बिहीबार, ०१ फागुन २०८१
ताजा लोकप्रिय

महान् १० वर्षे जनयुद्धका उपलब्धि

बिहीबार, ०१ फागुन २०८१, १५ : ०८
बिहीबार, ०१ फागुन २०८१

नेपालको राजनीतिक इतिहासमा फागुन १ विशेष महत्त्वको छ, यसै दिनलाई जनयुद्ध दिवसका रूपमा मनाउने गरिएको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीले २०५२ फागुन १ गते सञ्चालन गरेको जनयुद्ध १० वर्षसम्म विविध आयामसहित चलेको थियो । 

जनयुद्धको मुख्य उद्देश्य निरंकुश राजतन्त्रको अन्त्य, वर्गीय विभेदको उन्मूलन, समानता र समावेशिताको स्थापनाका लागि समाजवादी राज्य निर्माण गर्नु थियो । जनयुद्धको परिप्रेक्ष्यमा नेपालले ठुला राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनहरू अनुभव गर्‍यो । महान् जनयुद्धकै जगमा देश नयाँ गणतान्त्रिक र समाजवादी युगतर्फ अगाडि बढ्न सफल भएको छ ।

  • पृष्ठभूमि

जनयुद्ध हुनुको पछाडि धेरै ऐतिहासिक, राजनीतिक र सामाजिक कारण थिए । यस लेखमा जनयुद्धको पृष्ठभूमि, कारणहरू र यसले नेपाली समाजमा पारेको प्रभावहरूबारे चर्चा गरिनेछ । 

खासगरी २०४६ को जनआन्दोलनले पञ्चायत प्रणालीको अन्त्य गरी बहुदलीय प्रजातन्त्र स्थापना त गर्‍यो, गरिब, सीमान्तकृत र ग्रामीण जनताको आकांक्षा पूरा गर्न सकेन । बहुदल आएसँगै राजनीतिक दलहरूले सत्ताका लागि आपसी कलह गरे, सरकारहरू अस्थिर रहे । यसले जनतामा निराशा फैलियो र क्रान्तिकारी परिवर्तनको माग बढ्यो ।

जनयुद्ध सुरु गर्नुको पछि विशेषतः राजनीतिक व्यवस्थाको विफलता प्रमुख कारण थियो । २०४७ को संविधानले पनि राजालाई व्यापक अधिकार दिएको थियो, जनताको सहभागिता सीमित थियो । राजनीतिक दलहरूले भ्रष्टाचार, आफन्तवाद र जनविरोधी नीतिहरू अपनाए, जसले गरिब र सीमान्तकृत समुदायहरूलाई राजनीतिक प्रक्रियाबाटै बाहिर राखेको महसुस गरायो । 

नेकपा मसालसहितको माओवादीहरूले यसलाई ‘अर्धसामन्ती र अर्धऔपनिवेशिक व्यवस्था’का रूपमा चित्रण गरे । उनीहरूको मान्यता अनुसार, महान् क्रान्तिमार्फत मात्र यस व्यवस्थालाई परिवर्तन गर्न सकिन्छ भन्ने थियो । यसैले उनीहरूले ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंश गर्दै २१औँ शताब्दीको नयाँ जनवादी सत्ता स्थापना’को नारा दिए ।

नेपाललाई बहुआयामिक (धार्मिक, भाषिक, जातीय, लैङ्गिक, क्षेत्रीय असमानता)  विशेषता सहितको मुलुकको रूपमा हेरिन्छ । समाजमा व्याप्त जातीय, लैंगिक र आर्थिक असमानताले पनि जनयुद्धको पृष्ठभूमि तयार गर्‍यो । देशको अधिकांश सम्पत्ति र स्रोतहरू माथिल्लो जाति र सहरी क्षेत्रहरूमा केन्द्रित थिए । ग्रामीण क्षेत्रहरूमा गरिबी, अशिक्षा र स्वास्थ्य सेवाको अभाव थियो । दलित, आदिवासी, र महिलाहरूले व्यापक भेदभाव र शोषण झेलिरहेका थिए । माओवादीहरूले यी असमानताहरूलाई उजागर गरेर ग्रामीण जनतालाई संगठित गरे । उनीहरूले ‘जनताको युद्ध’को नारा दिएर गरिब, शोषित र सीमान्तकृत समुदायहरूलाई आफ्नो आन्दोलनमा समेट्न सफल भए ।

