ओली सरकारको औचित्य सकियो : प्रभु साह

काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अध्यादेशको अस्त्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै निर्वस्त्र बनाइदिएको टिप्पणी गरेका छन् ।
रौतहटमा यमुनामाई गाउँपालिकाको विशेष भेलालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले झन्डै दुई तिहाइ बहुमतको गफ दिने प्रधानमन्त्री ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश पारित गर्नका लागि सामान्य बहुमत समेत नभएको बताए ।
‘म प्रधानमन्त्रीज्यूसँग सोध्न चाहन्छु, तपाईँले त झन्डै दुई तिहाइको बहुमतको शक्तिशाली सरकार भन्नुहुन्छ । तर तपाई आफैले ल्याएको अध्यादेश पारित गर्नका लागि तपाईँसँग सामान्य बहुमत छैन । तपाई कुन नैतिकताले अझै पदमा बस्नुभएछ ?’, प्रश्न गर्दै आजपा अध्यक्ष साहले भने, ‘तपाईँले अध्यादेश संसदमा निर्णयार्थ पेश गरेर किन फिर्ता लिनुभयो ?’
उनले ओली सरकारको औचित्य सकिइसकेको समेत बताए । आफैले ल्याएको अध्यादेश पारित गराउन नसक्ने प्रधानमन्त्रीले कुन नैतिकताका आधारमा कुर्सीमा बसिरहेको भन्ने प्रश्न गर्दै उनले अलिकति पनि देश र जनताको माया भए तुरुन्त कुर्सी छोड्न सल्लाह दिए ।
साहले अहिलेको नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धन नभई ओली र शेरबहादुर देउवाको स्वार्थको गठबन्धन भएको टिप्पणी गरे । उनले मुलुक र जनताको हितका लागि ओली र देउवाको बन्धनबाट देशलाई तत्काल मुक्त गर्नुपर्ने बताए ।