगले आफ्नो निजी जग्गामा प्लान्ट निर्माण थालेको छ । पहिलो चरणमा प्लान्ट निर्माणमा आवश्यक मेसिनरी सामग्री आयात भइरहेको छ । 

सो प्लान्टमार्फत लिक्विफाइड प्राकृतिक ग्यासलाई कम्प्रेस्ड प्राकृतिक ग्यास (सीएनजी) मा कन्भर्ट गरिन्छ । यसपछि सिलिन्डरमा भरेर उद्योगहरूलाई बिक्री– वितरण गरिने घिमिरेले बताएका छन् ।

के मा प्रयोग हुन्छ ग्यास ? 

हाल यो ग्यास आयातको मुख्य लक्ष्य औद्योगिक प्रयोजन हो । डिजेल, कोइलाबाट सञ्चालित कार्बन फ्याँक्ने संसारभरका धेरै उद्योगहरूले प्राकृतिक ग्यास प्रयोग गर्न थालिसकेका छन् । नेपालमा पनि यस्तो ग्यास प्रयोग गर्न सके निकै फाइदाजनक रहेको घिमिरे तर्क गर्छन् । 

जानकारहरूका अनुसार लिक्विफाइड ग्यास नेपालजस्तो देशका लागि धेरै फाइदाजनक छ । पछिल्लो समय विश्वमा जलवायु परिवर्तनको असर बढ्दो छ । त्यसलाई न्यूनीकरण गर्न यो ग्यास निकै उपयोगी हुन सक्छ ।

यो ग्यास विश्वमा सबैभन्दा सस्तो र वातावरणीय हिसाबमा राम्रो मानिन्छ । जसको प्रयोग औद्योगिक प्रयोजनमा धेरै भएको पाइन्छ । खाना पकाउन प्रयोग गरिने एलपी ग्यासको खपत घटाउन तत्काललाई यसले मद्दत त गर्दैन तर, भविष्यमा प्रयोग भने गर्न सकिन्छ । साथै सवारीसाधन चलाउन पनि सकिन्छ । 

तर, छैन मापदण्ड 

यस्तो ग्यास आयात गर्ने अनुमति पाए पनि कानुनी व्यवस्था भने नभएकाले आयात गर्न समस्या हुने अध्यक्ष घिमिरे तर्क गर्छन् । 

हालसम्म यसको मापदण्ड नभएकाले आयात गर्न लामो समय लाग्न सक्ने उनले बताए । 

मापदण्ड नै नभएकाले कसले बनाउने भन्ने सरकारले निर्धारण गरिदिनुपर्ने नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट बताउँछन् । ‘सुरक्षाको विषय हुन्छ, मापदण्ड आवश्यक छ । सरकारले बना भन्यो भने बनाइदिन्छौँ,’ मापदण्ड भने सरकारले तोकिदिनुपर्ने उनले बताए । भने, ‘वाणिज्य आपूर्ति मन्त्रालयले बनाउने हो कि गुणस्तर विभागले बनाउने हो । तोकिदिइसकेपछि मापदण्डको कुरा आउँछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप