बिहीबार, ०१ फागुन २०८१
ताजा लोकप्रिय

जनयुद्धले उठान गरेका मुद्दा नै गणतन्त्रको आधारशिला

जनयुद्धले उठान गरेका मुद्दा नै गणतन्त्रको आधारशिला
बिहीबार, ०१ फागुन २०८१, १४ : ५८
बिहीबार, ०१ फागुन २०८१

आज माओवादी घटकहरूले विभिन्न कार्यक्रम गरी ३०औँ जनयुद्ध दिवस मनाउँदै छन् । २९ वर्षअघि आजैका दिन (२०५२ फागुन १ गते) तत्कालीन माओवादीले जनयुद्ध थालनी गरेको थियो । आफूले सरकारसामु राखेका ४० बुँदे माग पूरा नभएपछि जनयुद्धमा गएको माओवादी २०६३ मंसिर ५ गते सरकारसँग विस्तृत शान्ति सम्झौता भएसँगै शान्ति प्रक्रियामा आएको थियो ।  

जनयुद्धले नेपालको दूरदराजमा रहेका जनतामा व्यापक राजनीतिक चेतना विस्तार गर्‍यो । तीव्र गतिमा भएको राजनीतिक जागरणले नेपालमा ०६२/६३ सालको राजनीतिक परिवर्तन सम्भव भएको हो ।

जनयुद्धले उठान गरेका धेरैजसो विषय आज नेपालको संविधानले अंगीकार गरेको छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लगायत महिला, आदिवासी जनजाति दलितलाई अधिकार र राज्यका निकायमा आरक्षण व्यवस्थाको आधारशिला जनयुद्ध नै थियो । 

जनयुद्धको बलमा प्राप्त भएको व्यवस्था उपभोग गर्दै जनयुद्धमाथि नै नकारात्मक टीका–टिप्पणी गर्ने प्रवृत्ति पनि बढ्दो छ । सत्य स्विकार्न नसक्ने कमजोर मनस्ताŒिवक भएका व्यक्तिले जनयुद्ध हिंसा भन्दै गलत व्याख्या समेत गर्ने गरेका छन् । 

विस्तृत शान्ति सम्झौता र संविधानमार्फत टुंगिसकेको विषयमा खिइँदै गएको माओवादीलाई जनयुद्ध हिंसा हो भन्दै होँच्याउने गरिएको छ । वास्तवमा जनयुद्ध सबै न्यायप्रेमी जनताको आस्थाको केन्द्र थियो । आमूल देश परिवर्तन र सामाजिक न्यायका लागि राजनीतिक मागसहित शासकका विरुद्ध गरिएको त्यो सशस्त्र विद्रोह थियो । 

जनयुद्ध शब्द गुञ्जिदा मेरो मन–मस्तिष्कमा ०५४/५५ सालतिर तत्कालीन माओवादीले प्रकाशन गरेको एउटा चर्चित पोस्टरको याद आउँछ । उक्त पोस्टरमा जनमुक्ति सेना राइफल र हँसिया–हथौडा अंकित लालझन्डा बोकेर लामबद्ध भएका थिए । उक्त पोस्टर मैले सिन्धुलीको ढुंग्रेवासस्थित कमला हाई स्कुलको भवनमा टाँसेको देखेको थिएँ । म अर्कै स्कुलमा पढ्ने भए पनि हामी साँझपख उक्त स्कुलको चौरमा फुटबल खेल्ने गथ्र्यौं । केही दिनसम्म त्यो पोस्टर स्कुलको भित्तामा थियो, पछि कसैले च्यातेको अवस्थामा देखियो । 

जनादेश साप्ताहिक पत्रिकामा माओवादी पार्टीका विषयमा डा. बाबुराम भट्टराई राम कार्की लगायत नेताको लेख प्रकाशन हुन्थ्यो । पत्रिकामा पार्टीको कार्यदिशा रणनीति, पार्टी बैठकका निर्णय लगायत विषयमा लामालामा लेख प्रकाशन हुन्थे । दाइहरूले पत्रिका सस्वरवाचन गर्दा हामी मन्त्रमुग्ध भएर सुन्थ्यौँ । 

बेलाबखत गाउँमा जाँदा माओवादी कार्यकर्तासँग भेट हुन्थ्यो । उनीहरू वर्गीय तथा जातीय मुक्ति र समानताको कुरा गर्दथे । राजनीतिक प्रशिक्षकका क्रममा नोट गरेका बुँदा पढ्थे । नोट गरिएको डायरी एकअर्काबिच साटासाट गरेर पढ्थे । रक्तिम परिवार, सामना र प्रतिरोध सांस्कृतिक समूह लगायत क्रान्तिकारी गीत बजाउँथे । 

जनयुद्धले उठान गरेका धेरैजसो विषय आज नेपालको संविधानले अंगीकार गरेको छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लगायत महिला, आदिवासी जनजाति दलितलाई अधिकार र राज्यका निकायमा आरक्षण व्यवस्थाको आधारशिला जनयुद्ध नै थियो ।

उनीहरूको जिन्दगी एक प्रकारले फिक्सन डिजाइनर कुमार नगरकोटीको भाषामा फकिर शैलीको लाग्थ्यो । घर–परिवार, खेती, किसान, पढाइ, जागिर आदि केहीको मतलब थिएन उनीहरूलाई । चाडबाड मनाउँदैनौ भन्थे । उनीहरू भन्थे, हामी देश र जनताको न्यायका लागि पार्टीको अभियान अनुसार जनयुद्धमा एकाकार भएका छौँ । 

गाउँ तथा सदरमुकाम नजिकका गाउँमा शोषण तथा अन्याय गर्नेमाथि कारबाही गर्थे । कतै कतै बाटो तथा चौतारो मर्मत सम्भार गर्थे । ठगी–फट्याइँ गर्नेहरूलाई दण्ड जरिवाना गर्थे । हाम्रो आफ्नै जनअदालत छ भन्थे । हाम्रा काम–कारबाही र रणनीतिमा पार्टीभित्र सामूहिक छलफल हुन्छ भन्थे । हाम्रो सरकार आए पनि दीनदुःखी सबैको दिन आउँछ भन्थे । 

वैज्ञानिक शिक्षा लागु गर्छौं भन्थे । साँच्चै उनीहरूका कुरा सुन्दा कुनै दिन यो मुलुक सम्पन्न हुन्छ होला भन्ने लाग्थ्यो । न्याय समानता रोजगारी र विकासका कुराले मन्त्रमुग्ध बनाउँथे । बेलाबखत गाउँमा आउँदा कोही–कोही माओवादी हाम्रा बालाई धान काट्न, आलु खन्न, दाइँ हाल्न आदि काममा सहयोग पनि गर्थे । आज ती व्यक्ति कहाँ पुगे होला ? एकपटक भेट्न मन लागेको छ । मलाई उनीहरूको वास्तविक नाम थाहा छैन, भेटे भने अनुहारबाट चाहिँ चिन्छु होला । 

विस्तृत शान्ति सम्झौतापछि धेरैपटक माओवादी सरकारमा पुग्यो तर मलाई न्याय, समानता, माओत्से तुङ, लेनिन र स्टालिनका कुरा सिकाउने ती माओवादी कमरेडहरू कहिल्यै देखिनँ । स्थानीय तहमा चुनाव भएर जनप्रतिनिधि फेरिएको पनि धेरै भयो, तर ती कामरेडलाई कहिल्यै देखिनँ । 

माओवादीले देश परिवर्तन र जनताको न्यायका लागि जनयुद्ध गरेको पनि आज २९ वर्ष पूरा भई ३०औँ वर्षमा प्रवेश गरेको छ । २०६३ पछि त माओवादी कुनै न कुनै रूपमा सरकारमा सामेल हुँदै आएको छ । यतिका वर्षको अन्तरालमा देशको चौतर्फी क्षेत्रमा आमूल परिवर्तन भएको छ । 

जनताको अधिकारलाई संविधानमा सुरक्षित गरिएको छ, तर व्यवहारमा भने सन्तोषजनक छैन । आज पनि शोषित पीडित वर्गको न्याय अझै धेरै टाढा रहेको छ । भ्रष्टाचार बेरोजगार जातीय विभेदजस्ता विकृतिले समाज ग्रस्त छ । त्यसैले हरेक जनयुद्ध दिवसका अवसरमा माओवादी घटकसहित सबै दलले समीक्षा गर्नुपर्छ । हिजो जनयुद्धका बेला उठान गरेका विषय पूरा भए कि अझै बाँकी छन् भनेर । 

जनयुद्धका बेला पार्टीमा एकताबद्ध भएका आम कार्यकर्ताको अवस्था के छ ? जनताको जीवनस्तर सुधार आयो कि आएन भनेर समीक्षा गरिनुपर्छ । न्याय सुशासन शिक्षा स्वास्थ्य लगायत जनताको पहुँच र जनताको दैनिक जीवनसँग जोडिएका विषयलाई सहज तथा सर्वसुलभ बनाउन जोड दिनुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र फुयाँल
खगेन्द्र फुयाँल
लेखकबाट थप