यस्तै अन्तर्राष्ट्रिय परिदृश्यले पनि जनयुद्धको पृष्ठभूमि तयार गर्‍यो । २०औँ शताब्दीमा चीन, रुस र क्युबामा भएका क्रान्तिहरूले नेपालका माओवादीलाई प्रेरित गरेको देखिन्छ । माओत्से तुङको विचारधारालाई आधार बनाएर उनीहरूले नेपालमा महान् क्रान्तिको सुरुवात गरे । खासगरी प्रचण्ड, बाबुराम, वैद्य आदिबाट अन्तर्राष्ट्रिय प्रभावको विश्लेषण गरी आन्दोलनको पृष्ठभूमि तयार गरियो ।

जनयुद्धले नेपाली समाजमा व्याप्त जातीय, लैंगिक र क्षेत्रीय विषमतालाई चुनौती दिएर समावेशीकरणको मार्ग प्रशस्त गर्‍यो । संविधानले आदिवासी, दलित, महिला र अन्य सीमान्तकृत समुदायलाई विशेष अधिकार र प्रतिनिधित्व दिएको छ ।
  • प्रचण्ड र माओवादी 

व्यक्ति ठुलो कि पार्टी ठुलो ? यो लडाइँ संसारभरि चलिरहन्छ । यद्यपि नेपालको सन्दर्भमा प्रचण्डले व्यक्ति अर्थात् नेतृत्वले चाहेको खण्डमा पार्टीलाई सही दिशा दिन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । नेताले नै पार्टी निर्माण गर्ने हो । संगठनभन्दा प्रधान विषय नेतृत्व नै हो भन्ने पुष्टि नेपालको माओवादी आन्दोलनमा जोडिएको छ । 

माओवादी पार्टी र प्रचण्ड परिपरक शब्दावलीहरू हुन् । नेपालको आधुनिक इतिहासमा प्रचण्ड, माओवादी जनयुद्ध तीनवटा अविभाज्य अवधारणाहरू हुन् । यी तीनवटैले मिलेर नेपाललाई राजतन्त्रबाट गणतन्त्रमा रूपान्तरण गर्न मद्दत गरे । 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा सबैभन्दा प्रगतिशील र सकारात्मक परिवर्तनको संवाहक हुन्, गणतन्त्रका पिता हुन् । उनले २०५२ मा माओवादी जनयुद्धको नेतृत्व गरेर नेपाललाई क्रान्तिको मार्गमा अगाडि बढाए । प्रचण्डले माक्र्सवाद–लेनिनवाद–माओवादको विचारधारालाई आधार बनाएर ‘नयाँ जनवादी क्रान्ति’को सिद्धान्त प्रस्तुत गरे ।

प्रचण्डको नेतृत्वमा माओवादीले छापामार युद्ध, जनसङ्गठन र राजनीतिक प्रचारको मिश्रित रणनीति अवलम्बन गरे । उनले ग्रामीण क्षेत्रहरूमा आधार इलाका निर्माण गरेर युद्धलाई दीर्घकालीन बनाउन मद्दत गरे । प्रचण्डको करिश्मादार नेतृत्वले माओवादी आन्दोलनलाई जनप्रिय बनायो । हजारौँ सैन्य संरचनासहित विशाल पार्टीलाई नेतृत्व गर्दै आफ्नो लक्ष्य प्राप्तार्थ लागिपर्नु उनको चुनौती थियो । राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको सामना गर्नु उनका लागि चुनौतीको विषय थियो तर उनी सफल भएरै लक्ष्य प्राप्त गरिछाडे । प्रचण्डले रंगीन इतिहास रचेका छन् । प्रचण्डको इतिहास स्वर्णिम छ ।

  • उपलब्धि

जनयुद्धको सबैभन्दा ठुलो उपलब्धि भनेकै गणतन्त्रको स्थापना हो । २४० वर्षदेखि चलेको राजतन्त्रलाई समाप्त गरी नेपाललाई गणतन्त्र घोषणा गरियो । यसले जनतालाई आफ्नो भाग्य आफैँ निर्धारण गर्ने अवसर प्रदान गर्‍यो । संविधानसभाको निर्वाचन भएर २०७२ सालमा नयाँ संविधान जारी भयो, जसले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्‍यो । यसले देशमा बहुदलीय प्रणाली, मौलिक अधिकार र न्यायिक स्वतन्त्रताको स्थापना गर्‍यो ।

जनयुद्धले नेपाली समाजमा व्याप्त जातीय, लैंगिक र क्षेत्रीय विषमतालाई चुनौती दिएर समावेशीकरणको मार्ग प्रशस्त गर्‍यो । संविधानले आदिवासी, दलित, महिला र अन्य सीमान्तकृत समुदायलाई विशेष अधिकार र प्रतिनिधित्व दिएको छ । उदाहरणका लागि— संविधानसभामा ३३५ महिला प्रतिनिधित्वको व्यवस्था गरिएको छ । यसले महिलालाई राजनीतिक प्रक्रियामा सक्रिय भूमिका खेल्ने अवसर प्रदान गर्‍यो ।

जनयुद्धले ग्रामीण क्षेत्रमा शिक्षा र स्वास्थ्य सेवाको महत्त्वलाई उजागर गर्‍यो । युद्धपछि सरकारले निःशुल्क शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्ने नीतिहरू ल्यायो । विद्यालयहरूको संख्या बढ्यो र साक्षरता दरमा उल्लेखनीय सुधार भए । यसले ग्रामीण जनतालाई आत्मनिर्भर बनाउने मार्ग प्रशस्त गर्‍यो ।

जनयुद्धले ग्रामीण क्षेत्रहरूको विकासलाई प्राथमिकता दिएर आर्थिक सुधारको मार्ग प्रशस्त गर्‍यो । सरकारले ग्रामीण ढाँचाको विकास, सिँचाई योजना र सडक निर्माणलाई बढावा दियो । यसले ग्रामीण जनताको आर्थिक स्थितिमा सुधार ल्याउन मद्दत गर्‍यो ।

जनयुद्धले नेपाली संस्कृतिमा पनि पुनर्जागरण ल्यायो । युद्धले जातीय भाषा, संस्कृति, र परम्परालाई पुनर्जीवित गर्‍यो । संविधानले आदिवासी भाषालाई मान्यता दिएर बहुसांस्कृतिक पहिचानलाई बढावा दियो ।

  • निष्कर्ष

जनयुद्धले देशमा गहिरो राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनहरू ल्याएको छ । यसले नेपाललाई गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीकरण र विकासको मार्गमा अगाडि बढाउन मद्दत गर्‍यो । तर युद्धले सिर्जना गरेका चुनौतीलाई पनि सम्बोधन गर्न आवश्यक छ । भविष्यका लागि आवश्यक छ कि युद्धबाट सिकेर शान्ति, समृद्धि र न्यायको समाज निर्माण गर्नुपर्छ । 

यतिखेर परिवर्तनका पक्षधर माओवादी  लगायत दललाई शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउनुपर्ने दायित्व छ । युद्धका घाउमा मलमपट्टी लाउनु छ । मेलमिलापमार्फत राज्य र विद्रोही दुवै तर्फका मनहरूलाई मिलाउनु छ । 

घाइतेहरूको जीवनयापन सजिलो बनाउने गरी राज्यबाट सम्मान र आवश्यक भरणपोषणको व्यवस्था गर्नु छ । महान् जनयुद्धका सम्पूर्ण ज्ञात–अज्ञात सहिदलाई सामाजिक सम्मान र सबैबाट आत्मसात् गरिनुपर्छ । बेपत्ता योद्धाहरूको खोजी गरिनुपर्छ । न्यायमूलक र समतामूलक समाजको निर्माण गर्दै जनयुद्धले देखेका सारा सपनालाई पूरा गर्नका लागि समाजवादको यात्रा अवलम्बन गर्दै संविधानले भनेझैँ सबै अटाउने सबैको अपनत्व हुने गरी राष्ट्र निर्माण गर्नुछ । वास्तवमा माओवादीले सञ्चालन गरेको महान् जनयुद्धको सबैभन्दा सर्वश्रेष्ठ उपलब्धि भनेको समावेशी लोकतन्त्र नै हो । 

कसैले माने पनि नमाने पनि, अदालतले जनयुद्ध शब्द प्रयोग गर्नु उचित नहुने तर्क व्यक्त गरे पनि, संविधानमा सशस्त्र युद्ध भन्ने शब्दावलीहरू प्रयोग गरिएको भए पनि, वर्तमान अन्य राजनीतिक दलहरू खासगरी एमाले–कांग्रेस लगायत राजावादी अन्य दलहरूले जनयुद्धप्रति आंशिक सहमति व्यक्त गरे पनि यथार्थ के हो भने माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्ध एक उथलपुथलकारी युद्ध थियो । चेतनाको बिगुल थियो । आमजनताको चेतनास्तर जागृत गर्ने महाआन्दोलन थियो । समाजमा व्याप्त सङ्कीर्ण सामाजिक सांस्कृतिक चेतनाको जग उखेल्ने आन्दोलन थियो ।

(लेखक समाजशास्त्रका विद्यार्थी हुन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विशाल ओली
विशाल ओली
लेखकबाट थप