बिहीबार, ०१ फागुन २०८१
ताजा लोकप्रिय
शिक्षा

मधेस कृषि विश्वविद्यालयमा कर्मचारीहरूले लगाए ताला

बिहीबार, ०१ फागुन २०८१, १४ : ५८
बिहीबार, ०१ फागुन २०८१

काठमाडौँ । दुई राजनीतिक दलको द्वन्द्वको चेपुवामा परेको मधेस कृषि विश्वविद्यालयमा कर्मचारीहरूले तालाबन्दी गरेका छन् । ६ महिनादेखि तलबभत्ता नपाएका त्यहाँ कार्यरत कर्मचारी तथा उपप्रध्यापकले आज विश्वविद्यालयमा तालाबन्दी गरेका हुन् । 

सप्तरीको राजविराजस्थित विश्वविद्यालयको उपकुलपति, रजिष्ट्रार, प्रशासन शाखा, प्रशासनिक भवनको तथा शैक्षिक भवनको मुलगेटमा ताला लगाइएको छ । 

भवन शिलान्यासको विषयलाई लिएर विश्वविद्यालयमा भएको विवादबारे छानबिन गर्न मधेस प्रदेश सरकारले छानबिन समिति गठन गरेको थियो । त्यसरी छानबिन समिति गठन गरेपछि शैक्षिक गतिविधिबाहेक अरू कामकारबाहीमा रोक लगाइएको थियो ।  

६ महिनादेखि तलबसमेत नपाएका कर्मचारी तथा उपप्रध्यापकहरूले क्षतिपूर्तिसहित तलब सुविधाको माग गर्दै तालाबन्दी गरेका उपप्राध्यापक अविनाशकुमार यादवले बताए । उनले भने, ‘मधेस सरकारलाई पटक पटक यो कृषि विश्वविद्यालयबारे जानकारी गराउँदा वास्ता नगरेकाले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको छ ।’ 

जसपा नेपाल नेतृत्वको प्रदेश सरकारले २०७८ मंसिर २७ गते मधेस कृषि विश्वविद्यालयको स्थापना गरेको थियो । नयाँ भवन जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले शिलान्यास गरेपछि विवाद उत्पन्न भएको हो । 

जनमत पार्टी नेतृत्वको वर्तमान सरकार विश्वविद्यालयलाई धराशायी बनाउन लागेको जसपा नेपालका नेताहरूको गुनासो छ । 

विश्वविद्यालयमा चार वर्षे कृषि स्नातकमा अध्ययनरत १ सय विद्यार्थी छन् । यो चालु शैक्षिक सत्रका लागि ५० जना विद्यार्थी भर्ना लिने सूचना भएको थियो, आवेदन भने १ सय १० को परेको थियो । तर, विवादका कारण परीक्षा लिन नसकेपछि भर्ना प्रक्रिया नै रोकिएको छ । अरू सबै गतिविधिसमेत ठप्प छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप