बिहीबार, ०१ फागुन २०८१
ताजा लोकप्रिय

पोखरा महानगरले २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउने, २० लाख पर्यटक ल्याउने

बिहीबार, ०१ फागुन २०८१, १८ : ३१
बिहीबार, ०१ फागुन २०८१

पोखरा । पोखरा महानगरपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रूपमा बनाउने भएको छ । शनिबार विशेष कार्यक्रम गरेर भ्रमण वर्ष घोषणाको तयारी गरिएको छ । 

वर्षभरिमा २० लाख पर्यटकलाई पोखरा घुमाउने लक्ष्य लिइएको मेयर धनराज आचार्यले जानकारी दिए । उनका अनुसार पोखरा घुमेका पर्यटकको तथ्यांक महानगरपालिकाले राख्नेछ ।

‘चीन सरकारले आफ्ना नागरिकका लागि नेपाल भ्रमण वर्ष २०२५ घोषणा गरिदिएको छ । भारतले वेलनेस पर्यटकलाई नेपाल महत्त्वपूर्ण गन्तव्य भनेर सूचीकरण गरिदिएको छ,’ उनले भने, ‘‘२० लाख पर्यटक सजिलैसँग पोखरा आउँछन् । हाम्रा सबै तथ्यांकहरुले कोभिडपछि पर्यटकको सङ्ख्या बढाएको छ ।’ तर पोखरा आउने पर्यटकको औपचारिक तथ्यांक अहिलेसम्म कसैले राखेको छैन ।

पोखराले भ्रमण वर्षको सन्दर्भमा विभिन्न कार्यक्रमहरूको घोषणा पनि गर्दैछ । पर्यटक आकर्षित गर्ने सहुलियतका प्याकेजहरू सार्वजनिक हुने आचार्यले बताए । संसारभरका विदेशी, गैरआवासीय नेपाली तथा स्वदेशी पाहुनालाई सपरिवार तथा इष्टमित्रसहित पोखरा भ्रमण गर्न आह्वान गर्ने पोखराको तयारी छ ।

यसबाहेक विभिन्न विकास साझेदार, विदेशी नियोग तथा राजदूतावाससँग समन्वय गरेर विश्वभर पोखराको प्रचार प्रसार गर्ने, विश्वभर रहेका नेपाली मूलका मन्त्री, सांसद, मेयर तथा जनप्रतिनिधिहरूलाई पोखरा घुम्ने निम्तो दिने महानगरले जनाएको छ । यस्तै, विश्वका १० सहरसँग भगिनी सम्बन्ध कायम गर्ने र पोखरामा विभिन्न इभेण्ट आयोजनाका लागि अनुरोध गर्ने योजना छ ।

पर्यटकको सङ्ख्यासँगै बसाइ लम्ब्याउन थप कार्यक्रमहरूको घोषणा महानगरले गर्ने मेयर आचार्यले सुनाए । ‘यी सबै कार्यक्रमहरू, पर्यटकीय गन्तव्यको औपचारिक घोषणा भ्रमण वर्ष घोषणाका दिन सँगसँगै हुन्छ,’ उनले भने, ‘हामी त्यसको तयारीमा जुटेका छौँ ।’ भ्रमण वर्ष लक्षित गरेर उनकै संयोजकत्वमा ५५१ सदस्यीय मूल समारोह समिति गठन भएको छ भने विभिन्न ४३ उपसमिति बनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप