बिहीबार, ०१ फागुन २०८१
ताजा लोकप्रिय
सन्दर्भ : जनयुद्ध दिवस

जनयुद्ध : भ्रम र वास्तविकता

बिहीबार, ०१ फागुन २०८१, १४ : १९
बिहीबार, ०१ फागुन २०८१

नेपाली समाजमा तीन दशकदेखि एक छत्र बहसको विषय भएको एउटा शब्द हो, जनयुद्ध । जनयुद्ध शब्दको अर्थ हुन्छ, जनताद्वारा जनताकै मुक्तिका लागि गरिने युद्ध । 

सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र जारी गर्दै कार्ल माक्र्सले राज्य सत्ता र जनताबारे स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका थिए । राज्य सत्ता बन्दुकको नालमा टिकेको हुन्छ । एउटा वर्गले अर्को वर्गमाथि दमन गर्ने हतियार भनेकै राज्य सत्ता हो । बन्दुकको भरमा टिकेको राज्य सत्ता बन्दुकबाटै कब्जा गर्नुपर्छ । यो मान्यतालाई विकसित गर्दै सन् १९४९ मा २२ वर्ष लामो संघर्षद्वारा चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएको थियो । माक्र्सवादी सिद्धान्तको प्रयोग गर्ने सन्दर्भमा माओत्सतुङले विकास गरेको रणनीति नै दीर्घकालीन जनयुद्ध हो । 

चिनियाँ क्रान्तिपश्चात् विश्वभर चिनियाँ र रसियन क्रान्तिको मोडलका बारेमा व्यापक बहस भए । नेपाली राजनीति पनि त्यो बहसबाट टाढा रहन सकेन । खासमा रसियन क्रान्तिको मोडल अल्पकालीन सशस्त्र विद्रोह थियो । त्यसले पनि स्थापना गर्ने सत्ता भनेको श्रमिक वर्गको राज्य सत्ता नै हो तर नेपालमा कस्तो मोडलको क्रान्तिको बाटो रोज्ने भन्नेमा अन्योल थियो । एकातिर क्रान्तिको मोडल नै कस्तो भन्ने बहस छँदै थियो भने अर्कोतिर क्रान्तिको सुरुवात आफैँमा एउटा जोखिमयुक्त कदम थियो । यस्तै अन्योलता र जोखिमका बिच कमरेड प्रचण्डले नेपालमा दीर्घकालीन जनयुद्धको खाका प्रस्तुत गरेका थिए ।

क्रान्ति रहरको विषय होइन, न त जनयुद्ध कुनै आवेगको विषय थियो । नेपालमा राज्यद्वारा जनतामाथि लादिएको शोषण, दमन, अन्याय र अत्याचारको ठुलो दुश्चक्र थियो, त्यसको संरक्षक थियो राजतन्त्रात्मक व्यवस्था । देशको नीति–निर्माणको तहमा कुलीन वर्गको वर्चस्व थियो । जनताका प्रतिनिधि वा उत्पीडित जाति, क्षेत्र र लिङ्गका प्रतिनिधि नीति–निर्माणको तहमा हुँदैनथे । केही पात्रहरूलाई देखाइए पनि ती सबै बुख्याँचा मात्रै हुन्थे । एक किसिमको हुकुमी शासन थियो । राजाले बोलेको कुरा कानुन हुन्थ्यो; नीति र नियम हुन्थ्यो । बाहिर देखाउनका लागि बहुदलीय प्रजातन्त्रको जामा थियो । संवैधानिक राजतन्त्र भनिन्थ्यो । यथार्थमा दलका नेताहरू र जनप्रतिनिधि राजाको सेवा गर्न खटिएका नयाँ अनुहारका सेवक हुन्थे । तिनले राजतन्त्रको सेवा गर्नुपथ्र्यो । राजाको चाकडी गर्नुपथ्र्यो । राजाले चाहेको कुरा पूरा गर्नुपथ्र्यो । जनताले जतिसुकै मत दिएर पठाए पनि राजाले चाहेका बेला तिनलाई बर्खास्त गर्न सक्थे । 

तत्कालीन संविधान र व्यवस्थामा जनताको अधिकार कति थियो ? त्यो बेग्लै चर्चाको विषय होला । यथार्थ कुरा माथि भनिएको जस्तै थियो । त्यो यथार्थलाई नेपाली क्रान्तिद्वारा मात्रै बदल्न सकिन्थ्यो । हो त्यही क्रान्तिको नाम थियो जनयुद्ध । नेपालमा दीर्घकालीन जनयुद्धको सुरुवात सामान्य विषय थिएन । साथै यसको लक्ष्य पनि असामान्य थियो । राज्य सत्ताको विरुद्धमा विद्रोह गर्नु सामान्य काम होइन । त्यो पनि हजारौँ नेता कार्यकर्ता र लाखौँ, जनतालाई विश्वासमा लिएर क्रान्तिको मार्ग देखाउँदै अगाडि बढाउनु विश्व इतिहासको दुर्लभ कार्य थियो नेपाली जनयुद्ध । 

नेपालमा राज्यद्वारा जनतामाथि लादिएको शोषण, दमन, अन्याय र अत्याचारको ठुलो दुश्चक्र थियो, त्यसको संरक्षक थियो राजतन्त्रात्मक व्यवस्था । देशको नीति–निर्माणको तहमा कुलीन वर्गको वर्चस्व थियो ।

२०५२ फागुन १ गते भन्दा अगाडि जनयुद्ध शब्द पार्टीभित्रको आन्तरिक बहस थियो । एकातिर यसको सुरुवात हुन्छ कि हुँदैन भन्ने दुविधा थियो । अर्कोतिर गर्न हुन्छ कि हुँदैन भन्ने गम्भीर बहस पनि थियो । तमाम भ्रम र आशंकाका बिच पार्टीभित्र जनयुद्धको सुरुवात गर्ने निष्कर्षमा पुर्‍याउने काम पनि निकै चुनौतीपूर्ण थियो । ती सब आशंका र चुनौती पार गर्दै कमरेड प्रचण्डको नेतृत्वमा जनयुद्धको सुरुवात भएको थियो । रोल्पाको होलेरी रुकुमको राडी सिन्धुलीको सिन्धुलीगढी र गोर्खाको च्याङ्लीमा एक साथ आक्रमण गरी जनयुद्धको सुरुवात भएको थियो । कतै मसाल जुलुस त कतै भित्तेलेखन गर्दै जनयुद्ध देशव्यापी रूपमा फैलिएको थियो । 

जनयुद्धको सुरुवात पार्टी नेतृत्वको सचेतन प्रयत्न मात्रै थिएन, तत्कालीन राज्य सत्ताले सिर्जना गरेको चुनौतीपूर्ण परिस्थितिको उपज पनि थियो । राजतन्त्रात्मक व्यवस्था भए पनि सरकारमा कांग्रेस–एमालेको उपस्थिति आलोपालोजस्तै थियो । संसद् र संसदीय व्यवस्थाको भण्डाफोर गर्ने उद्देश्यले भाग लिएको चुनावमा नौ सिट जितेर संसद्मा पनि माओवादीको उपस्थिति थियो । माओवादी बनेर राजनीतिक गतिविधि गर्न कानुनी हिसाबले खुलै थियो । माओवादी पार्टीका केन्द्रीय नेता रामवृक्ष यादवलाई नेपाली कांग्रेसका गुन्डाले दिनदहाडै धनुषामा हत्या गरेका थिए । रोल्पा रुकुम लगायत ठाउँहरूमा राज्यशक्तिको दुरुपयोग गर्दै माओवादीमाथि प्रत्यक्ष दमन गरेका थिए । त्यसले पनि जनयुद्ध सुरुवातका निम्ति वस्तुगत आधार तयार गरेको थियो । 

जनयुद्ध र माओवादी नेतृत्वलाई आरोप लगाउनेहरूले एकपटक तथ्यतिर ध्यान दिऊन् । जनयुद्धको सुरुवात गर्दा राज्यतर्फको एकजना नागरिकको ज्यान गएन, न त तत्कालीन विद्रोही माओवादीको । विद्यालयमा पढिरहेको ११ वर्षे बालक दिलबहादुर रम्तेललाई फागुन १४ गते विद्यालयकै आँगनमा प्रहरीद्वारा गोली हानेर मारियो । जाजरकोटमा निहत्था लोकबहादुर र मनबहादुर रावललाई गोली हानेर हत्या गरियो । गोठमा बसिरहेका रुकुमका खत्री परिवारलाई गोठमै गोली हानेर मारियो । पार्टी नेता र कार्यकर्तालाई मात्रै होइन सर्वसाधारण नागरिकलाई पनि माओवादीको आरोपमा दिन प्रतिदिन हत्या गरेर राज्यले नै हत्या अभियान सुरुवात गरेको थियो । राज्यलाई त्यसरी दमनमा उतार्नुपर्दा पछाडिबाट क–कसले भूमिका निर्वाह गरेका थिए त्यो पनि समयक्रमसँगै बाहिर आउला । दमन र प्रतिरोधको शृंखला यसरी नै बढेको थियो । 

जनयुद्ध विचार दृष्टिकोण र उच्च राजनीतिक चेतनाको समष्टिगत अभिव्यक्ति हो । कतिपयले यसलाई विचारहीन, सिद्धान्तहीन र दृष्टिकोणविहीन पनि भने । जनयुद्धको सुरुवात माक्र्सवाद–लेलिनवाद–माओवादको वैचारिक आलोकमा भएको थियो । दुनियाँ बदल्ने त्यो विचारलाई नेपाली समाजका अन्तर्विरोध र विशिष्टतासँग जोडिएको थियो । नेपाली समाजको आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक अवस्थाको गहिरो अध्ययन गर्दै रूपान्तरणका विविध पक्षमा हस्तक्षेपकारी योजना तर्जुमा गरेको थियो । विचार र दृष्टिकोणविना यो कार्य सम्भव हुनै सक्दैन । जनयुद्ध कम्युनिस्ट सिद्धान्तमा आधारित थियो, कम्युनिस्ट सिद्धान्त भनेको उन्नत चेतनायुक्त सामाजिक मनोभाव हो । माओवादी नेतृत्वमा त्यो उन्नत चेतना हुँदैनथ्यो भने जनयुद्ध अघि बढ्ने सम्भावना थिएन । आफ्नो विचार र वर्गप्रति निष्ठा र समर्पणको चेतना नै उन्नत चेतना हो । करोडौँ जनताको साथ जनयुद्धलाई स्थापित गर्नु सामान्य ज्ञान र चेतनाले पुग्दैन । विचार चाहिन्छ सिद्धान्त चाहिन्छ र उच्च चेतना आवश्यक पर्छ । जुन कुरा जनयुद्धमा अभिव्यक्त भएको थियो । 

दरबार र दरबारका पाले, पहरेदार, खेताला, हली, गोठाला, नोकर–चाकर र दासहरूलाई आतंक र हिंसा लाग्छ जनयुद्ध, त्यो स्वभाविकै हो । किनकि जनयुद्धले तिनको खुसी चैन र वैभव लुटेको हो ।

जनयुद्ध एउटा विशिष्ट रणनीति र दूरदर्शी नेतृत्वको ऐतिहासिक संयोग पनि हो । रणनीति भन्नाले सैनिक, राजनीतिक र कूटनीतिक सबै हुन्छ । संसारभरि साम्यवादको अन्त्य भयो, कम्युनिस्ट सिद्धान्त असफल भयो भन्नेजस्ता दुष्प्रचार व्याप्त थियो, प्रतिक्रान्तिको लहर चलेको थियो । विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक स्थितिमा पुगेको थियो । झापा विद्रोहको असफलता नेपालमा सशस्त्र सङ्घर्षको ब्याक फायर छँदै थियो । भारतमा चारु मजुमदारले नेतृत्व गरेको सशस्त्र सङ्घर्ष ठोस परिणामबिना अल्झिरहेको थियो । यस्तो परिवेशमा नेपालमा जनयुद्ध सुरुवात भएको थियो । राष्ट्रिय र अन्तर्राष्ट्रिय तमाम चुनौतीका बिच आफ्नो पार्टी र नेतृत्वलाई विश्वासमा लिएर जनयुद्धको सुरुवात गर्नु विश्व इतिहासकै दुर्लभ नेतृत्वको रूपमा थिए कमरेड प्रचण्ड । 

जनयुद्धलाई त्याग, समर्पण, वीरता र बलिदानका अनुपम कर्तिमानले सुसज्जित गरेका छन् । आफ्ना व्यक्तिगत जीवनका तमाम अवसर छाडेर हजारौँ योद्धा जनयुद्धमा सरिक भए । बलिदानका लागि तयार भए । घर–परिवार, सम्पत्ति, सुख सुविधा सबै त्यागेर मुक्तिको मार्ग जनयुद्धमा सरिक भए । प्रहरी चौकीमा हमला गरे । सैनिक ब्यारेक कब्जा गरे । जेल–नेल सबै तोडे । वर्षौं सैनिक हिरासतमा मृत्यु नियाल्दै धैर्यतापूर्वक बसिरहे । आस्था र विचार जोगाउन फाँसीका तमाम दस्तावेजमा दस्तखत गरे । महिलाले पनि लड्न सक्छन् र भन्ने सामाजिक मान्यतालाई तोड्दै सुरक्षाकर्मीका हतियार कब्जा गरे । उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायलाई उच्च मनोबलका साथ आफ्नो अधिकारका लागि जागरुक गरे । 

२४० वर्षको राजतन्त्रको इतिहास अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक भूमिका जनयुद्धकै हो । यस कारण आम नेपाली जनतामा जनयुद्ध जनताकै मुक्तिका लागि लडिएको एउटा महान् युद्धको रूपमा स्थापित भएको छ । जनयुद्धका सर्वोच्च कमान्डर तथा अध्यक्ष कमरेड प्रचण्ड नेपाली जनताको आशा, भरोसा र विश्वासको धरोहरका रूपमा स्थापित छन् । दरबार र दरबारका पाले, पहरेदार, खेताला, हली, गोठाला, नोकर–चाकर र दासहरूलाई आतंक र हिंसा लाग्छ जनयुद्ध, त्यो स्वभाविकै हो । किनकि जनयुद्धले तिनको खुसी चैन र वैभव लुटेको हो । दरबारको वरिपरि घुमेको अधिकारलाई कब्जा गरेर जनतामा ल्याएको हो । त्यसैले उनीहरूलाई जनयुद्ध प्रिय लाग्दैन । एक दिन न्यायालयदेखि वर्तमान सत्ताका विभिन्न ठाउँमा बसेर दरबार हेरिरहेका खेतालाले पनि बुझ्नेछन् र भन्नेछन्— जनयुद्ध जिन्दावाद, जिन्दावाद, जिन्दावाद ।

(मल्ल नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

झकबहादुर मल्ल ‘सुदीप’
झकबहादुर मल्ल ‘सुदीप’
लेखकबाट थप