पुटिनसँग फोनमा कुरा गरेको ट्रम्पको दाबी, अब रोकिएला त युक्रेन युद्ध ?
![पुटिनसँग फोनमा कुरा गरेको ट्रम्पको दाबी, अब रोकिएला त युक्रेन युद्ध ?](https://rpcdn.ratopati.com/archived-media/trump_putin_afp.jpg)
वासिङ्टन डिसी । बुधवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गरेको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् । वार्ता धेरै लामो र निकै सकारात्मक भएको उनले बताए ।
युक्रेन युद्ध तुरुन्तै अन्त्य गर्न वार्ता सुरु गर्न दुईबिच सहमति भएको उनको भनाइ थियो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई यसबारे जानकारी गराएर सुरुवात गर्न चाहेको पनि उनले बताए । दुई राष्ट्रपतिले फोनवार्ताको क्रममा एकअर्काको देशको भ्रमण गर्न पनि सहमति जनाएको ट्रम्प र क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभ दुवैले भने ।
तर, फोन कलबाट मात्रै युक्रेनमा चलिरहेको युद्ध जादुई रूपमा अन्त्य हुनेछैन । तर यसबाट छलफल सुरु गर्न सक्छ । वार्ता कहिले र कसरी हुनेछ भन्ने कुरा अझै स्पष्ट छैन । ‘हामी साउदी अरेबियामा भेट्नेछौं ।’ बुधवार साँझ ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने । ट्रम्पसँग भएको यो कुराकानी पुटिनका लागि ठुलो कूटनीतिक विजय हो । तीन वर्षअघि युक्रेनमाथि हमला गरेर पुटिनले आफ्नो लागि राजनीतिक वनवास निम्त्याएका थिए । युक्रेनमा पूर्ण स्तरमा आक्रमण गर्ने पुटिनको निर्णयले उनलाई अन्तर्राष्ट्रिय समुदायमा एक्लो बनायो । संयुक्त राष्ट्र संघ (यूएन)को महासभाले युक्रेन विरुद्ध गैरकानूनी बल प्रयोग गरेकोमा रुसको निन्दा गर्ने प्रस्ताव बहुमतले पारित गरेको थियो ।
रुसले हजारौँ अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको सामना गर्यो । अन्तर्राष्ट्रिय फौजदारी अदालतले पुटिनविरुद्ध पक्राउ वारेन्ट पनि जारी गरेको थियो । जहाँसम्म अमेरिकी राष्ट्रपति जो बाइडेनको कुरा छ, त्यतिबेला उनले आफ्ना रुसी समकक्षीको बारेमा केही कठोर शब्दहरू प्रयोग गरेका थिए । ‘हत्यारा तानाशाह’ र ‘विशुद्ध गुन्डा’ भन्दै उनले पुटिनको निन्दा गरेका थिए । फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि चौतर्फी आक्रमण सुरु गरेपछि पुटिन र बाइडेनबीच कुनै टेलिफोन भएको थिएन ।
रुस अमेरिकी सम्बन्धमा ठुलो परिवर्तन
अमेरिकामा राष्ट्रपति फेरिएसँगै रुसलाई हेर्ने तरिका, भाषा र दृष्टिकोण पूर्ण रूपमा फेरिएको छ । युक्रेनमा युद्ध अन्त्य गर्न पुटिनसँग ‘मिलीजुलीका साथ, धेरै नजिकबाट’ काम गर्न चाहेको ट्रम्पले बताएका छन् । ‘दुवै नेताहरूले एकअर्काको देशको भ्रमण गर्नेछन्,’ उनले आशा व्यक्त गरेका छन् । भ्लादिमिर पुटिन पनि यही चाहन्छन् भन्ने स्पष्ट छ । उनले ट्रम्पलाई मस्को आउन आमन्त्रित गरेका छन् । भ्रमण भयो भने यो अमेरिका–रुस सम्बन्धमा ठुलो परिवर्तन हुनेछ । पछिल्लो एक दशकमा कुनै पनि अमेरिकी राष्ट्रपतिले रुसको भ्रमण गरेका छैनन् ।
कयौँ अर्थमा पुटिनले यो फोन कलबाट आफूले चाहेको सबै कुरा पाएका छन् । यसको अर्थ युक्रेन र युरोपको शीर्ष नेतृत्वसँग कुरा नगरी पुटिनले अमेरिकासँग प्रत्यक्ष वार्ता गरेको छ । साथै यसले रुसलाई अन्तर्राष्ट्रिय राजनीतिको मञ्चमा आफूलाई अगाडि राख्ने मौका दिएको छ । पुटिनले कस्तो खालको सम्झौता गर्न चाहन्छन् भन्ने कुरा अझै स्पष्ट छैन । मस्को वार्ताको लागि तयार रहेको दाबी रुसी अधिकारीहरूले गर्छन् । तर यस क्रममा उनीहरूले प्रायः २०२४ मा पुटिनको तथाकथित शान्ति प्रस्तावलाई उद्धृत गर्छन् । यो प्रस्ताव सम्झौता भन्दा बढी धम्की जस्तो सुनिन्थ्यो ।
यस योजना अन्तर्गत, रुसले युक्रेनमा कब्जा गरेका क्षेत्रहरू कायम राख्नेछ । अझै पनि युक्रेनी नियन्त्रणमा रहेका केही क्षेत्रहरूमा दाबी पनि गर्नेछ । सबैभन्दा ठुलो कुरा युक्रेनलाई नेटोमा सामेल हुन दिइने छैन र रुसमाथि पश्चिमा प्रतिबन्धहरू हटाउनु पर्छ । यस हप्ताको सुरुमा एउटा रुसी अखबारले लेखेझैँ, ‘रुस वार्ताको लागि तयार छ । तर आफ्नै सर्तहरूमा । यदि तपाईंले कूटनीतिक भाषालाई छोड्नु हुन्छ भने, यो चेतावनी हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषध पोल्यान्ड सहित दुई जना पक्राउ
-
संघीय निजामती सेवाका श्रेणी र तहका बिषयमा सहमति जुट्यो
-
कीर्तिपुर क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत
-
देशलाई आत्मनिर्भरताको अभियानमा केन्द्रित गर्नुपर्ने बेला आएको छ : प्रचण्ड
-
ईसीडी एक वर्षको मात्रै बनाउन सुझाव
-
ओली सरकारको औचित्य सकियो : प्रभु साह