बिहीबार, ०१ फागुन २०८१
ताजा लोकप्रिय

जनयुद्ध दिवस र पक्ष-विपक्ष

बिहीबार, ०१ फागुन २०८१, १४ : २१
बिहीबार, ०१ फागुन २०८१

आज फागुन १ गते अर्थात् जनयुद्ध दिवस । जनयुद्ध दिवसको शुभकामना भन्नु भन्दा पहिले यसबारे छोटो चर्चा गरौँ ।

जनयुद्धले के उपलब्धि भयो? यो व्यापक बहसको विषय जरुर हुन सक्छ। जनयुद्धको बलमा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, उत्पीडित र विभेदमा पारिएको समुदायको हक अधिकार सुनिश्चित गरिएको संविधान,समावेशी समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता,धर्म निरपेक्षता आदि बिषय कसैका लागि महत्त्वपूर्ण  उपलब्धि हुन सक्छन् भने कसैका लागि शून्य उपलब्धि अझ कसैका लागि अभिशाप पनि लाग्न सक्छ।

 जनयुद्धका कारण थुप्रैको ज्यान गएको सत्य हो। त्यसमा एउटा पक्ष पीडित हुन्छ त अर्को पक्ष पिडक। त्यसो हुँदा कतै न कतै तपाईँ पनि दुःखी हुनु सक्नुहुन्छ म पनि दुखी हुन सक्छु र अर्को पनि दुखी हुन सक्ला।

जनयुद्ध सुरु गर्न जरुरी थियो या थिएन? जनयुद्ध अहिले आएर संवैधानिक हो या असंवैधानिक ? यी  यावत विषय छन् जनयुद्धसँग सम्बन्धित जो लामो समय सम्म बहस र छलफलका विषय बनिरहने छन्।

एउटा पक्षलाई जनयुद्ध पटक्कै मन परेको थिएन। त्यो पक्ष हरदम जनयुद्धको तेजोवध गर्छ र गरिरहने छ। भलै त्यो पक्ष जनयुद्धका उपलब्धिमा आफ्नो रजाइँ गर्न कहिले जनयुद्धलाई उच्च साहस र बलिदानको आलोक भन्नसम्म भ्याउँछ कहिले जनयुद्ध र त्यसका पक्षधरहरूको आवश्यकता ठानेन भने हिंसा र आतङ्ककारी परिघटनाको संज्ञा दिँदै सत्तोसरापमा उत्रिन्छ। 

अर्को पक्ष जसले जनयुद्धलाई आफ्नो मुक्ति मार्ग मान्यो त्यसले आज पनि जनयुद्ध प्रति गहिरो आत्मीयता राख्दछ र सम्मानमा श्रद्धाले शिर झुकाउँछ।

आजको पुस्ताले पनि यसबारे अध्ययन गरेको छैन। बुझेको छैन। सुनेको र हल्लाका भरमा एउटा पक्ष भन्छ जनयुद्ध महान् थियो,अर्को पक्ष भन्छ अनावश्यक थोपरिएको आतङ्ककारी घटना थियो। यसर्थ आजको पुस्ता पनि यस विषयमा विभक्त छ।

 यस्तो पक्ष विपक्ष बहस छलफल, समर्थन विरोध, वाद प्रतिवाद आदि निरन्तर चलिरहन्छन्। किनकि यो एकदमै साधारण विषय हुँदै हैन। यो त थिचिएका, पिल्सिएका, हेपिएका, चेपिएका, दमन उत्पीडनमा परेका,भोका नाङ्गा, निमुखा, आम जनताका बिचबाट आफ्नो मृत्यु निश्चित छ भन्ने जान्दाजान्दै,जित्न मात्र हैन हार्न पनि सकिन्छ भन्ने ठान्दा ठान्दै सचेततापूर्वक जनताका छोराछोरीले सामन्ती, विभेदकारी, अत्याचारी राज्य सत्ताका विरुद्ध चालिएको भयङ्कर विद्रोहको एउटा महान् परिघटना हो।

 लडाई, झगडा, विद्रोह, हत्या, आतङ्क, दमन, उत्पीडन यी सबै प्रक्रियाहरू मानव विकास क्रममा विश्वमा जता पनि हुने गरेका छन् र विद्रोह बिना उत्पीडित समुदायले आफ्ना हक प्राप्त गर्न सक्दैन। यो विश्वव्यापी अकाट्य मान्यता हो। यति कुरा मनन गर्न सकिएन भने हामी कुनै पनि युद्ध वा विद्रोहलाई खाली हिंसाको नजरले मात्र हेर्न सक्छौँ । तब हामी त्यसका सकारात्मक र नकारात्मक पक्षबारे बुझ्ने वा अध्ययन गर्ने चेष्टा नै राख्न सक्दैनौँ ।जनयुद्धको हकमा पनि कतिपय यस्तै चिन्तनहरू पनि छन्।

 जेसुकै होस् यो एउटा ऐतिहासिक परिघटना थियो। भयङ्कर विद्रोह थियो। धेरै भन्दा धेरै नेपाली जनताले सहभागिता जनाएको बृहत् आन्दोलन थियो। यो केवल हिंसा वा लडाई मात्र थिएन। यसले त जनताका चेतनाको विकास र परिवर्तन गर्न निकै ठुलो योगदान गरेको थियो। आज नेपाली जनता आफ्नो हकका लागि आफै लड्न सक्ने भैसकेका छन्। आफ्ना उपर हुने अन्याय र विभेदको आफै प्रतिकार गर्न सक्दछन्।तर हिजो त्यस्तो थिएन।

तपाईँ हामी सायद निजी स्वार्थमा अलमलिएका छौँ । तर जनयुद्ध त्यस्ता मान्छेहरुको त्यागले सम्भव भएको थियो। जसले आफ्नो निजी स्वार्थलाई पूर्ण रूपमा तिलाञ्जली  दिए अनि सम्पूर्ण त्याग र बलिदानलाई  रोजे।विभेद र दमनमा परेका उत्पीडित जनताको हकका लागि सचेत रूपमा आफ्नो जीवन उत्सर्ग गर्ने जनताका ती महान् छोराछोरीको सम्मान गर्न सक्नु पर्दछ। कुनै पनि राष्ट्रको इतिहास त्यस राष्ट्रको गौरव हुने गर्दछ। इतिहासमा बिरलै हुने यस्तो परिघटनाको ऐतिहासिकता जोगाउन सक्नु पर्दछ। मान्छे भएर जन्मेपछि मान्छे भएर जिउन पाउनु संसारका हरेक नागरिकको नैसर्गिक अधिकार हो। कसैले आफ्नो जीवन बलिदान गरेर स्थापना गरिदिएको नैसर्गिक अधिकार जोगाउन सक्नु पर्दछ।

पछिल्लो पुस्ता हचुवाका भरमा समर्थन या विरोधमा लाग्नु भन्दा यसको गहिराइको अध्ययन गरेर  ऐतिहासिक सत्य तथ्य र  यसको विरासतको खोजी गर्न सक्नु पर्दछ।

 त्यस कारण तपाईँ हामीलाई कुनै कारण  यसले नकारात्मक असर पारेको हुन सक्ला, व्यक्तिगत विकासमा बाधा गरेको पनि हुन सक्ला, तपाइलाई अन्य कुनै पनि कारणले चित्त नबुझेको हुन सक्ला, त्यसका केही नेता वा कार्यकर्ताको गलत शैली र व्यवहार हुन सक्ला, त्यसको नेतृत्व गरेको पार्टी वा व्यक्ति गलत हुन सक्लान् या नरहन पनि सक्लान्।यी सबै भएछ भने पनि जनयुद्ध जनयुद्ध नै थियो। यो एक महान् र ऐतिहासिक परिघटना थियो र रहने छ।नमान्दा नमान्दै पनि यसलाई मान्नु परेको छ। नचाहँदा नचाहँदै पनि स्विकार्नु परेको छ। अदालतले पनि यसलाई संविधानले चिन्दैन भनेर व्याख्या गर्दा आफै जनयुद्ध भनेको छ। यसको तेजोवध गर्नेहरूले पनि जति चर्को स्वरले ओकल्छन् त्यति नै प्रचार गरेको आफै थाहा पाएका छैनन्। यो नेपाली माटोमा नेपाली मौलिकतामा नेपाली जनताद्वारा नेपाली शासकहरूका विरुद्ध गरिएको एक सचेत शस्त्र विद्रोह थियो।यसको महिमा कालान्तरसम्म रहिरहने छ। यो इतिहासमा दर्ज भैसकेको छ।

जनयुद्ध दिवसको सम्पूर्णमा हार्दिक शुभकामना !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हर्क सिंह के.सी.
हर्क सिंह के.सी.
लेखकबाट थप