बिहीबार, ०१ फागुन २०८१
ताजा लोकप्रिय

ईसीडी एक वर्षको मात्रै बनाउन सुझाव

बिहीबार, ०१ फागुन २०८१, १६ : २९
बिहीबार, ०१ फागुन २०८१

काठमाडौँ । प्रारम्भिक बाल विकास (ईसीडी) का विविध विषयमा अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माको संयोजकत्वमा रहेको समितिले प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई बुझाएको हो । 

प्रतिवेदन तयार गर्ने क्रममा विभिन्न देशमा प्रचलित अन्तर्राष्ट्रिय अभ्यासको समेत अध्ययन गरिएको समितिले जनाएको छ । नेपालको सन्दर्भमा व्यवहारिक बनाउने प्रयास गरिएको समितिका संयोजक शर्माले बताए ।

प्रतिवेदन बुझ्दै मन्त्री भट्टराईले समितिबाट प्राप्त सुझावको कार्यान्वयन योजनागत रूपमा गरिने बताइन् । प्रतिवेदन आफुले अध्ययन गरेपछि प्रतिवेदनका विषयमा थप छलफल गर्ने उनको भनाइ थियो । 

समितिले ईसीडीलाई एक वर्ष मात्रै कायम गर्न सुझाव दिएको छ । अन्तर्राष्ट्रिय अभ्यास र नेपालको व्यवहारिक अवस्थालाई अध्ययन गरेर मनपरी चलेका ईसीडीलाई एक वर्ष मात्रै कायम गर्न सुझाव दिएको हो । 

६० महिना पुगेको बच्चा कक्षा एकमा भर्ना गर्नुपर्ने र त्योभन्दा अगाडि एक वर्ष मात्रै ईसीडीमा पढाउने व्यवस्था गर्न सुझाव दिएको हो । 

समिति संयोजक शर्माले ४८ महिना लागेका बच्चालाई मात्रै नियमित कक्षामा राखेर पढाउन सुझाव दिएको बताए । 

हाल प्ले ग्रुप, नर्सरी, एलकेजी जस्ता कक्षा तोकेर तीन वर्षसम्म समेत बालबालिकाहरूलाई पूर्व प्रारम्भिक कक्षामा पढाउँदै आएका छन् । समितिको सुझाव अनुसार गएको खण्डमा यी कक्षाहरू नभई बालबालिकालाई एक वर्ष मात्रै पढाउन पाउनेछन् । 

४८ महिना अघिका बच्चालाई शिशु केयरको रूपमा स्थानीय तहको अनुमति लिएर सञ्चालन गर्न समितिको सुझाव छ । 

पाठ्यक्रममा के गर्ने भन्ने विषयमा समेत समितिले सुझाव दिएको छ । पाठ्यक्रमका विषयमा तत्कालीन, मध्यकालिन र दीर्घकालीन गरेर सुझाव दिइएको शर्माले बताए । 

समितिले जुन उमेर समूहका लागि समेत ईसीडीमा भर्ना गर्ने व्यवस्था हटाउन सुझाव दिएको छ । ५ वर्षभन्दा माथिको बच्चालाई ईसीडीमा भर्ना नगर्न समेत सुझाव दिएको हो । ईसीडीका बालबालिकालाई एलकेजी, नर्सरी जसरी क्याटोगरी छुट्याउन नहुने सुझाव समेत समितिले दिएको हो । 

अनिवार्य तथा निःशुल्क शिक्षा ऐनमा समेत ईसीडी एक वर्षसम्मको हुने प्रावधान छ । सरकारको ईसीडी नियमन गर्न नसक्दा यसमा मनपरी चलेर अभिभावकसँग मनलाग्दी शुल्क उठाउँदै आएका छन् । 

हाल देशभर सामुदायिक, संस्थागत तथा धार्मिक गरेर ४१ हजार २१२ ईसीडी छन् । जसमा १२ लाख ७७ हजार ६७८ बालबालिका अध्ययनरत छन् । जसमध्ये ३३ हजार ४७० सामुदायिक ईसीडीमा ६ लाख तीन हजार ११४ र सात हजार ७४४ नीजि तथा ५१९ धार्मिक ईसीडीमा ६ लाख ७४ हजार ५८४ बालबालिका अध्ययनरत छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप