आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

३३ केजी सुनकाण्डमा मुछिएका एसएसपी श्याम खत्रीद्वारा अदालतमा आत्मसमर्पण

बिहीबार, १७ जेठ २०७५, १७ : ००
बिहीबार, १७ जेठ २०७५

काठमाडौं– साढे ३३ केजी सुन तस्करी प्रकरणमा मुछिएका नेपाल प्रहरीका एसएसपी श्याम बहादुर खत्रीले जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन् । 

सुन तस्करीबारे छानविन गर्न बनेको समितिले काम सुरु गरेपछि खत्री फरार रहँदै आएका थिए । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विभागमा कार्यरत खत्रीलाई सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको छानविन समितिले खोजिरहेको थियो ।
 
सुन तस्करीमा संलग्न मुख्य नाइके भनिएका चुडामणी उप्रेती ‘गोरे’ पक्राउ परेपछि उनले एसएसपी खत्रीलाई नियन्त्रणमा लिएमा सुनको सबै नेक्सस खुल्ने बयान दिएका थिए ।
 
खत्रीले मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेको पुष्टि गर्दै छानविन समितीका संयोजक ईश्वरराज पौडेलले भने, ‘फरार एसएसपी खत्री अदालतमा उपस्थित भएका छन् ।’
 
२०७४ फागुन पहिलो साता चुडामणि उप्रेती ‘गोरे’ले ल्याएको भनिएको ३३ किलो सुन त्रिभुवन विमानस्थलबाटै बाहिरिएको थियो । दुबईबाट त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको उक्त सुन लुटिएपछि गोरेको समूहको यातनाका कारण सुनका भरिया सनम शाक्यको फागुन १८ गते हत्या भएको थियो ।

सनमको हत्यापछि ३३ किलो सुन तस्करीबारे छानविन गर्न बनेको समितिले नेपाल प्रहरीका उच्च अधिकारी सहित ६३ जनलाई प्रतिवादी बनाएर मोरङ जिल्ला अदालतमा  संगठित अपराध, अपहरण तथा शरीर बन्धन र कर्तब्यज्यान मुद्धा दर्ता गरेको थियो । जुन मुद्दा अहिले पनि अदालतमा विचाराधीन अवस्थामा छ । 

यसअघि नै अदालतले पक्राउ परेका पूर्व डिआईजी गोविन्द निरौला, बहालवाला एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल लगायका अधिकांश प्रतिवादीलाई  पुर्पक्षका लागि जेल चलान गरिसकेको छ  । यस्तै गोरे पनि जेल चलान भएका छन् । 
बिहीबार आत्मसमर्पण गरेका खत्रीको बिहीबारदेखी नै थुनछेक बहस शुरु हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप