त्यो जनयुद्धले ल्याएको तरङ्ग
![त्यो जनयुद्धले ल्याएको तरङ्ग](https://npcdn.ratopati.com/media/news/img-20250213-wa0013_QcYuOaKgk5.jpg)
तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा २०५२ फागुन १ गते सुरुवात भएको महान् जनयुद्ध राजनीतिक, सैद्धान्तिक, सामाजिक, सांस्कृतिक र आर्थिक हिसाबले ऐतिहासिक महत्त्वको थियो ।
जनयुद्धको प्रभाव र विस्तार यति व्यापक थियो कि त्यसले सिङ्गो देश र जनतालाई प्रभावित गर्यो । देशको समग्र राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा उथलपुथल ल्याउँदै महान् उपलब्धिहरू हासिल गरेको जनयुद्धले नेपालका उत्पीडित जनताहरूको अद्भुत साथ र समर्थन प्राप्त गरेको थियोे ।
हिमाल, पहाड, तराईका उत्पीडित र श्रमजीवी जनताले लडेको न्यायपूर्ण युद्ध हो जनयुद्ध । यो महा अभियानले वर्गीय उत्पीडनलाई केन्द्रमा राख्दै लिङ्गीय उत्पीडन, जातीय उत्पीडन, क्षेत्रीय उत्पीडन लगायत तमाम उत्पीडनका विरुद्ध विद्रोहको झन्डा उठाएको थियोे । उत्पीडित वर्ग तथा समुदायलाई सबै उत्पीडनबाट मुक्त गर्ने र समाजवाद हुँदै साम्यवादसम्म पुग्ने सपनाहरूको अभिव्यक्ति थियो जनयुद्ध ।
गाउँबाट सहर घेर्ने छापामार युद्धको रणनीति चिनियाँ नेता माओले विकास गर्नुभएको रणनीति हो, सोही रणनीतिलाई नेपाली सापेक्षतामा आत्मसात गर्दै गाउँ र सहर, वैधानिक र अवैधानिक, भौतिक र बौद्धिक, राजनीतिक र सैन्य गरी जनयुद्ध सञ्चालन गरिएको थियोे । समग्र राज्यसत्ता बदल्ने अभियानको क्रान्तिको नाम हो जनयुद्ध । जुन युद्धमा पितृसत्तात्मक समाजले चुलाचौका र घाँस–दाउरामा कुण्ठित गरेको र सधैँ कमजोर ठानिएको महिलाहरूले बन्दुक बोकेर तत्कालीन शाही सेनाको ब्यारेकमा आक्रमण गरी अद्भुत साहस, वीरता र कौशल प्रस्तुत गरेका थिए । जुन जनयुद्धमा जनमुक्ति सेनाले देशको ८० प्रतिशतभन्दा बढी भूभाग आफ्नो नियन्त्रणमा लिन सफल भएको थियोे । आधुनिक हतियार भएको शाही सेनालाई तुलनात्मक रूपमा कमसल हतियार र तालिम लिएका जनमुक्ति सेनाले पराजित गर्दै ब्यारेकमा सीमित गरेको थियो ।
शान्ति प्रक्रियामा प्रवेश गरेसँगै माओवादी नेतृत्वले सहरिया विद्रोहमार्फत केन्द्रीय सत्ता कब्जा गर्ने नीतिलाई छाड्दै संसदीय व्यवस्थालाई नै अङ्गीकार गरी प्रतिक्रान्तिको नेतृत्व गर्न पुग्यो । यसले जनतालाई ठुलो धोका भएको छ ।
जनयुद्धले सांस्कृतिक हिसाबले युगीन परिवर्तन गरेको छ । यसले जात व्यवस्थाबाट सिर्जित विभेदमाथि निर्ममतापूर्वक प्रहार गर्यो, जसको परिणाम दलितहरूमाथि हिजो गरिने व्यवहारमा र आज गरिने व्यवहारमा आकाश जमिनको फरक छ । यद्यपि समाजमा जात व्यवस्था र विभेदको समस्या पूर्ण रूपमा हल भइसकेको छैन ।
जनयुद्धले आदिवासी जनजातिहरूको अधिकार, भाषा संस्कृतिका लागि संघर्ष गर्यो, जसको परिणाम ठुलो जागरण पैदा भयो । समाजमा रहेका सामाजिक कुरीति कुसंस्कारहरू (जस्तै ः दाइजो प्रथा, बालविवाह, बहुविवाह, छाउपडी प्रथा लगायत)माथि पनि जनयुद्धले प्रहार गरेको थियो । यसर्थ सामाजिक कुरीति र कुसंस्कार विरुद्धको सामाजिक विद्रोह पनि हो जनयुद्ध । जनजाति, दलित र आमउत्पीडित श्रमजीवी जनताले बगाएको रगत, पसिना र आँसुको मूल्यको समग्रता हो जनयुद्ध ।
सामन्ती व्यवस्थाको एक जाति, एक भाषा, एक भेषको नश्लवादी राजनीति र त्यसैलाई राष्ट्रनिर्माण र राष्ट्रिय एकताको आधार मान्ने नाजीवादी विचार विरुद्धको विद्रोह थियो जनयुद्ध । दोस्रो दर्जाको नागरिकको रूपमा रहेका मधेसी, मुस्लिम, लैङ्गिक अल्पसंख्यक, थारू र फरक क्षमता भएका जनसमुदायको आवाज थियो जनयुद्ध । त्याग, समर्पण र बलिदानको उच्च कीर्तिमान कायम गरेको विश्वमा भएको दुर्लभ परिघटनामध्येको एक परिघटना थियोे जनयुद्ध ।
उत्पीडनका विरुद्ध समर्पण वा सम्झौता होइन विद्रोह गर्नुपर्छ, विद्रोह गर्नु जनताको अधिकार हो भन्ने संघर्षको मूल्यको दर्शन थियो जनयुद्ध । जनयुद्धले जनतालाई लुटिखाने, ठगिखाने परम्परागत राजनीतिक भाष्य बदलिएको छ र त्याग, समर्पण र बलिदानको नयाँ भाष्य स्थापित भएको छ । उसो त बुर्जुवा नै भए पनि गणतन्त्र र संविधानसभाको जननी पनि जनयुद्ध नै हो ।
आजभोलि कतिपय जनयुद्धमा लडेका मानिसले नै जनयुद्धका उपलब्धिहरूलाई व्यक्तिगत लाभका लागि दुरुपयोग गरिरहेका छन् भने कतिपयले हिंसा भनेर अपमानित गरिरहेका छन्, अझ विरोधीले गर्ने आलोचना र आक्रमणको त कुरै नगरौँ ।
जनयुद्धबाट प्राप्त उपलब्धिको उपभोग गरेर जनयुद्धलाई नै सत्तोसराप गर्नेहरू जनताका अपराधी हुन्, भविष्यमा नयाँ क्रान्तिले दण्डित गर्न जरुरी छ । आफ्नो सामान्य चोटमा चिच्याउनेहरूले पलपल मृत्युसँग पौँठेजोरी खेल्दै बम, बारुद र बन्दुकसँग खेल्ने कुराको भावलाई अवमूल्यन गर्नु आग्रह–पूर्वाग्रह र निषेधबाट प्रेरित देखिन्छ । न तलबभत्ता, न पेन्सन, न बिमा, न त कुनै व्यक्तिगत लाभ— निस्वार्थ खुकुरीको धारमा हजारौँ पाइला चाल्न तयार भएको विचार थियोे जनयुद्ध । राजनीतिलाई व्यापार बनाएर पैसा र शक्ति कमाउन खोज्नेहरूले जनयुद्धलाई नबुझ्नु र अपमानित गर्नु स्वाभाविक छ । तर जनयुद्ध त्याग, समर्पण, बलिदान, उद्देश्य र विचारको हिसाबले महान् थियो र महान् रहिरहनेछ ।
राजनीतिक चेतनाका हिसाबले जनयुद्ध एक खुला विश्वविद्यालय थियो जहाँ लाखौँ जनताले एकैपटक दीक्षित हुने अवसर पाए । महिला, दलित, आदिवासी जनजाति, उत्पीडित श्रमजीवी जनताले राजनीतिक चेतना, सम्मान, सहभागिता र प्रतिरोध गर्ने क्षमता प्राप्त गरे ।
दुःखद भनौँ, शान्ति प्रक्रियामा प्रवेश गरेसँगै माओवादी नेतृत्वले सहरिया विद्रोहमार्फत केन्द्रीय सत्ता कब्जा गर्ने नीतिलाई छाड्दै संसदीय व्यवस्थालाई नै अङ्गीकार गरी प्रतिक्रान्तिको नेतृत्व गर्न पुग्यो । यसले जनतालाई ठुलो धोका भएको छ । जनयुद्धको मूल्य–मान्यतालाई तिलाञ्जली दिने काम भएको छ । यतिसम्म कि जनयुद्धको नेतृत्व गरेर आएका नेतृत्वले नै जनयुद्ध हिंसा हो भन्दै हिँडेका छन् । केही संसदीय संशोधनवादमा पतन भएका छन् । केही त माक्र्सवादलाई बुद्ध चित्तको माला जस्तै जपेर बसेका छन् । परन्तु संसदीय पुँजीवादी व्यवस्था र संसदीय संशोधनवादका विरुद्ध निरन्तर संघर्ष गर्दै नयाँ परिस्थितिको ख्याल गरेर जनयुद्धको भाग– २ सुरु गर्न अनिवार्य देखिन्छ । त्यो संयुक्त जनसंघर्षमार्फत सुरुवात गर्नुपर्छ । एक–दुईजना नेतृत्वले धोका दियो भन्दैमा क्रान्ति रोकिँदैन, क्रान्ति हुन्छ हुन्छ र सम्भव छ । जनयुद्धलाई कसैले गाली र अपमान गर्दा क्रान्तिकारीहरूले चित्त दुखाएर वा गाली फर्काएर जनयुद्धको मूल्यको रक्षा हुनेवाला छैन । जनयुद्धको उपलब्धिको रक्षा नयाँ संघर्ष र नयाँ क्रान्तिबाट मात्र सम्भव छ ।
राजतन्त्रको अन्त्य, समानुपातिक–समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षता, सङ्घीयता, महिला–दलित लगायत उत्पीडित समुदायमा आएको जागरण र सशक्तीकरण नै जनयुद्धको उपलब्धि हो । परन्तु जनयुद्धको लक्ष्य दलाल पुँजीवादी संसदीय व्यवस्था थिएन । तत्कालीन नेतृत्वमा आएको विचलनका कारण केही पाइला भ्रमित भएका छन्, लर्बरिएका छन्, अवरोधहरू उत्पन्न भएका छन् तर क्रान्तिकारी पाइलाहरू रोकिएका छैनन् । अबको क्रान्तिको कार्यभार नयाँ पुस्ताको काँधमा छ । हिजोको नेतृत्वले दिएको धोकाका कारण अझ जटिल अवरोधहरू उत्पन्न भएकै छन् तर एक दृढ अठोट र प्रतिबद्धतासहित नयाँ क्रान्तिको झन्डा बोकेर क्रान्तिलाई अघि बढाउनु क्रान्तिकारीहरूको दायित्व हो ।
(लेखक नेकपा (बहुमत)केन्द्रीय सदस्य हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा नीति बहसमा कांग्रेसको तरुण विमर्श
-
जहाँ फलाइन्छ सय बिघा खेतमा विषादी नियन्त्रित तरकारी
-
प्रतिफल देखिने गरी काम गर्न कृषिमन्त्री अधिकारीको निर्देशन
-
प्रधानमन्त्री केपी शर्मा ओलीसँग कृषिबारे छलफल
-
२१ वटा बस्तुमा नेपाल गुणस्तर कायम
-
प्रधानमन्त्रीसँग शान्तिका लागि संसदीय मञ्चका अन्तर्राष्ट्रिय अध्यक्षको शिष्टाचार भेट